सम्झनामा भीमबहादुर दाइ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  सम्झनामा भीमबहादुर दाइ SATURDAY, 08 DECEMBER 2012 17:30 नागरिक     1 2 3 4 5   (2 votes, average 3.00 out of 5) भुवन ढुंगाना - इच्छामृत्युमा कहिलेकाहिँ ठट्टा गरेर प्रश्न गर्दा थला परेर मर्न नपरोस् भन्नुहुन्थ्यो भीमबहादुरदाई। त्यस्तै भयो। सरल जीवनयापन गर्ने भीमबहादुर दाइको मृत्यु पनि जटिल भएन। निधनको अप्रत्याशित खबर सुनेपछि नर्भिक अस्पताल परिसरमा उभिइरहँदा हठात डाँको छाडेर रुन मन लागेको थियो। छेउमा उभिएर सान्त्वना दिइरहेका थिए कनकमणि दीक्षित। आफूलाई सम्हालेँ। मृत्युका सम्बन्धमा लामाजस्तो भविष्यवाणी गर्न सक्ने भीमबहादुरजीलाई अन्तिमपटक अस्पतालमा हेर्न जाँदा मृत्युवरण गर्न उहाँले रोजेको बाटो पहिले नै ठम्याइसक्नुभएको रहेछ, थला परेर होइन, अकस्मात हठात हिँड्नुपर्ने मृत्युयात्रा रहेछ। त्यसबखत मसँग आँसु र गहिरो अनुभूतिबाहेक कुनै शब्द थिएन। भीडमा पनि मानिसहरू सत्ता, ठट्टा र राजनीतिका कुरा गरिरहेका थिए। म भने भर्खरै शवगृहमा हेरेर आएको उहाँको शान्त अनुहार सम्भि्करहेकी थिएँ। सम्झनाका ज्वारभाटाले यसरी घेरिरहेका छन्, म हेलिँदै कहाँ पुग्छु थाहा छैन।  अहिले यसबखत म उहाँलाई नजिकैबाट चिन्दछु भनेर दाबी गर्ने सामर्थ्य पनि मसँग छैन। मैले उहाँलाई हालसालै कहिले भेटेँ भनेर सम्भि्कन खोजिरहेछु। निधन हुने तीन दिनअगाडि फोनमा 'कस्तो छ भीमबहादुर दाइ' भनेर सोध्दा 'सञ्चै छु' भन्नुभएको थियो। त्यो उहाँले झुठ बोल्नुभएको थियो वा हठात त्यस्तो हुन गयो, केही बुझ्न सकिनँ। संकोची स्वभावका भीमबहादुरजी खोतलेपछि मात्र बिस्तारै गाँठी कुरा फुकाउनुहुन्थ्यो। त्यही भीडमा सुनेँ, अघिल्लो दिन राति डा.शशांक कोइराला भीमबहादुरजीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर पुगेका थिए रे। यो प्रस्ताव नै उहाँका लागि यमदूत भएर आएको रहेछ। रातभरि बेचैनी र छटपटी भयो होला। त्यो संकोची मान्छेले शशांकसँग प्रत्युत्तरमा मलाई अहिल्यै अस्पताल भर्ना गरिदेऊ, डाक्टर देखाइदेऊ भनेका भए सम्भवतः भीमबहादुरजी अझ केही वर्ष बाँच्नुहुन्थ्यो कि? अफसोच यस अर्थमा लाग्यो कि हाम्रा नेेताहरू सामान्य रुघाखोकी लागेमा पनि दिल्ली र बैंकक पुग्छन्। तर, भीमबहादुरजीलाई बानेश्वरदेखि नर्भिकसम्मको दुरी पनि टाढा लाग्यो। नियतिमा यही रहेछ भनेर चित्त बुझाउँछु।  मान्छेको व्यक्तित्वको छाप मनमा परेपछि सधैं भेटेजस्तो लाग्दो रहेछ। टाढा-नजिक जहाँ रहे पनि आत्मीयताका सम्बन्धमा एकनास व्यवहार देखाउने भीमबहादुरजीको स्वभावका लागि पनि उहाँलाई बढी सम्भि्करहनेछु।  २०१९/२० सालतिर फारबिसगञ्जमा सरोज कोइराला, नित्यराज कोइराला, जगन्नाथजीसँगै निर्वासित जीवन बिताइरहेका भीमबहादुरजीलाई पहिलोपटक भेटेकी हुँ। चिम्सा, तीक्ष्ण आँखा भएका गोरा सधैं मुस्काइरहने भीमबहादुरजीलाई एकपटक चिन्ने कसैले पनि सजिलै बिर्सन सक्दैनन्। उहाँको अनुपस्थितिको रिक्तता सदैव महसुस भइरहनेछ। सरोजदाजुले मेरी आमालाई काकी भन्ने गरेकाले उहाँ सबैको काकी हुनुभयो, साथमा जाने म भएँ, भुपा बहिनी र मेरा दाजुसमान भीमबहादुरजी सँगको यो सम्बन्ध जस्तो थियो, त्यस्तै रहिरह्यो।  २०३१ सालतिर भीमबहादुरजी नख्खु जेलमा छँदा प्रत्येक महिना भेट्न जाने गर्थेँ। त्यसबखत जाउलाखेलबाट हिँडेर जानुपर्दथ्यो। जेलको ढोका बाहिर कसलाई, किन, केका लागि, के नाता भन्ने प्रश्नको जवाफमा 'भीमबहादुरजीको बहिनी' भन्ने गर्दथेँ। उनीहरू तामाङ भाषामा छड्के प्रश्नहरू गर्दथे, मलाई अफ्ठ्यारोमा पार्न मुखामुख गरिरहन्थे। भीमबहादुरजीलाई ढोकामा देखेपछि छाडिदिन्थे। साथमा लगेको ५० रुपैयाँ, केही खानेकुरा र एकदुई किताब दिएर गह्रुंगो मन लिएर फर्किनुपर्दथ्यो। जति अनुरोध गरे पनि आफूलाई खर्च ५० रुपैयाँभन्दा एक रुपैयाँ पनि बढी लिनुहुन्नथ्यो भीमबहादुर दाइ। फर्किने बेलामा आफूले जेल परिसरमा ढकमक्क फुलाएका गुलाफका ताजा फूलहरू दिनुहुन्थ्यो। घरको फूलदानीमा राखेका ती गुलाफका फूलहरूले अर्को महिनाको भेट सम्झाइरहन्थे। फूलका बिरुवा लगाउने, फुलाउने कलामा निपुण भीमबहादुरजीलाई पचासौं फूलका नाम कण्ठ थिए। चाबेल, महाराजगन्ज, बानेश्वर, जहाँजहाँ बस्नुभयो, त्यहाँ फूलहरूको पनि बास भयो। गोदावरी, गुलाफ र अन्य सिजनका फूलहरू ढकमक्क फुले।  दोलखाको जंगलमा गएर बन्दुकले हरिण र कालिजको सिकार गर्ने रोमाञ्चकारी कथा सुनाएर केटाकेटीलाई मुग्ध पार्नुहुन्थ्यो। घरको आँगनमा टेबुलटेनिस खेलेर, माउन्टेन बाइक चलाएर चकित पारिदिनुहुन्थ्यो। केटाकेटीलाई लाटा र मन नपर्ने मान्छेलाई गोबलडोक भन्ने उहाँको भाषा शैली थियो। केटाकेटीलाई माया र बुढापाकालाई आदर गर्ने उहाँको स्वभावले बिपीको स्मरण हुन्थ्यो। स्वास्नीमान्छेमा सुशीला भाउजू (बिपीपत्नी) उहाँको आदर्श हुनुहुन्थ्यो। स्वास्नीमान्छे शालिन हुनुपर्दछ भन्नुहुन्थ्यो। एकपटक उहाँसँग दोलखा जिरी जाँदा पारिवारिक प्रश्न गर्दा हाँसेर ठेट नेपालीमा भन्नुभयो, 'म निर्वासनमा भएको बेला छोरा र छोरी छाडेर स्वास्नी पोइल गइन्।' त्यसपछि त्यसबारे कहिल्यै केही सोधिएन।  जनकपुरमा लीला कोइरालाको संरक्षणमा छोरा दीपक धेरै बर्ष बस्यो। पछि २०४२ सालतिर पार्टी कार्यालयमा भेटेको थिएँ। परिवारविहीन भएर पनि पारिवारिक आत्मीयता बढाउनसक्ने भीमबहादुरजीको खुबी थियो। केटाकेटीका लागि अभिभावक, हाम्रा लागि भीमबहादुर दाइ। २०४६ सालको जनआन्दोलनका दिनहरूमा राती बाटोबाटै पक्रिएर सेन्ट्रल जेल लगिएछ, किन आउनुभएन भनेर सोधखोज गर्दा जेलमा पुगेपछि थाहा पाएँ।  न बास न गाँसको ठेगान भएका भीमबहादुर दाइलाई कांग्रेसका पूर्वसभासद् राधेश्याम अधिकारीले आश्रय दिएर ठूलो गुन लगाउनुभएको थियो। त्यसपछि उहाँको जीवनशैलीमा स्थीरता आएको थियो। अर्का मद्दतगार अधिवक्ता प्रकाश राउत नर्भिक परिसरमा त्यस दिन रुनमात्र सकेनन्। म भने रोइहालेँ।  खानेकुरामा सुप र आलुको पापड रुचाउने भीमबहादुर दाइ राजनीतिक अन्तर्वार्तामा भने शिष्ट र घुमाउरो पाराले नेताहरूलाई झापड हिर्काउने क्षमता राख्नुहुन्थ्यो। चियाका पारखी भीमबहादुरजीले ज्यासमिन टि खान सिकाउनुभयो, नख्खु जेलमा किसुनजी (सन्तनेता कृष्णप्रसाद भट्टराई) त्यो चियाको अम्मली हुनुभयो। अंग्रेजी-नेपाली दुवै भाषामा दूरबल भएका भीमबहादुरजीले बिपी साहित्य दर्शन, सार्त्रको अस्तित्ववाद, सिमन द बोभाको सेकेन्ड सेक्स, बादल सरकारको 'पगला घोडा' पढ्ने प्रेरणा जेलबाट पठाएका चिीहरूमा दिएर पछि छलफलमा उतार्नुभयो। यसका लागि पनि भीमबहादुरजी मेरो साहित्यमा अभिरुचि बढाउने गुरु हुनुहुन्छ। कांग्रेस सभापतिमा पराजित भएपछि उहाँलाई लक्षित गरेर लेखिएको मेरो कथा सुनाएपछि हाँस्दै भन्नुभयो, 'गजबको चित्रण गर्नुभएछ, स्रष्टाको अन्तर्दृष्टि पनि हुन्छ भन्ने कुरा ठीकै हो।' सुशीला भाउजूबारे कान्तिपुरमा छापिएको मेरो लेख कटिङ गरेर ओछ्यानमुनि राख्नुभएको रहेछ, देखाउनुभयो।  उहाँका अविस्मरणीय संस्मरणहरू, बिपी साहित्यबारे समालोचकीय दृष्टिकोण, पार्टीको इतिहास र यथास्थिति केही पनि पर्याप्त मात्रामा लिपिबद्ध हुन पाएन। बहुआयामिक ब्यक्तित्वका धनी भीमबहादुरजीको यो पक्ष ओझेलमा नै रह्यो। आउँदो पुस्ताका लागि उदारहणीय, अनुकरणीय विचार प्रवाह गर्न सक्ने, बिपी दर्शन र सिद्धान्तका अनुयायी भीमबहादुर तामाङको निधन पछिसम्म खट्किरहनेछ।

_____ · Dec 12, 2012 6:40 AM · 1,555 views

1 Reply

  पक्राउ पर्दिनँ भनेकै दिन भीमबहादुर दाइ गिरफ्तार हुनुभयो -- राधेश्याम अधिकारी   भीमबहादुर तामाङलाई मैले कानुन पेसाका मेरा गुरु दमननाथ ढुंगानामार्फत उहाँकै घरमा चिनेको हुँ। उहाँहरू दुईबीच प्रगाढ दोस्ती थियो। म आफ्नो कामले दमनजीकोमा गइरहने र भीमबहादुर दाइ पनि त्यहाँ आइरहने भएकोले बारम्बार भेटघाट हुन थाल्यो। उमेरमा मभन्दा धेरै सिनियर भए पनि यसरी उहाँसँग मेरो मित्रता हुन पुग्यो।  त्यतिबेला आङ्दोर्जे लामाले चलाउनुभएको पत्रिका 'राजधानी'मा भीमबहादुर दाइ र पुरुषोत्तम बस्नेतलगायतले सघाउनुहुन्थ्यो, म पनि त्यसमा लेख्न थालेँ। त्यही बेला भारत प्रवासबाट बीपी स्वदेश आउनुभयो। बीपी र भीमबहादुर दाइबीच विशिष्ट सम्बन्ध थियो। सुशीला भाउजूसँग पनि अत्यन्त आत्मीय एवम् पारिवारिक सम्बन्ध थियो उहाँको। महिलालाई असाध्यै सम्मान गर्ने व्यक्ति हुनुहुन्थ्यो भीमबहादुर दाइ। उहाँले बीपीपछि असाध्यै मान्ने अर्को व्यक्ति हुनुहुन्थ्यो सरोज कोइराला। सरोजको परिवारसँग पनि त्यत्तिकै आत्मीय सम्बन्ध थियो उहाँको। आफ्नो निजी घर–परिवारका विषयमा भने भीमबहादुर दाइले मसँग कहिल्यै कुरा गर्नुभएन र मैले पनि खोतलेर कुरा गरिनँ। तथापि उहाँका छोरा दीपक कहिलेकाहीँ मकहाँ आउने भएकाले सामान्य चिनजान थियो, कुराकानी हुन्थ्यो।  ०४६ को आन्दोलन चल्दा उहाँ अन्डरग्राउन्ड भई आन्दोलनमा सक्रिय हुनुहुुन्थ्यो। त्यतिखेर पनि लुकी–लुकी मकहाँ आउनुहुन्थ्यो। १/२ दिन बिराएर आउँदा खनासमेत मैकहाँ खानुहुन्थ्यो। त्यतिखेर कहिलेकाहीँ उहाँ पिउन पनि रमाइलो मान्नुहुन्थ्यो। तसर्थ एक दिन मैले त्यतिखेर चलेको 'इ ग्रान्ड अल' भन्ने हि्वस्की एक क्वाटर उहाँका लागि मगाइदिएँ र 'दाइ थाकेर आउनुभएको छ, आज अलिकता पिउनुहोस्' भनेर प्रस्ताव गरेँ। उहाँले थोरै खाएर अरू पछिका लागि बाँकी राख्न खोज्नुभएपछि मैले 'भोलिको के भरोसा दाइ, आजै त्यति खाइदिनुहोस्' भनेँ। रक्सी लाग्ला र होस् पुर्‍याउन नसकेर प्रहरीको फन्दामा परिएला भनेर उहाँले पूरा नपिउन खोज्नुभएको बुझेँ मैले। मेरो आग्रहपछि 'हो त लौ, म भरत उपे्रतीजस्तो त्यत्तिकै प्रहरीको फन्दामा पर्ने हुँ र? म त एकदम बाँकटे मारेर हिँड्छु, कसले पक्रन सक्ने?' भन्दै उहाँले बाँकी हि्वस्की पनि स्वाट्टै पिउनुभयो। ०४६ साल फागुन ७ गते अलिक हेलचेक्र्याइँ गर्दा भरत उपे्रती समातिएको सन्दर्भ उप्काउँदै भीमबहादुर दाइले त्यसो भन्नुभएको थियो। त्यस दिन मैकहाँ सुत्न आग्रह गर्दागर्दै नमानेर राति नौ बजेतिर उहाँ निस्कनुभयो। भोलिपल्ट त उहाँ कतै भेटिनुभएन, त्यही राति नै पक्राउ पर्नुभएछ। पछि नख्खु जेल गएर भेट्दा उहाँले भन्नुभयो, 'मूल सडकबाट जाँदा पक्राउ परिएला भनेर राजेन्द्र खरेलको घरतिरको बाटो गएको त खरेललाई ढुकेर बसेका पुलिसहरूले मलाई चिनेर 'झन् ठूलो माछो फेला पर्‍यो' भन्दै समाते।' यसो भन्दै उहाँ हँसाउनुहुन्थ्यो बेलाबेलामा। यस्ता धेरै प्रसङ्ग छन् जसलाई रमाइलोसँग उहाँ सुनाउनुहुन्थ्यो।  भीमबहादुर तामाङबाट हामीले सिक्ने कुरा धेरै छन्। उहाँ ०६ सालदेखि नै शिक्षक बनिसक्नुभएको रहेछ। ०७ सालको क्रान्तिमा उहाँले भाग लिएजस्तो लाग्दैन मलाई, तर उहाँ ०७ सालको क्रान्तिलाई अभूतपूर्व मान्नुहुन्थ्यो अनि त्यही क्रान्तिले नै मुलुकमा प्रजातन्त्रको जग हालेको दाबी गर्दै सातसाले क्रान्तिको लामो र रोचक व्याख्या गर्नुहुन्थ्यो। उहाँले ०१३ सालमा नेपाली काङ्गे्रसको सदस्यता लिनुभएको रहेछ। पद्मशङ्कर अधिकारी उहाँका एक निकट मित्र भएकाले उनीमार्फत यो थाहा पाएको हुँ मैले। त्यसपछि उहाँले भद्रअवज्ञा आन्दोलनमा भाग लिनुभयो। ०१५ सालको चुनावमा भाग लिनुका साथै सशस्त्र आन्दोलनमा सहभागी भएपछि उहाँ बीपीको आँखामा पर्नुभयो। त्यसपछि त बीपी बाँचुञ्जेल बीपीकै नजिक रहनुभयो भीमबहादुर दाइ।   सशस्त्र आन्दोलनमा होमिएपछि भीमबहादुर तामाङ कहिले जेल त कहिले निर्वासनमा पर्नुहुन्थ्यो। यी सबै हुँदै ०२९/३० तिर नेपाल आएलगत्तै पक्राउ पर्नुभयो। ०३३ सालमा बीपी स्वदेश फर्केपछि उहाँ छुट्नुभयो। यो समग्र कालखण्डमा उहाँले दर्शाउनुभएको भूमिका र व्यवहारबाट हामीले सिक्ने कुरा त धेरै छन्। मूल रूपमा कुनै पनि कुराको लोभ गर्नुहुन्न भन्ने उहाँको बुझाइ थियो। अर्थात्, लोभलई सीमित गर्नुपर्छ भन्ने धारणालाई व्यवहारमै उतार्नुभयो उहाँले। उहाँ सरल, साधारण जीवन यापन गर्ने व्यक्ति भन्ने त जगजाहेर छँदै छ। जीवनमा कुनै कुरा सङ्ग्रह गरूँ, पछिका लागि भनेर जागाड गरूँ भन्ने सोच पटक्कै राख्नुहुन्नथ्यो। उहाँ अत्यन्त अध्ययनशील हुनुहुन्थ्यो। बेलाबेलामा मलाई उहाँले यो पुस्तकमा यो छ, योचाहिँ जसरी पनि पढ्नु भनी सुझाव पनि दिनुहुन्थ्यो। पुस्तकमा भएका सारगर्भित कुराहरूको चर्चा गर्न रुचाउनुहुन्थ्यो। दर्शनको कोणबाट भन्नुपर्दा उहाँ अत्यन्त स्पष्ट हुनुहुन्थ्यो, कुनै पनि विषयको जडसम्म पुगेर कुरा गर्न सक्नुहुन्थ्यो। नेपाली काङ्गे्रस के हो, कुन रूपमा यो पार्टी अघि बढ्नुपर्छ भन्ने उहाँमा स्पष्ट दृष्टिकोण थियो। आममान्छेको व्यक्तित्व तथा सर्वाङ्गीण विकास लोकतन्त्रमा मात्र सम्भव छ भन्ने कुराको उहाँ गजबसँग व्याख्या गर्नुहुन्थ्यो। सबभन्दा महत्त्वपूर्ण कुरा त आज आदिवासी, जनजाति, महिला आदिका मुद्दा राज्यमा केन्द्रीय बहसको विषय बनिरहेको छ। यो मुद्दा स्वयम् जनजाति, आदिवासी, महिलाहरूले कल्पनै नगरेको बेला उहिल्यै बीपीले उठाउनुभएको थियो, तर पार्टीले त्यसलाई अङ्गीकार गरेर मुद्दाको उठान गर्न सकेन भन्दै भीमबहादुर दाइ बेलाबेलामा चिन्ता प्रकट गर्नुहुन्थ्यो। भीमबहादुर दाइका अनुसार त्यसो गर्न सकेको भए आज काङ्गे्रसका अगाडि अन्य दल असान्दर्भिक नै बन्न पुग्ने थिए।   धेरैले भन्छन् भीमबहादुरलाई पार्टीले उचित सम्मान गरेन। तर, उहाँले यो कहिल्यै मान्नुभएन, आफूलाई पार्टीले उपेक्षा या अनादर गरेको ठान्नुभएन। उहाँको विचारमा मानिसको मनमा बस्न सक्नु नै सम्मान हो। कसले हो लेखेको पनि छ– भीमबहादुरजीले सभापतिमा उठ्दा 'जय नेपाल' त धेरै पाउनुभयो तर मतचाहिँ पाउनुभएन। उहाँप्रति श्रद्धा नभएको होइन तर काङ्गे्रसका 'क्यारिरिष्ट'हरूको पार्टीमा पकडका कारण 'आस्था र निष्ठा'ले पाखा लाग्नुपर्‍यो। उहाँ त आस्था र निष्ठाको एक जिउँदो–जाग्दो मिसाल हुनुहुन्थ्यो।   उहाँ अयोग्य या क्षमता नभएको नेता भएर मत नपाएको होइन, उहाँलाई भोट हालेर के पाइन्छ र? भन्ने सोचका कारण पनि मतदाताले 'शक्ति'वालाहरूलाई भोट हालेका होलान्। साथीहरूले मलाई कम भोट दिए भनेर कुनै कुण्ठा, तिक्तता उहाँले कहिल्यै व्यक्त गर्नुभएन। सधैँ समभावमा रहनुभयो। त्यस्तै अनुकरणीय व्यक्तित्व हो उहाँ। कुनै पनि कुरालाई आत्मनिष्ट नभई वस्तुनिष्ट भावले उहाँ हेर्नुहुन्थ्यो।   उहाँ शिक्षा, विकास आदि देश र जनताको समृद्धि हुने कुरामा निकै चासो दिनुहुन्थ्यो। अपरतामाकोसी निर्माणका सवालमा अत्यन्त दिलचस्पी राखिरहनुभएको थियो। त्यो बनेपछि तत्काल दुई हजार–पच्चीस सय मेगावाटका प्रोजेक्ट जनस्तरबाटै उक्त क्षेत्रमा थप सुरु हुनेछ भनी उत्साहका साथ सुनाउनुहुन्थ्यो। अहिलेको राजनीतिक समस्याको निकास चुनाव नै हो भन्नेमा उहाँ प्रस्ट हुनुहुन्थ्यो। किनकि, देशको तागत भनेका जनता हुन्, जनताबाट शक्ति नलिई पार्टीहरूले केही गर्न सक्दैनन्, त्यसैका लागि अब जनताबीच गएर नै दलहरूले आ–आफ्नो शक्ति आर्जन गर्ने र त्यसकै भरमा यो मुलुक अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो उहाँ। वर्तमान राजनीतिक परिवेशका सन्दर्भमा काङ्गे्रस मात्र होइन सबै दलले स्वर्गीय भीमबहादुर तामाङको यो सोचलाई गम्भीरताका साथ मनन गरी कार्यान्वयन गर्न सक्दा मुलुकको भलो हुने देख्छु म।     (वार्तामा आधारित )

_____ · Dec 12, 2012 6:48 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all