संगत गरेका चार राजा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 संगत गरेका चार राजा राजा त्रिभुवन राणाहरूबाट पिल्सिएका र थिचोमिचो सहेका व्यक्ति हुन्। त्यसैले उनमा प्रजातन्त्रमा राजालाई ठाउँ हुन्छ भन्ने चेतना जागेको हुन सक्छ। दलहरूलाई पनि राजाले हामीले भनेको मान्छन् भनेर राजालाई स्वीकार्न आपत्ति भएन। जानेर होस् या नजानेर, त्रिभुवनले संविधानसभाको चुनाव गर्छु भनेका थिए। तर, हाम्रै नेताहरूका कारण सम्भव भएन। अरूले भनेजस्तो बीपी कोइरालाको साटो मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाएर उनले गल्ती गरेका होइनन्। किनभने, त्यसबेला पार्टी सभापति मातृका नै थिए। पार्टीले अध्यक्षको नाम दियो, राजाले उनैलाई प्रधानमन्त्री बनाए। तसर्थ, यसमा उनलाई दोष दिने ठाउँ छैन। नेपाली कांग्रेसका लागि बीपी भएको भए बेस हुन्थ्यो। तर, बीपीले पनि त भइरहेको सम्झौताका विरुद्ध मोहनशमशेरलाई निकाल्न हुँदैनथ्यो। संक्षेपमा भन्दा, राजा त्रिभुवनको एक असल राजाकै रूपमा बिदाइ भयो। राजा महेन्द्रमा चाहिँ राणाको पालामा शासन गर्न नपाएको तुष थियो। उनी राणाहरू गए तर फेरि कसैको अधीनमा बस्ने हो भने राजाको के अर्थ रह्यो भन्ने पक्षमा थिए। उनले बारम्बार राजनीतिक प्रयोग गरे। संविधानसभाको चुनाव गर्दा राजा झन् बाँधिन्छ भनेर संसद्को चुनाव गराउनेतिर लागे। संसद्को चुनाव पनि उनले प्रजातन्त्र बलियो होस् भनेर गराएका होइनन्। उनलाई विश्वास थियो, चुनाव भयो भने कांग्रेसले बहुमत पाउँदैन। यसबाटै थाहा हुन्छ, उनी बाँधिने र कुनै सीमामा बस्ने खालका राजा होइनन्। उनको विचारमा संविधान दिने अधिकार त राजाको हो। र, त्यही अनुसार संविधानसभाको चुनाव नगरेर संसद्को चुनाव गर्नका लागि उनी सफल पनि भए। हाम्रो मुलुकका सन्दर्भमा पञ्चायत यस्तो कालखण्ड हो, जसमा भारतको दबाब कम थियो। महेन्द्रले कम्युनिस्ट भएर उत्तरमुखी राजनीति गरेका होइनन्। तर, उनको मनमा के थियो भने, भारतको दबाब कम गर्न चीनसँग दोस्ती गर्नुपर्छ। उनले भारतीय दबाबलाई पनि बुझेका थिए। नेपालको राष्ट्रियता भारतकै कारण खतरामा छ भन्ने जुन मानसिकता जनतामा थियो, त्यसलाई बुझेकाले महेन्द्रले राष्ट्रियताको कुरालाई अगाडि सारे र त्यसमा सफल पनि भए। राष्ट्रियता र विकासका सन्दर्भमा महेन्द्रका पालामा अवश्य काम भएको छ। विकासको त्यो गतिलाई अहिलेसम्म पनि समात्न सकिएको छैन। तर, प्रजातन्त्रका निम्ति भने उनी बाधक नै थिए। राजा संवैधानिक हुने कुरा उनलाई मान्य थिएन। विकासको 'आइडिया' वीरेन्द्रमा पनि थियो। उनले नै देशलाई पाँच विकास क्षेत्रमा विभाजित गरी विकास अभियान तीव्र पारेका हुन्। विदेश पढेर आएका हुनाले संवैधानिक राजतन्त्रबारे पनि उनमा ज्ञान थियो। केही उदार पनि थिए। जस्तो : राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी स्वदेश फर्किंदा वीरेन्द्रले थुनिदिन सक्थे तर त्यसो गरेनन्। प्रजातन्त्रमा राजाको भूमिका के हुन्छ भन्ने कुरा वीरेन्द्रले बुझेका थिए र प्रजातान्त्रीकरणतर्फ उन्मुख हुन खोजेका पनि थिए। तर, वीरेन्द्रको कमजोरी रानीमा थियो। राणा खलककी ऐश्वर्यमा सबै कुरा आफूले गर्नुपर्छ भन्ने दम्भ थियो। पारिवारिक होइन, बौद्धिकताका कारण राजा वीरेन्द्र केही उदार थिए। तर, त्यो दायरा सीमित थियो। ०३७ सालको जनमतसंग्रहमा २४ लाख पञ्चायत र २० लाख मत बहुदलको पक्षमा परेपछि उनले बीपीलाई भन्न सक्नुपथ्र्यो कि 'प्रजातन्त्रमा जाने बेला भयो, मिलेर काम गरौँ। किनभने, जनता प्रजातन्त्रका पक्षमा पनि उत्तिकै रहेछन्।' तर, उनले त्यसो भन्न सकेनन्। किनभने, भाइ ज्ञानेन्द्र र रानी ऐश्वर्यले त्यसो नगर्न उनलाई चर्को दबाब दिएका थिए। सुधारिएको पञ्चायतको अवधारणा पनि ज्ञानेन्द्र र ऐश्वर्यको सोचकै उपज हो। राजा वीरेन्द्रलाई बहुदलीय प्रजातन्त्र दिनु हुँदैन भन्ने यिनीहरूले नै पारेका हुन्। राजाका रूपमा पछिल्लो समय ज्ञानेन्द्रको आगमन पनि हिजोको त्यही सोचबाट प्रेरति थियो। उनी पूर्णतः प्रजातन्त्रविरोधी राजा हुन्। राजा भएको देश हो, राजाले नै सबैथोक गर्नुपर्छ र जनप्रतिनिधि भनेका त हामीले भनेको मान्ने मात्रै हुन् भन्ने उनको धारणा थियो। यसरी हेर्दा राजा वीरेन्द्र त्रिभुवनको नजिक देखिन्छन् भने ज्ञानेन्द्र राजा महेन्द्रको। महेन्द्रका अवगुणजति त सरेकै थिए, गुण पनि खराब पक्षका रूपमा नै उनले अनुसरण गरे। आफ्ना पूर्वजले भनेको 'साना दुःखले आज्र्याको मुलुक होइन' भन्ने कुरा यिनको मनमा गढेको थियो। तसर्थ, अधिनायकवादी प्रवृत्ति ज्ञानेन्द्रमा बढी हुन पुग्यो। राजाबाट हट्नुपूर्वको अन्तिम अन्तिम समयतिर मेरो उनीसँग भेट भएको थियो। मैले भनेको थिएँ, "अवस्था खराब भइसकेको छ। छोरालाई मान्दैनन् बरू नातिलाई सुम्पिबक्सियोस्।" उनले टाउको मात्र हल्लाए, केही बोलेनन्। त्यसपछि फेरि लगत्तैको भेटमा मैले सोही कुरा दोहोर्‍याएँ। उनले भने, "तिमीबाहेक कसैले यो कुरा भन्दैन।" मैले भनँे, "मानिसमा बोल्डनेस छैन। मैले त देखेको कुरा भन्दिएँ सरकार !" मैले यो कुरा गिरिजाप्रसाद कोइरालासँग पनि गरेको थिएँ। मैले भनेको त गिरिजाप्रसाद के मान्थे ! पछि सायद छिमेकी मुलुकको दबाब पर्‍यो कि ! विराटनगर पुगेर उनले यही कुरा बोले। ज्ञानेन्द्रले यो कुरा मानिदिएको भए भारतले पनि राजा फालिहाल्ने थिएन। दलहरू पनि राजतन्त्र नै उन्मूलन गर्ने तहसम्म पुगिसकेका थिएनन्। राजनीतिले अर्कै मोड लिन्थ्यो। http://www.ekantipur.com/nepal...  

_____ · Dec 2, 2012 8:03 PM · 1,857 views

1 Reply

नेपालको राजनीतिमा गिरिजाको रोल अत्यन्तै महत्वपूर्ण थियो तर त्यो रोल को प्रयोग असल नियतिले प्रयोग भएन . राजा जानु पर्थ्यो पर्दैन थियो भन्दा अहिलेको अबस्थामा राजा भएको भए जनता एकत्रिकित हुन्थे कि भन्ने सोच मात्रै हो ?

Magorkhe1 · Dec 3, 2012 10:26 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all