यस्तो ब्यथा , कथा मै सीमित होस् .... “ त्यो दिन सृष्टि संग कुरा गरे पछी यस्तो लाग्यो दाई जिउनु व्यर्थ रहेन छ , जिउनुको अर्थ पिउनु मात्र रहेन छ. अहिले सम्म जिएको जिन्दगीमा बल्ल ज्यान आए जस्तो भयो” उमेश भाई जिन को चुस्की संगै भन्दै थिए, म सुन्दै थिएँ एउटा जीवन कथा एउटा भरिलो ब्यथा. उमेश भन्दै गयो .... त्यो भन्दा पहिला लाग्थ्यो जिन्दगीको कुनै रंग छैन, उराठ लाग्दो बगर जस्तो, नभ नभएको सगर जस्तो . सानैमा देखि बाबाले बोर्डिंग त्यो पनि कालिंपोंगमा राखी दिनु भयो . प्रिन्सिपल र अरु टिचरहरुको तानाशाही शासनमा दास बनियो. पेट भरिन्जेल खान नपाएको भन्दा नि ठेस लाग्दा “ के भयो बाबु ?” भन्दै फु..फू गरिदिने मायाका हात र सास केही थिएन . मम्मीलाई सम्झन्थे, एकान्तमा रुन्थे .. बाबालाई सम्झन्थे , एकान्तमा सुक्कसुक्का गर्थें .... लाग्थ्यो मलाई कसैले माया गर्दैनन्. २-३ महिनामा बाबा आउनुहुन्थ्यो, कहिले काहीं मम्मी . २-३ महिना पछी फुल्थें, त्यो पल लाई कैद गरेर अर्को २-३ महिना सम्म राख्ने कोशिश गर्थें तर होस्टल को अमिठो खाना र भोको पेटले २-३ दिन मै घर सम्झिन्थे. एवं रीतले १२ क्लास सम्म त्यतै पढियो . पढाईको हिसाबमा अब्बल नै नभए नि कम्जोर बिद्यार्थी थिइन. बाबाले इन्जिनियर बन्नु पर्छ भन्नु हुन्थ्यो, आफ्नो पनि म्याथ राम्रो भएकोले इन्जियारिंगको प्रवेश परिक्षा दिइयो. सहजै निस्कियो. चार बर्ष पुल्चोक क्याम्पस र होस्टल ओहर दोहर गर्दै बित्यो . साथी संगी संग रम्दै, कहिले काहीं दुख मा गम्दै ... इन्जिनयर पनि भैयो . धेरै केटी साथीहरु संग संगत गरें. कसैमा बिशेष आसक्ति थिएन. कुनै बिशेष लागेन . तर सबै जसो संग सुमधुर सम्बन्ध रह्यो सिर्फ त्यो काली पूनम संग बाहेक. पुल्चोक होस्टलबाट निस्के पछी त सुकुम्बासि भैयो . मामा माइजु को घर थियो काठमाडौमा . केही दिन शरण लिएँ . गोजीको पैसा रित्तिनु अघी जागिर खोजीमा निस्कें. सबै जसो इन्जिनियरहरु विदेश जाने चक्करमा हुने भएको ले कि कुन्नि एउटा मझुला खालको कनसल्टेनसीमा जागिर मिल्यो . साइट गरिरहनु पर्ने झन समाइलो लाग्यो . साइट प्राय जसो पूर्बी नेपाल .. आफ्नो घर गाउँ . महिनामा एक पल्ट जसो घर जान पाउने . खुशी सुस्त सुस्त आए आए जस्तो चाही भयो. लक्का जवान एक्लो छोरो, मम्मीले अब तेरो बिहे धुमधाम संग गर्नु पर्छ बुझिस ... केटी आफै रोज्या छस कि हामी खोजम ... भन्नु हुन्थ्यो . मम्मी आफै खोजिसियोस न हजुर जस्तै .. लाटो हुन खोज्थें .. हुन त आफुलाई जीवन जगत संग बाँधिनु अघि करियर लाई आकार प्रकार दिनु पर्छ भन्ने दिव्यज्ञान कसैले दिए जस्तो र त्यहि नै ठुलो काम जस्तो लाग्थ्यो . अलि २-४ बर्ष काम गर्छु, पैसो नि जोगाड गर्छु अनि धुमधाम संग बिहे गरुला नि हुन्न मम्मी? हैन अर्को जेठ मै गर्नु पर्छ बाबु, २-४ बर्ष सम्म बाचिएला न बचिएला के थाहा ? काल को के भर ? कस्तो स्याड कुरा गरिबक्स्या हजुरले. हजुर जस्तो हेल्थी र एक्टिभ लाई नि केही हुन्छ ? अर्को महिना काम कै सिलसिलामा बुद्ध इअर् बाट बिराटनगर गएँ . घरदैलो सम्म प्लेन जाने .. भाग्यमानी नै छु जस्तो. घर पुग्दा मम्मी खाटमा देखें . झसंग भए . बाबा नि घर मै हुनहुन्थ्यो. बिजिनेस मा फुर्सद कहिलेइ नहुने बाबा संगै हुनु ले “केस: अलि सिरियस जस्तो लाग्यो. मम्मी के भयो हजुर लाई ? मेरो बाल शुलभ प्रश्न . "खै जरो आएको २ हफ्ता जती भयो . ओम मेडिकल स्टोर को बाबु काजी दाइ ले भाइरल हो सिटामोल ले ठिक हुन्छ २-३ दिन मा भन्थ्यो . जरो घटेन . ड्याडी ले घरमै डाक्टर भण्डारी बोलाएर देखाउनु भयो . भण्डारी डाकसाहेब ले नर्सिंग होम मै थ्रु चेक अप गर्नु पर्छ भन्नु भयो . नर्सिंग होममा चेक गरेर आइसकें . डाक्टरले आराम गर्नु भन्नु भएको छ . जरो घटेको छ . तर कम्जोर फिलिंग भैराख्या छ . बाबालाई थाहा होला के भाको मलाई भनेर . डाक्टरी भाषा बुझ्दिन म ." बाबा भान्सामा आमाको लागि खाना तयार गर्दै हुनु हुन्थ्यो . बाबा, मम्मीलाई के भाको ? डाक्टर अंकल के भन्नु हुन्छ . सम्भावित दुर्घटनाबाट बेखबर मैले सोधी हालें . बाबाको मुहारमा कुनै चमक थिएन . सधैं को हँसमुख बाबाको तेजमा ग्रहण देखिन्थ्यो. तँ आफै हेर भन्दै दराजबाट नर्सिंग होम को रिपोर्ट फाइल दिनु भयो . “Stage III Uterine Cancer” देखे पछी म त्यहीं को त्यहीं ढलेछु .... क्रमश:
rahulvai · Oct 1, 2012 10:28 AM · 65,554 views
सुष्मा अष्ट्रेलिया जाने दृढ मनस्थितिका साथ तयारीमा लागी. एक मनले लाग्यो उसलाई अष्ट्रेलिया पठाएर म खुशी हुन सक्दिन, मायामा बाँची रहेको धड्कन, मायामा साँचीरहेको जोबन, अलिकति खुशी लेपिएको मन, अलिकति मुस्कान बेरिएको तन सब चकनाचूर हुन्छ , सुष्मा बिना. उसलाई जान दिउँ , सके सम्म छिटो म पनि अष्ट्रेलिया नै जान्छु . सके उच्च अध्ययन गरुंला , न सके केही न केही त गरिएला. अमेरिकाको गन्तब्य फेरियो. भाग ६ एउटा कन्सल्टेन्सी मार्फत सिड्नीको एउटा कलेजमा भर्ना को चाँजो पाँजो मिलाई. पैसाको कुनै खाँचो थिएन उसलाई. भिसा मिल्यो. सिड्नीमा अस्थायी बास अल्काको अपार्टमेन्टमा हुने भयो . अल्का पनि खुशी , सुष्मा पनि साथ मा म पनि . दशैं तिहार यसपाली त्यति बहार लिएर आएन . सुष्माको उडान तीथि तय भैसकेको. तिहार पछी को शनिबार उड्ने दिन. बाहिरबाट खुशी नै देखिए पनि उ पनि भित्र भित्र दुखि नै देखिन्थी. सम्भवत बिछोडको पिडाको पूर्वाभासमा भासिदै थिई. जति दिन नजिकिदै थियो त्यति नै हामी दुइ को धडकन तेज हुदै थियो . सके सम्म समयलाई हामी भित्रै एकान्तमा कैद गरेर राख्यौं . सपनाहरु अनिगिन्ती बुन्यौं. भविष्य को अनिगिन्ती बाटोहरु कोर्यौं. एउटा सुन्दर संसारको स्पष्ट रेखा चित्र भित्र रमायौं. दशैंमा घर गएँ. बाबा आमा, अन्य आफन्तहरु माझ दशैं मनाए . त्यो रातो अक्षता र पहेलो लहलहाउदो जमरा भीडमासुष्मा को आकृति खोजि रहें.सुष्माको आभास खोजी रहें. तिहारमा घर फर्किन नमिल्ने सूचना दिइ फेरी शहर पसें. तिहारको झिलिमिली र भिडभाडमा एउटा असह्य बिछोडको तयारीको लागि किनमेल गर्न ब्यस्त भएँ. धेरै सरसामान सहित को यात्रा झन्झटिलो हुन सक्छ. म आउँदा लिएर आउला सुष्मा भनेर सम्झाउथें. तै पनि मन परेको सामान किनी हाल्थी. यसपाली भाइटिकामा रित्तो निधारको भन्दा नि आफ्नी मुटुको टुक्रा सात समुद्रपार जान लागेकोमा मन रित्तो रित्तो थियो. अनायासै झोक्राएर बस्थें. "धेरै स्याड नहोउ उमु , केही दिन त हो नि , त्यसपछी तिमी आइहाल्छौ . अनि फेरी फेशबुक , स्कैपी छदै छ. जति टाढा भए नि म तिमी भित्रै हुन्छु . हरपल तिम्रो साथ रहन्छु , प्रोमिस उमु ..." त्यो दिन नि आयो. बिहानै देखि दिन आफै रोइराखेको जस्तो , घाम लागेको थिएन. ८ बजेको बैंकक को फ्लाइट . शुभयात्राको कलश पुजी, शगुण लिई हामी ५ बजे अगावै इअरपोर्ट पुग्यौं. बाकीं २ घण्टा हाम्रो लागि अत्यन्त मुल्यबान समय थियो. एकइ छिन एकान्तमा माया साटासाट गर्र्यौं . त्यो अन्तिम म्वाई ........ यति मीठो र आत्मीय रहयो .. अझै पनि यी ओंठहरु थर्थराइ रहने गर्छन. भारि मनले बिदाइ गर्र्यौ. देख्न सक्ने ठाउँसम्म उ हात हल्लाउदै गइ . प्लेन उड्यो, खुशी सपनाहरु साथ लिएर ... त्यो रात पछी कति रात निद्रा लागेंन , थाहै भएन . दिन दिनै स्कैपिमा सुष्मा संग कुरा नगरी दिन सुरु हुदैनथ्यो. कलेज अनि काम दुबैलाई मिलाएर म संग स्कैपीमा माया साट्न समय निकाल्थी . मेरो पनि अष्ट्रेलिया यात्राको रुपरेखा तयार भयो. कागजातको ब्यबस्था भयो. सुरु मा उनी पढेकै कलेज जाने , त्यसपछी देखा जायेगा .. यसरी लाहुर जाने लगभग निश्चित तयारीमा लागको थिएँ. दिन नि तय भयो . सुष्मा ब्यग्र प्रतिक्षारत, मलाई भने बेग मारेर आजै जाउँ जाउँ जस्तो, खुट्टा भुइंमा थिएन. हाकिम साहेबलाई अप्रत्यक्ष हिन्ट दिसकेको थिएँ. तर स्पष्ट भनेको थिएन. गरिराखेको एउटा प्रोजेक्ट सक्याई दिन्छु अनि बिदावारी हुन्छु भन्ने सोच बनाएको थिएँ. काम कै सिलसिलामा घर जाने अवसर मिलेको र त्यस पछी मम्मीको रोग ..बिमारी... अनि त्यो चट्यांग .. यसरी अष्ट्रेलिया उड्ने मेरो प्लान ढलान भयो .... क्रमश:
rahulvai · Oct 23, 2012 12:33 PM
यो भाग पनि गज्जब गयो ठुल्दाई - अर्को भाग पनि हाल्दे हुन्छ -
serial · Oct 23, 2012 12:54 PM
ठुल्दाई पढ्दै छु है .....
ThahaChaena · Oct 23, 2012 1:42 PM
ओहो, ठुल्दाइ को पनि नया कथा आको रैछ| सुरुमा त सारै दुखद थ्यो, अहिले अलि रोचक भको रैछ, ल अर्को भाग पनि चाडै हालम त दाइ|
Nepal ko Chora · Oct 25, 2012 3:04 PM
लौ न, उमुको प्लान त ढलान मात्रै होइन ढलान माथि अर्को एक राउन्ड प्लास्टर नि भयो जस्तो छ ठुल्दाई। कठै!!
Dipika02 · Oct 25, 2012 3:05 PM
राम दाइ , नेप्चे , दीपिका नानू , थाने भाइ , लहरे , बाह्रमासे लगायत सबैमा आभार . कथा को मूल बिषय अझै छुन सकेको छैन, त्यसको लागि माफ पाम . मुख्य ब्यथा अर्को इपिसोड देखि सुरु हुन्छ कि ? अहिले सम्म घटेका घटनाहरु पिडादायी छन् नै त्यो भन्दा भयानक दर्द म देखि रहेछु . यो अष्ट्रेलिया को प्रसंग न जोडेको भए नि हुन्थ्यो जस्तो लाग्याथ्यो . लेखि हालें ........... सके सम्म छिटो मूल बिषयमा प्रवेश गर्ने नै छु भन्ने वाचा सहित सबैमा पुन: आभार ब्यक्त गर्न चाहन्छु .
rahulvai · Oct 25, 2012 3:32 PM
दशैँ पनि सकी सक्यो, अब त टिका थाप्ने हरु को ताँती छैन होला, आज जसरि पनि लेखौ है ठुल्दाई... मज्जाले पलेटी कसेर खसीको मासु, र जे. डी. को स्वाद मा पढ्न बसिन्छ.
baaramaase · Oct 25, 2012 4:41 PM
दशैं नि सकियो तिहार नि सकियो अब पुरा गर्ने हैन ठुल्दाई कथा .....
ThahaChaena · Nov 16, 2012 12:03 PM
सोमबार पक्का है बाह्रमासे, थाने... आज खुशी ले गदगद भाको बेला मिटिंग नै मिटिंग ले इतिंग नि ट्याम मा गर्न पाएको छैन .
rahulvai · Nov 16, 2012 1:36 PM
भाग ७ मम्मीको क्यान्सरले अष्ट्रेलिया जाने मेरो योजना तत्कालको लागि स्थगित भयो . आमा भन्दा ठुलो करियर हुन सक्दैन. वात्सल्यताको मूल्य धन र यौबन हुन सक्दैन . त्यसैले टिकेट क्यान्सिल गरें. उता अष्ट्रेलियाबाट सुष्माको फोन आउने क्रम जारी थियो. स्कैपी बन्द भयो. समय म सुष्माको प्रेम र सामिप्यमा खर्चिन सक्दिन थिएँ. र मैले स्पष्ट संग सुष्मालाई मम्मीको हाल सुनाएँ र अष्ट्रेलियाको टिकेट क्यान्सिल गरेको यथार्थ जानकारी दिएँ . सुष्माकोले नराम्रो मानी . लामै अन्तराल पछी पुनर्मिलनको सपना सजाएकी थिइन. परिस्थितिले भिलेन खेले. अनेक प्रयास पछी पनि आमालाई बचाउन सकिन. यही अभागी हातले दाग बत्ति दिएको थिएँ . आफुलाई जन्म दिने आमा, दशधारा दुध खुवाई हुर्काएकी आमा, जीवन जगत संग हास्न खेल्न सिकाएकी आमाको मृत्युमा बिक्षिप्त थिएँ . सुष्मालाई खबर भैसकेको थियो. केही दिन पछी फेरी सुष्माको फोन आयो. “अब कहिले आउने प्लान गर्र्यौ ??” “म अझै आमाको चिता संग संगै जलिरहेको छु , कहिले आउने भन्ने सोच्न सकेको छैन . केही समय देउ सुष्मा.” “छिटो आउ न उमु , मलाई यहाँ निकै अप्ठेरो भैसक्यो . अर्को महिना देखि अल्का पनि आफ्नो ब्वाई फ्रेन्ड संग बस्ने रे . एक्लैले अपार्टमेन्टको रेन्ट तिर्न सक्दिन. फेरी एक्लै बस्न नि डरलाग्दो. जता गए नि यत्रो यत्रो आँखाले हेर्छन खाउला झैँ . छिटो आउ न प्लिज .” मेरो मस्तिष्कले केही सोच्न सक्ने स्थिति थिएन. झूठ बोल्ने हिम्मत नि थिएन . “अहिले म भन्न सक्दिन सुष्मा.” दुइ दिन बिराएर फेरी फोन आयो. कहिले आउने , अप्ठेरो भयो , छिटो आउ आदि कुरो . म भने अझै त्यो पीडाको घाउ सुम्सुम्याउदै थिए. अस्तव्यस्त जिन्दगीलाई एक एक गरेर फेरी जोड्ने प्रयास मा थिए. मुटुको भित्रि तहमा लागेको घाउ दुइ दिनमा भरिने हुँदैन. सुष्मालाई भने आफ्नो मात्र चिन्ता ?? एक छिन त रीस उठ्यो. हो म बुझ्न सक्छु, एक्लो हुनुको पीडा, एक्लो हुनु मा हुन सक्ने ब्यबहारिक कठिनाई . तर म जानी जानी उनको ब्यथा बोक्न न गएको हैन, उनको कथा सुन्न न गएको हैन . म भित्रको पीडा कल्ले बुझ्ने ?? फेरी फोन आयो . फेरी उही कुरा . कसले के कुरा लायो थाहा छैन, अब १ हफ्ता भित्र आउने दिन फिक्स्ड गरेन भने हाम्रो सम्बन्धमै असर पर्छ रे .धम्कीको गन्ध नमिठो सुंघें. सके सम्म रीसलाई चढ्न न दिन मैले क्षमा मागें . फेरी फोन आयो . हफ्ता दिनको भाका याद दिलायो . म नि मान्छे हुँ, रीस अनायासै जाग्यो . “हफ्ता दिन भित्र डेट दिएन भने के गर्छौ त ?” म भित्र को अहम बोल्यो . “हाम्रो सम्बन्ध यही एण्ड, यु आर सो मीन ... “ भन्दै रुन थाली . यसपाली उनको आँशुमा म पग्लिनेवाला थिएन, म आफै आँशुमा चुर्लुम्म डुबेको मान्छे. आमा गुमाएको छोरो, आफ्नै आँखा अगाडी जन्म दिने विधाताले अन्तिम सास लिएको पीडा भोगेको मान्छे . दिलमा पत्थरको आवरणले छोपिसकेकोले होला मलाई यसपाली उनको आँशु पानी मात्र लाग्यो. यसमाने म स्वार्थी भएँ त्यति बेला दाई......... ****************************************************************** उमेश क्वाँ क्वाँ रुन थाले. हैन भाई, न रोउ न रोउ, दुख , पीडा , बिछोड त जिन्दगी को एउटा हिस्सा हो, हर एकको यस्तै किस्सा हुन्छन भाइ . मैले सम्झाउने प्रयास गरें . ******************************************************************* दाई, त्यस पछी सुष्मा ...... (एक छिन बोल्नै सकेन उमेश) . त्यस पछी सुष्माले मलाई सम्बन्ध बिच्छेद को निर्णय सुनाई . म फेरी दुखें दाई . एक महिना भित्र दुइ दुइ चोटी मरें दाई . यतै सानो कुरा मा सुष्माले यस्तो कठोर निर्णय लिई . किन यस्तो घातहरु म माथी नै हुन्छ दाई ..... मनलाई कठोर बनाएँ. सुष्मा संग फेरी रिकंसाइल गर्न सकिन्छ भन्ने बिश्वास थियो . रीस क्षणिक हुन्छ . उम्लेको दुध त केहि क्षणमा सतहमा आउछ भने धड्किने मन अबश्य आउँछ . तर आएन दाई .... फेरी आएन . मेरो फोन उठ्न छोड्यो , स्कैपी अफ भयो. फेशबुक डी-एक्टिभेट गरी . म पनि महान प्रेम पुजारी हैन . मुनाको मदन हैन, लैला को मजनु पनि . साधारण मान्छे हुँ. आमाको चित्तामा बसेर प्रेम कहानी लेख्ने मान्छे म परिन. यसरी मैले आमा को अस्थि संगै मेरो अबोध प्रेम पनि बागमती मै बगाएँ .......... क्रमश:
rahulvai · Nov 19, 2012 11:10 AM
"आमा भन्दा ठुलो करियर हुन सक्दैन. वात्सल्यताको मूल्य धन र यौबन हुन सक्दैन" "आफुलाई जन्म दिने आमा, दशधारा दुध खुवाई हुर्काएकी आमा, जीवन जगत संग हास्न खेल्न सिकाएकी आमाको" वाह ठुल्दाई, सारै पबित्र लेखाइ, सब्द नै छैन लेखाइ को प्रसंशा गर्न.....एक सास मै पढेर सिध्याए..... देर आए दुरुस्त आए भने जस्तो भयो....... समय मिलाएर लेख्दै गरु ठुल्दाई....
baaramaase · Nov 19, 2012 11:43 AM
5 wota bhag ekai choti padhe la... Comment skype ma bhanaula :)
ramronepal · Nov 19, 2012 3:46 PM
ठुल्दाई बाचा अनुसार सोमबार नै कथा टास्नु भो मज्जा आयो पढेर ... तर कथाले मन चाहि अलिक खिस्रिक्क भो खिन्न भो बिचार उमेश.... एकातर्फ प्रेमको मुटु छेदन हुने पिडा अर्को तर्फ ममतामयी आमा गुमाएको आत्मा भेदन गर्ने पिडा .... बिचरा कस्तो उकुसमुकुसमा परेको ... मुटु ले मुटु साटेर जोडेको माया पनि कति निष्ठुरी कति स्वार्थले भरिपुर्ण हरे .............आँखा रसाए कता कता मन पनि ओसिलो भो यो भागले ...... दाइ अर्को खण्डको प्रतिक्ष्यामा छु ...
ThahaChaena · Nov 19, 2012 4:33 PM
यो पनि झकास नै गयो ठुल्दाई !!! अर्को भागको प्रतीक्षामा !!!!
nepali lover · Nov 19, 2012 6:24 PM
भाग ८ यसरी एउटा प्रेमको भ्रुण हत्या भो . दोषी हामी दुवै थियौं. परिस्थिति थियो . अलिकति अहम थियो . समय सबै भन्दा ठूलो मल्हम हो भन्छन . बिस्तारै सुष्माको याद र बरबाद प्रेम दुवैले राती जिस्काउँन आउन छाड्यो. केही रात मीठा नीदहरु संगसंगै सुतें . प्रोजेक्टको पर्फर्मेसबाट सबै खुशी थिए . हाकिम मारवाडी नै भए नि दिलदार थिए, तलब बढ्यो , हैसियत् बढ्यो . कम्पनीमा शेयर बढ्यो . एक माने मा प्रगती भयो. उमेश फेरी भाबुक बन्यो अर्को चुस्की संगै . "भन न भाइ अनि त्यस पछी".... मैले अबको कहानीमा सिर्फ जवानीको रंग मात्र समाबेसिएको होला भन्ने पूर्वानुमानमा हौशाएं. "प्रगति कहाँ सम्म पुग्यो त?" “दाइ , कहानीमा बेजोड को मोड आयो, “ संगै बस्दा अचेल मेरो बोलीको नक्कल गर्ने भएको छ उमेश. "त्यो छ नि सिलवाल सर, मन्त्रालयको सह सचिब ?" "त्यै गर्ल फ्रेन्ड छ कि छैन भनेर सोध्ने चाही हैन ??" "हो दाइ, त्यै सिलवाल सरले ................." "के भाइ के ??" 'एक दिन कम्पनीको लन्चमा फेरी खुसुक्क कानमा “ भाइले अब त बिहे गर्नु पर्छ है टाइम भयो “ भन्नु भयो'. ठिकै त भन्नु भा हो नि , मैले सहि थापें . त्यो लन्च मा मैले केहि भनिन तर अर्को दिन मन्त्रालयमा मा काम कै सिलसिलामा पुग्दा सर ले भन्नु भयो. “ माइन्ड नगर्नु उमेशजी , मैले केही कुरा थाह पाएको छु तपाइको बारेमा . कसको मात्र जिन्दगीमा दुखको हिस्सा हुँदैन र , कसको मात्र दुखको किस्सा हुँदैन र ?” अब अघि बढ्ने टाइम हो . पवनजी पनि तपाईं देखि बहुत खुशी हुनु हुन्छ, टेक्निकल डाइरेक्टर बनाउंदै छ रे भन्ने सुन्छु म . जिन्दगी लाई आकार दिने, जिन्दगीलाई आभास दिने बेला यही हो . मान्नु हुन्छ भने बिहे गर्नुस , घर बसाल्नुस. “ "के भन्नु सर ... मा अक्मकिएँ. उमेश मात्र भन्नुस न सर," "उमेश जी भने पनि उमेश मात्र भने नि, उमेर ले मा तपाइंको अभिभावक सरहको मान्छे, र तपाइसंग यतिका समय देखि काम गर्दै आएको छु , तपाइको कु-भलो चिताउछु होला र ??' -हैन सर मैले त्यसो भन्न खोजेको हैन. सरले जहिले पनि मलाई सपोर्ट र हौशला दिदै आउनु भएको छ . सर प्रति सधै म कृतज्ञ नै छु . मेरो को छ र अब आफ्नो भन्ने, मेरो ख्याल गर्ने. मम्मी जानु भयो, बुबाको हाल तपाईं लाई थाह नै छ . "मेरो कुरा मान्नु हुन्छ भने, अझै भन्छु , असल सुशील केटी संग घर बसाउनुस. आगे प्रगति र खुशी पाउनु हुने छ ." -हुन त हो सर तर ......... "तर के ??" -बिहे त गर्ने .......... तर केटी नि हुनु पर्र्यो नि ? -भाकीले नाता तोडी हाली . सर संग के ढाट्नु ............... त्यस पछी मैले केटी सेती को चक्कर चट्टकै छोडीदिएँ . धरोधर्म सर . 'त्यो मलाई थाह छ – हास्दै सरले भन्नु भयो “ तपाइंलाई आपत्ति छैन भने मेरो नज़र मा एक जना केटी छ, सुशील छे, कूलघरानकी , पढे लेखेकी...”' म सुन्दै थिएँ लज्जा भाव अनायासै देखियो म मा. "लजाउनु पर्दैन, सोच्नुस , ठण्डा दिमागले . अर्को पल्ट तपाइंको अफिस मा आउदा अझ बिस्तृतमा कुरा गरौला ...." सिलवाल सरको कुरामा दम थियो . जिन्दगीलाई सधै बिगतको घाउ कोट्याएर बन्धकी बनाउनु ठीक हैन. अगाडी बढ्नु छ . समय, समाज र रीति संगै हिड्न सकेन भने जिन्दगी सधै निरस र अपूर्ण हुन्छ . म मा कता कताबाट दिब्य ज्ञानको प्रस्फुटन भयो. मन मिल्ने खालकी भए त “हर्ज “ क्या है भन्यो मन ले . सर हाम्रो अफिस पाल्नु भयो . सरको हेराइ मा केही नयापन देखिन्थ्यो . अफिसियल कुरा सकिए पछी मेरो रूममा आउनु भयो. "उमेश भाई, ठण्डा दिमागले सोच्नु भयो कि गरम दिमागले ?" ठट्यौली शैली, सिलवाल सरको सधै उस्तै . -हैन सर ठण्डा दिमागले नै सोचें, अलि अलि गरम थियो दिमाग आइस हालेर ठण्डा बनाएँ . मैले नि सरकै शैली लाइ नक्कल गरें . -मन मिल्ने खालकी कोइ भए.......... तयार छु सर ................लजाउदै भनें. "मैले अस्ति नै भनेको थिएँ नि एक जना मेरो नजर मा छ भनेर . तर कुरा पहिला नै क्लियर गरि दिउ. केटा र केटी को व्यक्तिगत कुरा मिले पछी मात्र सबथोक हुन्छ. कसैले भनेको वा कसैको डर वा सम्बन्धमा यसलाई नहेर्नु ." "नाताले उ मेरी भान्जी, मेरो एक मात्र बहिनीकी एक मात्र छोरी. सानै देखि मा चिन्छु र बुझेको छु शैली लाई . मेरो भान्जी हुनु मात्र योग्यताको मापदण्ड हैन. यु ह्याभ टू अन्डरस्तांड इच् अडर एण्ड रिअलाइज़द् . एक अर्कालाई बुझेर, पुछेर सबथोक ठिकठाक छ भने मात्र यो सम्बन्ध गास्नु ठिक हुन्छ . अनि तपाईं मेरो ज्वाइ हुन सक्नु हुन्छ . मन्जुर छ भने म बहिनी र भान्जी नानी संग कुरा गर्छु ." "सोचेर भन्नु होला फोन मै भने हुन्छ, अहिले मन्त्रालयमा मिटिंग छ , गएँ." -सर जानु भयो, म ट्वाँ परेर हेरिरहें ........... केही हलचल छाती को देब्रे पाटोमा भएको महसुश भो. क्रमश:
rahulvai · Jan 4, 2013 11:01 AM
दु:खको र पिडाको तुवाँलोबाट अब चैं मुख्य चरित्र निस्किन आँटे जस्तो छ है..... अब सिलवाल सरको भान्जी पो कस्ती हुनी हुन् .... ठुल्दाई फेरी पनि टुच्च मात्र लेखेर टाप..... दा पक्का पनि हजुरले हाम्रो पढ्ने आतुरिलाई हेरेर हतार हतार टाइप हान्स्या होला .... मेरो के हुती र , गल्ति पहिल्याउने हजुर जस्तो निख्खर कथाकारको सामु तर कहिँ कतै हजुरले कथालाई दौडाउन लागेजस्तो लग्यो अनि अलिअलि शब्दको स्पेलिंग नि मिलेनछ . म माफी चाहन्छु गल्ति भनेको भए या हजुरलाई लेख्न हतार गराएको भए ...हतारको काम लतार भन्छन ... ठुलो मुख सानो कुरो गरें..... अर्को भाग को पर्तिक्ष्यामा - थाने
ThahaChaena · Jan 4, 2013 11:21 AM
ठुल्दाइ, गज्जबको जांदैछ है, देर आए दुरुस्त आए ! मुल फुट्या बेलां गतिमा धिमा नहोस्, यै कामना गर्याछु । साझाको सदस्यता नलिंदै ताका पनि दाइका लेखहरु उधिनी-उधिनी पढिन्थ्यो । खांट्टी कुरा छाती ठोकेरै भन्ने हो भने मलाई यता ताते-ताते गर्न मन लागेको पनि दाइकै अतुलनिय लेख-रचनाहरुले गर्दा हो । तपाईंको शिल्पको गुण-दोष केलाउने हुती त छैन; पढेर केही सिकिन्छ, एस्तै लेख्न पाए भनेर मन लोभिन्छ । दाइको सिद्धहस्त ज्ञान-गुनको भन्डारबाट हामी जस्ता सिकारुकालागी बेलामौकामा छिर्का-छिर्की छर्दै गर्नुहुनेछ भन्ने आशाकासाथ, अर्को भागको प्रतिक्षामा ।
caliber19 · Jan 4, 2013 2:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion