त्यो मान्छे!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

त्यो मान्छे! आमा ब्युझनु भएछ, चर्पीको ढोका घर्याक्क गरे जस्तो लाग्यो , सपनामा हो कि बिपनामा त्यो चाहि भन्न सकिन । आ, यति छिट्टै किन उठ्नु? निद्राले यस्तो झपक्कै पारीरहेको बेलामा! आमालाइ चाहि राति कति उठ्नुपर्ने होला? खुरुक्क न्यानो ओछ्यानमा नसुतेर!उसै त जाडोको रात कति छोटो हुन्छ, त्यस्माथि आमालाइ चाहि निद्रै लाग्दैन अचेल, बिस्तारै कोल्टे फर्के। कोठामा सर्याक सर्याक कोहि आए जस्तो लाग्यो । ह्या--, यतिखेर फेरि किन डिस्टर्ब? को आयो? ब्युँझनै मन छैन, निद्रा पनि अधकल्चो भयो, उठ्नै पर्ने भयो कि के हो? जे भए नि उठ्दिन, आज त स्कुलबिदा हो, किन बेकारमा बिहानै उठ्ने? "बाबु!" आमा कानैमा आएर बोल्नु भयो। "सहज!" मेरो दाहिने पाखुरा अलिकति घच्घचाउनु भयो, तर म मस्त सुतेको झै हलचल नगरी बसे। पक्कै दुध लिन पठाउन होला, म त मरिगए उठ्दिन, सुतेको जस्तै गर्छु, मैले मनमनमा निर्णय गरे। मेरो जवाफ नसुनेपछि आमा कोठामै यताउता के के मिलाउन थाल्नु भयो। घरि किताब मिलाउने घरि लुगा पट्ट्याउने, कोठामा के के को आवाज आउन थाल्यो। "आमा! उज्यालो पनि भएको छैन किन उठ्नु भएको? आफु त निदाउनु हुन्न हुन्न मलाइ पनि सुत्न दिनु हुन्न!" मैले झर्को मानेर आखा खोले। आमा मेरो किताबहरु सबै एकै ठाउमा राखिरहनु भएको थ्यो, सुत्नु अघि मैले सबै किताब छरेको थिए टेबलभरि कुन्नि के हो खोज्दा? "त्यो मान्छे"--- आमाले मलाइ पुलुक्क हेर्नु भयो। "को?" मलाइ केहि गम्भिर लाग्यो सन्दर्भ! "बिराजको बुबा!" आमाको स्वरमा चिसोपन थियो,"मैले आज सपनामा "त्यो मान्छे" देखे, एक्दम मैलो लुगा लगाएर हाम्रै घरतिर आइरहेको।" आमाको निधारमा दुइ आँखि-भौहरु एकआपसमा झुध्ला झैं खुम्चे। बिराज मेरो दाइ, उमेरमा म भन्दा पाँच बर्ष जेठो, "त्यो मान्छे" बिराजको बुबा, सम्बन्धमा मेरो आमाको लोग्ने, मेरो आफ्नै पनि जन्मदिने बुबा। तर जबदेखि "त्यो मान्छे"ले हामीहरुलाइ छोडेर कान्छि स्वास्नी बिहे गर्यो, अर्को छोरा पनि पायो, भाबनात्मक रुपमा हामीसङको नाता समाप्त भयो, बिराजलाइ चाहि त्यो मान्छेको कहिलेकहि माया लाग्छ रे, उसलाइ त्यो मान्छेले माया गरेको, बोकेर डुलाएको अलि अलि अझै याद छ रे, त्यसैले "बिराजको बुबा" भयो, म जन्मिनु अघि त्यो मान्छेले मेरो आमालाइ मामाघरमा छोडेर गएकोले, मलाइ त्यो मान्छे कस्तो छ भन्ने उत्सुकता पनि भएन। सानोमा म अरु लोग्नेमान्छेलाइ "बुबा" भन्थे रे! साँच्चै भन्ने हो भने मैले स्कुलमा सानोमा बुबाको माया कस्तो हुन्छ भन्ने निबन्ध लेख्दा हजुरबुबाको मायाको बारे लेखे रे। मलाइ मामाघरको हजुरबुबाले धेरै माया गर्नु हुन्छ, मेरो माग सब पुरा गरिदिनु हुन्छ मेरो भावना बुझ्नु हुन्छ, त्यसैले हजुरबुबा मेरो लागि धेरै प्यारो हुनु हुन्छ।। तर एउटै देश र बिभिन्न परिस्थितिमा पनि कुनै कुनै पुरानो फोटोहरुमा बाहेक मैले आफ्नै बुबालाइ कहिले देखिन, न त भेट्ने मौका पाए। त्यसैले "त्यो मान्छे" मेरो लागि कोहि अपरिचित जस्तै हो, जस्लाइ म बाटोमा कुहिनो ठोक्किए पनि चिन्न सक्दिन। "सुत्नु अघि के के सम्झिनु भो होला, अनि त्यहि देख्नु भयो नि! आमा मलाइ सुत्न दिनु!" सिरक तानेर मुख छोपे मैले। "लौ, मेरो त कल्पनामा पनि छैन "त्यो मान्छे"! यत्रो बर्षपछि अचानक कसरी? हैन, यो सपना जरुर कुनै नराम्रो समाचारको संकेत हो।" आमा झन कुरै शुरु गर्न भनेर बस्नु भयो। "हेत्तेरि, यो आमाको कुराले मेरो निद्रा खत्तम्!" सिरक आफ्नो मुखबाट झिकेर भने "आमा! सपना भनेको आफुले जे सोच्यो त्यहि देख्ने हो!" आमाको बेकारको चिन्ता भगाउन कोशिश निरर्थक प्रयाश गरे। "मैलो मैलो लुगा लाएको थ्यो, बिरामी पो छ कि?" आमा आफ्नै पारामा भन्दै हुनु हुन्थ्यो। "यत्रो बर्षसम्म हामीलाइ ज्युदो छ कि मरिसक्यौ भनेर वास्ता नगर्ने मान्छेको तपाइलाइ के को पीर हँ? जे सुकै होस्! जानुस्! गएर सुत्नुस् आफ्नो कोठामा!" "अरुलाइ के को धन्दा? यो कुम्भकर्णलाइ सुत्नकै धन्दा!" आमा गनगनाउदै कोठाबाट निक्स्किनु भयो। मलाइ हाँसो उठ्यो, तर एक्छिनमा सोच्न थाले। सानै उमेरमा आफ्नो परिवारले रोजेको केटोसङ आमाको बिहे भयो, नौलो घर जानु भयो, आफ्नै घर ठानेर नयाँ जिन्दगी स्वीकार्नु भयो, सन्तान भए, दुखमा कहिले गुनासो गर्नु भएन, अझ बाहिर गएर काम गर्ने देखि बच्चा हेर्ने सबै काम आफैले सम्हाल्नु भयो, तैपनि "त्यो मान्छे" को चित्त बुझाउन सक्नु भएन। आखिरमा त्यसले दोस्रो बिहे गरी छाड्यो, २०-२२ बर्षको कलिलो उमेरमा आमाको जिबन नितान्त एक्लो भयो, आफ्नो चाहनाहरुलाइ दबाएर आमाले खालि हाम्रो खुशीको लागि बाँच्नु भयो, अर्को बिहे गर्नु भएन। त्यो मान्छे सपनामा देख्दैमा किन यत्रो चिन्ता? के आमालाइ अझै "त्यो मान्छेको माया लाग्छ?" तल कोठामा फोनको घन्टि बज्यो, ४-५ घन्टिपछि शायद कसैले फोन उठायो, बिराजले यति बिहानै फोन नगर्नु पर्ने! जाँच छ, सकेपछि गर्छु भन्थ्यो, बैंगलोरमा इन्जिनीयरिङ् पढ्दैछ, बर्षको एकचोटि घर आँउछ, अझै २-३ बर्ष लाग्छ रे उसको पढाइ सकिन। जहिले मलाइ पढाइमा ध्यान दे भनेर हैरान गर्छ, बिराज सानै देखि राम्रो बिधार्थी, म उसको दाँजोमा सतही बिधार्थी, हजुरबुबाको मायाले पुलपुलिएको रे म। घर्याक्क फेरि ढोका खुल्यो। आमा आउनुभयो। मैले आमाको अनुहार राम्ररी पढ्न सकिन। अधेरो मुख पार्दै उहाँ उभिनु भयो, ठिक खाटको दाँयातिर। "मैले भन्दै थिए नि, सपना राम्रो छैन भनेर" त्यसपछि उहाँ गलैचामा बस्नु भयो। "कलन्किबाट फोन आएको थ्यो।" मैले भेउ पाउन सकिन। "बिष्णुले फोन गरेको भर्खरै!" आमाको आखा यतिखेर केहि रसिलो जस्तो देखे मैले। "अनि?" त्यो मान्छेको भाइ, बिष्णु, कलन्कीमा छ भन्ने सुनेको तर कहिले पनि त्यस्तो सोधिखोजि गरिएन, मुख्य मान्छेसङ सबन्ध टुङेपछि अरुसङ औपचारिकताको कुनै अर्थ रहेन। "हामी जानु पर्छ त्यहाँ!" आमाले मलाइ हेर्नु भयो। "कहाँ? कलन्की?" मैले उठ्नै पर्ने भयो, उठेर बसे। "हैन!" आमाले निधारको रातो टिका छाम्दै भन्नु भयो, "पशुपति!" मैले नसोधी आमाले सबै कुरा बिस्तारमा भन्न थाल्नु भयो, "त्यो मान्छे" सिकिस्त बिरामी भएर बीर अस्पतालमा भर्ना गरेको थ्यो रे, किड्नी फेल भएको रे, हिजो बेलुकिमात्रै त्यो मान्छे बिदा भएछ रे यो संसारबाट। यति धेरै घटना घटिसक्दा पनि उसको परिवारले हामीहरुलाइ जानकारी नदिने, अहिले जब मान्छे नरहेपछि खबर गर्नुको कारण के? मलाइ रिस उठ्यो। आमाले सम्झाउनु भयो, अहिले उसको छोरा मामाघर गएको छ, आउनलाइ बाटोघाटो समय धेरै लाग्न सक्छ, बिराज पनि यहाँ छैन, त्यसैले मैले त्यो मान्छेको दागबत्ति दिनै पर्ने बाध्यता छ, नत्र भए उनिहरुले हामीलाइ किन खबर गर्थे? "म जाँदिन!" मैले आफ्नै हठ गरे। आमाले लाख कोशिश गर्नु भयो, त्यसपछि हजुर-आमा, आन्टिहरु, र अन्त्यमा हजुरबुबाले सम्झाएपछि मैले आमासङ पशुपति जानै कर लाग्यो, खासै हो भने मलाइ त्यो मान्छेको अनुहार मरेपछि पनि हेर्ने रहर छैन, त्यो मेरो को हो र? बरु बाटोमा हिडेको भुस्या कुकुरको माया लाग्छ मलाइ, त्यो मान्छेप्रति मलाइ रति पनि सहानुभुति छैन। हाम्रो समाज कस्तो जटिल छ भने, मैले कहिले नदेखेको त्यो मान्छेको अन्त्यस्टिमा मै नभै नहुने परिस्थिति खडा गरिदिन्छ, दुइ चार दिन ढिलो चाँडो भैदिएको भए उसकै आफ्नो छोरो हुन्थ्यो मेरो ठाँउमा, मलाइ यस्तो क्रितिम ब्यबहार मनै पर्दैन, मन नपरेको मान्छेको मुखै हेर्दिन। म भित्र असन्तुष्टिका लप्काहरु उठ्दैथे, ट्याक्सी आयो, म र आमा, आन्टिहरु बस्नु भयो, हजुरबुबाले मलाइ फेरि एकचोटि फकाउनु भयो, उहाँको मायाले मलाइ जहिले पगाली दिन्छ, तुरुन्तै म भावुक हुन पुग्छु। पशुपतिमा त्यो मान्छेको भाइ, बिष्णु अघि नै हामीलाइ कुरेर बसेको रहेछ, पहिला आमा, त्यसपछि म र आन्टिहरु उसको पछि पछि लाग्यौं। बिष्णुले एउटा बुढो मान्छेसङै मलाइ छोडेर गयो, त्यो पाको मान्छेले के के गर्नु पर्छ भनेर मलाइ सिकाउदैँ/सुनाउदै थियो। बिहान उज्यालो भैसकेको थियो, मेरो अगाडि त्यो मान्छे सेतो कपडामा बेरिएर सुतेको थ्यो, बास्तबमा उ कहिले नब्युँझिने गरि सुतेको थ्यो। वरिपरि मान्छेहरु आउन शुरु गरिसकेको थ्यो। खै के भयो कुनि मलाइ के के गरु जस्तो भयो। मलाइ त्यो मान्छेलाइ झकझकाएर उठाउन मन लाग्यो र सबैको अगाडि त्यसलाइ भन्न मन लाग्यो "मलाइ तेरो भन्दा बढी उ त्यो भुस्या कुकुरको माया लाग्छ, मैले कहिले हेर्न नचाहेको तेरो त्यो अनुहार मरेर पनि मलाइ देखाउने भइस्। म हेर्दै हेर्दिन।" मैले यता उति हेरे, मेरी आमा अलि पर एक समुह स्वास्नीमानिसहरुसङ बसिरहनु भएको थ्यो, उहाँ मौन मलाइ नै हेरि रहनु भएको थियो, मानौ भनि रहनु भएको छ, "तैले नदेखेको तेरो बाउ उ त्यहि हो! राम्ररी हेर, नजिकबाट हेर!" आमाको मुख देख्नासाथै मेरो मन कस्तो कस्तो भयो। हैन, म यो मान्छेको मृत्युमा एक थोपा आँसु खेर फाल्दिन, मेरो आँसु त्यति सस्तो छैन । एकै छिनमा एउटी महिला जो मेरि आमा भन्दा अलि कलिलि देखिन्थि, "मेरो बाबा! मलाइ किन छोडेर गयौ?" भन्दै कहालिएर रुन थाली, अरु महिलाहरुले उसलाइ समाएर सम्झाउन थाले, मसङैको पाको मान्छेले मलाइ परैबाट चिनाए, त्यो सेतो लुगाभित्र सुतेको मान्छेको ती महिला "कान्छि स्वास्नी" हो, त्यसपछि मलाइ झन त्यो ठाँउ, त्यो मान्छेको लाश, त्यो चित्कार, मेरो आमाको अप्रस्फुटित क्रन्दन, सबैदेखि बित्रिश्स्णा पैदा भयो। मलाइ कता कता भाग्न मन लाग्यो, दौडेर कतै टाढा लुकेर बस्न मन लाग्यो। म घोरिदै थे, कतिखेर यो नाटक सकिन्छ र मेरो आफ्नो संसारमा फर्किन पाँउछु भनेर, अनायास मेरो आखा त्यो मान्छेको अनुहारमा पर्यो, शायद कसैले सेतो कपडा अलिकति अनुहारबाट झिकिसकेको थ्यो, सुतिरहेको त्यो मान्छे कता कता बिराज जस्तो लाग्यो मलाइ, कहिले कहि आमा भन्नु हुन्थ्यो बिराज ठ्याक्कै उसकै बाउ जस्तो छ। बिराजको खाने मुख, नाक, चिउडो सबै त्यो मान्छेको जस्तो थ्यो। त्यसैले त्यो बिराजको बुबा हो, मैले मनमनै भने। "बिराजको मात्र हैन, तेरो पनि बाउ हो।" कसैले भनेको जस्तो लाग्यो, शायद आफ्नै मन बोलेको थ्यो। हैन! मेरो बाउ, यो साले दुष्ट हो, मेरो बाउ त उहिले मरिसक्यो।" मैले मन सङ तर्क गर्न थाले, अलि अलि गर्दै मान्छे हरु फुल र पानी चडाउदै थे त्यो मान्छेलाइ, बेला बेलामा हिक्काहरु सुनिन्थे, बेला बेलामा त्यसको कान्छी स्वास्नीको रोदन, बाताबरण पुरै रोए झै थियो। तर म भित्रको अहं जाग्दै थ्यो, यो मरेकै ठिक भयो, बाँचेर के नै गरेको थियो र! त्यस्को स्वास्नी र त्यस्को छोरा बाहेक अरु कसको लागि बाँचेको थ्यो र, बिराज, म र मेरो आमा, खोइ कहा थियौ हामी त्यस्को जिन्दगीमा? मेरी आमा, जो यौबनमा नै भुइँमा झरेकी फूल जस्तो ओइली, आफ्नो सारा रहरहरु त्याग गरी मात्र हाम्रो लागि बाँची, मैले आमाको अनुहार खोजे भिडमा, उहाँ नजिकै त्यो मान्छेलाइ पानी चढाएर सुक्क सुक्क रुदै गरेको देखे, अरुले याद गरे कि गरेनन्, मैले गरे, मेरी आमा जसले उहाको सम्पूर्ण जिबन बर्बाद गरेको थ्यो त्यसैको मृत्युमा रोइरहनु भएको थियो। बिचरी मेरी आमा ! त्यो मरेको मान्छे मेरो आमाको लोग्ने हो! अनायास मेरो आँखाहरु सजल भए र तप्प तप्प आँसु खस्न थाल्यो। "जे भए पनि आफुलाइ जन्म दिने बाउ हो!" सङैको पाको मान्छे म रोएको देखेर अरु कसैलाइ भनिरहेकोथ्यो।

crazy_love · Dec 20, 2012 9:59 PM · 22,772 views

10 Replies

 क्रेजी , यो पाली चै एउटा त्यागियेकी नारि र एउटा भएर नि नभए बराबरको बाबु-छोरा सम्बन्ध अनि तेस छोराको मानसिक अन्तर्द्वन्द झाल्क्यो कथामा .... उत्तम प्रस्तुति याज अलवयेज .... तर मनोभाव कति कठोर त्यो छोराको... आखिर जन्मदाता हो नि...  - थाने

ThahaChaena · Dec 21, 2012 9:01 AM

 त्यसो त हिजो मध्येरातमा कमेन्ट लेखेर पेस्तेको थिएँ तर ब्रम्हाण्ड नष्ट  न भए पनि साझा आउने जाने बाटो नष्ट थियो .    बडा आनन्द आयो क्रेजी को कथा पढेर . सदा झैँ संबेदनशील विषयवस्तुलाई सरल सरस ढंगको प्रस्तुति , मानौ कि गाइ रहुँ क्रेजी को स्तुति .    " त्यो मान्छे " हरु समाजको तप्का तप्कामा तप्किएका हुन्छन र केही "त्यो स्वास्नी मान्छे " हरु पनि . तर मान्छे नै हौँ हामी पनि  जति आक्रोश -बिद्रोहमा दन्के पनि "मन" नौनी  कै हुँदो रहेछ . पग्लिदो रहेछ . अनायास आँखाहरुबाट "दर्द" बग्दो रहेछ .  

rahulvai · Dec 21, 2012 9:10 AM

 मैले "त्यो मान्छे"  को कथा पढेको पहिलो पटक, हुन त मैले नेपाली साहित्य (साझा मा बाहेक) नपढे को जुग भै सक्यो  तै पनि  "त्यो मान्छे " लै येसरी लेखेको पढेको थिएन. आकर्सक प्रस्तुति 

timi_mero_sathi · Dec 21, 2012 1:48 PM

 क्रेजी,  साह्रै राम्रो प्रस्तुती । हाम्रा समाजका केही कुरितिहरु एस्तै छन्, हरेक वाधा-अड्चनको डटेर मुकाबिला गर्दै एउटी नारिले आफ्नो सक्षमताको जतिसुकै प्रमाण पेश गरेपनी, समाजले तेस्को अवमुल्यन गर्दै उनको पौरख र पहिचान लोग्नेबाटै खोजिदिन्छ । उनको चाहना र खुशीलाई लोग्नेमा नै पुर्याएर आश्रित पारीदिन्छ, एस्को ज्वलन्त बयान गरिदिनु भएकोमा धन्यवाद ।   

caliber19 · Dec 21, 2012 8:56 PM

thahachaena ज्यु, कति राम्रो प्रतिक्रिया दिनु भयो, छोटो, मिठो र सुन्दर! धन्यबाद! ठुल्दाइ, मैले बिहान ९ बजे आफैले पोस्ट गर्न नसकेर सान सरलाइ इ-मेल गरेको थे, भरै ७ बजे राति नि नआको देखेर यस्तै रैछ जिन्नकी भनेको त राति १० बजेतिर आइपुगेछ "त्यो मान्छे"! सुत्ने बेलामा कस्ले हेर्छ भनेको त, दाइको कमेन्ट आएर पनि फर्कायेछ साझाले। आजभोलि यस्तै हो कि नया चलन हो? साझाभित्र प्रबेश गर्नै अलि ठुलै सोर्सफोर्स चाहिन्छ कि के हो? दाइ, तपाइको आशिर्बादको कारण साझामा बेला बेलामा आउन मन लाग्छ। timi_mero_sathi तपाइको आकर्षक कमेन्ट सार्है राम्रो लाग्यो, तपाइको कथा कैले पढ्न पाउने होला हामीले? Caliber19, तपाइको "उपहार" पढ्दै छु, अत्यन्तै रोचक लाग्दैछ, अन्त्य कस्तो होला भन्ने सोच्दैछु। तपाइको प्रतिक्रियाले मलाइ अरु उत्साह दिएको छ। त्यसको लागि धेरै धेरै धन्यबाद! मौन रुपले पढिरहनु भएको सबै साथीलाइ मेरो धन्यबाद!

crazy_love · Dec 24, 2012 12:17 PM

 गजब छ!  -somewhereondearth

somewhereondearth · Dec 28, 2012 9:39 PM

Thank u Somesahila! dherai din pachi jhulinu bhayo, aba katha pani aaucha ki?

crazy_love · Dec 29, 2012 9:52 AM

 हिजो एका  बिहान फुच्चे केटो को कथा पढी राको हिजो एका  बिहान फुच्चे केटो को कथा पढी राको बेला मा क्रेजी को कमेन्ट देखे। कथा को शिर्सक त बिर्सिए, तर एक ताका क्रेजी ले लेखे को कथा को एउटा लाइन ("ओठ गोलो बनाएर तिम्रो life को goal के हो ?") (अहिले येति मात्र याद छ) दिन भरि मानस पटल मा घुमी रह्यो। अनि सोचि रहे  क्रेजी ले किन लेख्न छाडे को होला? तर  आज बिहानै  क्रेजी को यो प्रस्तुति, ..You made my day.   

राछस · Dec 29, 2012 12:15 PM

राक्षस ज्यु, नमस्ते! म त साझामा देबगण मात्रै रहेछन् भन्ठानेको त धेरै पछि यहाँको दर्शन पाइयो, मलाइ धेरै खुशी लाग्यो। यहाँको आशिर्बादले बेला बेलामा साझा आउन मन लाग्छ, लेख्ने प्रेरणा पनि त भेट्नु पर्‍यो नि हैन त? आरामै हुनु हुन्छ होला, सबैलाइ सोध्या छु भन्दिनु है? Happy New Year!

crazy_love · Dec 30, 2012 9:51 AM

 त्यो मान्छे ....ल गज्जप छ साहिँली...

fucheketo · Jan 16, 2013 11:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all