प्रचण्डपुत्रलाई अमेरिकी भिसा विना मगरसँग विवाह गरेपछि घर छोड्न बाध्य भएका प्रचण्डपुत्र प्रकाश (साकार) दाहाललाई अमेरिका जानका लागि प्रवेशाज्ञा मिलेको छ। प्रकाश विगत ६ महिनादेखि भारतको राजधानी नयाँदिल्लीमा रहँदै आएका थिए र उनले भीसाका लागि पनि नयाँदिल्लीस्थित अमेरिकी राजदूतावासमै आवेदन दिएको बताइन्छ। प्रकाशलाई भिसा उपलब्ध गराउन एमाओवादी अध्यक्ष प्रचण्डले भनसुन गर्नु परे–नपरेको बुझ्न सकिएको छैन। तर, प्रकाशलाई उपचारका लागि अमेरिका जान लागेकी उनकी जेठीदिदी ज्ञानु पाठकसँगै अमेरिका पठाउन लागिएको हो। ज्ञानुलाई क्यान्सर भएको र तत्काल उपचार नगरे उनको ज्यान जोखिममा पर्न सक्ने अवस्था रहेकोले प्रचण्डले उनलाई उपचारका लागि अमेरिका पठाउने भएका हुन्। ज्ञानुको उपचार त्यहीँ गरिनेछ जहाँ ख्यातिप्राप्त अभिनेत्री मनीषा कोइरालाको हालै मात्र उपचार भएको थियो। अमेरिकाको न्युयोर्कस्थित अस्पताल जुन अति महँगो भए पनि त्यसको विश्वसनीयता निकै माथिल्लो तहको मानिन्छ। सर्वसाधारण जनताको उक्त अस्पतालसम्म पहुँच पुग्ने कल्पना पनि गर्न सकिन्न। उक्त अस्पतालमा उपचार गर्न पाउने दोस्रो भाग्यमानीमा प्रचण्डको परिवार परेको छ। प्रचण्ड आफ्ना छोराछोरीलाई अत्यन्त माया गर्छन् र छोरीहरूसँग प्रचण्डको विशेष लगाव रहेको बताइन्छ। आफ्नी एक छोरीलाई सभासद् बनाएका प्रचण्डले अर्की छोरीलाई 'दुःख' भयो भनेर दार्जिलिङस्थित विवाह गरेको घरबाट फिर्ता ल्याई विराटनगरका अर्कै केटासँग विवाह गरिदिएका थिए। जेठी छोरी ज्ञानुको विवाह भने नेपाली सेनाको जमदारसम्म भएका चितवनका एक व्यक्तिसँग धेरै पहिले नै गरिएको थियो। उनै ज्ञानुको उपचार प्रचण्डले अमेरिकामा गराउने व्यवस्था मिलाएका छन् र त्यसको जिम्मेवारी पुत्र प्रकाश दाहाललाई सुम्पेका छन्। प्रकाश आफ्नो जिम्मेवारी लिन काठमाडौं आइसकेको बताइन्छ। घटना र विचारले दिल्लीमा रहँदा उनले प्रयोग गर्ने फोन नम्बरमा सम्पर्क गर्दा 'स्विच अफ' गरिएको पाइयो भने काठमाडौंमा उनीसँग सम्पर्क गर्न भएको प्रयास सफल हुन सकेन। तर, एक सूत्रले प्रचण्डपुत्र प्रकाश आफ्नी नवदुलही विनासँगै काठमाडौं पसेको जानकारी घटना र विचारलाई दिएको छ। जे होस्, जेठी दिदी ज्ञानु बिरामी भएपछि प्रकाश दाहालको पारिवारिक मिलन जुरेकोे छ।
aman · Jan 10, 2013 12:10 PM · 13,595 views
‘जनयुद्धमा लागेर जीवन बर्बाद भयो’ बन्दूक बोकेर बिचल्ली भएकाहरुको व्यथा गाउँठाउँका बेरोजगार र आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई सपना देखाउने गतिलो ठाउँ थियो विगतमा माओवादी जनयुद्ध । कलिलो दिमागमा नयाँ नेपाल र उज्वल भविष्यको सपना देखाएर माओवादीले नेताले धेरै युवाहरुलाई आफूतिर आकषिर्त गरे । राज्यले दमन गरेर आफ्ना मान्छे मारेका कारणले पनि कतिपय मानिसहरु बाध्य बनेर जंगल पसे । यसक्रममा धेरैले अल्पआयूमै ज्यान गुमाए । शान्ति प्रकृयामा आएपछि कतिपय नेताहरु राम्रो ठाउँमा पनि पुगेका छन् भने जनयुद्धमा लागेका धेरै युवा अहिले न यता, न उता अलपत्र अवस्थामा छन् । यीमध्ये केही युवालाई अनलाइनखबरले यस्तो अवस्थामा भेट्टायो : अधिकार माग्दा दुबै खुट्टा भाँचियो प्युठान नारीकोटकी २१ वर्षीय इच्छा जिसी यतिबेला हिँड्न नसक्ने गरी ओछ्यानमा थला पर्नुभएको छ । जनयुद्धको क्रममा सेना र प्रहरीसँग भिड्दा केही नभएकी जिसीले शान्ति प्रकृयामा आएपछि प्रहरीको लौरो खानुपर्यो । त्यो पनि अन्त होइन, आफ्नै पार्टी एकीकृत माओवादीको मुख्यालय बाहिर । ‘आफ्नो हक, अधिकार माग्दै धर्ना दिने क्रममा प्रहरीले हस्तक्षेप गरेर मेरो यो हालत भयो’ आफ्नो भाँचिएका दुईटा खुट्टा देखाउँदै उहाँले भन्नुभयो । अयोग्य घोषणा गरिएको बिरोधमा बहिगर्मित जनसेनाले आफ्नै नेताहरुको मुख्यालयमा धर्ना दिने क्रममा इच्छाको यो अवस्था भएको हो । ‘ऊबेला पार्टीले आक्रमणमा खटायो, बन्दूक बोकेर दुश्मनसिन लड्न पनि हिँडियो’ बिगत सम्झँदै इच्छाले भन्नुभयो-’ऊबेला योग्य, अहिले अयोग्य कसरी ?’ आफूलाई अयोग्य घोषणा गरिएकोमा उहाँलाई पटक्कै चित्त बुझेको छैन । काका खिमबहादुरलाई तत्कालीन शाही सेनाले हत्या गरेपछि इच्छा त्यसको बदला लिन जनयुद्धमा होमिनुभयो । ८ कक्षा पढ्दापढ्दै युद्धमा लागेकी उहाँले अहिले ११ कक्षा त पास गर्नुभयो । तर, आफ्नो जीवन बर्बाद भयो भनेर उहाँलाई बेलाबेला विगतले झस्काउने गरेको छ । ‘न जनयुद्धमा लागेर भनेजस्तो भयो, न राम्रोसँग पढ्न पाइयो’ उहाँले भन्नुभयो-’पार्टी नेताहरुले हामीजस्ता युवालाई ठूलो घात गरे ।’ जीन्दगी नै तहसनहस भयो सल्यान हेमल्चाका २४ वर्षीय अर्जुन बुढाथोकीको पारिवारिक अवस्था दयनीय छ । आर्थिक अवस्था कमजोर भएका कारण राम्रोसँग पढ्न पनि पाउनुभएन । पारिवारिक अवस्थाले उहाँलाई सानै उमेरमा निराशा र अभाव महसुस हुँदै गयो । ‘कोही धनी, कोही गरीब किन ?’ कलिलो दिमागमा उहाँलाई यो प्रश्नले झक्झकायो । अन्याय, अत्याचार र समानताको लागि लड्नुपर्छ भन्ने भावनाले उहाँलाई माओवादी जनयुद्धमा डोर्‍यायो । तेह्र वर्षकै उमेरमा बन्दूक बोकेर हिँडेका अर्जुनले सेक्सन कमाण्डरको जिम्मेवारी सम्हालिसक्नुभएको छ । पाल्पा, सल्यान, दाङ लगायतका ठाउँमा भएका आक्रमणमा उहाँ अग्रमोर्चामा हुनुहुन्थ्यो । भिडन्तका क्रममा उहाँ घाइतेसमेत हुनुभयो । शरीरमा अहिले पनि छर्राहरु बाँकी छन् । ‘खुट्टामा अझै पनि गोली छ’-अर्जुनले खुट्टातिर हेर्दै भन्नुभयो- ‘पार्टीले आश्वास दियो, लडियो, अहिले अयोग्य रे ।’ आफूहरुलाई अयोग्य घोषणा गरेर पार्टी नेतृत्वले अलपत्र पारेको उहाँको गुनासो छ । जनयुद्धमै लागेका कारण पारिवारिक अवस्था र आफ्नो जिन्दगी तहस-नहस भयो भनेर उहाँलाई निकै पछुतो लागेको छ । ‘आफ्नो यही अवस्थाले श्रीमतीसँग पनि सम्बन्ध विच्छेद भयो’ अर्जुनले भन्नुभयो-’पार्टी नेतृत्वले हाम्रो जिन्दगीमाथि खेलबाड गरेको छ ।’ नेतालाई नचाहिएपछि अयोग्य भएँ सिन्धुपाल्चोक टेकानपुरकी २० वर्षीया बिन्दा महतका साथीहरु कोही कलेज पढ्दैछन्, कोही काममा पनि लागिसके । उहाँ भने हक, अधिकार खोज्दै नेताहरुको दैलोदैलो चाहार्दै हुनुहुन्छ । ‘ऊबेला हक अधिकारका लागि भन्दै राज्यसँग लडियो, अहिले पार्टी नेतृत्वसँग लड्न परेको छ ।’ लाउँलाउँ र खाउँखाऊँकै उमेरमा बिन्दा जनयुद्धमा होमिनुभयो । बन्दूक बोकेर ‘दुश्मन’ खोज्दै आक्रमणमा लाग्नुभयो । ‘उबेला आक्रमणको मोर्चामा म योग्य थिएँ, नेताहरुलाई नचाहिएपछि अहिले अयोग्य भएँ’ आक्रोश पोख्दै उहाँले भन्नुभयो-’सानोबेला हामीलाई किन लगेर अहिले अलपत्र बनाएको ? यसको जवाफ नेतृत्वले दिनपर्छ ।’ जनयुद्धमा लागेर पढाइ-लेखाइ र परिवारको माया ममता नै बिर्सिन लागेको भन्दै उहाँ पछुतो मान्नुहुन्छ । ‘ऊबेला जनयुद्धमा लागेर गल्ती गरिएछ जस्तो लाग्छ’ महतले भन्नुभयो-’पार्टीले हामीलाई प्रयोग मात्रै गरेर छोड्यो ।’ पछुतो मात्रै लाग्छ सँगैका साथीहरु कोही सेनाको तालिम लिइरहेका छन् । कोही पढाइ सकेर जागिरे भैसके । तर, दाङ शान्तिनगरका २३ वर्षीय ठाकुर बिक पार्टी मुख्यालय पेरिसडाँडामा भौंतारिएरै दिन कटाइरहनुभएको छ । ‘ऊबेला पार्टीले सपना र आश्वासन बाँड्यो’ बिकले भन्नुभयो-’अहिले त्यही पार्टीले आक्रोश र निराशाबाहेक केही दिएको छैन ।’ आफूलाई अयोग्य घोषणा गर्नुमा पनि पार्टी नेतृत्वको हात रहेको उहाँको गुनासो छ । ‘संकटको बेला पार्टीलाई हामी नभई भएन, अहिले उनीहरु ठाउँमा पुगेपछि बिर्सिए’ बिकले भन्नुभयो ।आठ कक्षा पढ्दै गरेको अवस्थामा ०६१ सालदेखि विक जनयुद्धमा होमिनुभएको हो । विद्यार्थी संगठनदेखि सेनाको सेक्सन कमाण्डरसम्मको जिम्मेवारी सम्हाल्नुभयो । ‘पारिवारिक अवस्था पनि दयनीय छ, यता लागेर पढाइ पनि बिगि्रयो’ बिकले भन्नुभयो-’पार्टी नेतृत्वले हाम्रो भविश्यमाथि खेलवाड गर्यो, जीवन बर्बाद भयो, किन लागेछु भनेर अहिले पछुतो मात्रै लाग्छ ।’ विकल्प खोज्दै माओवादी जनयुद्धको बेला आफ्ना निर्दोष बा आमालाई सेनाले समाएर लगेपछि १४ वर्षीय अन्तराम चौधरीलाई निकै बिझ्यो । भित्रैबाट बदलाको भावना जन्मियो । अनि पढाईलेखाई छोडेर चौधरी मुक्ति खोज्दै युद्धमा होमिनुभयो । ‘प्लाटुन सह-कमाण्डर भएर धेरै ठाउँको आक्रमणमा सहभागी भएँ, अहिले बेहाल भइयो’ बर्दिया मानपुर तपराहका चौधरीले भन्नुभयो-’१० वर्ष पार्टीमा लागेर गरेको योगदान नेताहरुले भुले ।’ सत्ता र स्वार्थमा लागेर नेताहरुले आफूजस्ता युवाहरुको भविष्य बिगारेको उहाँको आरोप छ । ‘जनयुद्धमा लागेर जीन्दगी बर्बाद भयो, पारिवारिक अवस्था पनि लथालिंग भयो’ चौधरीले भन्नुभयो-’पार्टीमा लागेर केही भएन, अब जीवन गुजाराको लागि बैकल्पिक काम खोज्दैछु ।’तर समयमा पढ्न पनि नपाएको र अरु काम पनि नजानेकोले के पो गर्ने हो भन्ने पिरलो उहाँलाई छ । त्योबेला पैसा र हतियार, अहिले केही न केही ०५४ सालतिरको कुरा हो, त्यतिबेला गाउँठाउँमा माओवादी जनयुद्धको जगजगी थियो । रामेछाप लखनपुरका टंक गौतम स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्नुहुन्थ्यो । पढाइसँगै उहाँ अखिल क्रान्तिकारीको स्कूल कमिटीमा काम गर्नुहुन्थ्यो । स्कूल कमिटीमा उहाँले देखाएको सकृयताले माओवादी जिल्ला नेतृत्वलाई प्रभावित बनायो । त्यसपछि उहाँलाई पढाइ छाडेर युद्धमा होमिने ‘अफर’ आयो । ०५४ सालदेखि ०६३ साल बैशाखसम्मै उहाँले जिल्ला एरिया कमिटी सदस्य भएर काम गर्नुभयो । त्यतिबेला कामका लागि उहाँलाई खोजी हिँड्ने पार्टी नेताहरुले हिजोआज वास्ता गर्दैनन् । ‘जनयुद्धको बेला काँधभरि पैसाको बोरा र हतियार बोकेर हिँडियो, अहिले केही न केही’ गौतमले अनलाइनखबरसित भन्नुभयो । जनयुद्धमा लागेकै कारण गौतमको घरपरिवार लथालिंग र भताभुंग भयो । उहाँको घरमा कोही छैनन् । सँगै जिउने, सँगै मर्ने कसम खाएकी श्रीमतीले पनि छोडेर हिँडिन् । ‘जनयुद्धमा लागेपछि पढ्न सकिएन, कमाइ पनि भएन, मेरो यही आर्थिक अवस्था देखेर उनले पनि छोडेर हिँडिन्’ गौतमले भन्नुभयो । गौतमकी श्रीमती सरिता छोरो सहित काठमाडौंमा छुट्टै बस्नुहुन्छ । गौतम चाहिँ रामेछापमा बसेर पत्रिका विक्री गर्ने र विज्ञापन उठाउने काम गर्नुहुन्छ । यसैबाट उहाँ विस्तारै पत्रकारितातिर तानिन थाल्नुभएको छ । ‘महिनामा हजार रुपैंया कमाइ हुन्छ, जेनतेन खान र कोठा भाडा तिर्न पुग्छ’ गौतमले भन्नुभयो-’गम्भीर बिरामी भएमा उपचार गर्ने खर्च छैन ।’ जनयुद्धमा लाग्दा छुटेको पढाइ पनि गौतम अहिले कलेजसम्म पुर्‍याउनुभएको छ । जनयुद्धमा लागेकै कारण आफ्नो यो हालत भए पनि रामेछापका टंक गौतमलाई भने कुनै पछुतो चाँहि छैन । ‘मैले बेइमानी गरेको भए धनी हुन्थें, तर इमान्दार भएर काम गर्दा हालत यो भयो’ गौतमले भन्नुभयो-’जनयुद्धमा लागेर यस्तो भयो भनेर मलाई कुनै दुःख छैन ।’
aman · Jan 16, 2013 11:35 AM
and still the party convention is leaning towards ANOTHER peoples revolution!!
biwash prawashi · Jan 16, 2013 3:41 PM
No sympathy for the people in the second post. दुनियालाइ दुख दिएर भएको भौतिक पूर्वाधार हरु पनि मास्ने यस्ता बाँदरहरुलाई खुच्चिङ्ग!
hakim_saab · Jan 16, 2013 5:25 PM
aba kaha sabai rahul gandhi justai huncha ra? its called parenting and grooming hera na kasto suteko mora
3a3 · Jan 16, 2013 6:06 PM
Look at all these murderers regretting now. They should consider themselves lucky for not being dead or in jail. Killing innocent people, your own nepali brothers and sisters was never going to make their dreams come true. Absolutely no compassion from my side to these criminals.
hurray · Jan 17, 2013 12:29 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion