चार पुरुष

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 १: " अव किन रोएकी, जे हुनु थियो भइसक्यो!" मलाई दिक्क लागिसकेको थियो, सावित्रीको गनगन सुन्दा सुन्दा। यस्ता कुरामा म अभ्यस्त छैन, त्यहि भएर मलाई उसलाई सल्लाह के दिने पनि थाहा छैन।म एउटा अन्धा ले  उसको जीवन अँध्यारो पार्ने रंग कालो छ कि खैरो छ कसरी पत्ता लगाउँ र! भोगाई वास्तवमै आँखा हुन् । भोगेको मान्छे आँखा बिग्रेको हुन सक्छ , तर अन्धा हुँदैन।  हुन त पर्नु सम्मको पिर परेको छ उसलाई। आफ्नो भन्नु कोहि थिएन उसको। आफ्नो काकाको घरमा जेनतेन गरेर पालीएकी थीई । उमेर पुग्यो भनेर विहे गरीदिए काकाले ।उसको खप्पर अभागी पर्यो, बुढो ले रक्सी खाएको सुरमा भट्टीवाल्नीलाई नै लिएर आयो । सावित्रीलाई घरवाट निकालीदियो। म सोच्दै गर्दा मनमनै हाँसे । म एउटा स्त्री , अर्कोलाई पिर पर्दा उसैको खप्पर अभागी भन्दैछु,किन म उसको पाटो मात्र देख्दैछु? हो म अन्धा नै हो ! " दिदी जति सम्झिन्छु नि , मेरो चित्त कुँडीएर आउँछ!" उसको सुँक सुँक यथावत थियो। " मुद्दा हाल न त !" मैले सेलाइसकेका थालका ठेट्ना मकै टोक्दै उसलाई सल्लाह दिएँ । थाहा छैन यो आलाकाँचे सल्लाह थियो तिनै मकैका ठेट्ना जस्तै वा परिपक्व ,किनकी  मुद्दाको मलाई मु पनि थाहा छैन। उसले कसरी भनेर मात्र प्रश्न गरी भने म सँग त्यो प्रश्नको उत्तर छैन।  मलाई टोक्न गाह्रो हुँदा , मैले ति मकैका ठेट्ना सँगसँगै सावित्रीलाई पनि हेरेँ । काममा ध्यान भए पो मोरीको,जत्तिखेर पनि वुढालाई नै सम्झिरहन्छे होला! चार महिना भयो भन्थी विहे गरेको। विहे सँगै उसका अनेकौ रहर जागेका थिए होलान। राम्री नै छे, दुई चार दिन त वुढोले पनि रक्सी छोडेको थियो होला, उसको आँखाको नशामा डुव्नलाई । पुरुषहरु ,पाखण्डीहरु, नशाका शौखिन हरु , माया उनीहरुलाई मात्र नशा हो ,पुजालाई नशा सँग तुलना गर्ने पाखण्डीहरु! भट्टीमा गयो होला, नशा चढ्यो भट्टीको ,भट्टीवाल्नीको,के वुझोस् त त्यो पाखण्डीले सावित्रीको बेथा!!उसको पुजा !! उसको समर्पण!! "मुद्दा हालेर पनि के गर्नु र दिदी!" उसले हारेको स्वरमा भनी । उसको हार मलाई विझ्यो । उ हार्दैछे वा सम्झौता गर्दैछे उसको वुढो सँग मैले केलाउन चाहेँ । " तेरो वुढोलाई धेरै माया गर्छेस् तँ , त्यति साह्रो मायाको लायक छैन वुझिस् त्यो !" हुन त को कति मायाको लायक छ त्यो दाँजीदिने म कुनै कसी हैन। तै पनि, माया गर्ने मान्छेले दुख दिँदैनन् , दुख दिनेले माया गर्दैनन्। "शुरु शुरुमा त खुव माया गर्थ्यो, त्यहि मोरीले लगी मोहनी लगाएर !" दोष फेरी अर्की आइमाइको टाउकोमा उसले थोपरीदिई। उसको लोग्नेले सावित्रीलाई कति माया गर्छ गर्दैन थाहा छैन। तर उ अझै पनि उसलाई माया गर्छे। यो हार हैन ,यो उसको सम्झौता हो। अथवा भनौँ एउटा चाहना हो, उ फर्केर आओस् भन्ने ,जसको आशमा उसको प्रतिक्षा पनि मायाले भरीएको हुन्छ। "शुरु शुरु मा त रमाइलो भो होला माया त गरीहाल्छ नि!" मैले उसलाई जिस्क्याएँ। "छ्या दिदी ! तर तँपाईलाई कसरी थाहा भो? तँपाईको त विहे पनि भएको छैन!" मनमा चसक्क विझ्यो यसपाली। तँपाईको त विहे पनि भएको छैन !! के विहे नै अन्तिम सत्य हो मायाको ?? वा माया त्यसविना पनि पुर्ण हुन्छ । मलाई लागेको त  माया आफैमा पुर्ण हुन्छ त्यसमा अरु पुर्णता दिन खोज्नु भनेको फगत मुर्खता हो। मैले उसलाई त्यो सवै भन्न सकिन।  "मलाई विहे नभए पनि थाहा छ !" मैले खिस्स हाँस्दै उसलाई जवाफ फर्काएँ। उसका ठूला राम्रा आँखा अझ वढी ठूला भए आश्चर्यमा ! "सुनेको !! अरु साथीको मुखवाट!!मेरा विहे भएका साथी पनि छन् " मैले ढाँटे उसलाई। संसार ढोंगि छ । म पनि दुइ जिव्रे छु। उसले सामान्य रुपमा लिएको भए ढाँट्दिन थीए। उसले अचम्म मानी मैले ढाँटीदिएँ। "हो दिदीलाई थाहा छ, पढे लेखेकी मान्छे !!" उ  छेवैमा भुइँमा टुसुक्क वस्दै भनी!!विचरी सोझि छे , पत्याई।यस्तै भन्थ्यो होला वुढो पनि ।ढिलो आउँथ्यो होला, आज काम थियो भन्थ्यो होला , उ टाउको हल्लाई दिन्थी होला, उसको वुढो फर्केकोमैँ पुर्ण रुपमा रमाउँदै। खुशी साँच्चै पानीको फोका जस्तै हुन्छन् त्यति वल नगरीकन नै उठ्छन् , वढ्छन् मौलाउँछन् , अनि जतन गरेर राख्न नपाउँदै फुट्छन् । " तँ कति सालकी ?" मैले प्रसंग वदलेँ । अघी नै धेरैचोटी दिदी भनीसकेकी थीई। मलाई दिदी भनेको मन पर्दैन। कसैले मेरो टाउको मा ठूलो भारी थोपरीदिए जस्तो लाग्छ। उसको उमेरप्रतिको जिग्यासा थोरै वढेर आयो। "छयालिस दिदी" हो साँच्चीकै दिदी पो रहेछु। मैले मनमनै सोचे ।ठूलो भार पाएकी छे अहिल्यै उसले जीवनमा ।जीवन दिनमा हैन पलमा हुन्छ शायद। मैले धेरै दिन जिएपनि उसले धेरै पल भोगेकी छे, त्यसैले म दिदी नै भए पनि उ भन्दा कान्छी छु मैले आँफैले आँफैलाई सान्त्वना दिएँ।थालको मकै सिद्दियो।तिर्खा लागे जस्तो भएर आयो। उ आएपछि म अरु अल्छि भएकी छु, किचन छिर्न मन लाग्न छोडेको छ । "तेरो बुढोको कुरा छोड्दे अव , एक कप मिठो चिया खुवा न त!" मैले उसको प्रसंग वदलीदिएँ आफ्नो आँग तन्काउँदै।उसले टाउको हल्लाई , अनि विस्तारै उठेर किचन तिर लागी । हुन त घरमा आएको उ तिन दिन भयो, तर पनि तिन दिन देखी प्रसंग वदलीएको छैन। म विश्राम चाहन्छु उ र उसको वुढाको किचलोवाट। दिउँसो म कलेजवाट पढाएर फर्केपछि उ नै हुनेछे दिउँसो भरीकी मेरी साथी । म उसलाई अलि खुशी देख्न चाहन्छु। चियाको वासना परैवाट आयो।मैले तातो गिलास पक्डिदै गर्दा सलक्क परेका उसका औँला नियालेँ।आफूलाई सोचेँ ,उसको ठाउँमा राखेँ, म भएको भए कुच्चै कुच्चो ले हिर्काउने थिएँ । फेरी सोचेँ मलाई पनि त कुट्थ्यो होला नी , त्यति गरीसकेपछि। अनि सोचेँ कुट्यो भने त स्वास्नी कुटेको भनेर वुढालाई झ्यालखानामा हालिदिने कति वोमेन अर्गोनाइजेसन् छन् कति , उ अहिले सम्म जेलमा हुन्थ्यो !! अनि सोचेँ झन्न म उसको ठाउँमा छैन चिया सुरुप्प पारेँ, म उ जति मिठो चिया वनाउन सक्दिन। क्रमश:  

fucheketo · Oct 9, 2012 1:02 PM · 32,840 views

22 Replies · Showing 21 - 22
Page 2 of 2

फुच्चे अलि हतार गरेको जस्तो लाग्यो कथा सकाउन, कति राम्रो सलल गैरहेकोथ्यो, तैपनि अन्त्य सुन्दर छ! अर्को कथाको प्रतिक्षामा!

crazy_love · Jan 30, 2013 5:39 AM

फुच्चे जी, गज्जबको कथा पढियो सधैं जस्तैनै| सावित्री, दोश्रो पुरुष (रोहन) र चौथो पुरुष (बुडा बा) को मनोविज्ञान त राम्रैनै झल्केको छ. अब,  बुडा बा को प्रस्ताव अनि रोहन र साबित्रिको बार्तालाप सुनी सके पछिको म पात्रको (I thijnk सुधा) मनोविज्ञान पनि अर्को कथा मार्फत जान्न पाए मज्जा हुन्थियो होला नि, हैन र? Last edited: 14-Feb-13 02:54 PM

Jhapali_Thito · Feb 14, 2013 2:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all