तिमीले भनेका सारा देव छोएर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

    तिमीले भनेका सारा देव छोएर (सन्दर्भः आज नारायणगोपाल जन्मदिवस) THURSDAY, 04 OCTOBER 2012 12:35 नागरिक   डा. विश्वम्भर प्याकुरेल- कोठामा छिरेर घुप्लुक्क पल्टेको मात्र थिएँ, कसैले ढोका ढक्ढकायो। उघारेर हेर्छु त अगाडि उही छ, नारायण गोपाल। 'ए बाजे, वर्ल्डकपको दिन मलाई अस्पताल छोडेर आउने?' ऊ मलाई 'बाजे' भनेर जिस्क्याउँथ्यो। म 'नागो' भनेर चिढ्याउँथेँ। ऊ मेरो जवाफै नकुरी सरासर टिभी खोल्न गयो। 'का वे ढुंकलः (ल आइसकेछ)।' एकछिन अघिमात्र वीर अस्पताल भर्ना गरेर आएको किड्नीको बिरामी। त्यतिखेर म त्रिभुवन विश्वविद्यालयको प्रोफेसर क्वार्टरमा बस्थेँ, कीर्तिपुरको ल्याबोरेटरी स्कुलसँगै। मलाई गाडीमा कोठा आइपुग्न आधा घन्टा पनि लागेन। त्यतिञ्जेलमा ऊ मेरै कोठामा मलाई सोध्दै नसोधी टिभी खोलेर फुटबल हेर्दैछ। सबभन्दा रिस उठ्ने कुरा त, जे सोधे पनि एउटै जवाफ दिन्छ, 'वर्ल्डकपको दिन पनि कोही अस्पताल बस्छ। त्यहाँ त टिभी पनि छैन।'  उसको यो मूर्खतमा हाँसुँ कि गाली गरुँ- म ठम्याउन सकिरहेको थिइनँ। 'भाउज्यूलाई खबर गरेको छस् हैन?' ऊ केही बोलेन। मैले पेमला भाउज्यूलाई खबर पठाइदेँ। त्यसपछि ऊ बोल्यो, 'डायलसिस सायलसिस गराउँदिनँ म।' त्यतिखेर उसलाई भर्खरै किड्नीको समस्या सुरु भएको थियो। डा. पुष्कर सत्यालले 'डायलसिस गराउनुपर्छ' भनिरहेका थिए। ऊ यही निहुँमा घरिघरि मकहाँ आएर फत्फताउँथ्यो। त्यस दिन पनि डायलसिसको कुरा उठेपछि झोँक्किएर आएको रहेछ। हामीले त्यो रातभर फुटबल हेर्‍यौं। ऊ छिनछिनमा फत्फताइरह्यो। ************* नारायण र मेरो चिनजान भएको २०२४/२५ सालतिर हो। त्यतिखेर म रेडियो नेपालमा गीतिकथा लेख्थेँ। दिनहुँ आउनेजाने हुन्थ्यो। नारायण पनि गीत रेकर्डिङ गर्न आइरहन्छ भन्ने सुनेको थिएँ। एक झलक देख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो, तर साइत परेको थिएन। रत्नशमशेर थापाको शब्दमा तारादेवी र उसले गाएको 'ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो' गीत म स्कुलछँदै चलेको थियो। त्यो सुन्दा हामी ठिटाहरू आफूलाई त्यही 'कान्छा' का रूपमा कल्पना गर्थ्यौं। एकदिन त म देख्छु, हाम्रो 'कान्छा' रेडियो नेपालको क्यान्टिनबाहिर विश्वबल्लभ, मधुकर बस्नेत, भैरवनाथ जोशीहरूसँग जोक गर्दै हाँसिरहेको। पहलमानजस्तो मोटोघाटो। हातऔंला पनि बाक्लाबाक्ला। कुलकुले कपाल। तेल नहालेको, तर लपक्क मिलेको। माथिल्लो लहरको अगाडिको दाँत अलिकति उठेको। एकदमै पातलो जुंगा। मोटो कालो फ्रेमको पावरदार चस्माभित्र तेजिला वजनदार आँखा। घरमा रेडियो आएदेखि सपनामा छिरेको 'कान्छा' मेरो सामुन्ने थियो। त्यतिखेर म ट्र्याम्प मोटरसाइकल चढ्थेँ - दुई सय सिसीको। त्यसको भुटुटुटु आवाज सुनेपछि सबै फर्कीफर्की हेर्थे। त्यही मोटरसाइकलले उसको ध्यान चोरेको हो कि जस्तो लाग्छ। म पुग्नेबित्तिकै उसले भन्यो, 'तपाईंको मोटरसाइकल त गज्जब छ नि।' म फिस्स हाँसे। त्यो छोटो भेटमै मित्रताको बाँध खुलेको थियो हाम्रो। विश्वबल्लभ, भैरवनाथ, मधुकर, नारायण र म त्यसपछि त दिनहुँजसो जम्न थाल्यौं। हामी रेडियोमा भेला हुन्थ्यौं। पाइला स्वतः काल्चाको रेस्टुरेन्टतिर लम्कन्थे। न्यूरोड गेटबाट अलिकति भित्र - मासुचिउरा निकै प्रसिद्ध त्यहाँको। अरू पनि थुप्रै अड्डा थिए। जनबहालनिरको मासम गल्ली। असनमा गोपाल दाइको भट्टी पसल। डिल्लीबजारको चटामरी। रातो रक्सी। मंगलबजारको छो्यला। कहाँ-कहाँ पुगिएन? हामी खान्थ्यौं। पिउँथ्यौं। टेबल ठटाएर गाउँथ्यौं। अनि थाकेर बटारिँदै घर फर्कन्थ्यौं। तिनताक ऊ ठमेलको नरसिं क्याम्पमा भाडाको घरमा बस्थ्यो। म उही दुई सय सिसीको ट्र्याम्प बाइक भुटुटुटु गर्दै उसलाई बेलुकी घर पुर्‍याउन जान्थेँ। ऊ अगाडि तन्कीतन्की भन्थ्यो, 'तपाईंको यो मोटरसाइकल गज्जब छ।' 'तपाईं-तपाईं' को सम्बन्ध लामै चल्यो। म उसलाई 'नारायणजी' भन्थेँ। ऊ मलाई 'विश्वम्भरजी' भनेर डाक्थ्यो।  यहीबीचमा म अमेरिका पढ्न गएँ, चार वर्षका लागि। फर्केपछि अनायासै हाम्रो गाँठो कस्सियो। किन हो, कसरी हो जान्दिनँ। म उसलाई भेट्न जाउँ भन्दै थिएँ। एकदिन अचानक राष्ट्रिय नाचघरअगाडिको घुम्तीमा हामी ठोक्कियौं। म त्रिभुवन विश्वविद्यालयको प्रोफेसर क्वार्टरमा बस्न थालेको थिएँ। उसले महाराजगञ्जमा घर बनाएछ। कीर्तिपुरको शान्त माहोलले उसलाई तानेको हो कि भन्ने लाग्छ। ऊ शनिबार नबिराइकन मकहाँ आउँथ्यो। कोठामा मन नरमाए हामी चोभार उक्लन्थ्यौं। पुराना अड्डा पनि खुबै चाहार्‍यौं। खानेपिउने कुरामा हामी मनकारी थियौं। खानेपिउने उसकै घरमा पनि चल्थ्यो। पेमला भाउज्यू जिन र टनिक मिलाएर पिलाउनुहुन्थ्यो। ऊ भाउज्यूलाई 'सोम' भन्थ्यो - 'मेरो सोमजस्तो बार टेन्डर संसारमै कोही छैन।' ऊ मुड चले हारमोनियम बजाएर सुरु हुन्थ्यो। इतिहासको सोखिन। नेसनल ज्योग्राफी पत्रिका खुबै मन पराउने। ग्राहक बनेको थियो। हामी संगीतमा हराउँथ्यौं, इतिहास र भूगोलका बेतुकका कुरामा हाँस्थ्यौं। मित्रताको बाढी उर्लिसकेको थियो। थाहै भएन, कतिखेर म उसको 'बाजे' र ऊ मेरो 'नागो' भइसकेछ। *********** सांस्कृतिक संस्थानको महाप्रबन्धकबाट 'रिटायर्ड' भएपछि ऊ अलि 'फ्रस्टेटेड' थियो। ऊ कुनै पनि घटनामा उत्साहित हुने वा निरासाले च्याप्पिने खालको मान्छे होइन। तर, सांस्कृतिक संस्थानसँग उसको जीवनकै ठूलो सपना गाँसिएको थियो। 'म यसलाई क्षेत्रीय स्तरमा लैजान्छु। नयाँ कलाकार खोज्छु, प्रतिभा तिखार्छु,' उसले यस्तैयस्तै सपना बुनेको थियो। तर, एउटा कार्यकाल पर्याप्त भएन। सरकारले अवधि थप्न चाहेन। ऊ निराश हुँदै भन्थ्यो, 'आखिर मेरो पनि के उपादेयता रैछ र?' उसलाई यो निराशाबाट बाहिर ल्याउन मैले सोधेँ, 'त्रिभुवन विश्वविद्यालयमा संगीत, कला, साहित्यको प्राध्यापन गरिन्छ। तिमी चाहन्छौ भने म सह-प्राध्यापक नियुक्त गर्न प्रस्ताव गर्छु।' त्यसबेला महेशकुमार उपाध्याय विश्वविद्यालयका उपकुलपति हुनुहुन्थ्यो। उहाँले तुरुन्त मेरो प्रस्ताव कार्यकारी परिषद्मा लैजानुभयो। झन्डै दुई वर्ष सह-प्राध्यापक रह्यो ऊ। २०४५ सालतिरको कुरा। मरिचमान सिंह प्रधानमन्त्री थिए। भारतसँगको सम्बन्ध चिसिएको थियो। तत्कालीन सरकारले राष्ट्रियता झल्किने गीत गाउन भनेर एकेडेमी, रेडियो नेपाल र सांस्कृतिक संस्थानका कलाकारको टोलीलाई सीमावर्ति क्षेत्र खटायो। नारायणलाई पनि डाकिएको थियो। ऊ मानेन। 'म त सह-प्राध्यापक,' उसले जवाफ दियो, 'सांस्कृतिक संस्थानमा पनि छैन, एकेडेमीमा पनि छैन। सरकारले भनेको ठाउँमा गाउँदिनँ। कुनै ठाउँमा गाउन मन लागे आफैं आउँला।' त्यतिखेरै विश्वविद्यालयले नारायण, म र परीक्षा नियन्त्रक नरेन्द्रबहादुर महर्जनलाई देशका विभिन्न ठाउँ घुमेर लोकगीत संकलन गर्न पठायो। उसले सरकारी टोलीमा बस्न नमानेपछि कसैले सोचविचार गरेरै यो कार्यक्रम बनाएजस्तो लाग्छ। हामी जहाँजहाँ जान्थ्यौं, टोली त्यहीँ पुग्थ्यो। तर, नारायणले सबैमा गाएन। हामी बर्दियाको गुलरिया पुगेका थियौं। टोली त्यहीँ रहेछ। नातिकाजी, शिवशंकर, प्रेमध्वज, प्रकाश श्रेष्ठ, दिप श्रेष्ठ, अम्बर गुरुङ, तारा देवी सबै थिए। गुलरिया, मेरो जन्मथलो। जहाँ नारायणको गीत सुनेर म 'फ्यान' भएको थिएँ। म उसको त्यही गीत सुन्न चाहन्थेँ, जसले मलाई आफूभित्रको रोमान्टिक 'कान्छा'को झझल्को दिलाउँथ्यो। 'गुलरिया त म जन्मेको ठाउँ,' मैले भनेँे, 'तिम्रो र मेरो यति राम्रो दोस्ती छ। तिमीले गीत गाउनुपर्‍यो।'  ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो मेरो फरमाइस सुनेर ऊ अन्कनायो। त्यो तारादेवी र नारायणको युगल गीत थियो। त्यतिखेर दुवैको बोलचाल थिएन, झन्डै पाँच/सात वर्षदेखि। मलाई नारायणले सुनाएको थियो- एउटा फिल्मको गीत गाउँदा उनीहरूले बीचमा पर्दा राखेर एकअर्काको मुखै नहेरी गाएका थिए रे। यी दुईलाई मिलाउने मेरो 'आइडिया' सबैले मन पराए। हामीले सल्लाह गर्‍यौं - नारायणलाई म फकाउने, तारादेवीलाई अरूले। प्रयास सफल भयो। ********** नारायण र म नेपालगञ्जको 'आनन्दलोक' होटलमा बसेका थियौं - माथिल्लो तल्लामा। सरकारी टोली त्यहीँ आइपुगेको छ भन्ने हामीलाई थाहा थियो। हामी कोठाको बार्दलीमा थियौं। तल सडकबाट नातिकाजीहरूले देखेछन्। 'ए सानुभाइ हारमोनियम ढुलाः (छ)?' नातिकाजी नारायणलाई माया गरेर सानुभाइ भन्नुहुन्थ्यो। 'युनिभर्सिटीको काममा आको मान्छेसँग हारमोनियम हुन्छ?' नारायणले माथिबाटै जवाफ फर्कायो। 'पठाइदिउँ।' 'सक्छौ भने पठाइदेऊ।' नभन्दै बेलुकी एउटा हारमोनियम आइपुग्यो। त्यसपछि त नारायण बिहानै-बेलुकै त्यसमा टाँस्सिरहने। ऊ एउटा नयाँ धुनमा खटिरहेको थियो। मलाई थाहा थिएन कसको गीत बनाउँदैछ। उसले एकाएक मलाई आधारातमा गहिरो निद्राबाट ब्युँझायो। 'ए बाजे, उठ् त, एउटा गीत सुनाउँछु।' 'किन बेकारको कचकच गर्छस् नेगो,' मैले उसलाई गुट्मुट्याउन खोजेँ, 'आधा रातमा कोही गीत सुन्छ।' ऊ के मान्थ्यो। हारमोनियम बजाएर गाउन थालिहाल्यो। 'माया लाउनेको चोखो माया पनि देखियो' त्यो गीत कालीप्रसाद रिजालले लेखेर दिएको रहेछ।  'कालीलाई म सरप्राइज दिन्छु,' नारायणले भन्यो, 'उसले त गजल भनेको थियो। मैले लोकधुन, गजल र क्लासिकल मिक्स गरेर कम्पोज गरेको छु। कस्तो छ?' 'ठिकै छ,' निद्रा बिथोलेको झोँकमा मैले आँखा मिच्दै भनेँ। उसले पनि कुरा बुझ्यो। 'ल ल सुत्।' बाँकी रात मेरा कानमा त्यही गीत गुन्जिरह्यो। ************ 'हिजोको गीत वार्षिकोत्सवमा गाउँदा के हुन्छ?' बिहान उठ्नेबित्तिकै मैले सोधेँ। त्यतिखेर त्रिभुवन विश्वविद्यालयको वार्षिकोत्सवमा नारायणको एकल गायन तय भइसकेको थियो। त्यो उसैको प्रस्ताव थियो। 'रिटायर्ड लाइफ'मा सह-प्राध्यापकको पद दिएर सम्मान गरेको गुण तिर्न चाहन्थ्यो। त्यसको संयोजक मै थिएँ। 'अनि हिजोचाहिँ के को नाटक नि बाजे?' उसले मलाई अँठ्यायो। म हाँसेर फुत्केँ। वार्षिकोत्सवको दिन नारायणलाई ज्वरो आएको थियो। खोकी पनि चलिरहेको थियो। तर, उसले बाचा पूरा गरेरै छोड्यो। मेरो बोली पनि राख्यो। रोगले भित्रभित्रै गलिसकेको नारायणले कालीप्रसाद रिजालको त्यो गीत पछि स्टुडियोमा रेकर्डसम्म गर्न भ्याएन। त्रिभुवन विश्वविद्यालयको इतिहासमा त्योजत्तिको 'कलरफुल' वार्षिकोत्सव कहिल्यै भएको छैन। ************ 'रानी (ऐश्वर्य) को गीत गाउनुपर्‍यो भन्ने कुरा आएको छ,' उसले एकदिन मलाई सुनायो। सरकार र दरबारको काम भनेपछि उसको मन मर्थ्यो। एकचोटि दरबारमा 'दर्शनभेट' को लागि डाकिएको रहेछ। ऊ गएछ पनि। तर, घन्टौं कोही नझुल्किएपछि रन्थनिएर निस्केछ। दरबारमार्गको अलि वर आइपुगेपछि सिपाहीहरू दौडँदै लिन आएछन्। ऊ भने अरठ्ठिएर 'मेरो पेट खराब भयो, यस्तरी सरकारसँग के भेट्नु' भनेर फर्किएछ। 'गाइदेन त,' मैले भनेँ। 'रानीको नाममा अरूले फाइदा उठाउन खोजेका हुन् कि?' उसको शंका थियो। यसबारे छलफल गर्न संगीतकार दिपक जंगमले दरबारमार्गको अम्बर रेष्टुरेन्टमा डाकेको रहेछ। म पनि सँगै गएँ। दिपकले 'नारायण गोपाललाई गीत गाउन लाउने रानीको एकदम इच्छा छ' भन्ने सन्देश सुनायो। म त्यसबेला परिवार नियोजन संघमा महासचिव थिएँ। रानीकी सहोदर बहिनी प्रेक्षा शाह संघकी अध्यक्ष। 'धन्दा नमान, साँच्चै हो कि होइन म पत्ता लगाइदिन्छु,' मैले कानमा खुसुक्क भनेँ। त्यहाँबाट फर्केर प्रेक्षासँग 'रानीको इच्छा हो कि होइन' सोधेँ। उनलाई पनि थाहा रहेनछ। 'सोधेर भन्छु' भनिन्। पछि उनको फोन आयो। हो रहेछ। 'एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा' नारायणलाई बोल्दा 'ट' र 'त' को समस्या परे पनि गीतमा कहिल्यै त्यो सुनिँदैन। तर, रानीको गीत रेकर्ड गर्दा के भएर हो ऊ 'एउटा'लाई 'एउता' भनिरहेको थियो। स्टुडियोमा कोही उसलाई सच्याउन आँट गरिरहेका थिएनन्। मैले हत्तपत्त रेकर्डिङ रोकेर भनेँ, 'नारायण के हो यो? एउता-एउता भइरहेको छ।' उसले स्टुडियोभित्रै दुई खिली चुरोट बुङबुङ उडायो अनि फेरि रेकर्ड गरायो। दिपकले यो गीत दुईवटा ट्युनमा रेकर्ड गरे। नारायण, पेमला र मैले अहिले बज्ने ट्युन छान्यौं। रानीले त अर्को भन्दै थिइन् रे। तर, नारायणले अड्डी कस्यो। ********** एकदिन सिनेमाका नायक शिव श्रेष्ठ र नारायण गोपाल आधा घन्टाको फरकमा मेरो क्वार्टरमा आइपुगे। मैले भर्खर डेक ल्याएको थिएँ। नारायणले 'न्युरोड गएर ३/४ वटा अंग्रेजी फिल्मको क्यासेट ल्याउँ' भनेर प्रस्ताव राख्यो। त्यसबेला उसलाई खुबै अंग्रेजी फिल्म हेर्नुपर्ने। 'माछा पकाएर ख्वाउँछस् भने जाउँला,' मैले भनेँ। ऊ एकदम राम्रो 'कुक' थियो। उसलाई सोधेर पकाउँदा-पकाउँदा मकहाँ काम गर्ने केटाधरी मिठो पकाउने भइसकेको थियो। उसले सुरुमा त जीउ बटार्‍यो। पछि मान्यो। नारायण, शिव र म न्युरोड गयौं। बाटोमा जो पनि शिवसँग बोल्न खोज्ने। हात मिलाउन खोज्ने। मैले नारायणलाई कोट्याएर भनेँ, 'तँलाई चिन्ने त हाम्रो पुस्तामात्र हो कि क्या हो।' 'हो दाइ केही त गर्नैपर्‍यो,' शिवले थप्यो। 'के गर्ने?' नारायण उत्सुक देखिन्थ्यो। 'एउटा कार्यक्रम गरौं।' ऊ राजी भयो। मैले प्रक्रिया बढाएँ। वसन्त चौधरीसँग मेरो राम्रो सम्बन्ध थियो। ऊ अर्बुद्धरोग निवारण संघको महासचिव, म परिवार नियोजन संघमा। दुवै संस्थाको प्रायोजनमा कार्यक्रम गर्ने भइयो। 'यो साँझ भनेको गोल्डन साँझ हो, त्यसैले यसको नाम स्वर्णिम सन्ध्या हुनुपर्छ,' मैले कार्यक्रमको न्वारन गरेँ। एकजनाले एकैचोटि त्यति धेरै गीत गाएको त्यो पहिलो अवसर थियो। माछा खाँदै फिल्म हेर्ने चक्करमा एउटा ऐतिहासिक कार्यक्रमको बीउ रोपियो। त्यस दिन हामीले माछा पनि किन्यौं, फिल्म पनि ल्यायौं। तर, तीनैजना फिल्ममा भुल्दा भान्छामा माछा पकाएको भुसुक्कै बिर्सिएछ।  पूरै डढ्यो। *********** 'नारायणलाई सरकारको गीत गाउन लगाइदिनुपर्‍यो,' स्वर्णिम सन्ध्या चलिरहँदा घरिघरि दरबारबाट फोन आउँथ्यो। हामी नारायणलाई सम्झाउँथ्यौं। ऊ के मान्थ्यो। 'कराएर हुन्छ, आफ्नो टाइममा गाइन्छ नि।' त्यसको भोलिपल्ट दरबारमा सामाजिक संस्थाहरूको बैठक थियो, रानीको अध्यक्षतामा। नारायणले उनको गीत नगाइदिए भोलि कसरी मुख देखाउने? प्रायोजक पनि आफैं छौं। 'ल नारायण, जसरी भए पनि हामीलाई जोगाइदे,' मैले भनेँ, 'बरु मेरो गीत नगाए केही छैन, रानीको गाइदिनुपर्‍यो।' ऊ 'ल ल' भन्दै टक्टकिन्थ्यो। अन्तिम समयतिर बल्ल उसले 'एउटा मान्छेको मायाले कति' गायो। त्यसको केही बेरपछि मेरो गीत पनि गायो। 'तिमीले भनेका सारा देव छोएर' त्यतिखेर हामीले सिभाज रिगल र ब्ल्याक लेभल तयार राखेका थियौं। पहिला अरू कार्यक्रममा ऊ सधैं पिउँथ्यो। विश्वविद्यालयको कार्यक्रममा दुई पेग पिएको थियो। तर, त्यस दिन छुँदै छोएन। कार्यक्रम सकेपछि राति १० बजेतिर एभरेष्ट होटल गएर हामीले दुवै बोतल रित्यायौं। भोलिपल्ट रानीसँग भेट भयो। वसन्तले 'टु हर म्याजेस्टी' लेखेर कार्यक्रमको अडियो क्यासेट रानीलाई उपहार दिए। उनले भनिन्, 'द्याट् वाज ग्रेट इभेन्ट।' ********** उसले मेरो गीत गाएको त्यही एउटा हो। 'तिमीले भनेका सारा देव छोएर' मैले आइएस्सी पढ्दा लेखेको। नारायण र दिप श्रेष्ठबाहेक अरूलाई गाउन लाउन्न भन्ने थियो। २०३२ सालतिर दिप र म दार्जिलिङ गएका थियौं। श्रेष्ठ लजमा उसले त्यो गीत ट्युन गरेर सुनायो। तर, मलाई खासै चित्त बुझेन। मेरो शब्द पनि अलिकति तलमाथि परेको थियो। पछि शम्भुजित बाँस्कोटाले त्यो गीत सुन्यो। 'दाइ यो मै गर्छु, तपाईं कसैलाई नदिनुस्,' उसले भन्यो। त्यो समय वसन्त चौधरीले दरबारको दक्षिणी ढोकानिर 'गु्रप-थ्री' भन्ने एउटा स्टुडियो खोलेको थियो। शुभबहादुर र शम्भुजित (शुभ-शम्भु) त्यहीँ मेरो गीतमा काम गरिरहेका रहेछन्। नारायण पनि घुम्दैघुम्दै पुगेछ। गीत सुनेर ऊ टक्क अडिएछ। फेरि गाउन लाएछ। 'कसले लेखेको थाहा छ दाइ?' शम्भुजितले भनेछ, 'विश्वम्भरले।' 'ए त्यो बाजेले त मलाई सुनाउँदै सुनाएन।' उसले मेरो अगाडि कहिल्यै त्यो गीतको कुरा गरेन। अरूसँग भने खुब तारिफ गर्थ्यो रे। ********* त्यो दिन विश्वकप हेर्न अस्पतालबाट भागेर आएको नारायणलाई त्यसपछि अस्पतालले छोड्दै छोडेन। ऊ थला पर्‍यो। सुगर पनि विस्तारै बढ्दै गयो। हातगोडा सुन्निन थाले। दाँत झर्दै थिए। उसलाई पनि थाहा भइसकेको थियो, ऊ अब रहन्न। 'पेमला एक्ली छे। हेर्दिनू,' ऊ नजिकका साथीहरूसँग भन्ने गर्थ्यो। मलाई लाग्छ, अन्तिम समयमा यही कुराले उसको मन बढी बिथोल्यो। अर्को पनि इच्छा सुनाउँथ्यो - 'पेमलालाई चाहिनेजति ठाउँ छुट्टयाएर घरमा संगीत प्रशिक्षण केन्द्र खोल्नू।' हामी केही साथीले अस्पतालमा कुर्न पालो मिलाएका थियौं। भेट्ने आउनेको ताँती लाग्थ्यो। नारायणलाई देखेर तिनका आँखा रसाउँथे। ऊ भने आएजतिलाई हँसाउँथ्यो। 'म (राजा) वीरेन्द्रलाई फोन गर्छु,' एकदिन उसले भन्यो। 'किन?' हामी चकित पर्‍यौं। 'म भन्छु, अब संवैधानिक राजतन्त्रमा तिम्रो काम छैन। म पनि अस्पतालमा लडिहालेँ, काम गर्न सक्दिनँ। हामी दुई भाइ मिलेर तास खेलौं।' ऊ जीउ चल्मलाउँदै हाँस्थ्यो। हामी चुप्पै लाग्थ्यौं। खासमा गला अवरुद्ध हुन्थे।

timi_mero_sathi · Oct 4, 2012 7:38 AM · 2,343 views

2 Replies

 धन्यबाद टी एम एस !   नारायण दाई को थुप्रै किस्साहरु सुनेको थिएँ , पढेको थिएँ तर यो प्रसंगले अझ मन छोयो . हुन यो सम्झना लेख्ने डाक्टर साहेब पनि हाल साली झन्डै कालको मुख सम्म पुगेका थिए.    हार्दिक श्रद्धान्जली !!!!

rahulvai · Oct 4, 2012 8:45 AM

 I have never read about "Swarsamrat - Mansamrat - Mitratasamrat"  NARAYAN GOPAL before.  T.M.S thank you so much for sharing this.  ठुल्दाई हजुर ले कहाँ पढेको येस्सो लिंक यहाँ बाधिदिनुस न मा पनि पढ्छु नि    हार्दिक श्रधांजलि !!

ThahaChaena · Oct 4, 2012 9:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all