मान्छेले स्वर्ग भन्ने गरेको के यही हो अमेरिका!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मान्छेले स्वर्ग भन्ने गरेको के यही हो अमेरिका! By mysansar, on January 31st, 2013 यहाँ वासिंगटनमा बसेको छ, कमाएको र खाएको छ अनि नेपालको बारेमा नचाहिंदो कचरपचर गरेको छ। जे गरेका छन् नेपालीले नेपालमा, त्यसको फल उनीहरुले बेहोरिरहेका छन्। त्यहाँ बेहोर्नुपर्छ भन्ने डरले अमेरिका भासिएका मानिसले बेकारमा किन पचास खालको टिप्पणी गर्नु हँ? फर्किएर नेपाल जाने, त्यहाँको ढुङ्गा माटोसँग खुरी खेल्ने पनि होइन, यहाँको गाडीमा सुइंकिएर अर्थ न बर्थका टिप्पणी गर्‍या छ, नेतालाई गाली गर्‍या छ, स्वयम् नेपाललाई गाली गर्‍या छ, पार्टीलाई गाली गर्‍या छ। के अर्थ हुन्छ यो गालीको? के प्रतिफल दिन्छ यो विरोधले? त्यसैले मैले नेपालीहरुसँग भेट्दा एउटा रेडिमेड वाक्य बोल्ने निर्णय गरेको छु, “ठीकै छ, तपाईंहरुको गाली सुनियो। हामीले अब केही गर्न सकेनौं र तपाईंहरुसँग गर्न सक्ने दृष्टिकोण छ भने आउनोस्, म तपाईंका लागि सबैथोक छोडिदिन तयार छु। तपाईंले मेरो पार्टीको नेता पद पाउनु हुनेछ, मेरो संसदीय निर्वाचन क्षेत्र पनि पाउनु हुनेछ। अरु जे चाहिन्छ त्यही पाउनु हुनेछ। यसो गर्ने हिम्मत छैन भने थाहा पाउनुस्, तपाईं अमेरिकामा बस्नु भएको छ र अमेरिकामै तपाईंले आफ्नो ठाउँ बनाउनु पर्नेछ। नेपालकाहरुलाई गाली गरेर समय नगाल्नोस्, अमेरिकामा आफूलाई केही बनाउन सक्नेगरी संघर्ष गर्न थाल्नुस्।” प्रजातन्त्र त यहाँ चर्को होला, तर भेदभावको पर्खाल पनि चिताइनसक्नुको अग्लो रहेछ। यस्तो हालतमा अमेरिका बसेका नेपालीहरुले कहिले ठाउँ बनाउलान्? कहिले अल्पसंख्यकका रुपमा आफ्नो अधिकार स्थापित गर्लान्। विचराहरु! ग्रिनकार्डमा गर्व गर्ने नेपालीहरु नागरिक नभै आफ्नो इहलिला समाप्त गर्दा हुन् र एकदिन शायद अमेरिकाभित्र नेपाली हुनुको अस्तित्व समाप्त हुंदो हो। एमाले नेता प्रदीप नेपाल सन् २००१ मा अमेरिकी सरकारको निमन्त्रणामा नेपालका केही नेताहरुसहित त्यहाँ पुगेका थिए। भ्रमण कै क्रममा संगालेका अनुभवसहित उनको ‘अमेरिका प्रस्थानः धुनको खोजी’ शीर्षकको पुस्तक प्रकाशित भएको छ। त्यही पुस्तकका केही अंश- २ अक्टोबर २००१ आजको बिहान अत्यन्तै उदास थियो – मानौं त्यो आफ्नी प्यारी पत्नीको निधनमा शोक मनाइरहेको होस्। उदास रेष्टुराँमा आँत पुर्न जाँदा त्यो मसानघाटमा बसिरहेछ जस्तो लाग्यो। लाग्यो – सिङ्गै अमेरिका भक्कानो छोडेर रोइरहेछ र हामी गरीब नेपालीहरु पनि त्यसको दुःखमा सहानुभूतिको आँशु बगाइरहेछौं। रेष्टुराँमा दुध थिएन, भुजिया पनि थिएन। मैले म्यानेजरसँग सोधें, “आज सेरियल छैन?” “छैन,” उसले निराशाको आँखामा मट्टितेल हालेर जवाफ दियो। केही छैन भन्नु भन्दा, त्यो एउटा चाहिं छैन भन्नु राम्रो हो,” रबर्टले कुरो थुमथुम्यायो। कसैलाई ब्रेकफास्ट खान मन लागेन। आज हामीले एउटा केक नखाइदिंदा भोलि बिहान कसैलाई त्यो काम लाग्ला भन्ने हामीलाई लाग्यो। अत्यन्तै अपमानजनक पनि लाग्यो – अवस्था हामी सबैलाई। होटलमा ब्रेकफास्ट पाइदैन भनिदिएको भए अन्यत्र कतै गएर खाइन्थ्यो अथवा ब्रेकफास्ट नखाने नेपाली बानीलाई नै यथावत् राखिन्थ्यो। यो कस्तो तरीका हो? यो पाहुनासितको ब्यवहार हो? कि यो शत्रुसँगको मितेरी हो? अहं हामीले केही ठम्याउन सकेनौं। हिंड्ने दिन बिहान खान आउंदा ढोकामा ‘नो मोर ब्रेकफास्ट इज अभेलेबल (अब उप्रान्त यहाँ बिहानको नास्ता खान पाइदैन)’ भन्ने सूचना पढ्नु पर्‍यो भने पनि अनौठो मान्नु हुंदैन” पीडित मनले हामीले ठट्टा गर्‍यौं। मनले भन्यो, ‘मान्छेले स्वर्ग भन्ने गरेको के यही हो अमेरिका!’ ब्रेकफास्ट पछिको पहिलो मिटिङ्ग न्यासनल डेमोक्र्याटिक इन्स्टीच्यूटसँग थियो। छोटकरीमा एन. डी. आइ. भनिने यो संस्था नेपालमा निकै परिचित थियो। शुरुमा नेपाली राजनीतिक पार्टीहरुको आन्द्रा खोतल्ने प्रोजेक्ट ल्याउने भएर यसको हुर्मत पनि गएको थियो । पछि यो मूलतः संसदमा केन्द्रीय भयो र त्यहाँ मार्फत यसले राम्रा कामहरु पनि गर्‍यो। त्यही एन.डी.आई का तीन जना साथीहरुसँग हाम्रो कुराकानी राखिएको थियो। कार्यक्रम अधिकृत करेन स्टोन नेपाल गैसकेकी थिइन्। उनलाई नेपालका बारेमा धेरै जानकारी पनि थियो। अरु दुइ जना साथीहरु नेपाल प्रति त्यति धेरै जानकार थिएनन्। तर उनीहरुको प्रस्तुती राम्रो र निकटता झल्काउने खालकै थियो। नेपालको बारेमा राम्रै जानकारी राख्ने भएकाले उनीहरुसँगको कुराकानी सजिलो भयो। उनीहरु अलिक सचेत भएरै पनि आएका थिए कि जस्तो लाग्यो। बरिष्ठ कार्यक्रम अधिकृत माकराम ओइसिसले आफूहरु प्रजातन्त्रमा विश्वास गर्ने भएकोले वामपन्थी र दक्षिणपन्थी दुबै खाले पार्टीहरुसँग मिलेर काम गर्ने गरेको कुरा गरे। ‘मेरा अघिल्तिर बसेकाहरु केही कांग्रेस हुन् र केही कम्युनिस्ट हुन्’ सत्य उनको मनमा खेलिरहको थियो होला। त्यसैले उनले अझ फराकिलो पारामा भने – अरुहरु यस्तो गर्दैनन्। जर्मनहरु नै पनि मन परेका पार्टीसँग मात्र मिलेर काम गर्ने गरेका छन्। हामी मन पर्ने र नपर्ने नै भन्दैनौं। जो प्रजातन्त्र प्रति प्रतिवद्ध छ त्योसँग मिलेर काम गर्नु हाम्रा लागि जहिले पनि खुशीको कुरा हुन्छ। अमेरिकामा डेमोक्र्याटिक र रिपब्लिकन दुबै पार्टीले, पार्टीका बिचारहरुलाई बाह्य जगतमा प्रचार गर्ने र आफ्नो पार्टीसँगको सम्बन्ध सुदृढ तुल्याउने जिम्मा लिएका गैरसरकारी संस्था जस्ता संगठन निर्माण गरेका रहेछन् र दुबै पार्टीका ती संगठनहरुले अमेरिकी सहयोग नियोगबाट आर्थिक अनुदान पाउदो रहेछ। यद्यपि ओइसिसले भने, “हामी आफैं पनि स्वयम्सेवी ढङ्गले अर्थ संकलन गर्छौं।” करेन स्टोन नेपाल गैसकेकी केटी हुन् भनेर मैले माथि नै भनें। उनले जन चेतना अभिबृद्धि कार्यक्रम अन्तरगत महिला सचेतनताको क्षेत्रमा नेपालमा काम गरिसकेकी रहिछन् र निर्वाचन आयोगसँग मिलेर मतदाता सचेतनताको काम पनि भ्याएकी रहिछन्। अहिले भेटेसम्मका अमेरिकीहरुमा नेपालको बारेमा सबैभन्दा बढी जानकारी राख्ने मान्छे उनै थिइन्। उनले आफ्नो टिपोट भनेर जे सुनाइन् त्यो धेरैका लागि काम लाग्ने हुन्छ भन्ने पनि लागेको छ। उनले नेपाली राजनीतिको अर्को त्यत्तिकै गम्भिर चिन्ताको विषय “भ्रष्टाचार हो” भनिन्। भ्रष्टाचारले नेपाली राजनीतिलाई प्रजातान्त्रिक प्रकृयाबाट टाढा लगेको छ र राजनेताहरु भ्रष्टाचार निर्मूल गर्न प्रतिवद्ध छैनन् भन्ने जनताको चासो छ भनेर उनले भनिन्। करेनले अर्को एउटा अनौठो कुरा पनि सुनाइन्। “नेपालमा जनता र सेना बीच राम्रो सम्बन्ध छ।” सेना र जनता बीच नराम्रो सम्बन्ध छ भनेर यहाँ टिप्पणी गर्न खोजिएको होइन। किनभने नेपालमा जनता र सेनाका बीचमा कुनै सम्बन्धै छैन। सम्बन्धै नभएको हुनाले त्यो नत राम्रो छ, न नराम्रो छ। करेनले हामीलाई फुरुङ्ग पार्दै भनिन्, “अरु धेरै मुलुकहरुको दाँजोमा, भनौं बांगलादेश, भारत जस्ता तपाईंहरुका छिमेकी मुलुकहरुकै दाँजोमा तपाईंहरुको देशमा सत्तापक्ष र प्रतिपक्षको बीचमा राम्रो संबन्ध छ। शुरुदेखि नै छ। तपाईंहरुले यसलाई अगाडि बढाउदै लैजानु भयो भने प्रजातन्त्रलाई सुदृढ तुल्याउने काममा ठूलो उपलव्धी हासिल हुन्छ, विकास निर्माणका काम र जनताका समस्या समाधान गर्न महत्वपूर्ण सफलता पाइन्छ जस्तो मलाई लाग्छ। हामी अमेरिकाको अनुभव हो यो। दुइटा पार्टी छन्। राजनीतिक द्धन्दमा पनि छन्। तर उनीहरु बीचको सम्बन्ध अत्यन्तै हार्दिक छ।” करेनले, नेपालमा स्वतन्त्र संचार माध्यमको भूमिका बढाइनु पर्ने, संचार माध्यमहरुले खालि समस्या मात्रै नओकलेर समाधानका उपायका बारेमा पनि जनतालाई शिक्षित गर्ने कार्यक्रम संचालन गर्नुपर्ने जस्ता सुझावहरु पनि राखिन्। उनले भनिन्, “नेपालका धेरै पत्रपत्रिकाले सरकार र पार्टीको आलोचना बढी गर्छन्। समस्याहरु त जहाँ पनि हुन्छन्। अग्रपंक्तिमा बसेकाहरुले तिनको समाधानको उपाय बताउनु पर्छ। नेपालका पत्रिकाहरु यो काम गर्दैनन्। तिनको सकारात्मक प्रबृत्ति छैन। यसले समाजलाई नकारात्मक बनाउछ। यस्तो नभैदिएको भए राम्रो हुन्थ्यो।” करेनले नेपालमा नागरिक समाज बलियो हुंदै गएको, गैरसरकारी संघ संस्थाहरुले जनताको बीचमा काम गरेको र यी दुई कारणले प्रजातन्त्रलाई बलियो बनाउन मद्दत गरेको कुरा राख्दै नेपालको राजनीतिमा भ्रष्टाचार नियन्त्रणलाई पहिलो काम नबनाउने हो भने, सरकारले कानूनको शासन स्थापित नगर्ने हो भने अरुले जति प्रयत्न गरे पनि जनतामा प्रजातन्त्र प्रति नकारात्मक भावना गहिरिंदै जाने कुरा उठाइन्। “प्रजातन्त्र आफैंले केही दिंदैन,” उनले बडो चित्तबुझ्दो पाराले कुरा गरिन्, “जनतालाई राजनीतिक प्रकृयामा सामेल गर्दा, पद्दती भित्र जनताको सहभागिता बढाउदा नै प्रजातन्त्रले दिने भनिएको हो। जनतालाई जति बढी अधिकार दिइन्छ, त्यति नै प्रजातन्त्र प्रति जनताको विश्वास बढ्छ। होइन प्रजातन्त्रले नै सबैथोक दिन्छ भन्ने हो भने त एकदिन जनता प्रजातन्त्रकै बिरोधमा जान्छ।” उनको अर्को भनाई पनि घतलाग्दो थियो। उनले भनिन्, “प्रजातन्त्रमा जित्ने र हार्ने भनेको लडाईंको अर्थमा होइन। संसारको सबै समाजमा ध्रुवीकरण पाइन्छ। त्यो नेपालमा पनि छ। त्यो ध्रुवीकरणलाई कसरी परिचालित गर्ने भन्ने समस्या नै राजनीति हो। नेपालमा यो समस्या छ। त्यहाँ जित्नेले सबै पाउनु पर्छ भन्ने अनौठो चेतना छ। यस्तो चेतना राम्रो होइन। यसले त जुनसुकै अवस्थामा पनि नोक्सानी मात्रै ल्याउछ। एन.डी.आइ. का साथीहरुसँगको कुराकानीले आनन्द दियो। उनीहरुले भनेका कुराहरु नै हामीले नेपाली कांग्रेससँग गर्दै आएका थियौं। तर कांग्रेसले नेपालमा एक दिन पनि त्यसमा कान दिएन। अहिले अमेरिकाले प्रजातन्त्रको आदर्श मानेकै पार्टीका मानिसहरुको राय उनीहरुको कानमा पसेको छ। शायद कांग्रेसको घैंटामा घाम लाग्छ कि! स्थानिय निकायको अधिकार वृद्धि गर्ने सन्दर्भमा हाम्रा मागहरुलाई अस्वीकृत गर्दा कांग्रेसले मालेका केटाहरुलाई खुकुरी बनाएर हाम्रा सांसदहरु माथि हातपात नै गर्‍यो। अहं, केही गरे पनि स्थानीय निकायलाई अधिकार सम्पन्न तुल्याउने कुरामा उनीहरुको ध्यान गएन। जनताको सहभागिता बढाउनु भनेको त्यही त हो। जनतालाई राजनीतिक प्रकृयामा सामेल गर्नु भनेको पनि त्यही हो। हेरौं, कांग्रेसका साथीहरुले पनि केही सिकेर जान्छन् कि। जित्नेले सबै पाउनु पर्छ भनेर त करेनले कांग्रेसकै साथीहरुलाई भनेकी हुन् कि जस्तो लाग्यो। नहुन पनि सक्छ। भोलि एमालेले जित्दैछ, आजै होस गर है भनेर हामीलाई नै संकेत गरेको पनि हुनसक्छ। तर जे भए पनि सिक्नु पर्ने चाहिं कांग्रेसले नै हो। जितेपछि मेरै मात्र हो भन्ने कांग्रेसको चेतले नै नेपालको प्रजातन्त्रलाई कमजोर तुल्याएको हो। यस्तो नहुन पनि सक्छ, तर हामीलाई लाग्यो –एन.डी.आइ. का साथीहरुले हाम्रो मनोभावनाको ख्याल राखे। त्यसैले उनीहरुसँगको कुरो हामीलाई रमाइलो लाग्यो। अथवा मलाई मात्रै रमाइलो लागेको हो कि! जे भए पनि राम्रो भयो। कुराकानीको अन्तमा उनीहरुले, नेपालमै सम्पर्क राखेर काम गर्ने प्रस्ताव राखे। उनीहरुको नेपाल आवत जावत चलिरहने कुरा पनि उनीहरुले भने। “नेपालमा एन.डी.आइ. को कुनै प्रोजेक्टमा भाग लिनु भएको छ, कसैलाई चिन्नु हुन्छ?” उनीहरुले सोधे। मैले राम गुरागाईंको नाम लिएँ। उनीहरु खुशी भए। अर्काले आफ्नो काम या नाम थाहा पाएको छु भन्दा जोकोहीलाई पनि खुशी नै लाग्छ। “रामसँग सम्पर्क राखिरहनु भयो भने हाम्रो सबै सामग्री तपाईंहरुले पाइरहनु हुनेछ।” अन्तमा उनीहरुले भने र हामी विदा भयौं। नेपालको बारेमा धेरै जानकारी राख्ने, नेपालसँग सम्बन्ध रहिरहेको भनेर मैले उनीहरुलाई कार्ड दिइन। नेपाल गएर तीन जनालाई कुनै नौलो कुरो पठाइदिनु पर्ला भन्ने लागेको छ। आजको हाम्रो दोश्रो भेट काउन्सिल अफ स्टेट गभर्नमेण्टका अन्तर्राष्ट्रिय कार्यक्रम निर्देशकसँग थियो। क्रिस वाट्ले उनको नाम हो। बडो मजाका केटा रहेछन् यिनी। फुर्तिला र सबै काम आफैं गर्ने खालका। उनीसँग कुरा गर्दा हामीलाई लाग्यो – यस्तो संस्था नेपालमा छैन र यस्तो संस्था नभै पनि हुंदैन। हामी भन्नाले हामी एमाले मात्र होइन – सबैलाई यस्तै लाग्यो। यो हाम्रो निर्वाचित निकायको महासंघ जस्तो रहेछ भन्दा हुन्छ बुझ्न सजिलो होस् भन्नाका लागि। यसले तल र माथिको सम्बन्ध समन्वयमा विशेष जोड दिंदो रहेछ। यसले संघिय सरकार र राज्य सरकारका बीचमा उठेका विवादको निकास खोज्न सघाउ पनि गर्दो रहेछ। “यो एकप्रकारको गैरसरकारी संस्था नै हो, तर यसले राज्यबाट बजेट पाउने गरेको छ,” क्रिसले आफ्नो संस्थाको परिचय दिंदै भने। क्रिससँग कुरा गर्दा अमेरिकी राज्यहरु बीचको विविध बुझ्न मलाई अलिक बढी सजिलो भयो। अत्यन्तै धेरै कानून बनेका रहेछन् अमेरिकामा र आमरुपमा सिङ्गो जीवन नै कानूनद्धारा निर्देशित हुनेरहेछ त्यहाँ। हामीले राज्यहरु बीच, संघीय र सरकार र राज्य सरकार बीचका समस्याको समाधानको प्रकृयाका बारेमा सोध्दा उनले भने, “सामान्यतया सबै कुरालाई कानूनले निर्देशित गरेको छ। कानूनबाट छुटेका कुराहरु भनेका यदाकदा झुक्किएर मात्र भेटिन्छन्।” नाकको कुन प्वालबाट सास फेर्ने भन्ने कानुन अमेरिकामा प्रजातन्त्र र कानूनको चर्चा अघिल्लो पटक मेक्सिको जाँदा पनि मैले उठाएको थिएँ। त्यतिबेला विप्लव हलिमले ठट्टा गर्दै भनेको थियो, “अमेरिकामा नाकको कुन प्वालबाट पहिले सास फेर्नुपर्छ भन्ने पनि कानून हुन्छ।” मैले हाँसेर त्यसलाई उडाएको थिएँ। अहिले कुरो सुन्दै जाँदा हो कि जस्तो लाग्न थालेको छ। यहाँ आएदेखि नै प्रायः सबैको मुखबाट कानून, कानून शव्द सुन्दा दिक्क लाग्न थालेको छ। कानून भन्दा बाहिर के कुनै संसार छैन? हुंदैन? कानूनले निर्देशित नगरेका क्षेत्रमा के कुनै जीवन टिक्नै सक्दैन? मैले आफ्नो संपर्क अधिकृत जर्जसंग सोधें, “प्रजातन्त्रमा यति धेरै कानून चाहिन्छ र जर्ज?” जर्ज नासिफ, अर्थात तपाईंले पहिले नै चिनेको हाम्रो सम्पर्क अधिकृत असाध्ये बाठो र रमाइलो छ। धेरै विदेशीहरुसँग सम्पर्क राख्ने मौका पाएको हुनाले भाँती पुर्‍याएर बोल्न पनि जान्दछ। शान्त्वना दिन, फुर्क्याउन र उस्तै पर्दा मान्छेलाई उडाउन पनि सिपालु छ। त्यसैले मेरो कुरो सुन्ने बित्तिकै उसले बडो गम्भिर भएको नाटक गरेर भन्यो, “ओ … डियर नेपाल, धेरै ट्याक्स संकलन गरेर हामीलाई धेरै सुविधा उपलव्ध गराउन सरकारलाई धेरै कानून चाहिन्छ।” उ बोल्दा बोल्दै हामी सबै हाँस्यौं। कति बाठो मान्छे! अमेरिकी राज्यहरुका बीचमा भिन्नता पनि धेरै नै रहेछन्। कतै सबैको चुनाव हुने, कतै धेरैको चुनाव नहुने, कतै एक सदनात्मक व्यवस्था कतै दुइ सदनात्मक, कतै मृत्युदण्ड छ कतै मृत्युदण्ड छैन … यस्तै बिचित्रता। घरी घरी कुरा सुन्दा लाग्ने – अमेरिका भनेको एउटा देश हो कि यो देशहरुको महादेश हो? लामो समयमा धेरै कुरा सुनिए। क्रिसले अमेरिकामा पनि विद्युत संकट रहेको, व्ल्याकआउट पनि हुने गरेको सम्म जानकारी गराए। ती मसिना कुरातिर नजाउँ। उनले भनेको एउटा कुराले साह्रै घत पारेको छ। नेपालमा गर्नुपर्ने काम पनि हो यो। गर्न सकिन्छ सकिन्न थाहा छैन। यसो नोट चाहिं गरिहालौं कि! काउन्सिल अफ स्टेट गभर्नमेण्टले एउटा तालिम संचालन गर्दोरहेछ। त्यसले आग्रह गर्ने जोकोहीलाई पनि तालिम दिंदो रहेछ। तर त्यसले आफ्नै पहलमा विधायक र राज्य कर्मचारीहरुलाई सम्बन्धित विषयमा तालिम दिंदो रहेछ, उनीहरुको क्षमता अभिवृद्धिका ठोस योजनाहरु बनाएर प्रत्येकलाई दक्षता प्रदान गर्ने काम गर्दोरहेछ। नेपालमा कसैले अथवा कुनै निकायले यो काम गरिदिए कति भलो हुन्थ्यो? हामी सबैले यो संस्थाको संबन्ध नेपालका जिबिस, गाविस र नगरपालिका महासँघहरुसँग गराउनु पर्छ भन्ने निष्कर्ष निकाल्यौं। आज दिउंसोको खाना एउटा चाइनिज रेष्टुराँमा खाइयो। प्रतिव्यक्ति १५ डलर पर्‍यो। खाँदा खाँदै हामीले आफैंसँग गुनासो गर्‍यौं, “नेपालमा त सय रुपैयाँमा यो भन्दा धेरै राम्रो र सस्तो खाना खान पाइन्थ्यो।” फेरि सबैले सबैलाई सम्झायौं, “यहाँ आएर नेपालको पैसा सम्भि्कन हुंदैन। पन्ध्र डलर भनेको पन्धै्र रुपिया त हो। त्यसैले यो धेरै सस्तो हो। त्यसैले मनलाई सम्झाउँ – पन्ध्र रुपियाँमा हामीले नेपालमा पचास रुपैयाँ पर्ने राम्रो चिनिया खाना खायौं।” “अमेरिकामा चिनिया खाना खानपाएकोमा गर्व किन गर्नु पर्‍यो र? नेपालमा पनि पाइहालिन्छ नि यो,” हामी सबै खाँदा खाँदै हाँस्यौं। हाम्रा सम्पर्क अधिकृतहरु छक्क परे। अमेरिका, काठमाण्डौमा भनिए भन्दा फरक छ। खुलापन, शायद उनीहरुका बीचमा होला – तर विदेशीहरुको संसर्गमा खुलापन हुंदैन। हुनपनि प्रशंशा, मानविय स्वभाव हो र जीवित मान्छे यसबाट पृथक रहनै सक्दैन। त्यसैले यहाँ पनि तपाईंले, ‘अहो, तपाईंको काम कति राम्रो, सुन्दर अत्यन्तै सुन्दर, तपाईंका कुरा सुनेर मैले धेरै सिकें,’ जस्ता शव्दहरु बोलिदिनु भयो भने उनीहरु दङ्ग पर्दा रहेछन्। आजदेखि मैले यस्तो भाषा बोल्न सिकेको छु। उनीहरु पनि साह्रै खुशी भए। काठमाण्डौ गएर हर्कलाई म भन्नेछु, “हर्कजी, यो कार्यक्रममा जानेहरुलाई सबैखाले प्रश्न सोध्न प्रेरित नगर्नुस्। सुन्दा राम्रा लाग्ने, प्रशंसा गरेको सुनिने जस्ता प्रश्नहरु सोध्न मात्रै प्रेरित गर्नुस्। नमिठो केही लाग्यो भने बरु यहीं आएर हामीलाई सुनाउनु होला भन्नुस्। मान्छेलाई अनौपचारिक हुन होइन, औपचारिक हुन सल्लाह दिनुस र भ्रमणलाई सुखद बनाउन सहयोग गर्नुस्।” हेरौं, हर्कले कसरी बुझ्नु हुन्छ! तर मैले चाहिं आजका मितिदेखि तपाईंले असाध्यै राम्रो कुरा गर्नुभयो, साह्रै खुशी लाग्यो, हामी पनि कोशिश गर्छौं बाहेक अरु केही नबोल्ने निर्णय गरेको छु। त्यसले मेरो अमेरिका बसाइलाई आनन्दमय तुल्याउने छ र हाम्रा आतिथेयहरुको मन पनि प्रफुल्ल हुनेछ। आज फर्किने टिकट मिलाउदा पनि हैरान भैयो। बेकारको हैरान हो यो। काठमाण्डौमा ट्राभल एजेण्टले – सबैको टिकट ओपन छ, अमेरिकामै गएर मिलाउनु होला भनेको रहेछ। मलाई पनि भनेको त थियो, तर मेरो मिलाउनु थिएन। जति बस्नु छ, त्यो नै मेरा लागि पहाड हुन थालिसकेको थियो। तर अरु केही साथीहरु यहाँ दुइ चार दिन बस्न चाहनु हुन्थ्यो। डम्बर लस एंजल्समा दिदीसँग केही दिन बिताउन चाहनु हुन्थ्यो, बिनय मिनियापोलिसमा छोरासँग केही दिन बस्न चाहनु हुन्थ्यो – बिचरा उहाँहरुको मनै भरङ्ग भयो। काठमाण्डौमा भनिए जति टिकट मिलाउन सजिलो भएन। नर्थवेस्टको कर्मचारीले त विनयजीलाई सिटै छैन भनिदियो। डम्बरलाई पनि अर्को रुट गर्ने हो भने थप पैसा लाग्छ भनिदियो। अर्जुन बाठो मान्छे, सबैकुरो काठमाण्डौमै मिलाएर आउनु भएको रहेछ। फर्किंदा पनि उहाँको रुट हङ्गकङ्गको रहेछ। म, बलायर, विद्या, सुशिल चार जनाले अतिरिक्त बस्नु थिएन। हाम्रो टिकट सजिलै मिल्यो। विशेष गरेर दुइ जनालाई अलिक गाह्रो भयो। विनयजीलाई हामीले सल्लाह दियौं, “नेब्रास्का मिनियापोलिसको नजिकै पर्छ, तपाईं नेब्रास्काबाट एटलान्टा नजानुस्। छोरालाई नेब्रास्का बोलाउनुस् र मिनियापोलिस जानुस्, चार दिन त्यहीं बिताउनुस् र बीस तारिखका दिन त्यहींबाट जहाज चढ्नुस्, जहाजमा भेट भैहाल्छ।” उहाँ अत्यन्तै खिन्न हुनुहुन्छ , तर त्यसै गर्नुपर्ला भन्ने मन बनाउनु भएको छ। नेपालीको बेहोराले मन भाँचियो कोठामा आउदा नेपाली स्टुडेण्ट अर्गनाइजेसनका अध्यक्ष होमराजले भेटघाटको कार्यक्रम बनाउन समाचार छोड्नु भएको पाएँ। सम्भव देखिन। पहिलो त हामीसँग समय नै छैन। जसको पाहुना भएर आइएको छ, उनीहरुसँग पहिलेदेखि नै तय गरिएको कार्यक्रमलाई बिर्सन र पन्छाउन मिलेन। त्यसबाहेक भेटिएका नेपालीहरुको बेहोराले पनि मेरो मन भाँचेको छ। यहाँ वासिंगटनमा बसेको छ, कमाएको र खाएको छ अनि नेपालको बारेमा नचाहिंदो कचरपचर गरेको छ। जे गरेका छन् नेपालीले नेपालमा, त्यसको फल उनीहरुले बेहोरिरहेका छन्। त्यहाँ बेहोर्नुपर्छ भन्ने डरले अमेरिका भासिएका मानिसले बेकारमा किन पचास खालको टिप्पणी गर्नु हँ? फर्किएर नेपाल जाने, त्यहाँको ढुङ्गा माटोसँग खुरी खेल्ने पनि होइन, यहाँको गाडीमा सुइंकिएर अर्थ न बर्थका टिप्पणी गर्‍या छ, नेतालाई गाली गर्‍या छ, स्वयम् नेपाललाई गाली गर्‍या छ, पार्टीलाई गाली गर्‍या छ। के अर्थ हुन्छ यो गालीको? के प्रतिफल दिन्छ यो विरोधले? त्यसैले मैले नेपालीहरुसँग भेट्दा एउटा रेडिमेड वाक्य बोल्ने निर्णय गरेको छु, “ठीकै छ, तपाईंहरुको गाली सुनियो। हामीले अब केही गर्न सकेनौं र तपाईंहरुसँग गर्न सक्ने दृष्टिकोण छ भने आउनोस्, म तपाईंका लागि सबैथोक छोडिदिन तयार छु। तपाईंले मेरो पार्टीको नेता पद पाउनु हुनेछ, मेरो संसदीय निर्वाचन क्षेत्र पनि पाउनु हुनेछ। अरु जे चाहिन्छ त्यही पाउनु हुनेछ। यसो गर्ने हिम्मत छैन भने थाहा पाउनुस्, तपाईं अमेरिकामा बस्नु भएको छ र अमेरिकामै तपाईंले आफ्नो ठाउँ बनाउनु पर्नेछ। नेपालकाहरुलाई गाली गरेर समय नगाल्नोस्, अमेरिकामा आफूलाई केही बनाउन सक्नेगरी संघर्ष गर्न थाल्नुस्।” एउटा कुरा मैले अस्तिकै दिनदेखि ख्याल गरेको थिएँ – अरुले पनि गर्नुभएको रहेछ। ढोका उघार्ने, कोठा सफा गर्ने चोकिदारी गर्ने जस्ता कामहरुमा आधारभूत रुपमा कालाहरु नै रहेछन्। प्रजातन्त्र त यहाँ चर्को होला, तर भेदभावको पर्खाल पनि चिताइनसक्नुको अग्लो रहेछ। यस्तो हालतमा अमेरिका बसेका नेपालीहरुले कहिले ठाउँ बनाउलान्? कहिले अल्पसंख्यकका रुपमा आफ्नो अधिकार स्थापित गर्लान्। विचराहरु! ग्रिनकार्डमा गर्व गर्ने नेपालीहरु नागरिक नभै आफ्नो इहलिला समाप्त गर्दा हुन् र एकदिन शायद अमेरिकाभित्र नेपाली हुनुको अस्तित्व समाप्त हुंदो हो। नेपालीको कुरा गर्दा राजेन्द्र ओलीको नाम पनि उठाउनु पर्ने भएको छ। अरुणले हिंड्ने बेलामा ओलीको ठेगाना र फोन नंबर दिंदै भन्नुभएको थियो, “उहाँले सबै मिलाउनु हुनेछ।” अरुणको कुराले आश पनि अलिक बढी नै गरियो कि! तर साथी त साह्रै लापरबाह हुनुहुंदो रहेछ। उहाँले त वास्तै गर्नुभएन। अरु अरु नेपालीहरुले खोजी खोजी फोन गरेका छन्, तर उहाँ त मतलबै राख्नु हुन्न। बेकारमा केही सहयोग होला कि भनी आश गरिएछ। अमेरिकामा आफ्नै व्यस्ततामा हराएको नेपाली भनेर चित्त बुझाउने निर्णय गरेको छु। तर अरुणलाई भन्नुपर्ने हुन्छ – अरु नेपालीलाई यसरी कुनै व्यक्तिको भरोसायोग्य नाम भनेर नदिनु हेाला। दुःख हुन्छ। एमालेको नामै काटियो मैले आफूलाई अहिलेसम्म कम्युनिस्ट पार्टीको नेता भनेर परिचय दिएको छैन। सबैलाई भन्ने गरेको छु – म एउटा लेखक हुं, अहिले संसद सदस्य पनि भैदिएको छु। त्यसपछि प्रायः रबर्टले थप्ने गर्छ – उ मेन अपोजिसन पार्टीको केन्द्रीय सदस्य हो। रबर्टले जे भने पनि मैले आफ्नो परिचयलाई लेखकमा खुम्च्याउनुको एउटा कारण छ। पहिलो त मेरा लागि यही सत्य हो। पार्टीको दायित्व मेरो कर्तव्य हो र मेरो परिचय एउटा लेखककै हो। सँगसँगै अर्काे एउटा कारण पनि छ र यतिबेलाका लागि त्यही गम्भिर छ। काठमा(ण्डौमा मैले आफ्नो जीवनी बुझाउँदा आफू नेपाल कम्युनिस्ट पार्टी (एमाले को स्थायी कमिटीको सदस्य भएको, आफू तीस वर्षदेखि कम्युनिस्ट पार्टीमा काम गर्दै आएको कुरालाई बुझिने गरी प्रस्तुत गरेको थिएँ। यहाँ आएपछि सबैलाई बाँडिएको आफ्नो बायोडाटा मैले पनि पाएँ। त्यो यस्तो रहेछ। नामः प्रदिप नेपाल, सदस्य – प्रतिनिधि सभा, काठमाण्डौ नेपाल। नागरिकताः नेपाली। हालको पदः विपक्षी दलको केन्द्रीय कमिटीको सदस्य। पुराना पदहरुः राष्ट्रिय सभा सदस्य, १९९७–९९ सूचना, संचार तथा जलश्रोत मन्त्री – १९९४ – १९९५ प्रतिपक्षी संसदीय दलको सचिव – १९९१–९४ सचिव, काठमाण्डौ उपत्यका समन्वय कमिटी (प्रतिपक्षी पार्टी – १९८५ –९२ सचिव, लुम्बिनी अंचल कमिटी (प्रतिपक्षी पार्टी – १९८५–९२ सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको विद्यार्थी कार्यकर्ता। पृष्ठभूमि (अर्थात उनीहरुको टिप्पणी) – श्रीमान (मिस्टर) नेपाल १९६९ देखि राजनीतिमा सकृय हुनुहुन्छ। त्यतिबेलादेखि नै उहाँले बहुदलीय प्रजातन्त्रको पक्षमा काम गर्दै आउनु भएको छ। प्रजातन्त्रको पुनःस्थापनापछि उहाँ प्रमुख प्रतिपक्षी दलको राजनीतिक रणनीति तर्जुमा गर्ने महत्वपूर्ण (कि फिगर) व्यक्ति बन्नुभएको छ। मैले बुझाएको मेरो वायोडाटा र यहाँ बाँडिएको बायोडाटामा सानोतिनो असन्तुलन भएको भए मलाई उत्तिसारो नमिठो लाग्ने थिएन। तर यहाँ त उल्टो पो छ। अमेरिकी मित्रहरुले जति ठाउँमा प्रतिपक्षी पार्टी भन्ने शव्द उल्लेख गरेका छन्, ती सबै ठाउँमा मैले नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी लेखेको थिएँ। नेकपा एमाले भन्ने शव्द समुह किन चटक्क काटियो र त्यहाँ प्रतिपक्षी पार्टी राखियो भनेर बुझ्न मलाई कुनै अप्ठ्यारो परेन। तैपनि मैले आफ्नो सम्पर्क अधिकृतलाई बायोडाटाको नालीबेली सुनाउदै सोधें, “किन पार्टीको नाम काटियो?” “मिस्टर नेपाल,” उसले मायालु स्वरमा मलाई सम्झायो, “तिम्रो बायोडाटा तल तलसम्म जान्छ। उनीहरुलाई (अर्थात्, हाम्रा आयोजकहरुलाई अप्ठ्यारो परेको हुनसक्छ। कृपया तिमी मलाई यस्तो अप्ठ्यारो प्रश्न नसोध। मलाई लाग्छ – नेपालबाट आउने कम्युनिस्ट पार्टीका सदस्यहरुको बायोडाटामा सधैं यस्तै लेखिंदै आएको छ।” “तर यो त अपमान हो,” मलाई टिप्पणी गर्न मन लागेको थियो। मैले गरी हालें। “आई एम सरी,” उसको भद्रताले बहसलाई समाप्त पारिदियो। बाहिर अन्धकार छ र यतिबेला मेरो मन भित्र पनि अन्धकार छ। कस्तो पूर्वाग्रह हो यो? छ्या, कस्तो घृणा? कस्तो अविश्वास ? के वास्तविक प्रजातन्त्र भनेको यस्तै हुन्छ? तीस बर्ष जति अघि हुनुपर्छ, मैले एउटा निगर ब्वाई भन्ने अमेरिकी किताब पढेको थिएँ। कहाँ होला मानव अस्मिताको बलात्कारको ज्युंदो चित्र खिच्ने त्यो किताब? भन ए अमेरिकी मित्र, तिमी कुन प्रजातन्त्रको अभ्यास गरिरहेका छौ? मानव मर्यादाको असम्मानको कि एक्काइसौं शताब्दीको असभ्यताको! आफ्नो बायोडाटा हेरेपछि मैले आफ्नो कार्ड बाँड्न छोडेको छु। यसो रुची लाग्नेहरुलाई होला भनेर केही नेपाली पोस्टकार्ड, हिमालयका पोस्टरहरु र नेपाली कागजका साना ठूला क्यालेण्डरहरु ल्याएको थिएँ। आज पोस्टकार्ड बाँडे र भोलिदेखि सबैलाई त्यही मात्र दिने मन बनाएँ। यतिमात्र होइन, फिलाडेल्पि्कयादेखि म आफ्नो परिचय दिंदा यही एउटा सुत्र रट्नेछु – गुड मर्निङ्ग, अथवा इभिनिङ्ग, म प्रदिप हुं। लेखक हुं। एउटा किताब लेख्न तपाईंहरु कहाँ आइपुगेका छु। मलाई लाग्छ – हाम्रा आतिथेयहरु त्यसपछि असाध्यै खुशी हुनेछन् र उनीहरुले भन्नेछन् – ओ मिस्टर नेपाल ..। भेरी नाइस्। कत्ति रमाइलो जिन्दगी! तर यो रमाइलो जिन्दगीको दुखाइका पन्ध्र दिनहरु बिताउन मलाई पर्लय हुनेछ। म दिनदिनै मरिरहेको हुनेछु। अहो! कहिले २० तारीखको मध्यान्ह आउला र म अमेरिका छोड्न पाउला? कहिले २२ तारीखको मध्यान्ह आउला र प्यारो मातृभूमिको छाती चुम्न पाउँला? हिजो बेलुकी सुशिलजीले चीन र अमेरिकी जीवनको बारेमा तुलनात्मक अध्ययनको अनुभव बताउन भन्नुभएको थियो। म पहिलो दिनदेखि नै यसमा केन्द्रीत भएको छु र ती दुई जीवनको भेद साँघुरिएको देखेर आश्चर्यचकित पनि भएको छु। डेढ महिनाको बीचमा संसारका यी दुइ ठुला र परस्पर विरोधी मानिएका मुलुकको भ्रमण गर्ने औसर मेरा लागि महत्वपूर्ण सन्दर्भ भयो। मैले दुबै ठाउँका केही शहर घुम्ने, तिनीहरुको आतिथ्य ग्रहण गर्ने, त्यहाँका मानिससँग भेट्ने, उनीहरुको भावना बुझ्ने मौका पाउने भएको छु। तर यो विषय दैनन्दिनको टिपोटमा समेट्ने विषय होइन। यो त दुई मुलुकको भ्रमण समापनपछिको मैझारो मात्र हुनेछ। म त्यतिबेलै यो विषयलाई उठाउनेछु। हुनसक्छ फर्किदाको हवाइ यात्रामा म यसका बारेमा लेखौं। अमेरिकामा माग्नेहरु हिजो बाटोमा घुम्ने मौका पाइयो – एकछिनका लागि। बिहानको कुराकानीपछि खाना खान गइएको थियो अलिक परै। खाना खाएर फर्किंदा आधा घण्टाको यात्रामा मैले दुइजना माग्नेहरु भेटें। एउटा बुढा मान्छे थिएँ। माया लाग्दा। सत्तरी असीको उमेर हुनुपर्छ। पच्चिस सेण्टका ढ्याकहरु त थिए, एक मनले दिउँ कि जस्तो पनि लाग्यो। तर दिइन। किन? थाहा छैन। दिएको भए हुन्थ्यो। अर्को माग्ने चाहिं एउटा कालो मान्छे थियो। लामो गिलास समातेर केही बडबडाइरहेको थियो। टाढैबाट मैले उसको अनुहार नियाले र बाटो लागें। तेश्रो माग्नेलाई मैले डुपोण्ट सर्कलमै भेटें। हामी बेलुका यसो खुट्टा तन्काउन निस्किएका थियौं। एउटा बच्चालाई कोक्रामा सुताएकी त्यो एउटी सुन्दरी केटी थिई। पहिले त मैले थकाइ मार्न पेटीमा बसेकी केटी रहिछे भन्ठानेको थिएँ। –त्यसरी थकाइ मारेर बसेका मान्छे कहाँ कहीं पनि भेटिएका थिए।) तर छेउमा आएपछि म छाँगाबाट खसेजस्तो भएँ। मेले पनि बुझ्ने भाषामा त्यसले भनी, “वन डलर प्लिज।” एकछिन त मेरै कान उस्तो जस्तो मलाई लाग्यो। मैले आफ्ना पाइलाको गतिलाई घटाएँ। होइन रहेछ। म भन्दा पछिल्तिर आइरहेकी एउटी अधवैंशे स्वास्नीमान्छेतिर हेर्दै उसले फेरि दोहोर्‍याई, “वन डलर प्लिज।” नमिठो लाग्यो। त्यति सुन्दरी केटी अनि माग्ने! माग्ने पनि सुन्दरी हुन्छन् र? भन्ने मनोविज्ञान होला। खुद्रा भए दिउँ दिउँ लाग्यो। तर कसरी दिने? एक डलर माग्दैछे। एक डलर भनेको त पचहत्तर रुपियाँ पो हो। सोच्दा सोच्दै म र मेरो पछि पछि आउने अधवैंशे महिलाले त्यो सुन्दरी माग्नेलाई छोडिसकेका थियौं। हाम्रो बाटो मोडियो। तर त्यो केटीको सनपाट जस्तो महेंलो कपाल र चिटिक्क मिलेको गोरो अनुहारको ‘वन डलर प्लिज’ ले लामो समयसम्म मलाई घोच्न छोडेन।

cybernepali · Jan 31, 2013 9:12 AM · 2,792 views

1 Reply

I started reading this rumination with a heavy bias, I blame it on the title of the post. I expected to see complaints about what one was expecting US to be and what it turned out, the regular complaints of the disappointed Nepalis in America. But it wasn't the case. Maybe because Nepal ji is not just a politician but also a writer that he persuaded me to agree with every point he has brought up. Yes, we do tend to complain too much about Nepal, sitting here in US...part of it is the reason why we left Nepal; but now that we left the country we don't have as much right to constantly complain about its governance when we aren't doing anything about it. Also, I liked his point about how America discriminates against a political (communist) party, very aptly put. A good read. Thanks for posting.

Kiddo · Feb 1, 2013 2:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all