मेरो भारत भ्रमण र हाम्रो स्वाभिमान – अनिल किशोर घिमिरे 0Comments मध्य रातमा गोरखपुरबाट रेलको टिकटिक सुरु भयो। रिजर्भेसनको माथिल्लो स्लिपिङ सिट भए पनि थपडी बजाउने र भिख माग्नेहरूको बिगबिगीले अत्यासलाग्दो भएको थियो। कतिबेला त विश्वमै सबभन्दा गरिबी भएको राष्ट्रमा छौँ कि भन्ने अनुभुति हुन्थ्यो। रेलको आवाजले टिस्टा नदी पार गरेको सङ्केत दिन्थ्यो। निद्रामै झसङ्गै भइएछ। हामीलाई थाहा छ, पूर्वमा टिस्टादेखि पश्चिम काँगडासम्म फैलिएको बृहत् नेपाललार्ई असमान सुगौली सन्धिले खुम्चाइदिएको छ। करिब ३,६७,५७५ वर्ग किमि भूभाग र ४,८१६ किमिसम्म फैलिएको नेपाललाई आज २,८८९ किमिसम्म फैलिएको र १,४७,१८१ वर्ग किमि क्षेत्रफल भएको भनिएको छ। यसैकारण टिस्टा भन्दा बित्तिकै नेपाली राष्ट्रियता र स्वाभिमानको चिन्ता जागेर आउँछ। यता गोरखनाथ मन्दिरको पनि अध्ययन गर्दा थाहा हुन्छ कि त्यो पनि नेपालमै पर्ने भएकाले अहिलेसम्म पनि त्यसको गुठी जग्गा दाङमा रहेको छ। सुगौली सन्धिको ब्यापक चर्चा भए पनि तत्कालीन नेपाली शासकले लालमोहर लाएको कतै पाइँदैन र बृटिससँग भएको भनिएको उक्त सम्झौतालाई १९५० को सन्धिले समेत खारेज गरेको छ। भारतको नेपालप्रतिको विस्तारबादी हेपाह प्रवृतिले गर्दा नेपाली अस्मिता गुम्दै गएको छ। टिस्टा पुग्दा विस्तारवादप्रति घृणा जागेर आउँछ र आफ्नो सिमा सुरक्षा र भूमिका बारे चासो नदेखाउने सत्ता भागबण्डा र स्वार्थकेन्द्रित आत्मसमर्पणवादी नेपाली शासकप्रति घोर निन्दा गर्ने मन लाग्छ। करिब एक महिनाको भारत यात्रा नयाँ अनुभुतिका साथ अगाडि बढ्दै गयो। करिब २८ घण्टापछि आसाम गुवाहटी पुगियो। अब मेरा लागि सबै ठाउँ नयाँ नै थियो। केही दिन अगाडि स्थानीय बोडो जातिले छुट्टै बोडोल्याण्ड राज्य माग्ने सन्दर्भमा भिडन्त भई दर्जनौँ मानिसहरू मारिएका थिए। आसाममा पटक पटक हिन्दू, मुश्लिमबीच पनि हिंसा चर्कने गर्दछ। भारतको पूर्वोत्तर क्षेत्रको मुख्य केन्द्र मानिने आसाममा लाखौँ नेपालीहरूको पनि बसोबास थियो। अहिले केही हदसम्म हिंसाका घटनाहरू रोकिएको भएता पनि मनोवैज्ञानिक रूपमा त्रास र भयको वातावरण व्याप्त्ा थियोे। स्थानीय आदिवासी समुदाय, सरकारी, गैरसरकारी संस्थाहरूमा विदेशीहरूलार्ई लखेट्ने अभियान सुरु गरेका थिए। सन् १९७१ को आसाम एक्ट पछाडि आएका विदेशी भन्दा बित्तिकै लाखौँको सङ्ख्यामा रहेका नेपालीहरू पनि पर्दथे। अहिले बङ्गलादेशीलार्ई आसामबाट खेदाइरहेका छन््। प्रत्यक्ष/अप्रत्यक्ष रूपमा त्यसको असर नेपालीलार्ई पनि परेको छ। अर्ध–सङ्घीय स्वरूपमा रहेको भारतमा ब्रिटिसबाट स्वतन्त्र हुँदा ११ राज्य माग्ने मात्र थिए। अहिले २८ पुगेका छन््। आज पनि विभिन्न जातीय, समुदाय, क्षेत्रले राज्य माग्ने प्रकृया तिव्र बनेको छ। भारतको पनि छुट्टै मुलुक जस्तो देखिने पूर्वोत्तरका सबै राज्यहरूमा आन्तरिक द्वन्द्व र अन्य समस्याहरू बल्झदै गएका छन््। आसाम पहिले एउटा बृहत् राज्य थियो। नागाल्याण्ड, मिजोरम, मेघालय, मणिपुर, अरूणाचल अलग भएपछि राज्य राज्यबीचकै अन्तरविरोधले गम्भीर प्रकारका सङ्कट ल्याउने गरेको छ। केन्द्रीय सरकारसँग कुनै साइनोसम्म नभए जस्तो देखिने उक्त क्षेत्र अन्तर्गत एक अर्काे राज्यमा प्रवेश गर्दा पेश गरेको कागज अनिवार्य हुन्छ। अर्काे राज्यको वा विदेशीहरू प्रवेश गर्दा बित्तिकै विभिन्न बहानामा दुःख दिने, लुटपाट गर्ने, यातना दिनेसम्मका काम हुँदा रहेछन््। यसरी हेर्दा सङ्घीय राज्यका समस्याहरूको मुलुक प्रष्ट देखिन्थ्यो। केही दिनपछि नागाल्याण्डको कोहिमा प्रवेश गरियो। गुवाहटीबाट रातभरको ट्रेन यात्रापछि डिमापुर सरकारी बस चढेर कोहिमा जानु पर्थ्याे। लोभलाग्दो हरियाली जङ्गलबीचमा रहेको पहाडी बाटोलार्ई वसले आरामसँग छिचोल्दै थियो। आफ्नो राज्यभित्र अपराधिक घटनाहरूलार्ई नियन्त्रण गर्ने नाममा सिमा गेटमा कडा चेकजाँच हँुदै थियो। साथीहरूले स्थानीय नागा भाषामा खै के के भन्दै थिए। हामीलार्ई छुट दियो। केही बङ्गालीहरूलार्ई झापट समेत हान्यो प्रहरीले। हामी अगाडि बढ्यौँ। मनमोहक भुइँकटहरको बगैचा, सुपारी अनि नरिवलका बोटहरूले यात्रालार्ई शोभायमान बनाएको थियो। हुन त सगरमाथाको शान, मयुरको नाच, बगैचा अनि कोइलीको मधुर स्वर किन पो पाइन्थ्यो र ! विस्तारै चिसोको अनुभुति हँुदै गर्दा अब कोहिमा नजिकिएको महसुस गरे हुन्थ्यो। बसको सिसाबाट पारी लस्करै डाँडाभरी घरैघर देखिन्थ्यो। लामो आकार पहाडको काखमा कोहिमा नगर बसेको थियो। हामी केही क्षणमै त्यही ठाउँमा पुग्यौँ। पानी आउने रोकिनेको कुनै ठेगान थिएन। त्यहाँ केही दिन नेपाली दाजुभाइहरूबीच भेटघाट गर्ने काम भयो। हजारौँको सङ्ख्यामा नेपालीहरू थिए त्यहाँ। प्रायः सरकारी जागिरमा नेपालीहरू रहेछन्। स्वदेशका कुनै गाउँमा युवाहरू भेट्न मुश्किल पर्छ। तर त्यहाँ प्रत्यक ठाउँमा नेपालीहरू भेटिन्छन््। एक दिन कोहिमाको मिनिस्टर हिलमा एक जना गुल्मीको वृद्धको मृत्यु भयो। संजोगले हामी पनि त्यही पुग्यौँ। हेर्दै जाँदा आधा घण्टाभित्र तीन सयको सङ्ख्यामा नेपालीहरू जमघट भए र सबैले सहयोग गरे। तर नेपाली कुनै गाउँमा कसैको मृत्यु भयो भने सहयोग गर्ने मान्छे पाइँदैनन। यसरी हेर्दा थाहा हुन्छ, हाम्रो समाजको योग्य जनशक्ति स्वदेशमा परिचालित छैन। सबै विदेश पलायन भएका छन््। अनि देशको कसरी विकास हुन्छ। करिब एक हप्ताको नागाल्याण्ड बसाइँ उपलब्धिमुलक नै भयो। नेपालीसँग सम्बन्धित विभिन्न सङ्घ–संस्थाका वुद्धिजीवीहरूसँग भेटघाट भयो। क्रिश्चियन धर्मावलम्वीहरूको वाहुल्यता भएकाले अन्य समुदायका मान्छेहरू ओझेलमा परेका थिए र क्रिश्चियन समाजबाटै प्रभावित देखिन्थे। त्यहाँको सभ्यता र संस्कृति लोभलाग्दो थियो। सबै मान्छेहरू सहयोगी, कामप्रति इमान्दार र लगनशील जिम्मेवारबोध भएकाले समग्र राज्यले विकास गर्न सकेको देखिन्छ। मिजरोम जानका लागि आसामको सिलचरमा रहेको मिजोरम हाउसबाट पास बनाउनु पर्थ्यो। हामी नेपाली नागरिक नेपालबाटै गएकाले उनीहरूले पास बनाइदिएनन्। त्यहाँको डेपुटी कमिश्नरसँग केही समय भनाभन समेत भयो। सन् १९५० को असमान सन्धिमा समेत नेपाल–भारत दुवै देशका नागरिकहरू एक–अर्को देशमा स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारलार्ई सुनिश्चित गरिएको छ। त्यही सन्धि अनुसार लाखौँ भारतिय नागरिकहरू नेपालमा आई विभिन्न क्षेत्रमा बसोबास गर्ने, पेशा व्यवसाय गर्ने गरेका छन््। खुकुलो नागरिकता विधेयकका कारण तमाम भारतियले नेपाली नागरिकता समेत पाएका छन््। तर हामी त्यही सन्धि अन्तर्गत रहेर भारतका विभिन्न राज्यमा घुम्न जान पनि नपाइने स्थितिले भारतको नेपाल र नेपालीप्रतिको हेपाहा प्रवृत्ति प्रष्ट पाइन्छ। उनीहरूले खुल्ला सिमाना हुदा समेत नेपाली पासपोर्टको माग गरे। हामीसँग पासपोर्ट हुने कुरै भएन। अन्ततः हामी हाम्रै रिस्क (खतरा मोलेर) मा मिजोरम जाने निश्चित गर्‍यौँ। सिलचरबाट सुमो गाडीमा रातभर यात्रा गरेपछि मिजोरम पुगियो। हामी कुनै अपराधिक क्रियाकलापमा संलग्न हुन, अवैद्य पेशा गर्न या घुसपैठियाको रूपमा त्यहाँ गएका थिएनौँ। तर पनि मिजोरम गेटमा स्थानीय प्रहरीले सुमो गाडी चालकसँग केही पैसा असुलेर मात्रै त्यहाँबाट प्रवेश दियो। यसरी हेर्दा केही पैसा घुस खुवाएपछि जुनसुकै अपराधीलार्ई पनि छुट दिने व्यवस्था त्यहाँ देखिन्थ्यो। विहान सबेरै कृषि विभाग पुगियो, जहाँ हामीले भेट्नु पर्ने साथीले काम गर्नु हुन्थ्यो। शान्त र व्यवस्थित वातावरणको बीचबाट चिसोलार्ई छिचोल्दै मिजोरमको आइजोल सहर घुम्ने मौका पाइयो। ठूला, थोत्रो र धुवा निस्कने सवारी साधनहरू नगन्य देखिन्थ्यो। प्रायः टेक्सीमै सस्तो भाडामा यात्रा गर्न पाइन्थ्यो। अधिकांश ९५ प्रतिशत जनताले क्रिश्चियन धर्म मान्दा रहेछन्। बिहानै शनिवार र आइतबार चर्च भिडभाड देखिन्थ्यो। एउटै प्रकारको संस्कृति भएकाले उनीहरूको बीचमा आन्तरिक झैझगडा, द्वन्द्व कम हुने रहेछ। वर्माबाट नजिक पर्ने भएकाले व्यापार सम्पर्क बढी त्यतै हुन्थ्यो। केन्द्र सरकारसँग धेरै टाढा रहने गरेको मिजोरममा नेपालीहरूको पनि बाक्लो उपस्थिति थियो। सरकारी पेशा गर्ने बाहेकका गाई पालेर दुध बेचेर गुजारा चलाएका थिए। नेपालीभाषीहरू प्रशस्त भएकाले आइजोलमा एउटा स्कुल पनि खोलिएको रहेछ। नेपालीसँग सम्बन्धित कार्यक्रमहरू त्यही हुने गर्थे। मिजोरममा पनि नेपालीहरूलार्ई हेर्ने दृष्टिकोण पहिलेको जस्तो छैन। सरकारी जागिरमा प्रवेशमा पाउन मुश्किल नै पर्छ भने निजी होटल, व्यवसाय फर्महरूमा पनि एकदम कम पैसामा काम गर्न बाध्य छन्। त्यसैले त्यहाँबाट विस्तारै विस्थापित बन्ने काम सुरुवात भएको छ। नेपालीहरूका समस्याको बारेमा खुलेर विरोध गर्न या राज्य सरकार समक्ष ज्ञापन पत्र दिन समेत अप्ठ्यारो छ। स्थानीय सङ्घ–संस्था आदिवासी समुदायले गलत प्रकारले हेर्ने र दुःख दिने गर्छन र त्यसैले दबिएर बस्नु वाहेक अरू केही विकल्प हँुदैन। यतिसम्म कठोर हुन्छन् कि कुनै बन्द, हड्ताल गर्दा मान्छे पनि हिडडुल गर्न पाइँदैन। हामी कोहिमा आसाम र बैङ्गलोर घटनाको विरुद्धमा विद्यार्थी सङ्घले गरेको बन्दमा आकस्मिक कामका लागि हिडेको सर्वसाधारणले समेत कुटाइ खानु पर्‍यो। केही दिनको मिजोरम बसाइँपछि मेघालयतिर हिडियो। एक दिन र रातको सरकारी बसको यात्रा सुविधाजनक थियो। सरकारी नियम स्पष्ट भएकाले त्यहाँ कुनै वार्गेनिङ, झगडा हुने थिएन। विहानै शिलोङ पुगियो। विश्वको सबभन्दा बढी पानी पर्ने ठाउँ चेरापुञ्जीको नजिकै रहेकाले पानी सिमसिम आइरहेको थियो। तीजका दिदीबहिनीहरू रमाइलो गर्ने चाजोपाजो मिलाएका रहेछन्। ज्वाईमा आयोजना गरिएको तिजी कार्यत्रममा हामीलार्ई पनि अतिथि बनाइयो। एक एक गर्दै सयाैँको सङ्ख्यामा नेपाली चेलीबेटी र दाजुभाइहरू जम्मा भए। औपचारिक शुभकामना कार्यक्रम सकिएपछि नाचगान भयो। विदेशीको एउटा कुनामा रहेका नेपालीहरूको त्यो हार्दिकता र एकता स्मरणयोग्य थियो। शायद स्वदेशमा तिजी संस्कृति विकृति भएर अश्लिलतातर्फ अग्रसर भएको छ। नेपाली राष्ट्रियता जनताका दुःख, पीडासँग जोडिएका गीतका शब्दहरू त्यहाँ थिए। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, ज्वाई महिला नगर समितिको आयोजनामा उत्साहपूर्वक भएको कार्यक्रमले गर्दा दिन बितेको पत्तै पाइएन। नेपालमा आफ्नै गाउँ जस्तै अनुभुति भयो। एकता समाजका साथीहरू र अन्य वुद्धिजीवीसँगको भेटघाट गर्ने कार्यक्रम केही दिन जारी रह्यो। लाडरुम्बाई, शिलोङ पनि केही दिन बसियो। साथीहरूले रिपोर्ट गर्दै हुनुहुन्थ्यो कि नेपालीहरूलार्ई विभिन्न प्रकारको यातना, दुःख दिने काम रोकिएको छैन। काकडभित्ताबाट नेपाली लिएर आएका गाडीहरूलार्ई उत्तै फर्काउने काम भयो। नेपालीलार्ई ग्याँस खाद्यान्नको कार्ड रिन्यू गरिएन। त्यसो त स्थानीय खसियाहरूले २०१० मा नेपाली भाषीहरूलार्ई खोज्दै, पिटपाट पार्दै, लखेट्दै गरेका थिए। त्यसको विरुद्ध नेपालको संसदमा क. चित्रबहादुर केसीले आवाज उठाउनुभएको थियो। अहिले पनि भौतिक रूपमा नभए पनि मनोवैज्ञानिक रूपमा त्यहाँ रहेका लाखौँ नेपालीहरूले दुःख पाइरहेका छन््। मेघालयभन्दा बित्तिकै कोइलाको भण्डार रहेको ठाउँ बुझिन्छ। मेघालय राज्य अर्न्तगत पश्चिम खासी पहाड र पूर्वमा जयन्तिया पहाडमा कोइला, चुनढुङ्गाको भण्डार रहेको छ। ठूला ठूला कोइलाखानीमा काम गर्ने मजदुरहरूमध्ये करिब ७५ प्रतिशत नेपालीहरू भेटिन्छन््। त्यस बाहेक बङ्गाली, विहारी, आसामीहरू पनि पाइन्छन््। डाँडामाथि सल्लाका बोटहरू र भित्रभित्र कोइला (कालो सुन) रहने गर्दछ। कोइला निकाल्दै जाँदा ठूला ठूला खाडलहरू भएका हुन्छन््। बाहिरबाट आँखाले नदेखिने, भित्रसम्म नेपाली मजदुरहरूले काम गरिरहेको दृश्य साँच्चै पीडादायी छ। कतिबेला त्यतै हराउनुपर्ने हो? पुरिएर च्यापिनुपर्ने हो? पत्तै हुदैन। कहिलेकाही त कसैलार्ई थाहा नै नपाइकन दर्जनौ मजदुरहरू वेपत्ता हुने रहेछन् त्यहाँ। मानौँ, नेपाली मजदुरहरूले आफ्नो खाल्डो आफै खनेका छन््। एक हप्तामा पाउनु पर्ने मजदुरको ज्याला प्रत्येक आठ दिनपछि पाउँछन््। ठेकेदार, सर्दारहरूले आफूले मनग्गे आम्दानी गरेका हुन्छन््। मजदुरको ज्याला अत्यन्तै न्यून हुन्छ। त्यो त उनीहरूले एक हप्ताको रासन, तरकारी किन्न मै ठिक्क हुन्छ। घर परिवारसँग टाढिएका देखिन्छन््। केही रकम बाँकी रह्यो भने अधिकांशले त जाँडरक्सी, जुवातासमा मस्त हुँदा रहेछन््। कुनैले त सर्दार, मालिकसँग ऋण लिदै उनीसँग नै जाड रक्सी जुवातासमा मस्त हुने गर्नाले वर्षाैँ काम गर्दा पनि ऋणबाट मुक्त हुन नसकेका हुन्छन््। मेघालय भारतको प्रधान राज्य भएकाले महिलाले विवाह गरी पुरुषलार्ई आफ्ना घरमा भित्राउने चलन छ। त्यहाँ काम गर्न गएका कैयौँ नेपालीहरू पनि त्यहाँ खसियासँग विवाह गरी यतै घरजम गरेका पाइन्छन्। त्यहाँको चलन घरको सम्पत्ति हक र अधिकार कान्छी छोरीको हातमा हुदो रहेछ। त्यस्तै घरजम गरेका नेपालीहरू पनि खसिया महिलाहरूबाट ठगिएका प्रशस्तै उदाहरणहरू थिए। मिहिनेत गरेर कमाएको पैसा सम्पत्ति कब्जा गरी लोग्नेलार्ई लखेट्ने पनि गर्दा रहेछन््। यसरी हेर्दा त्यहाँका मजदुरहरूको कथा व्यथा चिन्ताजनक तस्विर देखिने गर्छ। हामीले आह्वान गर्‍यौँ त्यहाँ मेमनत गरेको भन्दा आधा मात्रै नेपाली भूमिमा मेहनत गर्ने हो भने– घरपरिवार चलाएर प्रशस्तै आम्दानी गर्न सकिन्छ। त्यसका लागि तयार हुनु पर्छ। आफ्नो मातृभूमिमा छरछिमेक, आफन्त, दाजुभाइसँगै दुःख, सुख गरेर बाच्न पाइन्छ तर विदेशी भूमिमा सधै गुलाम बन्ने मात्र हो। कोइलाखानीका मजदुर मात्र होइन, वडा वजारका भरियाहरूको समेत कथा उस्तै छ। यसरी रहेका नेपालीहरूलार्ई नेपाल सरकारले आवश्यक प्याकेज कार्यक्रम ल्याएर स्वदेशभित्र व्यवस्थापन गर्नु जरुरी छ। यसो गर्दा राष्ट्रको पनि आर्थिक समृद्ध हुन सक्छ। शिलोङबाट झरेको सुमो गाडीलार्ई वडा पानी आउँदा केही बेर रेस्ट गर्‍यो। कपिलजीले बताउदै हुनुहुन्थ्यो― वडापानीमा आँखाले देखिने ठाउँसम्म ताल परेको थियो। पर्यटकीय क्षेत्र पनि मानिन्थ्यो। त्यहाँ एकै ठाउँ तीनतिरबाट बिजुली उत्पादन गरिने रहेछ। नियमित वर्षाको कारण ६० प्रतिशत आसाम डुबानमा थियो। लाखौँको बिचल्ली थियो तर हामी नडुबेको आसामतिर थियौँ। अब केही दिन आसामको जोराबाट, बेलटोला गुवाहटीका साथीहरूसँग केही व्यापारीसँग नेपालको राजनैतिक परिस्थिति भारतस्थित नेपालीको समस्याबारे भेटघाट छलफल भयो। १९७१ पछि बसोबास गरेका विदेशीहरूलार्ई हटाउने हल्लाले सबैको मुटु कापेको थियो। राज्य सरकारले सबैको तथ्याङक सङ्कलन गर्दै थियो। आफू त्यहाँ रहन, बाच्नका लागि केही नेपालीहरूले आफू गोर्खालीको पगरी गुठेर स्थानीय एनजीओ संस्थासँग एकाकार रहेको पनि देखिथ्यो। हामीले सम्झायौँ। कोही नेपालीहरूलार्ई कि हामी कुनै घुसपेठिया नभएर नेपाल–भारतबीच भएको सन्धिले छुट दिएर बसेको हौँ। १९५० को सन्धि खारेज गरी नयाँ व्यवस्था गरियो भने हामी जान तयार छौँ भनेर धुक्कसँग एकताबद्ध आवाज उठाउने हो भने सुरक्षित हुन सक्छौँ। होइन भने खेदिनुको विकल्प हुँदैन। नेपाल फर्किने दिन आइसकेको छ। एक महिनाको भारत बसाइँले धेरै नयाँ अनुभुति हासिल गर्ने मौका दियो।
_____ · Dec 6, 2012 9:23 AM · 1,282 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion