Jobs for Bachelors degree

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Teach for Nepal. Don't be the 99% here in America. Be the 10% of Nepal. तपाईँ नेपालको भाग्यमानी १०% मा पर्नुहुन्छ, ९०% का लागि केही गर्ने कि ! नेताहरुलाई हामीले धेरै गाली गरिसक्यौँ। गाली गरेरै देशको विकास हुने भए नेपाल अहिले विकसित देशको हाराहारीमा पुगिसक्ने थियो होला। हामीले हाम्रो देशको विकास गर्न एकजुट हुनुपर्छ पनि निकै पटक भनिसक्यौँ। एकजुट त हुने, तर केका लागि ? देश त बनाउने तर कसरी ? घर बनाउने जस्तो त हैन देश बनाउने भन्ने कुरा। उपाय के त देश विकासका लागि आफ्नो तर्फबाट सकेको योगदान गर्नका लागि। आउनुस्, हामी तपाईँलाई एउटा संभावित योगदानको बारेमा बाटो देखाउने कोशिश गर्छौँ। त्योभन्दा पहिला हामी हाम्रो देशलाई अलि बुझ्ने कोशिश गरौँ। तपाईँले भर्खरैको जनगणनाको तथ्याङ्क हेर्नुभो ? ६५.९ प्रतिशत साक्षर भएको, साक्षरता दर बढेको भनी दङ्ग नपर्नुस्। एसएलसीभन्दा माथिको तह पास गर्नेहरुको संख्या मात्र १०.२ % छ। तपाईँले यो कुरा इन्टरनेटमा पढिरहनुभएको छ भने पक्कै एसएलसीभन्दा बढी पढ्नुभएको हुनुपर्छ। त्यसो भए तपाईँ यो देशको झण्डै ९० प्रतिशतभन्दा बढी भाग्यमानी थोरै व्यक्तिमध्येमा पर्नुहुन्छ। अझ विदेशमा हुनुहुन्छ भने त त्यो भन्दा पनि थोरै व्यक्तिहरुमध्येमा पर्नुहुन्छ। तपाईँको काँधमा ठूलो जिम्मेवारी छ। र तपाईँले चाहनुभयो भने बाँकी ९० प्रतिशतको जीवनमा केही परिवर्तन ल्याउने काम तपाईँबाट संभव हुनसक्छ।   जब शिक्षा नै हुन्न, तब के हुनसक्छ ? पढ्न सक्नेहरुको सबैभन्दा ठूलो हिस्सा ३९ प्रतिशत मात्र पाँच कक्षा पास गरेकाहरुको छ। अनि उनीहरुलाई यही नेताहरुले सँधै घुमाइरहन्छन्। बन्दूक बोक्नेहरु उनै हुन्छन्, सपनाको खेती उनीहरुमाथि नै हुन्छ। उनीहरुबाट नै चुनिएर ती नेताहरु फेरि फेरि पनि सत्तामा पुगिरहेकै हुन्छन्। एक पटक फेरि नेपालको शिक्षाको स्थितिलाई यसरी सजिलो ढंगबाट बुझ्ने प्रयास गरौँ- यदि १०० जना बच्चा कक्षा १ मा भर्ना हुन्छन् भने कक्षा ४ सम्म १० प्रतिशतलाई त आधारभूत नेपाली वर्णमाला नै थाहा हुन्न। २५ प्रतिशतले दोहोरो अङ्क समेत चिन्दैनन्। १० कक्षासम्म पुगिसक्दा ७० देखि ८५ प्रतिशतले पढाइ छाडिसकेका हुन्छन्। जसोतसो एसएलसीसम्म पढिसकेकाहरुको पनि हालत हेर्नुस्। ५० प्रतिशत मात्रै पास हुन्छन्। यसको अर्थ   यो वर्ष २,२२,०७० जना विद्यार्थी एसएलसीमा फेल भए ५० लाखभन्दा बढी बच्चा स्कूलमा पढ्दैनन् झण्डै २ खर्ब रुपियाँ खेर गयो भयावह छैन त तथ्याङ्क। अब किन यस्तो हुन्छ त भन्ने बारे थोरै सोचौँ। मानव जीवनको लागि शिक्षा सबैभन्दा महत्त्वपूर्ण हो, त्यसमा त तपाईँहरु सबै सहमत नै हुनुहुन्छ होला। के तपाईँले कहिले सोच्नुभएको छ, यो शिक्षण पेशा अहिलेसम्म कसले अपनाइरहेको छ ? यसो हामी वरपरकै समाजलाई हेरौँ न। एसएलसीमा अलिकति बढी नम्बर ल्याउने बित्तिकै साइन्स पढ्न भनिन्छ। हाम्रो पालामा त डाक्टर बन्ने, इञ्जिनियर बन्ने भन्ने गर्थे। अहिले चाहिँ कमर्स पढ्नेहरु धेरै हुन्छन्। मुस्ताङको लेतेदेखि लिएर काठमाडौँको ललितपुरसम्म कमर्स पढाउने प्लस टुहरुमा विद्यार्थीको चाप हुन्छ। अलि ब्रिलियन्ट माइन्ड भएकाहरु धेरैजसो साइन्स, कमर्सतिर जान्छन्। शिक्षा पढ्नेहरु निकै थोरै हुन्छन् र शिक्षण पेशा अपनाउनेहरु अरु कतै जाने अवसर नपाएकाहरु अधिकांश हुन्छन्। शिक्षण पेशालाई अरु पेशाको दाँजोमा त्यति इज्जत पनि गरिँदैन। अब यसैलाई हेरौँ न। राम्रा विद्यार्थीहरु जति टेक्नोलोजी, साइन्स र बिजनेसमा लाग्ने, अनि त्यसमा लाग्न नसक्ने उनीहरुभन्दा कम प्रतिभाशालीहरु भने अरुमा लाग्ने। त्यसमा पनि शिक्षण पेशामा लाग्नेहरु त झन् थोरै। यस्ता अरुभन्दा कम प्रतिभाशालीहरुले पढाउने विद्यार्थी कस्ता होलान् ? अरु कतै बिक्न नसकेर पढाउन थालेका मास्टरहरु आफै त त्यति योग्य हुन्नन् भने उनीहरुले पढाउने विद्यार्थी कस्ता होलान् ? उनीहरुले पढाउने स्तर राम्रो भइदिएको भए ५० प्रतिशत विद्यार्थी एसएलसीमा फेल हुने थिएनन् होला। पास हुने मध्ये पनि धेरै बोर्डिङ स्कूलका विद्यार्थी हुने तथ्यलाई पनि नबिर्सनुस्। सरकारी स्कूलका ३६ प्रतिशत मात्रै पास हुन्छन्। फेल हुनेहरुमध्ये ९० प्रतिशत म्याथ, इंग्लिस र साइन्समा फेल हुन्छन्। त्यही विषय कमजोर भएकाहरुले पास गरेर विद्यार्थीहरुलाई पढाउन थालेपछि स्थिति के हुन्छ ? यही चक्र दोहोरिने क्रम जारी रहन्छ। यो स्थितिलाई कसरी परिवर्तन गर्ने त ? परिवर्तन सम्भव छ। कसरी ? तपाईँ ती नेपालका थोरै प्रतिभाशाली व्यक्तिहरुमध्येमा पर्नुहुन्छ। तपाईँ जस्ता प्रतिभाशाली अरु व्यक्तिहरु पनि देश र विदेशमा छन्। देश र विदेशबाट एउटा अभियान चलाऔँ। अहिलेका ‘नेता’ ले शब्दलाई दुरुपयोग गरेका कारण ‘लिडरसिप’ शब्द प्रयोग गरौँ यहाँ। त्यो अभियानबाट भावी लिडरसिप दिन सक्ने व्यक्तिहरु खोजौँ, जसले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनेछ। यसलाई अलि सजिलो ढंगले यसरी बुझौँ- नेपालका तपाईँ जस्ता प्रतिभाशाली उत्कृष्ट ट्यालेन्टहरुलाई रिक्रुट गरौँ र सार्वजनिक विद्यालयहरुमा दुई वर्षका लागि पढाउन लगाऔँ। यसले विद्यार्थीहरुले पाउने शिक्षामा सीधै प्रभाव पार्छ। पढाउनेहरुले नेपाल बुझ्छन्। उनीहरु सँधै यही पेशामा त लाग्ने हैनन्, पछि फेरि आफ्नै पेशामा फर्कने हुन्। ती ट्यालेन्टहरु सबै क्षेत्रमा पुग्छन् र नेपालबारे उनीहरुले बुझेका हुन्छन्। वास्तविक समस्यालाई उनीहरुले बुझेका हुन्छन् र त्यसलाई समाधान गर्ने उपाय सामूहिक रुपमा सोच्छन् र आफ्नोतर्फबाट सकेको गर्नेछन्, चाहे देशमा बसेर होस् वा विदेशमा। आऊ, मिलाउँ हाम्रा हातहरु ! यही काममा लागेको छ अहिले टिच फर नेपाल नामको संस्था। अहिले यो संस्था देश र विदेशबाट तपाईँ जस्ता ट्यालेन्टहरुको खोजीमा छ। दशैँतिहारको विदालगत्तै यसले आवेदन खुला गरेको हो। डिसेम्बर २१ सम्म आवेदन दिने अन्तिम मिति हो। केही दिनअघि म टिच फर नेपालको त्रिपुरेश्वरस्थित कार्यालयमा पुगेको थिएँ। संस्थाका प्रमुख शिशिर खनाल घोरिँदै थिए कान्तिपुरमा छापिएको विज्ञापन हेर्दै। ‘यो विज्ञापनले सोचे जस्तो नतिजा दिएन’, उनी भन्दै थिए, ‘अहिले पढाइरहेकाहरुले नै ट्रेनिङ चाहियो, फेलोसिप चाहियो भनेर धेरैले सम्पर्क गरे। त्यो हाम्रो थिम विपरीत हो। हामी त देशका अरु क्षेत्रमा बेस्ट ट्यालेन्टलाई लिन चाहन्छौँ।’ ‘पैसा पनि पाइन्छ’ दुई वर्षसम्म त धेरै भयो नि समय। सित्तैमा गर्नुपर्ने हो सबै काम ? हैन रे। महिनाको १० हजार रुपियाँ र दुई वर्षको फेलोसिप सकिएपछि एकमुष्ट एक लाख २० हजार रुपियाँ पनि दिइन्छ। रकमका लागि उनले बुद्ध एअर र एचएच बजाज नेपालसँग सम्झौता गरिसकेका छन्। बजाजले एउटा मोटरसाइकल बिक्रीवापत् निश्चित रकम यो कामका लागि टिच फर नेपाललाई दिनेछ। फिनल्यान्ड दूतावासले पनि यो कार्यमा सघाउने भएको छ। ‘हामी खासमा अहिले ग्राजुएट गरेर बसेका विद्यार्थीहरुमध्येबाट बेस्ट ट्यालेन्ट छान्न चाहन्छौँ’ खनालले खुलाए, ‘विदेशीहरुले पनि इन्ट्रेस्ट देखाएका छन्। तर यो हाम्रो थिमविपरीत भएकोले उनीहरुलाई हामी लिँदैनौँ। हामी नेपालीहरुलाई नै लिन्छौँ। परिवर्तनको सुरुवात नेपालीबाट नै हुनुपर्छ।’ अहिले संस्था आवेदन स्वीकार गर्ने र त्यसलाई केलाउने क्रममा छ। ब्याचेलर पास गरेका वा थर्ड इयर दिएर बसेकाहरुसम्मबाट आवेदन लिइँदैछ। त्यसपछि के छ त योजना ? शिशिर सुनाउँछन्, ‘सुरुवातमा तीमध्येबाट ३० जना छानिने छन्। पहिलो परीक्षण योजना भएकोले यस पटक काठमाडौँ नजिकैको जिल्ला ललितपुर छानेका छौँ। त्यहाँका १५ वटा सार्वजनिक र सामुदायिक स्कूलमा २-२ जनालाई पठाउनेछौँ।’ ‘अर्को वर्ष ६० जना छान्नेछौँ,’ प्रत्येक वर्ष यसलाई दोब्बर पार्दै जाने महत्त्वाकांक्षी योजना छ उनको। छानिएकाहरुलाई छ हप्ता तालिम दिइनेछ। दुई वर्षको अवधिमा उनीहरुले विभिन्न लिडरसिप ट्रेनिङहरु पनि पाउने छन्। कस्तोलाई छान्नुहुन्छ त तपाईँहरु ? ‘सोसल चेन्जमा इन्ट्रेस्ट भएको, एकेडेमिकल्ली राम्रो र लिडरसिपको संभावना भएका व्यक्तिहरु’, संस्थाको प्रष्ट भिजन छ। व्यक्तिलाई के फाइदा ? ‘ल तपाईँ समाज र देशका ठूला कुरा गर्न छाड्नुस्। त्यो पनि महत्त्वपूर्ण कुरा हो। तर जबसम्म व्यक्ति स्वयंलाई त्यसबाट केही फाइदा हुन्न, तबसम्म यस्ता काममा कोही व्यक्ति किन अग्रसर हुने ?’, मैले अत्याएर कुरा थुत्न खोजेँ, ‘नेपालभित्र रहेका वा विदेशमा रहेका कुनै नेपालीले यो कार्यक्रममा सहभागी भएर ऊ आफैलाई के फाइदा हुन्छ त ? उनले प्रष्ट्याए- ‘देश बुझ्छन्। देशको वास्तविक समस्या बुझ्छन्। के थाहा, भावी लिडरसिप उनीहरुकै पो हुने हो कि। विदेशमा ग्राजुएट गरेकाहरुले यस्तो फेलोसिप गरे विदेशमा मास्टर्स पढ्नलाई सजिलो हुन्छ। इन्टरन्यासनल कलेजहरुले यस्तो सेवालाई रिकग्नाइज गर्छन्। विदेशमै जागिर खोज्नेहरुले पनि फाइदा पाउने छन्, यस्तो फेलोसिपलाई इन्टरन्यासनल कम्पनीहरुले पनि रिकग्नाइज गर्छ।’ तपाईँ तयार हुनुहुन्छ देश विकासमा हातमा हात बढाउन ? तपाईँले कसैलाई चिन्नुभएको छ, जो यसका लागि योग्य हुनसक्छन्  आवेदनका लागि यहाँ क्लिक गर्नुस् http://www.mysansar.com/2012/1...     Last edited: 09-Dec-12 06:59 AM

mno · Dec 9, 2012 6:49 AM · 10,552 views

2 Replies

 Good deed  and very nice job!!!! But you forking JackA&s, retitle your post to something relevant to your article...  Before trolling your pathetic marketing strategy, think.....  Yours Truly yippeekayay mtha fka

yippeekayay mtha fka · Dec 9, 2012 2:56 PM

Why should it be retitled? It is job for Bachelor degree and above holder. Why you were expecting some dollar job?  

mno · Dec 9, 2012 8:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all