धनबहादुर खड्का- हाम्रो भेट चार वर्षअघि भएको थियो। ऊ मोडलिङको सानदार दुनियाँमा पाइला सार्दै थिई, म पत्रकारितामा बामे सर्दै थिएँ। शुक्रवार निस्कने एक श्यामश्वेत साप्ताहिकको अन्तिम पृष्ठमा 'फरक पाटो' भन्ने कोलममा नवप्रवेशी मोडल/गायिकाको अन्तर्वार्ता लिन्थेँ म। यसैमा छापिदिन उसैको गाउँको मेरो साथीले चिनाएको थियो। त्यो दिन बागबजारको एउटा क्याफेमा मम खाँदै गर्दा त्यो साथीले भनेको थियो, 'ओई, पत्रकार यसको इन्टरभ्यू छाप् न।' के भनेर छाप्ने? 'मोडल हो नि। अस्ति भर्खर याक एन्ड यतिमा भएको फेशन शोमा हिँडेकी थिई,' उसले भन्यो। अनुहार ठीकै थियो, तर जिउडाल चाहिँ असाध्यै मिलेको थियो। गजबको थियो बान्की। मैले अन्तर्वार्ता गर्ने मोडलले कम्तीमा दुइटासम्म म्युजिक भिडियोमा अभिनय गरेको हुनैपर्थ्याे। त्यसैले म सरी भनेर पन्छिएँ। छुट्टिने बेला उसले भनेकी थिई, 'एकदिन मेरो अन्तर्वार्ता लिन तपाईंले टाइम नपाएर हैरान हुनुपर्नेछ।' उसले हाकाहाकी चुनौती दिई। मैले हात हल्लाउँदै 'अल द बेस्ट' भनेँ। वास्तवमा मैले त्यति महŒवाकांक्षी र आत्मविश्वासी नवप्रवेशी भेटेको थिइनँ। एक वर्ष यसै बित्यो। एक दिन एक गायकको एल्बम लन्च कार्यक्रममा उसलाई भेटेँ। उक्त गायकको भिडियोमा सहायक मोडलका रूपमा देखिएकी रहिछ ऊ। एक्टिङ, डान्स सबै सिकिरहेकी छु भन्थी। त्यसको केही दिनपछि पुतलीसडकमा भेटेर एउटा अन्तर्वार्ता लिएँ। अन्तर्वार्ता छापिएन। तर, 'चम्किँदै ...' भनेर समाचार छापियो। ऊ खुशी भई। केही निर्माता/निर्देशकले फोन गरेछन्। भिडियोमा पनि अफर आएछ। त्यसपछि भने निरन्तर मेरो सम्पर्कमा रही। यही खुशीयालीमा एक दिन दरबारमार्गमा डिनरको निम्तो दिई। पहिलोपल्ट उसलाई मैले साँच्चीकै मोडल देखेको थिएँ। रातो वान्पिसमा साँच्चै सुन्दर देखिएकी थिई ऊ। उसैले खाना अर्डर गरी र भनी, 'अबको एक वर्षमा म को हुन्छु थाहा छ?' मैले जिस्क्याउने पाराले भनेँ, 'रेखा थापा।' नेपालमा चलेकी स्टार उनै थिइन्। उसले होइन भन्ने संकेतमा टाउको हल्लाई। पछि भनी, 'तपाईंलाई मन पर्ने त्यो बलिउडकी नायिका छ नि कैटि्रना कैफ, हो त्यस्तै हुन्छु।' म उसको 'ओभरएम्बिसन'ले आतंकितजस्तै भएँ। 'तिमी असाध्यै महŒवाकांक्षी भयौ,' मैले उसलाई सचेत गराउन चाहेँ, 'अतिले खति गर्छ भन्ने सुनेकी छौ नि?' उसको अडान कायम थियो, 'सुपरस्टारमा हुनुपर्ने सबै कुरा छन् मसँग। नाच्न, अभिनय गर्न र फाइट गर्न जान्ने भइसकेकी छु।' मेरो फिल्म पत्रकारिता अनुभवले नेपालमा स्टार हुन सजिलो छैन भन्ने बताउँथ्यो। मैले उसलाई सबै बेलिविस्तार लगाएँ। ऊ भन्थी, 'सोझासाझा केटी हुन् त्यसरी फस्ने।' त्यसको एक वर्षपछि पनि उसले कुनै फिल्म गरिन। दुइटा फिल्ममा अफर आएको बताई, यो बीचमा। एउटाको उसले कथा भन्नेबित्तिकै मैले नै नगर भनिदिएँ। अर्काे चाहिँ उसले डाइरेक्टरसँग झगडा गरेर छाडिछ। दशैँ शुरु हुनुभन्दा अघि नै म घर गएँ। उसको चाहिँ घरमा जुठो परेकाले दशैँ छैन भन्थी। म मेरो घर (बाजुरा) मै हुँदा एकपटक फोन गरेकी थिई, 'दाइ, मैले राम्रो फिल्म पाएँ नि' भन्दै। मैले बधाइ र शुभकामना दिएँ। फिल्ममा कुनै स्टार कलाकार नभएकाले लिड रोलमा आफू नै छु भन्थी। तिहारलगत्तै सुटिङ शुरु हुने पनि सुनाएकी थिई। तिहारपछि सम्पर्क गरिन। मैले सोचेँ सुटिङमा व्यस्त होली। काम पनि थिएन। मंसिर अन्तिम साता हो क्यारे। त्यस्तै बिहानको सात बजेको हुँदो हो। म चिया खाँदै पत्रिका पढिरहेको थिएँ। उसको फोन आयो। यसअघि उसले बिहान कहिल्यै फोन गरेकी थिइन। उठाएँ। उताबाट बोली, 'दाइ नमस्कार।' मैले पहिलोपल्ट उसको ऊर्जाहीन आवाज सुनेको थिएँ। मैले नमस्कार फर्काएँ। तर, उसको ऊर्जाहीन आवाजबारे कुनै प्रतिक्रिया दिइनँ। हालखबर सोधेँ। हालखबर खराब भएको बताई। 'के भयो?' मैले सोधेँ। ऊ रोईमात्र। काठमाडौँ आएपछि सविस्तार बताउने तर त्यो लेख्न नपाउने शर्त राखी। मैले सहमति जनाएँ। त्यही दिन दिउँसोको फ्लाइटमा काठमाडौँ आई तर दुई हप्ता मोबाइल स्विच अफ गरेर बसी। तेस्रो हप्ताको शुक्रवार उसैले फोन गरेर भेटौँ भनी। पुतलीसडकको कुमारी क्याफेमा भेट्यौँ। कालो रङको बाक्लो लङ कोट र कालै जिन्स पाइन्टमा आएकी थिई। कपाल राम्ररी मिलाएकी थिइन। पहिलोपल्ट मेकअपहीन उसको अनुहार मेरोसामु हाजिर थियो। मभन्दा बढी बोल्ने उसले पहिलोपल्ट आवाजबिना नमस्कार गरी तर भनिन, 'मेरो छोटे डन दाइ'। ऊ मलाई जहिल्यै 'छोटे डन दाइ' भनेर जिस्क्याउँथी। शुरुमा मन पर्थेन, पछि पचाउनै पर्‍यो पचाएँ। बिस्तारै यो शब्द प्रिय लाग्न थालेको थियो। यसपटक मैले नै अगाडि मुख खोल्नुपर्‍यो। उसले जब मुख खोली, एक घण्टा रोकिइन। उसले फाँद लाई, तिहार सकिएको पर्सिपल्ट ऊ पोखरा गएकी थिई, एउटा फिल्मको सुटिङका लागि। उसँग डिल गर्ने निर्माताका अनुसार निर्देशक पोखरामै थिए, अन्य युनिट गाडीमा गए पनि निर्माताले उसलाई प्लेनको व्यवस्था गरेका थिए। यसका साथ बीस हजार रुपैयाँ साइनिङ एमाउन्ट भनेर दिएका थिए। असी हजारमा फिल्म खेल्ने टुंगो लागेको थियो । स्त्रि्कप्ट पाएकी थिइन। साउदीतिर काम गर्न जाने नेपाली दिदीबहिनीको कथामा फिल्म बन्ने निर्माताले बताएका थिए। शुरुमा निरीह भएर त्यहाँ पुग्ने, उसले पछि गुन्डालाई रामधुलाई गरेर त्यहाँ दुःख पाएका सबै चेलीको उद्धार गर्नुपर्ने कथा थियो। मुख्य पात्र आफैँ भएकाले पहिलो फिल्ममै काम देखाउन सक्ने ठाउँ थियो। पोखरामा सात दिन वर्कसप गरेर स्याङ्जा एउटा गाउँबाट फिल्म सुटिङ थाल्ने र दुबईमा पुगेर सकाउने योजना ती निर्माताले बताएका थिए। ऊ निर्माता भन्नेको निर्देशनअनुसारै पोखरा पुगी। उसले बुक गरेको होटलमा गई। अरू निर्माण युनिट बाटोमा रहेको निर्माताले फोनमा बताइरहेका थिए। त्यसैले ढुक्क भएर बसी। बेलुकाको सात बजेको हुँदो हो, हस्याङफस्याङ गर्दै निर्माता आइपुग्यो, 'अरू युनिट बाटोमै छ, तिमीलाई न्यास्रो लाग्योहोला' भन्दै। कहिलेकाहीँ खुशीमा अलिकति पिउने गर्थी ऊ। त्यो दिन पनि खुशी थिई। अरू नआउन्जेल ड्रिंक्स गरेर बस्ने निर्माताको आग्रह टार्न सकिन। ती पुरुष बेला-बेला फोन गर्थे, गाडी कहाँ आइपुग्यो भनेर। 'गाडी बिग्रियो, ढिला हुन्छ रे,' निर्माताले जानकारी दियो। दुवैले खाना खाए। सँगै उसको रुममा गएर एकछिन टिभी हेरे। उसले केही शंकै गरेकी थिइनँ। जब उसलाई निद्रा लाग्न थाल्यो, 'तपाईं आफ्नो कोठामा जानुस्' भनी त्यसपछि ती पुरुष जिस्किन थाले। एकछिनमा उनका बलिष्ठ पाखुराले उसलाई कब्जामा लिए। त्यसपछि उसको चित्कार सुन्ने टिभीमात्रै थियो। त्यो पनि ठूलो आवाजमा बोलिरहेको! त्यो रात त्यो पुरुषले उसलाई प्रयोग गरिरह्यो। भोलि बिहानै ऊ बेपत्ता भयो। एसाथीको सहारामा उसको घर खोजी उसले। तर, ठेगाना गलत थियो। पछि थाहा पाई, ऊ त दशैँतिहार मनाउनमात्रै नेपाल आउने रहेछ। भोलिपल्टको फ्लाइटमा विदेश पुगिसकेछ। प्रहरीलाई खबर गर्दा झन् आफ्नै बदनाम हुने ठानेर चुप लागिछ। पत्याउनै नसकिने कथा भनिरहँदा ऊ थोरै रोई, धेरैपल्ट आक्रोशित भई। यस्तो लाग्थ्यो, यसअघिसम्म ऊ बेहोसीको दुनियाँमा बाँचिरहेकी थिई। 'हो रहेछ दाइ, सजिलो रहेनछ स्टार हुन,' उसले मानौँ ब्रह्मज्ञान पाएकी थिई। 'अकुपाई बालुवाटार' आन्दोलन चलिरहेको छ। ऊ त्यहाँ दिनहुँ पुग्छे र नारा लगाउँछे। (Source:www.nagariknews.com/friday/51983-2013-01-13-10-28-59.html)
Rudramati · Jan 14, 2013 10:18 AM · 2,690 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion