यो कथा शुरु गर्नु अघी , कथाकी पात्र अघिल्लो चार पुरुष नामक कथावाट सापट लिएको अनुरोधका साथ http://sajha.com/sajha/html/in... भाग-१ कथाका स्वरुप एक हुन्नन् । कथा त भन्ने मान्छेको भावना अनुसारले वंगिन्छ। कथा त एउटा ऐना हो सुनाउने मान्छेको मनको । उसको मनमा के खेलिरहेको छ , कथा त्यसै अनुसार चित्रण हुन्छ।कथा वाचकले धमिलिएको दिनमात्रलाई पनि रात वनाउन सक्छ अनि जुनलागेको रातलाई समेत दिन मानिदिन सक्छ। यो कथा को अर्को पाटोको हो । यो सावित्रीको कथा हो । सावित्री, नाम उसको वाउले राखेको, पण्डितजीले सा वाट उठ्ने नाम राख भनेर अनुमति दिएपछि। हुन त साह्रै खुशी थिएन सावित्रीको वाउ, छोरो चाहिएको थियो उसलाई । त्यसैले होला नाम पनि पुरुषको सुरक्षा गर्न सक्ने स्त्रीको राखिदियो। मृत्युको मुखवाट पनि पुरुषलाई तानेर ल्याउन सक्ने स्त्री वनाइदियो नाम राखेर । जन्मेको एघार दिन देखी नै उ सावित्री वनी । वाउको चिया पसल थियो गाउँको विचभागमा, वसेर चाहिने नचाहिने कुरा काट्नेहरु सवै उसैको वाउको चियापसलमा थुप्रिन्थे। पैसा हुने पैसा दिएर चिया खान्थे, नहुने पैसा नदिइ जान्थे।वाउ लाई आफ्नो व्यापार गर्ने तरिका देखेर आफैलाई दिक्क लाग्थ्यो। उ सोच्थ्यो मान्छेले शरम पचाएपछि केहि लाग्दैन,अनि उ सँग आँट पनि छैन नदिनेलाई "ओई पैसा दे!!" भनेर माग्ने।एक अर्थमा सावित्रीको वाउ डरछेरुवा थियो। परिस्थितिले हारेको थियो। त्यसैले त उ सहनशिल थियो। समयको मार आरामले पचाइदिनथ्यो, सहिदिन्थ्यो। सावित्री छ वर्षको हुँदा देखी नै उसले चिया पसलमा सघाउँथी।चियाका भाँडाहरु वटुल्थी, जानी नजानी सफा गर्थी।जीवनले उसलाई पोख्त वनाउँदै लगेको थियो। हुन त विहानको स्कुल थियो उसको तर स्कुल सकिना साथ चियापसलमा हाजिरी जनाउँथी। छोरो खोजेको वाउले छोरो भन्दा डेगिलो आड पाएको थियो सावित्रीको रुपमा। सात कक्षामा हुँदा उ पहिलो चोटी फेल भइ, त्यस पछि कहिल्यै पास भइन किनकी उसले त्यसपछि जाँच दिइन। उसलाई पढाइ प्रति नै दिग्दार लागेर आयो। उसले पढाइ छोडिदिइ, तर त्यो चियापसलको लागि भने निकै नै फाइदाको विषय वन्यो।सावित्री ठूली हुँदै गई। चियापसलमा मान्छे चिया खान मात्र नभइ सावित्रीलाई हेर्न समेत आउन थाले। पैसा नतिर्ने हरु पनि सावित्रीको नजरमा गिरिने डरले पैसा तिर्न थाले। सावित्रीको व्यवहार भने ग्राहकको उमेर अनुसारले भिन्न हुने गर्थे ।समग्रमा भन्ने हो भने उसमा व्यापारको सुझवुझ थियो। सानै उमेर मा नै उसले उसको वाउको कमीकमजोरी वाट के गर्न हुन्छ र के गर्न हुन्न सिकेकी थिई ।उ जिस्केर हुने ठाउँमा जिस्किन्थी, रिसाएर हुने ठाउँमा रिसाइदिन्थी। चिया पसलमा आउने हरु उसले रिसाएर राती भएको समेत मन पराउँथे। हेर्ने हरु भन्थे रिसले सावित्रीमा मादकता थप्थ्यो, जसले उ अझ खुल्थी अनी विछट्टकी राम्री देखिन्थी, जसको अघि सवै अवाक हुन्थे। एक दिन उसका वाउले उसको लागी केटा छाने।केटो गाउँकै थियो। केटोको घरनै हेर्ने हो भने सावित्रीको घरभन्दा धनी नै मान्छेको छोरो थियो। विहे अघिनै पनि कहिलेकाहिँ त्यो चियापसलमा आउँथ्यो ।सावित्रीलाई हेर्थ्यो, जिस्किन्थ्यो। सावित्रीको वाउले यी सवै देखेका थीए , तर देखेर पनि नदेखे झैँ हुन्थे। शुरुमा ख्याल ख्याल वाट शुरु भएको सम्वन्ध एकै उमेरका विपरितलिंगी हुनाले होला झांगिन वेर लागेन।हुन त शुरुमा केटाले उसको घरपरिवार विरुद्द जान मानेको थिएन तर अन्त्यमा जीत सावित्रीकै भयो । उसको जीवनमा पहिलो पुरुष आयो। केटो हट्टाकट्टा थियो । एसएलसि पास गरेको ।क्याम्पस गएर छोडेको ।उसको वाहुपाशमा जव जव सावित्री वेरिन्थी उ संसार विर्सन्थि, केटोको छाति उसलाई चट्टान लाग्थ्यो, हात तरवार लाग्थे अनि मुटु उसको निम्ति मात्र पग्लिने मैन। उसका दिन चाँडै चाँडै विते जस्तै लाग्थे उसलाई ।रातमा पनि जव उसको छातिमा उ टाउको राखेर सुत्दथी ,उसलाई सिरानी चाहिन्नथ्यो। केटोको छातिको ढुकढुकीले सावित्री सावित्री भनी वोलिरहेजस्तो लाग्थ्यो उसलाई।जीवन यति रमाइलो गरी वित्ला भनेर सावित्रीले सपनामा पनि सोचेकी थिइन।घरमा काम पनि खासै गर्नु पर्दैनथ्यो, चिया पसलभन्दा पनि कम। तर समयले कोल्टे फेर्यो। विहे गरेको थोरै समयमा उसका ससुरावा ले संसार छोडे। केटो इलमी नहुनाले काम पाउन सकेन। सावित्रीले फेरि काम गर्नु पर्ने भयो। सावित्रीले निकालेको घरखर्चमा दुइजनाको गुजारा चल्न थाल्यो। त्यो सम्म पनि सावित्रीले चित्त वुझाएकै थिइ । तर विस्तारै विस्तारै उसको वुढो राती राती हराउन थाल्यो। आउँदा पनि दंगदंग्ती रक्सी गनाउँदै आउँथ्यो।कहिलेकाहिँ सावित्रीलाई रिसको झोकमा पिट्थ्यो।सावित्री आफ्नो भाग्यलाई सराप्थी। दुइदिनको रमझममा हराएर ठूलो अध्यारोमा आफूले आँफैलाई धकेले झै लाग्दथ्यो उसलाई।एक दिन उसको वुढो घर आएन । भोलिपल्ट नै गाउँमा गाइँगुइँ चल्यो । उसको वुढो भट्टिकी साहुनीलाई लिएर हरायो। भन्नेहरु भन्थे दुवै इन्डिया तिर भागे ।अव फर्किन्नन् । यमराजको हातवाट समेत वुढालाई तान्न सक्ने नाम पाएकी सावित्रीले भट्टीवाल्नी सँग हार मान्नुपर्यो। उ फेरी वाउकै चियापसलमा फर्की।चियापसलमा आउनेहरुको नजर फेरियो।उनीहरुको नजरमा अव सावित्रीवाट चाहे भन्दा वढी पाउने चाह थपियो। कसै कसैले त मुख फोरेर नै सोधेपछि उसको वाउले हार माने।सावित्रीको काकाले निकास निकाले। सावित्रीलाई गाउँवाट टाढा पठाइदिने। चिनेजानेका मान्छेको सहयोगवाट शहरको एउटा घरमा सावित्रीले काम पाई । खाने वस्ने सुविधा त्यसै घरमा नै हुने गरी। यति वेर सम्ममा नै पढ्नेलाई विश्वास लागिसकेको हुनपर्छ । कथाले स्वरुप फेर्छ , आयाम फेर्छ । एकै मान्छे का भिन्न कोणहरु हुन्छन्। सावित्री निरिह थिई, विचरी थिई , अनी एक्ली थिई। भरिएर उसको जीवन फेरि खाली भएको थियो। खुशीका अंशहरुले सपना जस्तै उसका साथ छोडेका थिए । जीवनले उ सँग क्रुर खेल खेले जस्तै लाग्थ्यो उसलाई। कहिलेकाहिँ सपनामा विउँझिन्थी । आफूलाई गाउँमा भेट्दिनथी। न वाउसँग पाउँथी,न उसको वुढो सँग ।चिसो खाटमा उ एक्लै लड्थी । अनी उसले पाएको अंगालो कसरी गुम्यो भनेर सोच्थी। आफ्नो गल्ति पत्ता लाउन खोज्थी पत्ता लाउन सक्दिनथी, धेरैजसो ननिदाइ रात वित्थ्यो। पहिलो चोटी उसले आफ्नो कथा आफ्नो मुटु खोलेर त्यहि घरकै दिदीलाई सुनाइ। त्यो घरकी दिदी दयालु निस्किन सुनीरहिन्। अनि सक्छेस् भने मुद्दा हाल न त भनेर सल्लाह दिइन्। सावित्रीले आफ्नो वुढोको अनुहार सम्झी , अचानक कता कता वाट माया पलाएर आयो। सोची कसरी पो हालौँ मुद्दा त्यसलाई? जीवन भर उ सँग वस्न पाउने कति भाग्यमानी होला! उसलाई त्यो भट्टिवाल्नी प्रति नै रिस उठ्यो। "आइमाइ विगार्ने आइमाइ नै हुन्" उसले मनमनै सोची । समय वित्दै गयो त्यो घरका मान्छे उसलाई आफ्ना लाग्दै गए । एक जना वुढा मान्छे ,उसलाई आफ्नै वुवा जस्तै लाग्थे। ति वुढा मान्छेकी छोरी दिदी , अहिले सम्म विहे नगरे पनि परिपक्व थिइन । केटा यस्ता हुन्छन्, केटा यस्ता हुन्छन् भनी उसलाई सुनाइ रहन्थिन। सावित्री सोच्थी हो शहर भनेको शहर नै हो यहाँ सवै कुरा थाहा पाउने दिदी जस्तै मान्छे भेट्टिन्छन् । अनि त्यो दिदी को भाइ मन छुने गोह्रो चिटिक्क परेको अग्लो घुम्रीएको लामो कपाल भएको । सावित्री जव जव उसलाई हेर्थी , उसलाई हेरीरहुँ जस्तो लाग्थ्यो। आफ्नो वुढोलाई सम्झिन्थी अनि तुलना गर्थी यि दुई मध्ये को राम्रो होला ? खुट्याउन सक्दिनथी, छोडिदिन्थी। क्रमश:
fucheketo · Feb 4, 2013 10:44 AM · 42,845 views
तर काँडा काँडा नै हो आखिर, फूलको छेउमा महत्व पाउँछ, छोए विझाउँछ। यो भाग पनि दह्रो गयो -
serial · Feb 13, 2013 8:55 AM
गज्जब फुच्चे, मलाई त पुरै कथा पढ्न मन लाग्यो.....सारै खुल्दुली पो भयो, सावित्री ले कसको साथ् दिने भनेर, फेरी लास्ट मा पहिले को बुढो संगै जाने पो हो कि? पहिलो माया त बुढो नै हो नि......मेरो गेस्तिमेट
baaramaase · Feb 13, 2013 9:44 AM
जिबन वनेकै येस्तै हो, सोचेको के हुन्छ, के हुन पुग्छ, कथा बस्ताब मा एकदम जिबन्त छ , येस्तै येस्तै कथा हरु ले भरिएको छ हाम्रो समाज. राम्रो प्रस्तुति को लागि फुचे केटो लाइ धन्यवाद
timi_mero_sathi · Feb 13, 2013 2:07 PM
Serial, baramase, timimero sathi- Thanks a lot, Baramase..lets see if your guess goes right or not since i m ending it today ;) सावित्री(अन्तिम भाग) सावित्रीको मनमा द्वन्द चल्यो। नसोचेको, नचिताएको प्रस्तावमा उ घेरिएपछि आफ्नै मनमा पर्खाल लाउन चाहेकी थिई। कोकुन भित्रको मान्छे आफुलाई सवैभन्दा सुरक्षित ठान्छ। तर कोकुन खसेर जव आँतमा उज्यालो पर्छ त्यसवेला दुइवटा वाटो हुन्छन् उसको अघी, पहिलो त्यो प्रकाशमा संसार नियाल्ने, अर्को आँखा चिम्लेर अझै कोकुनमा रहेको भ्रम आफ्नो मनमा छर्ने, सावित्रीको अन्तर्द्वन्द त्यसैमा थियो।उसले हुन्न भनेको खण्डमा घरवाट वाहिर निकालिनु पर्ने हो की भन्ने डर पनि त थियो आखिर। हुन्न भनेको खण्डमा उ कथाका तिन पुरुष सँग एकै चोटी छुट्टिने दोसाँधमा थिई । त्यो त उसको लागि विछोड भन्दा पनि कैयौँ गुणा दुखदायक हुन्थ्यो। ************* ************** ************* ************* *************** * उसले मैनवत्ति जलाई। उ सुत्ने ठाउँको वल्व फ्युज भएको छ, करिव एक महिना देखि, उसले प्रकाश चाहेकी थिईन त्यो कुनामा। त्यो कुनाको अँध्यारोमै त त्यो कुनाको आकर्षण थियो। त्यो फ्युज भएको वल्वको पनि त्यहि भएर महत्व थियो। उसैको मनको अँध्यारो कुना जस्तै थियो त्यो कुनामा पनि । उ लुक्ने कुना, रमाउने कुना, अँध्यारो प्यारो भएको कुना, रोहनको स्वामित्व भएको कुना। "के भयो, किन चाहियो वत्ति तँलाई ?" रोहनले उसका कपाल खेलाउँदै प्रश्न राख्यो। "तँपाइको अनुहार नहेरेको नै धेरै भयो वावु ! कहिलेकाहिँ त अँध्यारो देखी वाक्क लागेर आउँछ, दिउँसो तँपाईलाई देख्न पाए कस्तो हुन्थ्यो जस्तो लाग्छ।" उसले रोहन तिर पुलुक्क फर्किदै जवाफ फर्काई।रोहनको अनुहार लाई मैनवत्तिले पुरा उज्यालो वनाउन सकेको थिएन। आधा भाग मैनवत्तिको अँध्यारो प्रकाशमा पहेँलिएको थियो, आधा उनीहरुका गोप्य भेटघाट जस्तै अँध्यारो थियो अझै पनि। दाह्री थोरै थोरै उम्रिएर गालालाई अझै आकर्षकता थप्दै थिए। "के देखिस् त मेरो अनुहारमा?" रोहनले प्रश्न राख्यो। " म अनुहारवाट तँपाइको मुटु सम्मको वाटो खोज्दैछु,अझै भेट्टाएकी छैन !!" "नचाहिने, काहिँ अनुहारवाट पनि मुटु सम्मको वाटो भेटिन्छ?" "भेटिन्छ त ,आँखावाट हुन्छ ! थाहा छैन तँपाइलाई ? निष्ठुरीहरु मात्र त्यो वाटो रोकेर वस्छन् " आफु भित्रको द्वन्द लुकाउँदै उसका आँखा मा नियाल्दै उसले जवाफ फर्काई। "मेरो आँखामा त तँ नै देखिन्छेस् नि !!" रोहनले सावित्रीको गाला मा आफ्नो हात राख्दै उसलाई वुझाउन चाह्यो। उसलाई निष्ठुरी शव्द मन पर्दैन।उसले त मात्र आवश्यकता साटेको हो। "तँपाई मेरो साथ चाहनुहुन्छ ? वा मलाई ??" सावित्रीले रोहनको आँखामा आँखा जुधाउँदै प्रश्न राखी। "दुवैमा फरक के छ?" रोहनले आफ्नो हात गालावाट हटाएर खाटमा राख्दै सोध्यो।प्रश्न उसलाई विझेको थियो।जानी जानी वुझ पचायो उसले! "धेरै छ वावु, धेरै छ !!" उ एकैछिन चुप भई । पग्लिएको मैनवत्ति फेरि जम्न थालेको थियो,मैनवत्तिको पुछारमा ।धरातलमा फर्किएपछि त सवै आफ्नै स्वरुपमा आउनुपर्ने वाध्यता होला। सावित्री पनि त जीवनको राप र तापले पग्लिएको मैन जस्तो नै त थिई। जति जति जीवनको धरातल नजिक फर्किएकी थिई, जमेकी थीई, जड भएकी थिई स्थायित्व को खोजीमा। "मैले त्यो केटा ,गाउँको दाजु हो भनी तँपाईलाई ढाँटे !!!!" सावित्रीले धेरैवेरको मौनता पछि रोहनलाई आफ्नो सत्यता दर्शाउन चाही । रोहन वोलेन, मात्र सावित्रीलाई हेरिरह्यो। उसको अनुहार रातो हुँदै आएको मैनवत्तिको प्रकाशमै देखियो।कहिलेकाहिँ साना वाक्यहरु सुचनाका पहाड लिएर आउँछन्।ति वाक्यका अक्षर अक्षर मान्छेको मन सँग कुश्ति खेल्ने गरी, मान्छे पछार्ने गरी शक्तिशाली हुन्छन् ।रोहन पछारिएको थियो अक्षरहरुकै फौजको अघी। अनी आफ्नो मौनता सँग नै भिँड्दै थियो। "को हो त त्यो ?" धेरैवेरको सोच पछि रोहनले प्रश्न राख्ने सामर्थ्य वटुल्यो। "नजिकै वस्छ !! तरकारी पसलमा भेट भएको , मलाई पहिल्यै देखेको रे, मलाई कुरेर वसिरहन्छ, म सँग मात्र समय विताउन चाहन्छ रे !!" "अहिले किन साँचो भन्दैछेस् त?" रोहन अझ रातो भयो। उ रिसाउनु पर्ने हो वा होइन उसलाई छुट्याउन गाह्रो भयो। "किन की म जान्न चाहन्छु, तँपाई जीवन भर मलाई चाहनुहुन्छ कि यो ओछ्यानका चार खुट्टा भित्र मात्र ?" सावित्रीले आफ्नो सम्पुर्ण इच्छा पोखिदिई।सावित्री आफ्नो दोस्रो पत्र खोलिन। चौथो पुरुषको आगमन प्रति त रोहन अझै अनभिग्य नै थियो। रोहन शान्त भयो विस्तारै ! पानी खायो नजिकै फिल्टर वाट झिकेर!! "तँ के चाहन्छेस् त ?" रोहनले एक छिन घोरिएर फेरि सावित्रीलाई प्रश्न राख्यो। "मेरो लागि तँपाइ एउटा लत वन्नु भएको छ , म यसमा क्रमभंगता चाहन्न!! कुनै शर्तमा पनि !! म तँपाईको शरिरमा आफुले भ्याएसम्मको निरन्तरता चाहन्छु। " सावित्री विस्तारै कठोर वन्दै गई। उसको अघि रोहन निक्कै कान्छो, अपरिपक्व देखियो त्यो रात। पहिलो चोटी सावित्रीले रातमा समेत आफ्नो विजयध्वज गाड्न चाहि। "म नवाँडिउ कसैसँग पनि भन्ने तेरो रहर हो भने मेरो पनि त त्यस्तै होला " उसले रुखो जवाफ फर्कायो। "सुविधाको सम्वन्धमा निरंकुशता थोपर्न सक्ने मेरो सामर्थ्य कहाँ!" "कहिलेकाहिँ तेरा शव्दहरु मलाई अवाक वनाउँछन्, जे तेरो इच्छा!!" रोहन लाचार वन्यो। हो यो सुविधाको सम्वन्ध थियो। ति पल वाहेक एकले अर्काको अधिकार क्षेत्रभित्र नछिर्नु त त्यसको पहिलो शर्त हो। किन सोचेन रोहनले त्यति ? "यो त मेरो कथाको एउटा पाटो थियो, मेरो कथाको पाटो अर्को पनि छ !!" सावित्री ले पग्लिएको मैनलाई आफ्नो हातले खेलाउँदै जवाफ फर्काई। धागोको कालो ठूलो मोममै तैरिरहेको थियो। "के नै पाटो हुन सक्छ र ,अव !!" रोहनले हारेको स्वरमा जवाफ फर्कायो। उसको पुरुषत्वले अर्को पुरुषको उपस्थिति स्विकार्नु पनि उसको लागी त युद्द हार्नु समान थियो। "आज विहान तँपाइको वुवा सँग कुरा भयो,वहाँ अर्को विहा गर्ने अरे, केटी को खोजी म मा आएर रोकिएछ!!" सावित्रीले अन्तिम सत्य वाट पर्दा उठाई। अनी चुप भई।रोहन एकछिन मौन रह्यो। सावित्रीको भाव विहिन अनुहार हेर्यो।कोहि किन पथ्थर हुन्छ ? हो उ स्वार्थी भई, स्वार्थले आत्मा खान्छ ,मन ढुंगो वनाउँछ। उ जड हो, उ जिवित छैन, कोहि मृत कुरा गर्दैछ कुनै स्वार्थमा रोहन सँग । "तँ स्वार्थी होस् ! पुरुषकी भोगी होस्, तेरो वुढोले तँलाई छोड्यो ठिक गर्यो!!" रोहन अनाहकमा चिच्यायो "दुनियाँ मायामा स्वार्थ देख्छ, म त स्वार्थलाई नै माया भन्छु !!" सावित्रीले विस्तारै जवाफ फर्काई। कोठाको मैन पग्लिएर निभ्यो, विस्तारै अँध्यारोले फेरि आफ्नो साम्राज्य फिजायो। समाप्त:
fucheketo · Feb 14, 2013 7:01 AM
फुच्चे जी, गज्जबको कथा पढियो सधैं जस्तैनै| सावित्री, दोश्रो पुरुष (रोहन) र चौथो पुरुष (बुडा बा) को मनोविज्ञान त राम्रैनै झल्केको छ. अब, बुडा बा को प्रस्ताव अनि रोहन र साबित्रिको बार्तालाप सुनी सके पछिको म पात्रको (I thijnk सुधा) मनोविज्ञान पनि अर्को कथा मार्फत जान्न पाए मज्जा हुन्थियो होला नि, हैन र? Last edited: 14-Feb-13 02:48 PM
Jhapali_Thito · Feb 14, 2013 2:42 PM
गज्जब को गयो फुच्चे जी, अझै थप्दै जाउ, त्यति मै त समाप्त होइन होला..... अलि कोहि त होला सावित्री लाइ अँधेरो मा छोड्नु त भएन नि.....जिम्मा लगाउनु पर्यो , तेस्रो पात्र या चौथो पात्र संग...
baaramaase · Feb 14, 2013 5:05 PM
कहिलेकाहिँ साना वाक्यहरु सुचनाका पहाड लिएर आउँछन्।......how beautifully said dai!!!! wonderful ending to the story!!!!!
ilam2008 · Feb 14, 2013 8:43 PM
I felt like i was just watching a movie while reading this, it was more like wht happens next, reminds me of bhinaju ko sweter. writer has to be applauded for his style, its a talent we want to hear from you.
3a3 · Feb 14, 2013 9:51 PM
Thank you jhapali Thito, Regarding another story म try गर्छु है त.. बाह्मासे- धन्यवाद , यसपालीको समाप्त नै हो, अर्को दिन अर्को नयाँ कथामा हुन्न र? Ilam2008- Thanks a lot 3a3- thank you, भिनाजुको स्वेटर is a classic, I loved that too Special thanks to Lamopuri and Crazy sahili , who fed me the idea of सावित्री, and thanks to all the readers...
fucheketo · Feb 17, 2013 11:49 PM
फुच्चे, मलाइ अझै चित्त बुझेन। यति राम्रो कथा तिमीले किन समाप्त गर्न हतार गर्‍यो, कथा त बल्ल शुरु भएको छ हैन र? तिम्रो लेखाइ प्रति मलाइ डाह लाग्छ, कसरी रोज्यौ हँ यति राम्रा शब्दहरु, बाक्यहरु, अर्थको गहिराइहरु? साबित्रीका सबै अभिब्यक्तिहरु सशक्त र सुन्दर छन्, मलाइ मन परेको चाहि यी हुन्! "मेरो लागि तँपाइ एउटा लत वन्नु भएको छ , म यसमा क्रमभंगता चाहन्न!! कुनै शर्तमा पनि !! म तँपाईको शरिरमा आफुले भ्याएसम्मको निरन्तरता चाहन्छु। " सावित्री विस्तारै कठोर वन्दै गई। उसको अघि रोहन निक्कै कान्छो, अपरिपक्व देखियो त्यो रात। पहिलो चोटी सावित्रीले रातमा समेत आफ्नो विजयध्वज गाड्न चाहि। "दुनियाँ मायामा स्वार्थ देख्छ, म त स्वार्थलाई नै माया भन्छु !!" सावित्रीले विस्तारै जवाफ फर्काई। मैले अघि नै भने कथा बल्ल शुरु भएको छ, म लगाएत फुच्चेको सबै फ्यानहरु फुच्चेको कथा अब कैले शुरु हुन्छ भनेर प्रतिक्षा गरेर बसेका छौ! प्लिज् ढिलो नगर, छिट्टै लेख!
crazy_love · Feb 21, 2013 6:54 AM
वाह फुच्चे ....अरु कथाको प्रतिीक्षामा !!
bhakte dai · Feb 23, 2013 6:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion