जुआरी (कथा) भाग १ (कथामा उल्लेखित पात्रहरुका नाम-थर एसै श्रीजिएका हुन्, कुनै दोश्रो अर्थ नलागोस् ।) जु - जुनुमाया खड्का, खास नाम । न्वारन गर्ने पण्डित बाले जुराइदिएका; जुनुमाया नाम, अनी जन्म दिने बाको 'हक' पुछारमा झुण्डियो खड्का । पुश्तैनी थात-थलो पर्बतको पिपलटारी तिरै हो तर केही घटनाक्रम पछी उस्ले पर्बत बिर्सेकिछे वा बिर्सिन चाहेकीछे । तिलक खड्काकी जेठि छोरी हो जुनुमाया । तेसो त कुरा काट्नेहरुले उस्का बालाई निकै कन्जुसको ताज पहिर्याइ दिएकाथिए; सदरमुकामबाट आफै नुन-तेल बोकेर ल्याउंछन् र एता आफ्नो किराना पसलमा महंगोमा बेच्छन् भनेर । तर जुनुमायालाई एस्ता कुराको के मत्लव, उ त आफ्ना बाप्रती निकै आभारी थिई, बाले तेती दुखजिलो गरेर पसल नथाप्द्या भए कसरी उस्ले गल्लाबाट २० रुप्यां छड्काएर हरेक शनिबार सिनेमा भ्याउंदी हो ! पढ्दा ताका, पढाई र अन्य कृयाकलाप भन्दा पनि विहान चौरमा गाइने श्रीमान गम्भिर .. र शरस्वती वन्दना उस्लाई निकै मन पर्थ्यो; सानै देखी नाच-गानामा रुची भएर नि होला । करिश्मा केसी (उ बेला मानन्धर भईसक्या थिनन्) निकै मनपर्ने हिरोनी उस्लाई त्यो बेला, तेस्तै बन्ने धुन उस्को र राजेश हमाल जस्तै 'ह्यान्सी' जीवन साथीको तलाश हुन्थ्यो उस्को । २०५८ सालमा जुनुमायाको स्कुले दैलोमा 'जिल्लास्तरिय' भन्ने जन्तु आइपुग्यो । हुन त जुनुमायालाई पढाईप्रती साह्रै मोह ! उ धेरै भन्दा धेरै पढेर ठुलो भन्दा ठुलो मान्छे हुन चाहन्थी । तर उस्को त्यो महान लक्ष्यमा संधै बाधक बनेर वितृष्णा जगाउने ३ मुख्य कारक तत्वहरु थिए - विज्ञान, गणित र अंग्रेजी । खै ! कुन चाइं पटमुर्खले बनाएछ यि कुराहरु ! जुनुमायाको सामुन्ने मात्र आउन् न ति विद्द्वान भनाउदाहरु; कांचै खांदिहो उस्ले ! एक सांझ, स्कुले झोला हल्लाउंदै जुनुमाया घर आइपुगी । छर-छिमेकीको भिड थियो .. आंगनमै बाबु तिलक खड्का ढलेका थिए .. पिंढीमा कुखुराको खोर नजिकै आमा केशरी खड्का ढलेकी थिईन् .. रोइरहेकी ९ वर्षकी बैनी जमुनालाई एउटी फुपु पर्नेले काखमा च्यापेर कुन्नी के-के भन्दैथिन्; जुनुमायाले केही सुनिन । रगतमा लथ्पत निर्जिब बा-आमालाई देखेर उस्लाई रिंगटा लाग्यो, तै नि झोला एकातिर फालेर बालाई झक्झकाउन पुगी, "तंलाई माट्टां हाल्नुहुनी, जा उता" भनी हाल्छन् कि बाले भन्ने उस्को आश । तर बाले केही भनेनन्, उन्ले लाएको सेतो धर्के सट रगतले पुरै रातो भएको थियो, मुखभरी निलडाम, अनुहार कुरुप र सुन्निएर जुनुमायाका हंसिला बालाई उसैले चिन्न नसक्ने जस्ता भएका थिए । छाती उदाङ्गिएको थियो, मांशपेसीका केही चोइटा र करङहरु नाङो आंखाले देखिन्थे, उन्ले लाएको एउटा gold star तेहिं नजिकै उल्टो परेको थियो । उ अर्ध वेहोशीमा आमालाई जगाउन पनि पुगी, तर आमाको पनि उही ताल थियो । रगतले भिजेको कपालले आधी मुख छोपिएको थियो, आङै सिरिङ्ग हुने विक्षिप्त किसिमले देब्रे हात भांचिएको । "आमै - ए आमैss " भन्दै उस्ले आमालाई उठाउने धेरै प्रयास गरी तर जुनुमायाकी आमा अब कहिल्यै नउठ्नेगरी सुतेकी थिईन् । उस्को अवोध मनमा एउटा चट्याङ कड्केर बर्स्यो, यथास्थितीसँग तालमेल बसाउनै सकिन, अब उ पुरै होश गुमाएकी जस्ती भएकी थिई, बाउ-आमा त्यसरी क्रुर किसिमले मारिएर टुहुरी हुंदा पनि उस्को आंखाबाट एक थोपै आंशु झरेन । काका बाउले दाई-भाउजुलाई दागबत्ती दिए; जीवनमा पहिलो पल्ट जुनुमायालाई आत्मग्लानी भो, छोरी भएर जन्मनुमा । नत्र त उसैले काजकृया गर्दी हो आफ्ना बाउ-आमाको, चिताको आगो मुश्लिंदै जल्यो, तेही आगोमा जले जुनुमायाका धेरै सपनाहरु । धेरैपछी जुनुमायाले था'पाइ 'क्रान्ती बन्दुकको नालबाट निस्किन्छ' भन्ने मान्छेहरुले मारेका रे उस्को बा-आमालाई । उस्का बा-आमा असहयोगी थिए रे, नया नेपालको निर्माणमा । क्रान्ति र काला गुलाबहरु बारे अज्ञान थिई उ तर अब अन्जानमै पनि घ्रिणा पलाउन थाल्यो तेस्प्रती उस्को । र डराउन पनि थाली, कतै उस्का बा-आमा झैं उ र उस्की बैनी पनि असहयोगी साबित हुने हुन् कि भनेर । जिम्मेवारीले मान्छेलाई धेरै छिटो बुढो बनाइदिन्छ रे, १४ वर्षकी जुनुमाया पनि अब बुढी भै । बैनिको खुशी र जीवनले अब उस्लाई सपनामा पनि लखेट्न थाले । जमुना कैले दलदलमा भास्सिन्थी, कैले भिरबाट खस्थी, कैले कुनै डरलाग्दो प्राणीको पञ्जामा चेप्टिन्थी; जुनुमायाको सपनामा । आधीरातमा काहालिंदै, निश्सासिंदै र पसिनाले निथ्रुक्क हुंदै जुनुमाया ब्युंतिन्थी र संगै सुतेकी जमुनालाई सकुशल देखेर एक क्षण खुशी पनि हुन्थी तर अर्को क्षण लग्लग काम्दै भयभित पनि हुन्थी; कतै यो सब कुरा सांच्चै भो भने ? एकरात जुनुमायाले के सोची कुन्नी, अलि-अली झिटी-झ्याम्टा बटुलेर बैनिलाई डोर्याउंदै निक्ली, पिपलटारी छोडेर । दिदी, हामी कां जान ला' ? जमुनाले आंखा मिच्दै सोधी । भोली यहाँ राक्षसहरु आउंछन् के, तेइ भएर हामी धेरै टाढा जान ला' । जुनुमायाले मायालु स्वरमा भनी । तेसो भए त दगुरम्न । जमुनाले दिदिको कुर्ताको फेर बलियोसँग समातेर आश्वस्त हुंदै भनी, तर जुनुमाया आफैमा भने आश्वस्त थिईन, उस्ले अलि-अली बुझेकी थिई - संसारको हरेक कुनामा राक्षसहरु छन् भनेर । राजधानी छिरेको सुरुका केही वर्ष, केही मान्छेले उस्को जीवनप्रती दया-माया देखाए; उस्ले नि कबुल गरी आफु र बैनिको भविश्यकालागी, पछी तिनै मान्छेले उस्को जवानीप्रती दया-माया देखाए; उस्ले फेरी नि कबुल गरी बैनिको भविश्यकालागी । आज; जुनुमाया खड्कालाई कसैले चिन्दैनन् । तर, चल्तिका डान्स बारमा उस्को नाम र भलादमी भनाउदाहरुको गोजिमा उस्को नम्बर 'माया' भनेर लिईन्छ, लेखिन्छ र चिनिन्छ । उस्ले आफ्नालागी 'माया' नाम किन रोजी, तेस्को व्याख्या उसंगै होला । तर मलाई व्यक्तिगत हिसाबले सान्दर्भिक नै लागेकोछ, किनभने उ बिना-भेदभाव सबैलाई समानरुपले 'माया' बांड्छे; गोजी गरम हुनुपर्‍यो - बास् । दिदी कफी । आश्मानी सर्ट, गाढा निलो स्वयटर, पेण्ट, टाइ र कालो जुत्ताको युनिफर्ममा रेडी भएकी जमुनाले बाहिर कौशिमा बसेकी मायालाई एक कप कफी ल्याइ पुर्याइ । जमुना अहिले २० वर्षकी भैसकी, राम्रैमा गनिने कलेजमा BCA पढ्दैछे । मायाले नभने पनि, मायाको बारेमा धेरै कुरा था' छ जमुनालाई, बाहिर-बाहिरै धेरै कुरा सुन्छे उ, मायाकी बैनी हो भनेर धेरै कमलाई जानकारी होला तर उस्को आत्माले कैयौं पटक अप्ठ्यारो महशुस गरेको स्थिती पनि छ । एती हुंदाहुंदै पनि उस्ले मायासँग कहिलेइ यो बारेमा कुरा गरेकी छैन; एउटा mutual understanding जस्तो छ उनिहरुमा । जमुनाको हरेक आवश्यक्ताहरु उस्ले भन्नु भन्दा पहिले नै मायाले पुरा गरिदिएकी छे र तेस्को source सोध्ने आंट जमुनासँग छैन; कैलेकाइं बरु उस्लाई आफैप्रती घ्रिणा जागेर आउंछ, म व्यर्थै बोझ भएकोछु र मेरै कारणले दिदीले यो नारकिय जीवन बांच्नु परेकोछ भनेर । पैसा चाइने भए मेरो पर्सबाट निकालेर लैजा है । सेतो टि-सर्ट र कालो पाइजामा लाएर गुम्लुङ्ग कालै पश्मिनाको पछ्यौरा ओढेकी, मायाले कफी समाउदै भनी । तैंले भनिराख्नु पर्छ र ? मैले अघी झ्याप हानी सकें । जमुना अर्को कुर्सिमा बस्दै भन्छे । कफी त हैन नि फेरी ? मायाले जमुनाको कपतिर हेर्दै सोध्छे, उस्को बिचारमा केटाकेटीले चिया-कफी खानु हुंदैन, तेसैले जमुनालाई ति सब कुराहरुमा बन्देज छ जो केटाकेटीले गर्नु हुंदैन; भलै उ आफु ५ वर्ष मात्र जेठि छे जमुना भन्दा । यिss दुध हो भन्या ! जमुनाले दुधको कप देखाउंदै प्रमाण पेश गरी । दिदीss घरमा नभएनी कलेजमा त खान देन, सब्बैले गिज्याउंछन् के दुध र जुस खाइ भनेर, म त खाइदिन्छु है कुन दिन । जमुनाले दुखेसो पोखी । गिज्याउनेलाई गिज्याउन दे, तिन्ले गिज्याएर के हुने होर ? मायाले हातको पत्रीका पल्टाउंदै भनी । अं तंलाई भन्न पो सजिलो छ र ! जमुनाले आफुमाथी ठुलै पहाड खस्या झैं गरी । तेरो ब्या भएसी सब्थोक मै बनाएर दिम्ला भएन ? अब कती नै बस्लेस् र तं मसँग ? तल बाटोमा हुईकिंदै गरेको एक जोडी मोटरसाइकल यात्रीलाई हेर्दै मायाले भनी । एस्तो कुरा नगर है, तंलाई छोडेर म कैं नि जान्न । जमुना चिढिंदै उठी । किन ? मै जस्तो बुढी कन्या बस्ने रहर छ र तेरो पनि ? मायाले मुन्टो बटारेर ढोकामा उभिएकी जमुनातीर हेर्दै सोधी । जमुनाको दिल-दिमागमा धेरै कुराहरु तंछाड-मछाड गर्दैथिए प्रतिकृया स्वरुप, तर उस्ले मुखले केइ नि भनिन । म तरकारी पकाइदेर जाम् ? जमुनाले भित्र जांदै सोधी । पर्दैन, तं जा । खान मन लागे म आफै बनाम्ला । मायाले पत्रीकाको कुनै एक हेडलाइन पढ्दै भनी । हैन म बनाएरै जान्छु, टाइम छ केरे । जमुनाले भित्र किचनबाट भांडा बजाउंदै जवाफ फर्काइ । पत्रीकाको हेडलाइन र तेस्को तल छापीएको तस्विरमा मायाले विश्वासै गर्न सकिन । दाहिने हातको कफी कपलाई भुइंमा राखेर, पछ्यौरा अलिक खुकुलो पार्दै फेरी एकपटक राम्रोसँग तेही हेडलाइन र तस्विर राम्ररी नियाली; उ छांगाबाट खसेझैं भै, नाम उही छ ! फोटो पनि उस्कै हो ! उस्को एक मनले भन्दै थियो, यो सब झुठ हो, केही गल्ती छापिएको होला अखबारमा तर उस्को अर्को मनले कता-कता सत्य स्विकारी सकेकोथियो; आंखा भरिएर आयो, आंशुको एक थोपा गालाबाट तल बग्दै - चिउंडोबाट तप्प झर्यो .. माया कारागारको बाहिर कुरिरहेकी थिई, उ देखा पर्‍यो । लामो कपाल, झुस्स दार्ही-जुंगा र उस्तै फोहोरी पोशाकमा उ असभ्य र डरलाग्दो देखिन्थ्यो तर माया डराईन; उस्ले चिनेकी थिई, बाहिरबाट उ घाम-पानीसँग कुनै मतलव नराख्ने कुनै खोल्साको कालो पत्थर जस्तै देखिए पनि भित्रबाट त मैनबत्ती जस्तै थियो - कोमल र सत्गुणी । उ आफै जल्थ्यो, सक्किन्थ्यो तर अरुकालागी उज्यालो पार्न कहिल्यै कन्जुस्याइं गर्थेन । अंझै पनि मान्छे कुट्दै र मार्दै हिन्ने हो कि ? मलाई त धोका भयो नि, एक असल मान्छे जस्तो लागेको थियो तपाईं त मलाई ! मायाले अलि-अली रिसाएझैं गरी भनी । मलाई के था' त मन्त्रीको छोरो हो भनेर .. नत्र मारिनै दिएंथिएं । उस्ले झन जंगिदै भन्यो । था' छ ? भगवानले एउटा कुरा अली धेरै नै दिएछन् तपाईंलाई; रिष ! मायाले उस्को पाखुरो तान्दै ट्याक्सीतीर डोर्याइ । उ दुबै हात गोजिभित्र छिराएर लुरुलुरु हिंड्दै केही सोच्न थाल्यो .. हेर्नुस् साब, तपाईंले २ जना भनेर ४ जना आउनुभाथ्यो तर मैले केइ भनिन । पैला भनेको पैसा त दिनुस् । एक कालो रातमा, सडक छेउ माया आफ्ना ग्राहकसँग पैसा माग्दै थिई । रातो रंगको कुर्ता-सल्वार लाएकी मायाको दुपट्टा करिब-करीब भुइंमै लत्रिएको थियो, सामुन्ने ४ जना अधबैंसे पुरुषहरु उम्किन खोज्दैथिए । एss .... ! (एक पुरुषले निकै तल्लो स्तरको शब्द भन्यो) तंलाई था' छ म को हुँ ? खुरुक्क आफ्नो बाटो लाग्, हट् । हुनुहोला साब तपाईं कुनै ठुलै मान्छे, मलाई मेरो पैसा दिनुस्, कुरा खत्तम । मायाले रुखो स्वरमा भनी । तं जस्ती .... लाई राम्रो मुखले भनेर हुन्न .... ? दिन्नम् तेरो पैसा के गर्छेस् .... ? अर्को पुरुष कुर्लियो । ए मिष्टर ! गाली मैले पनि दिन जान्याछु । तिमीहरुलाई फोसामा पनि चाइने, अंझ ठुला कुरा पनि गर्ने ? माया पनि कड्की अब, उ पैला राम्ररी पेश आएकी मात्र हो, एस्ता कती नाथेहरुलाई त नत्र उस्ले देब्रे हातको कान्छी औंलामा नचाएर हिन्ने क्षमता राख्छे । तं .... बढ्ता बोल्छेस् .... ! पहिलोले एक थप्पड हिर्कायो मायालाई । ओए .... ! हात हाल्छस् .... ? माया पनि के कम, जाइलागी । मायाको रिष र हिम्मत मात्रै ठुलो हो, चार जना जुंगामुट्ठेसँग घम्सा-घम्सी खेल्नु बिचरीको तुजुकले कां भ्याउंथ्यो र ? दुई नरपिचाशहरुले अब त मायामाथी लात्तो पनि बर्षाउन थाले, माया पनि अन्य दुइलाई जमिन चटाएर चिथोर-च्याथोर र मुक्का-मुक्की गर्दै थिई - दृश्यमा नया पात्रको प्रवेश भयो । ओ दाइहरु ! केही problem छ भने घरतिरै सुल्झ्याउन मिल्दैन र ? यो आधी रातमा बिच सडकमा किन ? उस्ले वस्तुस्थिती नियाल्दै भन्यो, अचानक कोही तेश्रो मान्छेको उपस्थितिले ति चार पिपाशुहरु केही हच्किए, माया दौडंदै उतीर आई । एss ! जां जानु छ, खुरुखुरु गैहाल्; राम्रै भेट्छस् नत्र । मायाको चिथोर्याइ भेटेको एकले भन्यो । प्लिज, मलाई help गर्नुस् । मायाले उस्को दायां पाखुरोमा झुण्डिंदै सहयोगको आग्रह राखी । हेर्नुस् महाशयहरु, यि यो मेरो (हातको पोलिथिनको झोला देखाउंदै उस्ले भन्यो) आमाको कात्रो हो; मलाई मर्नु-बांच्नुसँग केइ मत्लव छैन । जल्लाई मर्ने विचार छ एता आउनुस्, जल्लाई बांच्ने मन छ आफ्नो बाटो लाग्नुस् । उ ओजनदार शैलिमा घाइते शिंह झैं गर्जियो । ति चार जनाले के सोचे कुन्नी, तितर-बितर भए । उ आफ्नो बाटो लाग्दै थियो, मायाले रोकी । कता जांदै हुनुहुन्थ्यो कुन्नी ? धेरै-धेरै धन्यवाद है हजुरलाई । मलाई अलिक हतार छ अहिले, राम्रोसँग जानुस् है । उस्ले मायाको प्रतिकृयाको पर्खाइ नै नगरि पाइला चाल्दै भन्यो । उस्लाई सांच्चै हतार थियो, अढाइ कोशजती पर उस्की आमाले उस्लाई कुरिरहेकी थीईन्, मुर्दा घरमा, मुर्दा बनेर । बांचुन्जेल भलै आफुले एक गांस खाएर अनी एक सरो लाएर भएनी उस्लाई सुखी पार्नुमै तल्लिन हुन्थिन् उस्की आमा तर मरेपछी भने दु:ख दिन थालेकीछन् उस्लाई, यो अन्जान शहरमा । क्रमश:
caliber19 · Jan 8, 2013 11:25 AM · 47,282 views
क्या गजबको कथा लेखेको रहेछ काइलाले .. झल्झली आफूले लेखेको लभलेटर सम्झे यार .. ल अरु पनि चिट्टो लेख ..
Geology Tiger · Oct 7, 2013 1:49 PM
काहिंला दाइ , घच्चीको गो यो पालि नि .... जे भे नि रिचाले मायामा कैद गरेरै छाडी भन्या त....फेरी कहाँ बाट अर्की माया आइ अनि फेरी अन्त्यमा हेरन रिचा पो देख्यो बा आइतेले नि ..... कहाँ बाट स्कुटीमा देख्या भन्या नि .... त्यो २ वटा कथा समानान्तर जाँदै गर्दा एउटा कथा लाइ अर्को संग छुट्याउन एस्सो डट लाइन या केहि ले छुट्टयाको भए सजिलो हुन्थ्यो हाम्लाई .... कथाको खुराकको लागि काहिंला दाइ फेरी पनि कृतज्ञ छु .... बाँकि पढन कुरेर बस्याछु के रे .... - थाहा छैन (थाने)
ThahaChaena · Oct 7, 2013 2:52 PM
क्याली जी, सर्बप्रथम त बिजया दशमीको मंगलमय सुभकामना | कथा भुतकालको सम्झना र बर्तमानमा दौडाएर सारो राम्रो गर्नु भो, पढ्नलाइ सारै मज्जा आयो | कथा जुन detail मा लेख्नु भाको छ, त्येसले गर्दा आफु नै "आइते" पात्र भाको आनुभब हुन्छ र आफ्नै कुनै सम्झनाहरु संग कथाका घटनाक्रमहरु जोडीन्छ | यती मात्र गुनासो छ कि, कृपया कथाका आरु भागहरु चाडै पस्कनु होला |
Phatte · Oct 7, 2013 3:52 PM
ये हेर मेरो सुद्धि ....भन्ने बिर्सिरा .... लु है काहिंला दाइ , बिजया दशमी को हजुर एवं परिवारलाइ हार्दिक शुभकामना .... घच्ची को होस् दशैं तपाईंको ...घोर्ले उमङ्ग सम्पूर्ण परिपूर्ण होस् लु... लागें अहिले लाइ ,.... अर्को भाग कुर्दै छु है भन्द्या छ दाइ....
ThahaChaena · Oct 7, 2013 4:36 PM
FUNTUSH; Thanx 4 ur appreciation, means alot. काले; माफी चाहन्छु । हाम्रा ल'रे माठ्साबले पहिलेइ आकाशवाणी गर्देर पनि हो कि (!) बिच्मा तेस्तै हुन गो' । जेहोस, सम्भवत: Pepsi को Add. अब बजाउनु नपर्ला । आशा गरुम्न है, संसारै आशमा अढेको छ रे ! बाघ दाई; प्रशंसाकोलागी तपाईंलाई धन्यवादको फुलपाती चढाएं । दाइहरुको मुखारबिन्दबाट 'गजब' सुन्न पाउनु हाम्रो अहोभाग्य ! लौलेटर मात्रै सम्झना भो त दाई ? कि अरु 'कुछ' पनि ? तर अब खुट्टामा नेल परी सकेपछी त सम्झनाले नै काम चलाऊनु पर्ने भो दाई, फसाद त्यो पो छ त ! थाने; त्यो डट-लाइन वाला टिरिक यो ज्यानलाई पैला आएन । फेरी पाठकले अगिल्लो भाग नै बिर्सिनेगरी बिच्मा एत्रो gap होला भन्ने नि सोच्याथि'न, सर्र फ्लोमा पढ्दा ट्याक्-ट्याक बुझिन्छ कि भन्ने भ्रममा म परेकोले, तपाईंहरुलाई पो गार्हो हुन गएछ; क्षमा चाहन्छु । अब कथालाई ३तिर दौडाएर पुछारमा जोडुम्की भन्दानी नमिल्नेभो; अघिल्ला भागहरुमा तिल-चामले भईसक्याछ ! अर्कोपाली भने एस्तर्फ म जरुर सचेत रहनेछु - गुण/दोष छुट्ट्याइदिनु भएकोमा मुरिमुरी धन्यवाद । फत्ते जी; आभारी छु यहाँप्रती । 'तिम्रो लेख पढेर मज्जा आयो' भनेको सुन्न पाउनु नै सायद कुनै लेखककोलागी सब्भन्दा ठुलो पुरस्कार हो रे ! झन मजस्तो अलेखकले त्यस्तो सुन्न पाउंदा त वैतरणी तर्या झैं हुन्छ ! गुनासो सोर्है आना जायज छ, स्विकार्छु । ऐले त माताहरुको सिजन छ, मलाईनी माता लागेरै बिच्मा छुट्न गा'हो ! अब खुशी भा'बेलां सक्काइहालुम् कि भन्ने जमर्को गर्दैछु, हेरुम् ! मौन पाठकहरुलाई पनि धन्यवाद सहित; सप्पैलाई दसैंको शुभकामना, सप्पैको जय होस ।
caliber19 · Oct 8, 2013 10:56 AM
जुआरी (कथा) भाग ६ .. अघी त्यो रातो स्कुटरमा जाने केटी पक्कै पनि रिचा हुनुपर्छ, उस्को ठम्याइ एस्तै थियो । उस्ले मलाई यदी देखेकी भए; रोक्दी हो ? बोल्दी हो ? के प्रतिकृया हुंदो हो ? बेलुका ओछ्यानमा डङ्रङ्ग उत्तानो पल्टिएर आइते एस्तै केही सोच्दैथियो, दिल-दिमागमा अरु आइतेहरु पनि जन्मदैथिए क्रमश: । समय कती बलवान ! वायुपंखी घोडा झैं एस्को आफ्नै रफ्तार, आफ्नै दिशा - अनी हामी; उस्को टापको ठोकाइले हावामा एक क्षण फुस्स उड्ने धुलोका कणहरु । नाश्शिनु पर्ने बांचाइ, माश्शिनु पर्ने सत्य । अस्तित्व पनि भ्रम जस्तै, स्वामित्व पनि रिण जस्तै; स्वविवेकी र स्वचालित बनेर आत्मा फगत स्वाङ पारीरहेछ ! खै केमा रह्यो त नियन्त्रण - जन्ममा ? मरणमा ? भाग्यमा ? कर्ममा त छ नि । प्राप्तीकालागी परिश्रम आवश्यक छैन र ? तर पनि सुनिश्चितता खै त ? के उस्ले नचाहेको हो र एउटा सुन्दर संसार ? मात्र कोरा सपनाहरु पुरा हुंदैनन् रे ठीक छ, तर प्रयास गरिएकाहरु पनि त फुटिगए आखिर विधुवाको चुरा जस्तै । आनन्द दाइss ! जमुनाको ढोका पिटाइले उस्को तन्द्रा भङ्ग भो । ह्म्म्ss खुल्लै छ । ओहो ! कस्तो अंध्यारोमा बस्नुभा' ? उस्ले प्याट्ट स्विच अन गरिदीई, चिमको टड्कारो उज्यालो कोठाभरी पोखियो; खाना खान आउनु रे । कल्ले पका' तिम्ले हो ? आइतेले सामान्य बन्ने प्रयासमा सोध्यो । म्म्; मैले बना'को किन मिठो लाग्दैन र ? उस्ले पनि कुराकानी सहज पार्न मद्दत गरी, उसो त माया मार्फत उस्लाई आइतेको बारेमा थोर-बहुत जानकारी भइसक्याथ्यो । होइन, आज झन; धेरै दिनपछी मिठो खान पाइनेभो भनेर नि । पुग्नेगरी त पका'छेउ के ! उस्ले ढोका ढप्काउंदै भन्यो । एss जत्ती छ । नपुगे मेरो भाग पनि खानुहोला भएन ? उ पनि जिस्कीई, दुबै सिंडी उक्लिए । आइतेको कोठा भुइंतलामा थियो, जमुनाका दिदिबैनी तेश्रो तलामा बस्थे । हैन अंझै तेइ हुलियामा भन्या ! कस्तो फोहोरी देख्याछ तपांइलाई त । आइतेलाई किचनमा देख्नासाथ मायाले ब्यंग्य गरी । भोली नै काटुम्ला भनेर हो । करीब-करीब एक औंलजती लामो दारी कन्याउदै उ मुश्कायो । ओहो ! एक्छिन सेब गर्नपनि आईतवार नै चाइने ? मायाले ब्यंग्यवाण जारी नै राखी, आइते र आईतवार पारस्परिक रहेकोले उ अंझै मुश्कायो । एss दाइको त कुरै नगर्न, ह्वां तल अंध्यारोमा धुम्धुम्ती तपस्या गर्दै हुनुहुन्थ्यो ! जमुनाले पनि 'आंखो देखी हाल' बयान गरी । ल-ल बस्नुस्, हात धुनु भा'हो ? माया पस्किन थाली । आफ्नै हात त हो, के फरक पर्ला र ! आइते सिङ्कतिर सोझियो । हेर-हेर, अल्छि दाई ! जमुनाले पानी राखीदीई । आहा ! कस्तो मिठो । तिम्रो हातमा त जादुनै छ हो, दिदिलाई पनि सिकाउन एस्तो मिठो पकाउन । ठुलो गांस चपाउंदै आइतेले जिस्कायो । है ! टाउको हल्लाउंदै जमुना फिस्स हांसी । केरे ? मैले त सिका'को उल्लाई ! माया एक ग्लास वाइन लिएर टेबुलमा आइपुगी; आज चाख्नुहुन्छ र ? मद्यपान श्वासनिकोलागी हानिकारक छ ! था'छैन ? हाs हाs ! हैन मलाई त कैलेकाइं अचम्म लाग्छ भन्या, तपाईं कसरी गुरुङ हुनुभा' ? बाहुन हुनुपर्ने मान्छे ! हे पर्भुss कां लेख्या छ हो फलानोले खानुपर्ने, ढिस्कानोले खानुनपर्ने भनेर ? तेइ त, फेरी बाहुनहरुले खांदै नखाने हुन् र ? जमुनाले पनि थपी एस्पाली । अरे वा ! बहुमत ? लौ हात खडा ! मायाले देब्रे हात उठाउंदै दाहिने हातले अर्को सिप लिई । आइते र जमुना मुखामुख हेर्दै हांसे । भोली के छ नि प्लान ? आइते जुंगा मिलाउंदै बाहिरिन लाग्दा मायाले सोधी । कलेज जानुपर्ने छ एकछिन । अली छिट्टै निक्लिनु पर्ला, खाना शायद बाहिरै हुन्छ कि । म बिहानै तयार गर्दिम् त दाई ? जमुनाले सोधी । हैन, पर्दैन बा । भरेकोलागी नै बनाउन है । उ निक्लियो । दाई गुडनाsssट ! ओके स्विsssट ड्रिम ! कस्तो मज्जाको है आनन्द दाई ? जमुनाले आंखा ठुला पार्दै सोधी । माया केही बोलिन, फिस्स हांसी मात्रै; एक सिप वाइन लिई - दिमागमा भने आइते थियो र त्यो रात पनि । उस्लाई अचम्म लागेकोथियो, कस्तो खाल्को मान्छे होला भनेर । आमाको कात्रो र के-केजाती पनि भन्दैथियो, के सांच्चै भनेकोहोला र ? खैर, अरु जेसुकै भएपनी उस्कै कारणले आज एउटा संभावित दुर्घटना टरेको थियो है; त्यसैले पनि त्यो मान्छेप्रती आभारी थिई माया । सञ्जोग पनि कस्तो पर्छ कैलेकाइं; जुन मान्छेलाई उस्ले राम्ररी धन्यवाद पनि भन्न पाएकी थिईन, जुन मान्छेको उस्लाई नाम सम्म पनि थाहा थिएन; तेही मान्छे टुप्लुक्क देखापर्यो शहीद गेटमा, भोलीपल्ट ! उ शायद कतै जाने माइक्रो कुरिरहेको थियो, माया ट्याक्सिमा त्रिपुरेश्वरतिर जांदै थिई । मायाले ट्याक्सिलाई तेहिंबाट बिदा गरेर उ भएतिर लम्कीई, तर खै ! उस्ले मायालाई देख्यो-देखेन वा चिन्यो-चिनेन; केही वास्तै गरेन, बरु माइक्रो आउने बाटोतिरै हेरिरह्यो । माफ गर्नुहोला, यहाँले शायद मलाई चिन्नु भएन क्यारे ! मायाले नजिकै गएर भनी । हजुर ? उस्ले मायाको अनुहारभरी आंखा दौडायो, कहिंकतै देखे-देखे जस्तो लागे पनि यकिन गर्न सकेन । सरी; म - मैले .. हिंजो राती मलाई ठुलो गुण लगाउनु भएकोथियो नि तपाईंले । मायाले प्रष्ट्याइ । ए ! तपाईं हो ! अब उस्लेनी सम्झ्यो । म अलिक तेस्तै हतारमा थिएं, सरी है । हैन-हैन प्लिज, मैले पो तपाईंलाई थ्याङ्क्यु भन्नु पर्ने । अनी ऐले कता जांदै हुनुहुन्थ्यो कुन्नी, फेरी डिस्टर्ब गरें कि के हो ? देब्रेतिर भिरेको हातेझोला मिलाउदै मायाले सोधी । केही डिस्टर्ब भएको छैन । म त सामाखुशी जाने माइक्रोलाई पर्खेर बसिरा'हो, खै । उस्ले बाटैतिर हेर्दै भन्यो । ए, त्यां पर आरएनएसी (तात्कालिन) बाट पाइन्थ्योहोला नि बरु अलिक छिट्टै । मायाले हातैले त्यता पारी देखाउंदै भनी । यदी तपाईंलाई आपत्ति छैन भने हिंड्नुस्न ट्याक्सिमा म पुर्याइदिन्छु, सम्झनुस्; मलाई ठुलो आत्मसन्तुष्टी मिल्नेछ । हैन ठिकै छ, मलाई तेत्ती हतार पनि छैन । एउटा कोठा हेर्न जानु थियो .. । तपाईं - माया बिच्मै रोकीई । हेर्नुस् त ! ऐलेसम्म त हाम्रो परिचय पनि भएको रहेनछ ! उ खितिती हांसी; म माया, माया खड्का । आनन्द गुरुङ । ८-१० दिन भो काठमाण्डु आएको, ऐले अलिक गार्हो परेर कोठा खोजिरा' । उस्ले मलिन परिचय दियो । हिन्नुस्न, त्यता कतै चिया खाम्, तपाईंलाई पनि तेतैबाट सजिलो पर्छ । मायाले सुन्धारातिर देखाउंदै आग्रह गरी । खै .. मैले त बाहिरको कुरा .. मेरो आमा खस्नु भो हिंजो । उस्ले भरसक सामान्य शैलिमा भन्ने प्रयास गर्यो । माया खङ्रङ्ग भई । हिंजो राती उस्ले भनेको कुरा बम झैं पड्कियो मथिङगलमा । ओ आइयाम सो सरी; दबेको लवजमा भनी उस्ले । अर्को भुइंचालो गयो उभित्र, तिलक खड्का र केशरी खड्काको रग्ताम्य आकृती बजारियो; गर्ल्याम्म । आमाबाबु गुमाउनुको दु:ख थियो उसँग पनि, सहानाभुती र सम्वेदनाले कक्रक्क निचोर्यो उस्को मुटुलाई पनि । प्लिज हिंड्नुस् मसँग, यहाँ के कुरा गरिराख्ने । मायाले उस्को हातै समातेर जिद्दी गरी, किनकी उस्लाई राम्रै थाहा थियो; यो शहर, यो भिड जतिसुकै ठुलो देखिएपनी एस्को चित्त रत्तिभरको पनि छैन भनेर । यहाँ दुख्ने घाउहरुलाई मलम लाउने औंलाहरु निकै कम छन्, हो, बरु नुन बोकेर हिंडेका मुट्ठिहरु प्रशस्तै छन्; हरेक गल्ली र चोक अनी तह र तप्कामा । अनी यहाँ तपाईंको कोही आफन्त, साथीभाइ - माफ गर्नुहोला, मैले सोध्न हुनेथियो कि थिएन ? मायाले मधुरो स्वरले बोली । चिन्जानको त कोही छैनन्, तेसैले पनि अलिक .. अनी सतिगती ? अगी बिहान दाहसंस्कार त गरें तर होटेलमा रिती पुर्याएर बस्न नसकिने, तेसैले नै कोठा पाईन्छ कि कतै भनेर खोज्दैछु । आइतेले अब केही खुलेरै कुरा गर्यो । यो बिरानो शहरमा आज कसैले अलिकती दया र आफ्नोपन देखाइदिंदा पनि पग्लियो बिचरो, एक्लो र निर्धो मुटुलाई कैलेसम्म गांठो पारेर राखिरहोस् त उस्ले पनि, उस्ले त ऐले सम्म मन फुकाएर आंशु झार्नसम्म पाएको छैन, भित्रभित्रै पिएकोछ; किल्किले दुखाउंदै । हाम्रैतिर जाउंनत नभए, म बस्ने घरमै भुइंतला जम्मै खाली छ, नभए मेरै कोठा उपलब्ध गराउंला तपाईंलाई, ढुक्क हुनुहोस् । सँगै भए सानोतिनो सहयोग म पनि गर्न सक्नेथिएं । मायाले आश्वास्त पार्दै भनी । कोठा त मैले पनि अघी उतै चाबेलतीर २-४ वटा हेरेकोथिएं तर काजकृया गर्ने भनेपछी शहर-बजारतिर अलिक नदिंदा रहेछन । उस्ले दुखेसो बिसायो । मायाले पुन: अतितको एउटा एैना देखी । कुनै दिन एउटी केटीमान्छे भएकैले मात्र उ आफ्ना पितृको काजकृया गर्नुबाट बञ्चित भएकी थिई तर आज यहाँ त एउटा केटोमान्छेलाई पनि बञ्चित बनाइदैछ । वा रे समाज ! आज तेरो धोती फाटेकोछ, त्यो नया टोपीमा गर्व नगर् पाजी ! अब तपाईं धन्दै नमान्नुस्, तपाईंलाई कोठा दिलाउने जिम्मा मेरो भो । ट्याक्सिss ! मायाले हात हल्लाइ । तपाईंको घरमा को-को हुनुहुन्छ कुन्नी ? अब घरै जाने भएपछी आइतेले अलिक अप्ठ्यारो महशुस गर्नथाल्यो । घर हैन, वहाल नै हो; बैनी र म मात्रै । हिंड्नुस्न पैले, सब रामकाहानी सुनाउंछु म । मायाले ढोका खोलीदीई, उ भित्र बस्यो, अर्कोपट्टिबाट माया छिरी । दाई, सिनामंगल । बिआइसिसीको पछाडितीरबाट लानुस् है, त्यसरी छिटो पर्ला । मायाले लागेपुगेको गरी तेतिखेर । हरेक कुरालाई पैसासँग मात्र दांजेकीभए त्यो सबकुराहरुमा टाउको दुखाउनुपर्ने कारणै थिएन तर भौतिकतामा त्यो सुख कहाँ छ र जुन उस्ले कसैको सहयोग र सेवामा भेटेकीथीई । सेवा यदी सांच्चिकै धर्म हो भने उस्ले पनि केही पुण्य त कमाएकीथीई । ओई दिदी ! आज किचनमै सुत्ने बिचार छ कि के हो ? जमुनाले झस्काइ । तं जा न, म आउंछु एकछिनमा । मायाले उतिर नहेरेरै भनी । आज बोतलै जानेभो त आनन्द दाई आउनुभा'को खुशीमा ? जमुनाले आंखिभौं तन्काउंदै बोतलतिर देखाइ । के-के सोच्दै गर्दा मायाले आज आधा भन्दा बेसी पिइसक्यारैछे । हैन यतिमात्रै हो । हातको ग्लासमा बचेँको अलिकती वाइन देखाइ मायाले, अनी एकै घुट्कोमा स्वाट्ट पारी । ल हिंड् सुत्नुपर्छ । अरे-अरे ! जरा सम्हाल्के मेरी जान ! जमुनाले दुबै हातले मायाको पाखुरो समातेर उठाउंदै जिस्कीई । चुप्लाग् ! दुबैजना गलल्ल हांसे । पानी ल्या हो ? अं । जमुना बाहिर पुगिसक्याथी' । माया पनि बत्ती अफ गरेर बेडरुमतिर लागी । आइते भने तल लाटोकोशेरो जस्तो भा'थ्यो । निन्द्रा लाग्ने फिटिक्कै नामोनिशान छैन । हिंजो-अस्ती जेलमै बरु निदाउन सकेकोथियो उ । के आज रिचालाई देखेर हो त ? होइन भने किन ? कोल्टे फेर्यो, उठ्यो, पानी खायो, फेरी ढल्यो; अंह - मन ब्याकुल भईरह्यो । हेर्दा-हेर्दै सिलिङ त एउटा ठुलो क्यान्भासमा परीणत भो । अनेक आकार र स्ट्रोकका थुप्रै रंगहरु पोतिए; उस्ले रिचासँग खेलेको होली जस्तै, राम शिंहको छिर्केमिर्के पोशाक जस्तै, बाटुलिको फुलबुट्टे गुन्यु जस्तै । अनी ति रंगहरु आफै सलक्क मिलेर जमुने भञ्ज्याङ बन्यो । तर कस्तो अचम्म ! त्यहां त उस्को घरै छैन; बाटुली, राम शिंह, धर्की, कसैलाई देखेन उस्ले । स्कुल भन्दा तलको ओरालोमा एउटा धमिलो आकृती थियो, उस्ले बोलाउन चाह्यो तर त्यो आकृती त झन्-झन् धमिलो हुंदै तेस्सै बिलाएर गयो ! क्रमश:
caliber19 · Oct 8, 2013 11:00 AM
वाह ! काहिंला दाइ कस्तो गहिराइ का साथ् बर्णन गर्नु भा भन्या नि .... सप्पै कथा आँखा अगाडी फिलिम चल्या जस्तै झलललल भैराथ्यो..... हैन त्यो <<मद्यपान श्वासनिकोलागी हानिकारक छ ! था'छैन ?>> भन्या के हँ ?? स्वास्थ पो हो कि स्वास्नी नै हो ? ..... कथाको गहिराइ र भावना संग बग्दै छु है दाइ..... लेखम अझै..... - थाहा छैन
ThahaChaena · Oct 8, 2013 3:18 PM
khoi ta arko bhaag........
cybro · Nov 29, 2013 3:53 PM
Tehi ta khoi arko bhag.
halo · Dec 1, 2013 2:31 PM
काहिंला दाइ लौ है म त झक्झ्क्याउन आएँ ...... ल कथा लेखेर जोडम न हौ ..... धेरै पो कुरियो ... - थाहा छैन
ThahaChaena · Jan 20, 2014 4:35 PM
हैन कहिंला दै चार महिना भैसक्यो कुरेको .... लेख्ने हैन यो कथा ?? कस्तो निराश परेको गाँठे हाम्लाई ....
ThahaChaena · Feb 24, 2014 2:46 PM
तेही त थाने ...कथै बिर्सिन लागि सक्यो ....अस्ति चौतारीमा भेट्दा पनि झक्झकाको हो ....फुर्सद निकालेर यो कथा सक्दिम न प्रभु !!
bhakte dai · Feb 24, 2014 7:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion