प्रचण्डलाई पिट्नेमाथि किन यत्रो सहानुभूति ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रचण्डलाई पिट्नेमाथि किन यत्रो सहानुभूति ? युवा नेता भन्छन्- धरौटीबिनै रिहा गरेको भए हुन्थ्यो 18   २५ मंसिर, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डलाई मंसिर १ गते गालामा थप्पड हान्ने बाग्लुङे युवक पदम कुँवरले २८ हजार धरौटी नबुझाएका कारण उनलाई सोमबार जेल चलान गरिएको समाचार अनलाइनखबरमा आउनासाथ ‘कुँवरको धरौटी म तिरिदिन्छु’ भन्दै इजरायलबाट नेमा तामाङको टेलिफोन आयो । लगत्तै अनलाइनखबरमा संसारका विभिन्न भागमा बसेका नेपालीहरुले २८ हजार धरौटी तिर्ने भन्दै प्रतिक्रिया दिन थाले । कतिपयले तत्कालै सहयोग गर्न भन्दै कुँवरका परिवारको सम्पर्क ठेगाना र बैंक खाता नम्बरसमेत मागे । अनलाइनखबरमा तत्काल आएका ५६ प्रतिक्रियामध्ये १६ जनाले उनको धरौटी तिरिदिन आफूहरु तयार रहेको बताए भने केहीले इमेल र फोनबाट पनि यस्तो आग्रह गरे । यसरी आग्रह गरेजति सबैले सहयोग गर्ने हो भने २८ हजार त के, ४/५ लाख रुपैया सहजै उठ्ने स्थिति देखियो । यसअघि काभ्रे घर भई अमेरिकाको न्यूयोर्कमा बस्दै आएका अर्जुनप्रसाद मैनालीले कान्तिपुर दैनिकमार्फत्  कुँवरलाई १० हजार रुपैयाँ सहयोग पठाएको मंसिर २० को कान्तिपुरमा छापिइसकेको छ । नेतालाई पिटेर सार्वजनिक अपराधको मुद्दामा सजायँ भोगिरहेका कुँवरप्रतिको यस्तो समर्थन सहानुभूतिले आइटी पुस्ताका नेपालीको मनोविज्ञान बुझ्न नेपालका नेताहरु, विशेष गरी स्वयं प्रचण्डलाई समेत सहयोग पुगेको हुनुपर्छ । आखिर प्रचण्डमाथि सार्वजनिकरुपमै हातपात गर्ने युवकमाथि किन यसरी मानिसहरुले सहानुभूति जनाएका होलान् ? यो घटनालाई उचाल्नु हुँदैन-गगन थापा पदम कुँवरमाथि देखिएको सहानभूतिबारे कांग्रेस युवा नेता एवं पूर्व साभासद् गगन थापा भन्नुहुन्छ- ‘यसलाई दुईवटा पाटोमा हेर्नुपर्छ । पहिलो, घटनालाई प्रस्तुत गर्ने र लिने तरिकामा भर परेको छ । नेताहरुले गलत गरेको हुनाले यो घटना सबैको आक्रोशको प्रतिनिधि हो भन्ने प्रस्तुति र बुझाइले गर्दा कुँवरप्रति सहानुभूति बढेको छ । दोस्रो, हाम्रो समाज नकारात्मकतातिर गएको छ भन्ने अभिव्यक्ति पनि हो ।’ तर, नेताहरुमाथि हुने हातपातलाई सबै जनताको आक्रोशको प्रतिनिधिमूलक घटना मान्न नहुने थापा बताउनुहुन्छ । ‘हो नेतामाथि जनताको आक्रोश छ, तर कसैले लहडमा पिट्दैमा यो आमजनताको प्रतिनिधि हो भनेर बुझ्न हुँदैन ।’ थापाले भन्नुभयो- ‘यो घटनालाई उचाल्नेभन्दा पनि मत्थर पार्नेतिर लाग्नुपर्छ ।’ २८ हजारमा कम्प्युटर किनिदिए हुन्छ- हेमराज भण्डारी  एमाओवादी युवा नेता एवं पूर्वसभासद् हेमराज भण्डारी यो घटनाको जिम्मेवार नेताहरु नै रहेको बताउनुहुन्छ । ‘यो नेतृत्वप्रतिको वितृष्णा हो । संविधानसभामा नेताहरुले भूमिका खेल्न नसकेपछिको वितृष्णा हो यो ।’ भण्डारीले भन्नुभयो, ‘यतिबेला नेताहरुलाई सबक सिकाउने क्रम बढेको छ । विगतमा नेताप्रति कत्रो सम्मान हुन्थ्यो, नेताका लागि मानिसहरु मर्न तयार हुन्थे तर, अहिले त्यसको विपरीत ठाउँमा पुगेको छ हाम्रो समाज ।’ जनतालाई कस्तो संस्कार सिकाउने भन्ने नेतृत्वमै भर पर्ने बताउँदै भण्डारीले यो घटनाबाट नेताहरुले ठूलो सबक सिक्नुपर्ने बताउनुहुन्छ । ‘कुँवरलाई सहयोग गर्न चाहनेहरुले उनीप्रतिको सहानुभूति पनि दर्शाएका हुन् । घाइते, अंगभंग हुनुका साथै जनयुद्धमा लागेर परिवारको अवस्था बिग्रेको हुनाले पनि कुँवरप्रति मानिसहरुको सहानुभूति देखिन्छ । प्रचण्डमाथिको आक्रमण संभवतः यही आक्रोशको अभिव्यक्ति थियो । तर, प्रचण्डले माफी दिइसकेपछि उनलाई धरौटी नलिई प्रशासनले रिहा गरिदिएको भए न्याय हुने थियो ।’-भण्डारीले अनलाइनखबरसित भन्नुभयो । ‘यो घटना आम नेताप्रतिकै वितृष्णा हो, झलनाथ खनाललाई पिट्ने देवीप्रसादप्रति यस्तै सहानुभूति ओइरिएको थियो । यस्तो हुनु राम्रो होइन, तर, नेताकै व्यवहारको ‘रिफ्लेक्सन’का रुपमा यसलाई लिनुपर्छ ।’-उहाँले भन्नुभयो । तर, समाजको ध्यान सिर्जनामा भन्दा ध्वंशतिर गैरहेको भण्डारीको गुनासो छ । उहाँ भन्नुहुन्छ- ‘पदमलाई गर्नेजस्तै आर्थिक सहयोग दुर्गम भेगका मान्छे बिरामी पर्दा वा अन्य कुनै सिर्जनामा लगाउने तत्परता देखाइनुपर्छ । ‘२८ हजार सहजै सहयोग गर्न सक्नेहरुले पिछडिएको क्षेत्रका विद्यालयमा एउटा कम्प्युटरमात्रै अनुदान दिने हो भने पनि त्यसले नयाँ पुस्तालाई पदम कुँवर बन्नबाट जोगाउँछ ।’ स्वाभाविक मान्नुपर्छ- नीति अर्याल (खनाल) समाजशास्त्री नीति अर्याल (खनाल) चाँहि पदम कुँवरप्रति मानिसहरुले देखाएको सहानुभूतिलाई स्वाभाविकरुपमा लिनुपर्ने बताउनु हुन्छ । ‘अहिले नेताप्रति समग्र नेपालीमा वितृष्णा छाएको छ, नेताहरुले गर्न सक्नेभन्दा पनि बढी कुरा गरेर जनतालाई आशामात्रै देखाउने गरेका छन् । माओवादीले त अझ जनयुद्धको बेला यस्ता आशा र आश्वासन धेरै देखाइदियो, व्यवहारमा गर्न सकेन । बोली र गराइमा धेरै फरक देखियो ।’ खनालले भन्नुभयो-’ आफूलाई सर्वहाराको नेता भन्ने, तर संभ्रान्त बन्न खोज्ने प्रवृत्तिले माओवादी नेताहरुप्रति जनताको आक्रोश बढेको छ । त्यसैले यो घटनालाई स्वभाविक रुपमा लिनुपर्छ ।’

cybernepali · Dec 10, 2012 4:43 PM · 11,311 views

4 Replies

थप्पड हान्नेलाई माफी दिएनौ, जनताका सयौं छोराछोरी मार्नेलाई कसरि माफी दिने ? आर्थिक समस्याले गाँजेर छट्पटिएको, सूदुर बस्तीको एउटा सन्के केटो आज जेल गयो । प्रचण्डहरुले दिएका आश्वाशन पुरा नगर्दा आबेगमा आएर सम्झाउँन भन्दै थप्पड हानेका पदम कुँवर जेल चलान भए । जिल्ला प्रशासन कार्यालयले मागेको २८ हजार रुपैयाँ धरौटी तिर्न नसक्दा उनलाई एकिक्रित नेकपा माओवादीकै सरकारले जेल लग्यो । उनलाई २८ हजार तिर्न लगाइयो । सकेनन् । अनि सिडियोले आदेश दिए ‘यसलाई जेल हाल ।’  उनलाई केन्द्रीय कारागार चलान गरियो । तर यसबाट एकिक्रित नेकपा माओवादीको सरकार कति अत्याचारी रहेछ भन्नेपनि देखायो । बाबुराम र प्रचण्डको मन कति छोटो, कति सानो रहेछ भन्नेपनि देखाउँछ । थप्पड पचाउन नसक्ने नेतालाई जनताले कसरि माफी देलान् सयौं जनताका छोराछोरीको हत्या गरेबापत ? चितवनको माडीमा एउटै बसमथि बम हन्दा प्रचण्डका कार्यकर्ताले सयौं नेपालीको ज्यान लिए । सयौं जनताका छोराछोरीलाई उचालेर, स्कूलबाटै लतारेर, खोसेर, धम्काएर ल्याए । जहाँ जहाँ आवश्यक पर्छ काम लगाए । तिनका गुलिया अश्वाशन पाएर धेरै नेपालीका अवोध सन्तानको ज्यान गएको छ । तिनको उक्साईले धेरैको घर बिरक्तिएको छ । धेरै महिलाका सिंदुर पुछिएको छ । टुहुरा हुने उत्ति छन् । काख खोसिनेहरु हजारौं छन् । अब जनताका छोराछोरीले आफ्ना बाउ आमाको हत्याका कारक प्रचण्डलाई कसरि छोड्ने ? सयौं बाबु र आमाले आफ्ना छोराछोरी चुँडाएर लैजाने कारक बनेका बाबुराम र प्रचण्डलाई कसरि माफी दिने ? कुन मनले तिनलाई स्वतन्त्ररुपमा हिँडेको देख्न सक्छ ? आफु र सयौं परिवारको बेहाल गराइदिएको झोंकमा आएर थप्पड हानेका कुँवरलाई जेल हाल्ने हो भने जनताका छोरा छोरी मार्ने माओवादीका नेतालाई जनताले किन छोड्ने ? के तिनलाई जेल हाल्नु पर्दैन जनताका छोरा छोरीले थप्पड हान्दा जेल जानु पर्छ भने ? जनताको छोरो र नेताका लागि अलग कानुन र नजिर स्थापन गर्न पाइन्छ ? त्यसैपनि प्रचण्डलाई हानेको थप्पड भन्दा कयौं गुणा बढि यातना कुँवरले पाईसकेका छन् । प्रहरी प्रशासनको यातना भोगे । उनका कार्यकर्ताले शरिर कुच्चिने गरि पिटे । भलै त्योपनि आबेगमै हो । उनको यातनाको जिम्मेवार चाहिँ को हुने नी ? आफ्ना कार्यकर्ता र नेताको चाहिँ चोर बाटो अपनाएर मुद्दा फिर्ता लिने ? कुँवरको सामान्य कमजोरीमा चाहिँ मुद्दा हाल्ने ? प्रचण्ड र बाबुरामको न्याय र सामनताको मुकुण्डो यो भन्दा बढि अझै कति उघारिने ? हजारौं जनताको हत्यामा संलग्न भएर आएका नेतालाई जनताले माफी दिनुपर्ने । तर तिनले चाहिँ माफी दिन नसक्ने ? कति सानो मन रहेछ प्रचण्डको ? थप्पड हानेको कसुरमा एउटा सामान्य कार्यकर्तालाई माफी दिन नसक्ने प्रचण्डले यो मुलुकको नेत्रित्व गर्ने ? कसरि नेत्रित्व गर्न सक्छ यस्तो झिँगाको जत्रोपनि मन नहुने नेताले  ? आम नेपाली जनतालाई कसरि खुशि बनाउन सक्छ ? जनताका छोरा छोरीलाई कमारो र रैतीको ब्यवहार गर्ने नेतालाई कसरि जनताले राजनेता मान्ने ?

cybernepali · Dec 10, 2012 4:46 PM

 १७,००० / १७००० मानिसह मारेर लाजिम्पाट दर्बार मा बिराज मान हुने नेता लाइ १ झाप्पड हान्दा जेल पठाउने लाइ अंतरार्स्त्रिया कोर्ट (हेग) मा लगेर यी हत्त्यारा र भर्स्त्रचारी हरु लाइ मुद्दा हाल्नु पर्ने हो ,  यी मानब अधिकार भन्ने र डलर खेति गर्ने हरु ले पनि बेलैमा विचार गरेर प्रचण्ड र यसका मतियार हरु बाल कृष्ण जता हत्यार लाइ कारवाही गर्ने केहि छ ने अन्तरास्ट्रिय मानब अधिकार कोर्ट मा लगेर मुद्दा हाल्नु पर्छ . माओबादी हरु ले जनता लाइ १०./ १० वर्ष बनबास, छोटा राजा बनि रहेका छन् , कुनै दिन यी हत्यारा हरु लाइ खुला मन्चमा लगेर फासी दिएको नेपाली जनताले हेर्न आतुर छन .  

efficient · Dec 10, 2012 6:07 PM

efficient , tyodin kailay ni audaina hola

kittys · Dec 10, 2012 8:34 PM

२८ हजारमा कम्प्युटर किनिदिए हुन्छ- हेमराज भण्डारी Aye male lay ghus khayako paisa lay ta jhan anchal bareeka ko lagi laptop kinaa pugtheyo hola ni.. teso garay kaso hola?

pshrestha78 · Dec 10, 2012 8:45 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all