तामाङ भूमि छैन भन्नु युक्तिसंगत हुँदैन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  तामाङ भूमि छैन भन्नु युक्तिसंगत हुँदैन   - फुर्पा तामाङ       नेपालमा जातीय पहिचानमा आधारित प्रदेश नहोस् भन्ने आशयको डा. रमेश ढुंगेलको 'भेटिएन ताम्सालिङ' लेख (हिमाल १६–३० मंसीर) ले 'ताम्सालिङ' शब्द पुराना पुस्तकहरूमा नभेटिने र तामाङहरू 'मुर्मि' भएको कुरामा जोड दिएको छ। पुराना अभिलेखमा 'ताम्सालिङ' नभेटिनु साँचो हो, तर त्यसकै आधारमा तामाङ भूमि थिएन र छैन भन्नु युक्तिसंगत हुँदैन।   तामाङहरू हिमाल, पहाड र बेंसीमा फैलिएका छन्। हिमालमा बस्नेलाई तोर्पा (त्वेपा) र बेंसीमा बस्नेलाई मोर्पा (मोर्मी) भनिन्छ। तोर् भनेको माथि, मोर् भनेको तल र मी (म्अी) भनेको मान्छे हो। तल्लो भेकमा बस्नेहरूलाई च्योबा पनि भनिन्छ। क्षेत्रगत आधारमा पूर्वेली तामाङलाई श्यार्पा, पश्चिमेलीलाई नुप्पा, उत्तर वा हिमाली भेककालाई तोर्पा/त्वेपा र दक्षिणी भेक बेंसीकालाई मोर्पा/मोर्म्अी/मोर्मी भनेर वर्गीकरण गर्न पनि सकिन्छ।     डा. ढुंगेलले मोर्पा (मोर्मी) लाई 'मुर्मि' भनेर जोड दिएका हुन्। तामाङ समुदायमा ठूलाबडा, मुख्य वा अगुवा जनाउने मुल्मी/मुल्म्अी शब्द पनि प्रचलित छ। मुल्मी/मुल्म्अीलाई तःब/तेम्पा (तान्बा) र गेम्पा (गान्बा) पनि भनिन्छ। यही मुल्मी/मुल्म्अीलाई पहिला विदेशी र अहिले डा. ढुंगेलले 'मुर्मि' भनेका हुन्। तिब्बती (भोटेली) मा घोडालाई ता र सैनिकलाई माग्म्अी भनिन्छ, तर डा. ढुंगेलले माग् मात्र उल्लेख गरेका छन्। 'माङ' ले व्यापारी होइन बथान, हूल वा धेरै भन्ने जनाउँछ। तामाङ र तिब्बती संस्कृति हुबहु मिल्दैन। रसुवाका तामाङ र चीनतिरको ठोङ्सा, लेन्दे, च्याङ र केरोङका भोटेको जातीय मान्यता फरक छ। उस्तै देखेर मात्र हुँदैन।    कुलदेवता (ग्याल्की फोल्हा) र कुलदेवी (माङ्की म्होला) पूजा गर्दा मन्त्रोच्चारण गर्दै मरुभूमि काटेर तिब्बतको भित्री भागसम्म पुग्नै पर्ने विधिले तामाङहरू तिब्बतबाट आएका हुन् जस्तो लाग्छ। तर, तामाङहरू बसाइँ सर्न कम इच्छुक समुदायमा पर्छन्। सर्नै पर्दा पनि पुर्खाको थलो/जन्मथलो (रङ्की केसा/ठुङ्सा) छोडेर धेरै टाढा जाँदैनन्। गाउँ छोडेर जाने तामाङले बाबुबाजेको नाक काटेको (आखेमेमेयी न ख्लाजी) मानिन्छ। तामाङ जातिमा गाउँको माटो, भूमि, पानी, जंगल देवीदेवता (नेदा–शिप्दा) हुन् र तिनलाई छोड्नुहुँदैन भन्ने मान्यता छ।     डा. ढुंगेलले तामाङहरू नेपालमा कहिल्यै स्वतन्त्र शासक नभएको कुरा लेखेका छन्। तर, ककनी (कङ्नी) मा रुम्बा वंशका तामाङ राजा भएको लोकोक्ति रसुवाका गाउँघरमा अहिले पनि प्रचलित छ। यस अनुसार, गुरु पद्मसम्भव ग्याकार दोर्जेदेन (भारत) बाट आउँदा ककनीमा रुम्बा राजासँग युद्ध भएको थियो। बोन्पोले म्अी खः दोबा (खः ख्लाबा) पूजा गर्दा पनि यही कुरा भन्छन्। रसुवाका ठाउँठाउँमा घले (तामाङ) राजाहरूका दरबार छन्। इतिहासमा भएका यस्ता कुरालाई छ भनिदिंदा देशको अहित हुँदैन। केही समय नेपालको अध्ययन गरेका विदेशीले लेखेका कुरालाई आधार बनाएर 'तामाङको भूमि छैन' भनिदिनु बौद्धिक दायित्व हैन। नेपाली बुद्धिजीवीहरूले आइसकेका समस्यालाई थप चर्काउने हैन न्यूनीकरण गर्ने ध्येय लिनुपर्छ।    नेपालमा गाउँठाउँ अनुसारको भाषा–संस्कृति छ। तामाङको मात्र होइन, बाहुन–क्षेत्रीको पनि पूर्व र पश्चिमको भाषा–बोलीचाली फरक छ। खास भएको के भने; नेपालका मल्ल, शाह, बाहुन–क्षेत्री लगायतका जातजाति वा वंशले आफ्नो इतिहास आफैंले लेखे वा जान्नेलाई लेख्न लगाए। तर, तामाङको भने मौखिक कथन नै इतिहास हो, जसमा ठ्याक्क तिथिमिति खोज्नु बौद्धिक मूर्खता हुनेछ। अर्को कुरा, तामाङ भाषा बोल्नेहरूले आफ्नो इतिहास लेखेनन्, लेख्नेहरूले उच्चारण मिलाइदिएनन्।    श्रुति परम्परामा रहेका तामाङहरूको मुखमा पितापुर्खाका केह्राप, ठुह्राप, फह्राप, दोङह्राप, फोल्हा, म्होला पूजा र वंशावली (बिम्च्ये) सुरक्षित छन्। काठमाडौंमा बसेर जातीय पहिचानको राजनीति गर्ने र फलाना विदेशीले यस्तो लेखेकाले तामाङहरू तामाङ होइनन् भन्ने इतिहासकारहरूले अंग्रेजी भाषाको बढ्दो प्रयोगबाट यी धरोहरलाई कसरी जोगाउन सकिन्छ भन्नेतिर ध्यान दिनुपर्छ।    http://nepalihimal.com/article...

_____ · Jan 2, 2013 7:55 AM · 10,352 views

1 Reply

Very interesting.  

Nepali_American · Jan 2, 2013 9:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all