बाहुनी आमाले झस्काइन्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाहुनी आमाले झस्काइन्   अशोक राई, अध्यक्ष संघीय समाजवादी पार्टी मैले एमाले पनि हतारमा छाडेको होइन । मेरो मान्यता छ- दशचोटि नाप एकचोटि काट, कुनै पनि काम गर्दा पर्याप्त सोचेर गर । नयाँ शक्ति बनाउने, एउटा पार्टी निर्माण गर्ने कुरा ठट्टा होइन । फेरि जीवनभरि एमालेका लागि संघर्ष गरियो, त्यही पार्टी परित्याग गर्ने कठोर निर्णय गर्नुपर्‍यो । एमालेले जब व्यक्तिकेन्दि्रत राजनीति गर्न थाल्यो, तब यसमा रहन सकिन्न भन्नेमा म मानसिक रूपमा पुगिसकेको थिएँ । पार्टीले सही दिशा लिन नसकेपछि मप्रति सद्भाव राख्ने एमालेभित्रका युवा, विद्यार्थी, बुद्धीजीवी, पार्टी जिल्लाका अध्यक्षहरू, महिला, सभासद्लगायत ठूलै पंक्तिले मलाई समर्थन गर्नुभयो । हामीले उठाएको मुद्दा एकदम सही होे, तर पनि पार्टी नछाडिहालाँै, भित्रबाटै लडौँ भन्ने सन्देश लिएर मलाई भेट्न आउनेको पनि भीड हुन्थ्यो । फोन एकछिन पनि खाली नहुने स्थिति थियो । फोनमा जवाफ दिँदा घाँटी पूरै सुक्ने, फोनकै रिङ कानमा बजिरहने हुन्थ्यो । एमाले किन छाड्ने, छाडेर के गर्ने, सफल हुन सकिएला भनेर धेरैलाई चासो थियो । पछिल्लो समय धेरै नै फोन आउने र त्यसको रेस्पोन्स नै गर्न नसक्ने अवस्था आएपछि मैले फोन नै अफ गरेँे । धेरै साथीले गुनासो पनि गर्नुभयो, तपाईंको त फोन लाग्दैन भनेर । वास्तवमा त्यो मेरो बाध्यता थियो । बिहान ६ बजेदेखि नै बज्न थालेको फोनको घन्टी राति ११ बजेसम्म बजिरहन्थ्यो । कतिले सद्भाव राखेर कुरा गर्थे भने कतिले गाली पनि गर्थे । गाली गर्नेलाई पनि नम्रतापूर्वक आफ्नो कुरा राख्नैपर्‍यो । फेरि सद्भाव राख्ने शुभचिन्तक अर्काथरी पनि थिए, एमालेले धोका दिन्छ भने अब किन बस्ने ? एमाले आजै छाडौँ, भोलि नै छाडौँ भन्नेहरू पनि प्रशस्तै थिए । आफ्नै नेता तथा कार्यकर्तामाथि षडयन्त्र गर्छ, संविधान ल्याउन रोक्छ भने यस्तो पार्टीका किन बस्ने ? यस्तो पार्टी छोड्न किन ढिला गर्ने ? फलाम तातिएकै वेला हिर्काउनुपर्छ भन्ने उहाँहरूको भनाइ थियो । दुई खाले विचार निरन्तर सुनिरहँदा ठूलो तनाव भयो । मान्छेहरूलाई रेस्पोन्स गर्नुपर्ने अवस्था र मेरो स्वभावले यस्तो भएको हो । सबैलाई रेस्पोन्स गर्दा असैह्य हुने स्थिति पनि हुन्थ्यो । म आफूमा द्विविधा भएको भए त झनै पीडा हुन्थ्यो होला । म आफ्नो निश्चयमा अविचलित थिएँ । मैले आफ्नो नीति स्पष्ट गरिसकेको थिएँ, पार्टी नछाड्नुस् भन्ने शुभचिन्तकलाई मैले भनेँ, 'म मात्र होइन, तपाईंले पनि छाड्नुपर्छ । आज छाड्नु भएन भने भोलि तपाइर्ंले छाड्नुपर्छ ।' मेरो कुरामा कतिले चित्त बुझाउनुभयो, कतिले बुझाउनुभएन । साथीहरू भन्थे, एमालेमा तपाईं उपाध्यक्ष, अवसर धेरै छन्, अर्काे महाधिवेशनमा अध्यक्ष उठ्नुपर्छ । यस्तो अवस्थामा आइपुगेको मान्छे फेरि जिरोदेखि किन दुःख गर्नुहुन्छ भन्ने पनि साथीहरूको भनाइ थियो । त्यसको जवाफमा मैले भनेको थिएँ, 'म त एउटा मूल्य-मान्यता र मर्यादामा आधारित राजनीति गर्ने हुँ । हाम्रो भविष्य सुन्दर, उज्यालो, समझदारीयुक्त, एकताबद्ध, शान्तिपूर्ण, समृद्ध बनाउने बाटो पार्टीले छाडेपछि मेरा लागि व्यक्तिगत अवसर छ भनेर म कसरी पार्टीमा बस्न सक्छु ?' मैले रातारात कुनै ठूलो चमत्कार गरिहाल्ने सोचेर एमाले परित्याग गरेको छैन । मैले धेरै मिहिनेत गर्नुपर्छ, जनताको विश्वास जित्ने प्रयत्न गर्छु, मैले यो मुलुकलाई सही बाटोमा लग्ने प्रयास गर्छु । प्रयास गर्नु अपराध होइन । सफल असफल त हुन सकिन्छ । फेरि मैले नसकेको कुरा मेरो छोराको पुस्ता गर्छ, छोराको पुस्ताले नसके नातिको पुस्ताले गर्छ । आजका जुन पार्टी छन्, ती पनि रातारात सफल भएका होइनन् । निकै बलिदान, त्यागको लामो इतिहास छ । इतिहास बोकेर मात्रै अहिलेका प्रमुख भनिएका दल यहाँ आइपुगेका हुन् । जब यिनीहरू जनताको मुद्दाभन्दा बाहिर गए, अब यिनीहरूको अस्तित्व समाप्त हुँदै छ, त्यसैले नयाँ शक्तिको निर्माण गर्नु जरुरी छ भन्ने जवाफ मैले दिँदै गएँ । भदौतिर हो । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ -एमालेको भ्रातृ संगठन) को उदयपुर जिल्ला कमिटीले एउटा भेला आयोजना गर्‍यो । हामीले पार्टीमा राखेका नौबुँदे मागबारे आफ्ना विचार राख्न मलाई बोलायो । त्यो वेला पार्टीले भने अन्तरपार्टी निर्देशन जारी गरेको थियो । भनिएको थियो, 'अशोक राईहरू पार्टीविरोधी हुन्, यिनीहरूको गतिविधिमा कोही पनि सामेल नहुनू, यिनका विचार नसुन्नू, सुन्नेलाई कारबाही गरिन्छ ।' केन्द्रको निर्देशन जिल्ला पुग्यो । अघिपछि वर्ष दिनसम्म पनि बैठक नगर्ने जिल्ला कमिटीले तत्कालै बैठक बोलाए, जति उपस्थित भए त्यतिले सर्कुलर जारी गरे, 'अशोक राईको विचार सुन्न सभामा कोही पनि नजानू । उपस्थित हुनेलाई कारबाही गरिनेछ ।' टेलिफोनबाट भनियो, घरघरमा गएर रोकियो, रोक्ने प्रयास गरियो । पार्टीले यस्तो निर्देशन दिएको छ भन्ने त मैले कार्यक्रम स्थलमा पुगेर थाहा पाएँ । तर, पनि कार्यक्रम आयोजना गरिएको हल भरिएर बाहिर पनि खचाखच मान्छे थिए । उदयपुरमा गइसकेपछि एउटा गजबकोे घटना भयो । सधैँभरि जाँदाखेरि म पस्ने, बस्ने, खाने एउटा घर थियो, परिवार बाहुन हो । मलाई धेरै माया गर्ने, मैले पनि सम्मान गर्ने परिवार हो । त्यो परिवारको एकजना भाइले मलाई फोन गर्नुभयो । फोन मैले रिसिभ गरँे, उहाँले 'आमा कुरा गर्नुहुन्छ रे तपाईंसँग' भन्नुभयो । आमाले फोन लिइसकेपछि भन्न थाल्नुभयो, 'होइन बाबु तपाईं त हामी बाहुनहरूलाई त देख्नै सक्नुहुन्न रे, बाहुनहरूको एकदम विरोध गर्नुहुन्छ रे !' सुनेर म त छाँगाबाट खसेजस्तो भएँ । मैले बिस्तारै भनेँ, 'कसले भन्यो आमा तपाईंलाई ?' उहाँले सबैजना यसै भन्छन् भन्नुभयो । आमासँग मैले तत्कालै राजनीतिक संवाद गरिनँ ? व्यक्तिगत रूपमा सोधेँ, 'अशोक राई त्यस्तो मान्छे हो जस्तो लाग्छ तपाईंलाई ?' अनि उहाँले भन्नुभयो, 'त्यस्तो त लाग्दैनथ्यो बाबु, हामीले पनि तपाईंलाई माया नै गरेको हो । राम्रै मान्छे भन्ने हामीलाई लागेकै हो ।' मैले यो सबै भ्रम हो, विश्वास नगर्नुहोस् भनेर फोन राखँे । आमा बिचराको के दोष ? उहाँले त मलाई माया गरेरै गुनासो गर्नुभएको हो । तर, ती सोझी आमाको कुरा सुनेपछि मलाई के अनुभव भयो भने एमाले अत्यन्तै तल्लो तहमा ओर्लेर, साधारण र समर्थक जनतासम्म पनि मेरोविरुद्ध प्रचार लिएर गएको छ । त्यसले मलाई निरन्तर मानसिक रूपमा घात गरिरह्यो । त्यसपछि मैले निश्चय गरेँ, 'मैले निर्माण गरेको पार्टी, मैले बोकेर हिँडेको पार्टी, तर मैले फरक मान्यता अगाडि सार्नासाथ त्यही पार्टीमा न त्यो मान्यताका लागि ठाउँ छ, न त मेरा लागि ठाउँ छ । दुवै चीजका लागि ठाउँ दिँदैन भने अब मैले यो पार्टीमा रहन्छु भन्नु नै हास्यास्पद हुन्छ । नरहनु नै उपयुक्त हुन्छ र यो नरहोस् भन्ने केही नेता साथी चाहन्छन् र त्यहाँ मैले जबर्जस्त बल गरेर, अटाएर, संघर्ष गरेर बस्नुको कुनै औचित्य छैन । किन कि हलेदो भनेर चिनेपछि कोट्टयाउनुको अर्थ छैन । अदुवा चाहिनेले त अदुवा नै खोज्नुपर्‍यो नि । अब एमालेमा रहनुको औचित्य सकियो भनेर मैले डिक्लियर गरिदिएँ ।' त्यस अवस्थामा एमालेले सबै माग अर्थात् नौवटै बुँदा पूरा गर्छु भने पनि एमालेमा रहन्न भनिदिएँ ।   पार्टी परित्याग गर्न सभाको आयोजना गरिएको थियो । मानसिक रूपमा हामी निश्चित भइसकेको हुनाले कुनै तनाव थिएन । कति मान्छे आउँछन् र कतिले पार्टी परित्याग गर्छन् भन्ने मात्रै थियो । फोन र एसएमएस गरेर सभाबारे जानकारी गराएका थियौँ । बस रिजर्भ गरेर हामी आउँछौँ, स्वीकृति दिनुपर्‍यो हुल बाँधेरै पार्टी परित्याग गर्नुपर्छ भनेर जिल्लाजिल्लाबाट साथीहरूले भनेका थिए । मैलेे भनेँ, 'यो बेकार हो, काठमाडौंमा मान्छे जम्मा गरेर, धेरै मान्छेले पार्टी परित्याग गरेको देखाउँदैमा नयाँ पार्टी बन्ने पनि होइन, एमाले छाड्ने भनेको राजनीतिबाट पलायन हुने होइन, एउटा नयाँ पार्टी, नयाँ शक्ति निर्माण गर्नका लागि हो, त्यसकारण तपाईंहरू जहाँ हुनुहुन्छ, त्यहाँ डट्नुस् न । प्रतिनिधिहरू आउनुस्, बस रिजर्भ गरेर आउनुपर्दैन ।' एमाले परित्याग गरेको घोषणा गर्दा सामान्य मानसिक उद्वेलनचाहिँ भयो । घोषणासभामा रहिरहँदाखेरि भावना तरंगित भए । जुन आन्दोलनमा ४० वर्ष बिताएको छ, त्यो आन्दोलनको उपज, त्यसलाई छोडेर नयाँ धार, नयाँ सिर्जना, नयाँ सोच, नयाँ पार्टी, नयाँ शक्ति निर्माण गछार्ंै भनिरहँदा मन स्थिर कसरी हुन सक्छ ? नयाँ पार्टी साँच्चै बन्छ कि बन्दैन ? त्यो एउटा ठूलै 'रिस्क' गेम हो । स्वाभाविक मनोवेग उत्पन्न भएको स्थिति हो ।   अन्तिम दिनमा त फोन आउन धेरै कम भइसकेको थियो । एमाले छाड्नुपर्छ भनेर अनुरोध गर्ने साथीहरू प्नि ढुक्क भइसकेका थिए, छाड्नु हँुदैन भन्नेहरूले पनि अब यसले छाड्छ, जति भने पनि अब यो रोकिँदैन भन्ने बुझिसकेका थिए । साथीहरू घोषणासभाको तयारीमा लाग्नुभएको थियो । उहाँहरूले मलाई लिन गाडी पठाउनुभयोे, म गएँ । राष्ट्रिय सभागृह पुगेर छेउको कोठामा बसेँ । मान्छे अपेक्षा गरेभन्दा धेरै उपस्थित भए । दुईटा राष्ट्रिय टेलिभिजन र दर्जनौँ एफएम रेडियोमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रममा आठ सय जतिको क्षमता भएको सभाहल खचाखच भरिएको थियो । बाहिर पनि माइकबाट सुनेको स्थिति थियो । त्यो उपस्थितिले के देखिन्थ्यो भने मैले परित्याग गरेकामा जनताको समर्थन छ । जनता नयाँ शक्ति निर्माण होस् भन्ने चाहन्छन् भन्ने अनुभव भयो । मैले त्यही किसिमको भावना राखेर उपस्थिति सबैलाई धन्यवाद दिएँ । नयाँ पार्टीको घोषणा त भयो, आउने दिन फेरि संघर्षपूर्ण नै हुनेछ । अब फेरि पार्टी निर्माण र फेरि अधिकारका लागि आन्दोलन, अबको ध्यान यसैमा केन्दि्रत छ । नयाँ शक्ति निर्माण हुने पर्याप्त आधार छन् । हाम्रो विचारलाई समर्थन गर्ने जनताको ठूलो पंक्ति पनि छ भन्ने लाग्यो । त्यसले एक किसिमको मनोबल बढाएको छ । Last edited: 05-Feb-13 08:13 AM Last edited: 05-Feb-13 08:14 AM

ashishme · Feb 5, 2013 7:59 AM · 2,915 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all