पृथ्वीनारायणको सान्दर्भिकता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  पृथ्वीनारायणको सान्दर्भिकता   (5 Votes)   1 2 3 4 5                             बुद्धिनारायण श्रेष्ठ १         विभिन्न राज्य-रजौटा, भुरे-टाकुरे, स-साना आकारमा छरिएर रहेका हिमाली राज्यहरूको सीमालाई एकीकरणको सूत्रमा बाँधी एउटा बलियो हिमाली राष्ट्र खडा गर्ने अभियन्ताका रूपमा पृथ्वीनारायण शाह चिनिन्छन् । एकीकरण अभियानको क्रममा गोरखाबाट नुवाकोट हुँदै कान्तिपुर, ललितपुर, कीर्तिपुर र भक्तपुरसम्म सीमारेखा तन्काएपछि उनले १८२६ मंसिर १ गते 'नेपाल' राज्यको जन्म गराए । उनी र उनका पितापुर्खा गोरखाका मूली भए तापनि विस्तारित राज्यको नामचाहिं नेपाल राखेका थिए । यसबाट उनको कुटिलता र उदारता बुझ्न सकिन्छ । उनका सन्ततिले नेपालको सिमाना पूर्वमा टिष्टा, पश्चिममा किल्ला-काँगडा, उत्तरमा बेलाबखत सिगात्से (ल्हासा नजिक) र दक्षिणमा गण्डक र गंगाको संगमस्थलसम्म विस्तार गरेका थिए । यद्यपि उनकै शाखा-सन्तानका पालामा वर्तमान सिमानामा आइपुग्यो । नेपालको सिमाना व्यापक र सुदृढ बनाउने चाहना राख्ने अभियन्ता पृथ्वीनारायण शाहको अन्य पहिचान पनि छन् । कतिपयले उनलाई राजाका रूपमा हेर्ने गरेका छन्, तर उनको क्रियाकलाप अध्ययन गर्दा नेपाल राष्ट्रनिर्माता, पूर्वराष्ट्राध्यक्ष, राष्ट्रप्रेमीको पहिचानसमेत छ भन्नुपर्ने हुन्छ । भारतमा शासन गरिरहेका अंग्रेजको पञ्जाबाट नेपाललाई जोगाउन उनले अनेक रणनीति र कूटनीति अवलम्बन गरेका थिए । ५२ वर्षे जीवनकालमा नेपालको राष्ट्रियता बचाउन र राष्ट्रको संरक्षण गर्न अनेक उक्ति, उपदेश, भनाइ र दिव्य विचार उनले उजागर गरेका थिए । उनको समयकालदेखि हालसम्म नेपालमा कतिपय उथल-पुथल भएका छन् । जस्तो, तत्कालीन जनताले थापा तथा पाँडेकाल भोगेका थिए भने त्यसपछि एक सय चारवर्षे जहानियाँ राणाशासन, प्रजातान्त्रिक काल, पञ्चायती कालखण्ड, पुनः प्रजातन्त्र प्राप्ति, लोकतन्त्र, शाहवंशको अन्त्य र हालको संघीय गणतन्त्रात्मक व्यवस्था पनि जनताले अनुभव गरिरहेका छन् । यतिका परिवर्तनपछि पृथ्वीनारायण शाहको दिव्य विचार र उक्ति राष्ट्रियताका हैसियतमा अहिलेसमेत सान्दर्भिक रहेको पाइन्छ । त्यस्ता समयसापेक्ष उक्तिहरूमध्ये केही यहाँ उतार्न खोजिएको छ । देशको सिमाना सम्बन्धमा पृथ्वीनारायण शाहको उक्ति रहेको थियो- 'सन्धिसर्पन हेरी गढी तुल्याइराख्नु र रस्ता-रस्तामा भाँजा हालिराख्नु । जाइ कटक नगर्नु, झिकी कटक गर्नु र श्रीगंगाजीको साँध पनि लाग्नेछ ।' यस अनुसार सिन्धुलीगढी, रसुवागढी, जितपुरगढी, मकवानपुरगढी जस्ता प्रवेश गर्ने मुख्य-मुख्य नाकामा गढी वा किल्ला बनाइएकोले अंग्रेज-नेपाल सीमायुद्धका समय सिन्धुलीगढीबाट क्याप्टेन किनलकको फौज धेरै मरी हार खाएर अंग्रेजी फौज उत्तर घुस्नसकेको थिएन । यसैगरी नेपाल-तिब्बत युद्धताका रसुवागढीबाट तिब्बती फौज नेपालतर्फ बढ्नसकेको थिएन । उनको उक्ति वर्तमान परिप्रेक्ष्यमा राष्ट्रको सिमानामा सीमा सुरक्षाबल तैनाथ गुर्नपर्छ भन्ने कुरा बुझ्न सकिन्छ । तर पृथ्वीनारायणको उक्ति अनुशरन हुन नसकेका कारण सीमारेखाको सुरक्षा हुन नसकी नेपालको ७१ ठाउँभन्दा बढी सीमा अतिक्रमण, मिचान, वाद-विवाद भएको छ । यसकारण भारतले नेपालको सिमानामा प्रतिकिलोमिटर सालाखाला २१ जना एसएसबी जवान तैनाथ गरेको छ । देशको सीमा पद्धतिको व्यवस्थापन गर्न र जनताको शान्ति सुरक्षाका निम्ति 'पक्की किल्ला बनाउनु, किल्लैपिच्छे तोप राखिदिनु र भञ्ज्याङपिच्छे एक-एक फलामे ढोका बनाई ढोकापिच्छे पाँच-पाँच सिपाही राखिदिनु' भन्ने उक्ति रहेको पाइन्छ । यस उक्तिको मनसाय अंग्रेज अत्यन्तै चतुरो जाति रहेको छ, लडाइँ-झगडा नगरी छलकपट गरेर भए पनि हाम्रो देशभित्र आउन सक्छन् । त्यसैले सन्धिसर्पन हेरी उचित ठाउँमा किल्ला बनाई रोक्न सकिन्छ भन्ने हुनसक्छ  । यस अनुसार सिन्धुलीजस्ता डाँडाको गढीमा अग्लो पर्खालको किल्ला बनाई फलामे तोप तथा बमगोलाहरू राखिएका थिए । यसैगरी देशको राजधानी रहेको काठमाडौं वरिपरि चार भञ्ज्याङ -साँगा भञ्ज्याङ, थानकोट बाडभञ्ज्याङ, काउले रानीपौवा भञ्ज्याङ, लेले चन्द्रागिरि भञ्ज्याङ) काठमाडौं छिर्ने नाकाको रूपमा कायम गरिएको थियो । हिजोआज पनि यी भञ्ज्याङहरूमा प्रहरी चौकी रहेका छन् र शान्ति सुरक्षाका हिसाबमा संवेदनशील मानिएको छ । उपत्यकाभित्र कुनै आपराधिक घटना घटेमा यी नाकाहरूमा कडाइका साथ चेकजाँच गरिन्छ । स्मरणीय छ, थानकोट सुरक्षाजाँच टोलीले भारत उत्तर प्रदेश सरकारका खाद्य तथा रसदमन्त्री सुरेन्द्रविक्रम सिंहका सहोदर भाइ ब्रजेशप्रताप सिंह तथा दुई भारतीय सुरक्षा अधिकारीसहित ६ जना भारतीयलाई १ थान एसएमजी, १ थान पेस्तोलसहित २०६१ असार १४ गते पक्राउ गरी भारतीय दूतावासमा बुझाएका थिए । यसबाट पृथ्वीनारायण शाहको दिव्य उक्ति हिजोआज पनि सार्थक रहेको छ भन्ने प्रमाणित भएको छ । अर्को कुरा, आजकलको रकेट र मिसाइलको जमानामा हाम्रा गढीमा तोप र बमगोला राख्नुको के मतलब रहन्छ र भन्ने भनाइ आउन सक्छ । तर अंग्रेज-नेपाल युद्धताकाका रसुवागढी र सिन्धुलीगढीमा रहेका यस्ता ऐतिहासिक पौराणिक वस्तु अवलोकन गर्न स्वदेशी-विदेशी पर्यटक ओइरिन्थे होलान् । तर यस्ता किल्ला र किल्लाभित्र रहेका सामरिक जिनिसको जगेर्ना र स्याहार-सम्भार गर्न नसकेका कारण यसको महत्त्व घटेको छ । यद्यपि यस्ता गढीमा अझै केही पर्यटक जाने गरेका छन् । पृथ्वीनारायणको उक्तिअनुसार गढी र किल्लालाई चुस्त-दुरुस्त राख्नसके देशले आर्थिक आम्दानी गर्न सक्ने थियो । 'यो राजे दुई ढुंगाको तरुलजस्तो रहेछ, चीन बादशाहसित ठूलो घाहा (मित्रता) राषनु, दषिनको समुद्रका बादशाहसित घाहा ता राषनु, तर त्यो महाचतुर छ' भन्ने उक्तिलाई देशको बागडोर सञ्चालनका लागि मार्मिक दृष्टान्तका रूपमा लिन सकिन्छ । हुन पनि हो, भारत या चीनमध्ये कुनै एकलाई नेपालले चिढाउने काम गर्‍यो भने नेपाल चिरिप्प नभए पनि हानि भने पुग्नसक्ने सम्भावना छ । त्यसैले नेपाल छुरीको धारमाथि हिँड्नुपरेको छ । चतुरोको फन्दामा परेर नेपाल बीचधारबाट दक्षिणतर्फ चिप्लिएमा दक्षिणको चतुराले नेपाललाई खेलाई-खेलाई नुन-तेलसम्म पनि रोकेर नाकाबन्दी गर्ला भन्ने सम्भावना नभएको होइन । स्मरणीय छ, शिथिल कूटनीतिका कारण दुई देश बीचको सरकार प्रमुखको मनोमालिन्य भएकोले २०४५ चैत १० देखि २०४७ असार १७ सम्म नेपालले आर्थिक नाकाबन्दी खेपेकै हो । तर पनि सरसामान अभावका कारण खान नपाएर एकजना पनि नेपाली मरेको सुनिएन । दक्षिणतर्फको मित्र चतुर छ भन्ने दृष्टान्त अन्य कुराबाट पनि अनुभव गर्न सकिन्छ । नेपालमा प्रत्येक नयाँ प्रधानमन्त्री हुनेबित्तिकै 'रेड कार्पेट' ओछ्याएर स्वागत गर्न तातो निमन्त्रणा पठाइहाल्छ । हाम्रा सरकार प्रमुख पनि लुरुलुरु गइहाल्छन् । आफू भने गत १५ वर्षदेखि नेपाल आएका छैनन् । मित्रता भनेको त लगभग 'रिसिप्रोसिटी'का आधारमा सुदृढ हुने होइन र ! उनीहरूको ध्येय होला, हामी बोलाउँल्छौं, उनीहरू आइहाल्छन् । यही हामी उनीहरूको कुरा सुनिहाल्छौं, जे सूत्र भन्नुपर्ने हो, उनीहरूलाई भनिहाल्छौं । अनि बेकारमा धाइधाइ नेपाल जान किन आवश्यक पर्‍यो र ! हुन पनि यस १५ वर्षे समयकालमा झलनाथ खनालबाहेक हाम्रा १० प्रधानमन्त्रीले औपचारिक भारत भ्रमण गरेका छन् । डा. बाबुराम भट्टराई प्रधानमन्त्रीमा चुनिएको एक घन्टाभित्रै भ्रमणको निम्तो दिएका थिए । तर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका प्रधानमन्त्रीलाई भारतका सहसचिव स्तरका व्यक्तिले स्वागत गरे । निम्ताको जवाफमा हाम्रा सरकार प्रमुखले विमानस्थलमा आफ्ना समकक्षी उपस्थित हुने भएमात्रै भ्रमण गर्छु भनी सर्तसहित चतुरका अगाडि महाचतुर हुन किन नसकेको होला ? सायद पृथ्वी विचार बिर्सेर हो कि ! उत्तरको मित्र पनि कम छैन । चीन-नेपाल सीमा-नाकाबाट रात-बेरात नेपाल छिरेका तिब्बतीलाई हिरासतमा लिएर चिनियाँ राजदूतावासलाई बुझाऊ, यात उनीहरू जताबाट आएका हुन्, उतै फिर्ता पठाऊ भनेर दबाब दिने गरेको छ, चीनले । पश्चिमेली देश (भारतको समर्थनमा) भन्छन्- नेपाल पसेका ती तिब्बतीहरू शरणार्थी हुन् । 'जेन्टलमेन एगि्रमेन्ट' अनुसार उनीहरूलाई नेपालले परिचयपत्र प्रदान गर्नुपर्छ । परिचयपत्र प्राप्तिपछि चाहे उनीहरू नेपालमै बसुन् या अन्य देशमा जाउन् । परेको छैन त नेपाललाई फसाद ! परिचयपत्र दिउँ भने त्यस्ता तिब्बतीहरूले नेपालको भूमिमा रहेर 'फ्रि तिब्बत'को नारा घन्काएर चीनको तिब्बतप्रतिको कमजोरी विश्वसमक्ष उजागर गरी चीनको खुट्टा तान्ने, अनि हाम्रो उत्तरी मित्र बिच्कने । अर्कोतर्फ नेपालले दिएको परिचयपत्रका आधारमा अमेरिका र बेलायतले तिब्बतीलाई भिसा प्रदान गर्ने अनि उनीहरूको देशमा पुगेपछि तिब्बतीले दिएको सूचना र जानकारीका आधारमा चीनलाई गाल्न खोज्ने । यस्तैगरी परिचयपत्र नदिँदा अमेरिकी संसदका आर्थिक दुरुपयोग नियन्त्रण समितिका सदस्यसमेत रहेका सांसद फर्‍याङ्क उल्फले भन्ने गरेका छन्- 'तिब्बती शरणार्थीलाई आफ्नो चाहना अनुसारका गतिविधि गर्न नदिए आफ्नो देशले नेपाललाई उपलब्ध गराउने लाखौंलाख डलरको सहयोग रोक्का गर्ने र कटौती गर्नेमात्र नभई त्यसलाई शून्य पार्नेछौं ।' यसबाट नेपाल मुस्किलमा परेको छ । यस्तै प्रसंगमा पृथ्वीनारायणको उक्ति रहेको छ- 'यो नेपाल तखत किल्ला हो, यो किल्ला पायो भन्या चारै बादशाह (बेलायत, रूस, चीन तथा रोम) ले बार्‍हाला लाउनेछ ।' यसै उक्ति अनुसारको नीति बनाइएमा नेपाललाई परेको मुस्किलबाट फुर्सद पाउन सक्ने थियो कि ! अन्य मामिलामा चीन पनि कम्तीको छैन । अनियमित तरिकाले नेपालतर्फ घुस्ने तिब्बतीका बारे चीनको आफ्नै कमजोरी छ, जुनचाहिं उसले आजसम्म महसुस गरेको छैन । तर नेपाललाई बोझ पारेको छ । तिब्बतीहरू नेपालतर्फ पस्न खोज्ने त चिनियाँ सीमा-नाकाबाटै हो । चीनले नेपाल छिर्ने नाकामा गतिलो ध्यान पुर्‍याएर तिब्बतीलाई त्यतै रोक्न किन सकेको छैन ? चीनबाट उम्केपछि मात्रै उनीहरू नेपाल पस्ने हुन् । अर्कोतर्फ मौन चालमा नेपालको दक्षिणी भेगको आर्थिक विकास परियोजनामा चिनियाँ परामर्शदाता तथा कामदार संलग्न गराई भारतको कमजोरी बुझ्ने कार्यमा चीन विस्तारै अघि बढ्दै गरेको कुरालाई भारतले सूक्ष्म दृष्टिले हेर्ने गरेको छ । त्यसैले नेपालले दुई ढुंगामध्ये एक ढुंगाले नकिचिने र दुईमध्ये एकमा ननजिकिने रणनीति बनाउन पृथ्वीनारायण शाहको उपदेश सार्थक हुनसक्छ । आजभन्दा एकाध वर्ष अघिसम्म केही राजनीतिक नेता पृथ्वीनारायण शाहको नाम भन्न त के सुन्नै चाहादैन थिए । तर आज ती नेताहरूले पृथ्वीनारायणको नाम सार्वजनिक सभामा पनि लिनलागेका छन् । पृथ्वी विचार नेपालको विकासका निम्ति अझै पनि सान्दर्भिक रहेको महसुस गरेका छन् । सरकारले भू-उपयोग आयोजनासाग सम्बन्धित रहेको उक्तिलाई नीतिगत बुादामा पनि पारेको छ । यसैगरी नेपालको कूटनीति र आर्थिक विकासका रणनीतिमा पनि संलग्न गर्दै लगिएमा नेपाल समृद्धिको बाटोतिर लम्किने थियो । पृथ्वीनारायणलाई शाहवंशीय राजाहरूको पितापुर्खाको हैसियतमा होइन, तर नेपाल राष्ट्रनिर्माताको रूपमा र हिमाली राज्य एकीकरण अभियन्ताका हैसियतमा उनको सम्झना र सम्मान गर्नुपर्छ । उनले गरेको राष्ट्रप्रेमको आदर र कदर गर्न हामीले हिचकिचाउनु हुँदैन र पर्दैन । नेपालको इतिहासमा उनको आफ्नै  पहिचान रहेको कुरा बिर्सनु हुँदैन । मैले मेरो बाबुबाजेलाई सम्झना गरिन र आदर गरिन भने म नालायक र बेकम्मा हुन्छु । त्यसैगरी नेपाल राष्ट्रको निर्माता को हुन् भनी स्वदेशी-विदेशीले सोधे भने हामीले बिनाहिचकिचाहट सर्वप्रथम पृथ्वीनारायण शाह नै हुन् भन्नुपर्ने कुरा इतिहासले बताएको छ । उनले नै २ सय ४३ वर्षअघि वर्तमान नेपालको जन्म गराएका हुन् ।

_____ · Jan 10, 2013 8:24 AM · 9,572 views

1 Reply

 Ghanta!!! Khana napayera koi mareko khabar suniyena? i think writter was a kid at tht time and don't remember anything.   Bullshit. History books need to be rewritten. Derai gunn gaan suniyo sanoo huda yo shah raja haru ka. Tara maile padheko kitab ra vastabikta nikai tada mahsoos garey. most of the things he did was for sake of his own fufillment. the history books written at that time by nepalese historians are very much biased and full of exagerration. 

Pakeetmaar · Jan 10, 2013 10:43 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all