Posted by: ktmpost October 9, 2017
अमेरिकामा ग्यास स्टेसन कसरि खोल्ने? कति लगानी चाहिन्छ अनि अरु बुझ्नु पर्ने कुराहरु -
Login in to Rate this Post:     0       ?        



"समय - सन्दर्भ" #ग्यास_स्टेशन_ब्यबसाय
सानुबाबु सिलवाल, Sanu Babu Silwal


…बढीमा ३-४ वटा झोला र खल्तीमा लगभग ५-७ सय डलरको ट्राभल चेक वा डलर बोकेर समुन्नत र समृद्धि जीवनगाथाको सपना बोकेर अवसरको मुलुक अमेरिका भित्रिएका सयौं नेपालीहरू अमेरिकी आर्थिक स्वतन्त्रता र अवसरको सदुपयोग गर्दै थुप्रै ब्यवसाय गरी सम्पन्नतातर्फ लम्किइरकेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, अब पत्याए हुन्छ । अहिले अमेरिकामा थुप्रै नेपालीहरू साना ब्यवसायको मालिक बनिरहेका छन् । र, बन्ने क्रम जारी छ । पहुँच, अनुभव र आँटले सयौं नेपालीहरू अमेरिकी जीवनशैलीको एक महत्वपूर्ण पर्याय ग्यास स्टेशन र स्टोरको मालिक बनिरहेका छन् । यसरी नेपालीहरूले अमेरिकामा आर्थिक प्रगति र सफलता चुमिरहेका मात्र छैनन्, अमेरिकी राजश्व संकलन, रोजगारी सिर्जना र आर्थिक लगानी गरी अमेरिकी अर्थतन्त्रको महत्वपूर्ण सहयोगी बनिरहेका छन् ।


ग्यास स्टेशन तथा कन्भिनियन्स स्टोर अमेरिकी जनजीवनको पर्याय र जीवनशैली नै हो । यो बिना अमेरिकी जनताको दैनिक जीवन अपुरोझैं हुन्छ । अमेरिकाको पिट्सवर्गमा सन् १९१३ मा गल्फ तेल कम्पनीले पहिले पटक ग्यास स्टेशन सुरु गरेको थियो । त्यसबेला ग्यासको मूल्य प्रति ग्यालन ३० सेन्ट थियो । अहिलेसम्म आइपुग्दा ग्यास स्टेशन र कन्भिनियन्स स्टोरले अमेरिका ढाकिसकेको छ । नेशनल एशोसियसन अफ कन्भिनियन्स स्टोरका अनुसार सन् २०१३ मा एक लाख ५१ हजार तीन सय ८२ स्टोरहरूमध्ये एक लाख २१ हजार ६ सय ५८ ले ग्यास अर्थात पेट्रोलियम पदार्थ बेच्दारहेछन् । तर, यो संख्या सन् २०११ मा एक लाख ५७ हजार तीन सय ९३ थियो । तर, सन् २०१५ सम्म आइपुग्दा यो संख्या घटेर एक लाख १८ हजार सात सय १४ मा झरेको थियो । ग्यास पम्प, ट्यांकी जिर्ण र पुराना हुदै जानु, पेट्रोलियम पदार्थमा घट्दै गइरहेको मुनाफा, संघीय एवं राज्यहरूमा थपिँदै गइरहेको नीति तथा थप कानुन, नयाँ जेनेरेशनमा घट्दो उत्साहलगायतका कारण यसको संख्या घट्दै गइरहेको देखिन्छ ।


अमेरिकामा झन्डै ३७ प्रतिशत ग्यास स्टेशनले नाम चलेको ब्राण्ड र बाकिले अनब्राण्डेड ग्यास बेच्ने गरेका छन् । ग्यास तथा विभिन्न सरसामान सहज रूपमा बेच्ने ग्यास स्टोरहरूको भित्री पाटो त्यति सहज तथा भनेजस्तो र सोचेजस्तोचाहिँ पक्कै छैन । धेरै साना साना कुराहरूमा ध्यान दिनुपर्ने, दैनिक निगरानी गर्नुपर्ने, उपभोक्ता, स्थानीय बासिन्दा तथा हाईवेका उपभोक्ताको चाहना र आवश्यकतालाई सुक्ष्म अध्ययन गरी त्यसैअनुसारको ब्यवस्थापन, सामानहरूको पूर्णता र सहुलियततर्फ ध्यान दिन नसक्ने हो भने यो ब्यवसाय डुब्न क्षणभर लाग्दैन । भएका ब्यापार तथा डलरलाई दुरूपयोग गर्ने र ध्यान नदिने हो भने ग्यास स्टेशनले उठनै नसक्ने गरि ढाड सेकाइदिन सक्छ।


धेरैलाई कौतुहलता र चासो हुन सक्छ, कति छन् त अमेरिकामा नेपालीका ग्यास स्टेशन ? अमेरिकामा झन्डै चार लाख नेपाली रहेको अनुमानित तथ्यांक छ । यहाँ रहेका नेपालीहरू क्रमशः ब्यवसायतर्फ उन्मुख हुँदैछन् । आफूसँग भएको ‘सिडमनी’ केही वर्षको अनुभव वा अब केही गर्नुपर्छ भन्ने भावनाबाट नेपालीहरू अभिप्रेरित हुनु आफैंमा सुखद पक्ष हो । समस्या र चुनौतीका बावजुद पनि नेपालीहरूले खासगरि ग्यास स्टेशन, ग्रोसरी स्टोर तथा कन्भिनियन्स स्टोरहरूमा लगानी गरी आर्थिक सफलतातिर केन्द्रित बनिरहेका छन् । अमेरिकामा ग्यास स्टेशन सञ्चालन गर्ने नेपालीहरू सबैभन्दा बढी टेक्सास राज्यमा देखिए । टेक्सासको डालस, अस्टिन र आसपासका क्षेत्रमा ग्यास स्टेशन सञ्चालन गर्ने नेपालीहरू अधिकांश पाइयो । ठूलो संख्यामा नेपालीहरूको जनघनत्व हुनु, ओभरहेड खर्च त्यति महंगो नहुनु, अनकूल मौसम हुनु, कामदारहरू सहज हुनु, खरिदमा त्यति महंगो नपर्नु, नेपालीहरू एक–अर्कामा सहयोगी हुनु, ठेक्का वा सहज भुक्तानीमा ब्यवसाय उपलब्ध हुनु र वर्किङ क्लासका टेक्सासवासी अमेरिकीहरू, प्रवासीहरूको वाहुल्यता र मध्यम वर्गका अमेरिकीहरूको बसाइ, यातायात र सुविधा सहजका कारण टेक्सासमा धेरै नेपाली ग्यास स्टेशन ब्यवसायीहरू सक्रिय छन् । तथ्यांकअनुसार टेक्सासमा झन्डै दुई सयको हाराहारीमा नेपाली ग्यास स्टेशन ब्यवसायी छन् ।


एक जनाको एकभन्दा बढी ग्यास स्टेशन भएका कारण टेक्सासमा मात्रै नेपालीहरूका झण्डै पाँच सय ग्यास स्टेशन रहेको अनुमान छ । यसको अलावा जर्जिया, फ्लोरडा, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, भर्जिनिया, वेष्ट भर्जिनिया, मेरिल्यान्ड, न्यूयोर्क, इन्डियाना, केन्टकी, नेब्रास्का, ओरिगन, एरिजोना, अलावामा, ओक्लाहामा, ओहायो, मिजौरी, टेनिसी, मिनिसोटा, उटाहा, म्यासाचुसे, न्यूजर्सी, इलोनोइस, वासिङ्गटन, कोलोराडो, क्यालिफोर्नियालगायतका राज्यहरूमा समेत गरी नेपालीका थप पाँच सय ग्यास स्टेशन रहेको अनुमान गरिएको छ । यसरी अमेरिकामा झण्डै आठ सय नेपालीका जम्माजम्मी एक हजार एक सय ग्यास, ग्रोसरी तथा कन्भिनियन्स स्टोर र फ्रेन्चाइज जस्तै सेभेन इलाभेनमा गरी करोडौं डलर लगानी रहेको छ । यसरी नेपाली ब्यवसायीहरूले अमेरिकी सरकारलाई करोडौं राजश्व बुझाउँदै आएका छन् भने हजारौंको संख्यामा प्रत्यक्षपरोक्ष रोजगारी सिर्जना गरेका छन् ।


कसरी सुरु गर्ने त ग्यास स्टेशन अमेरिकामा?


ग्यास स्टेशन ब्यवसाय गर्नुपूर्व आफ्नो इच्छाशक्ति, चाहना र उद्धेश्यसहित आफू के गर्दैछु र के गर्ने भन्ने प्रतिवद्धता र योजनाचाहिँ बनाउनै पर्छ । यस ब्यवसाय गर्नुपूर्व यसबारेमा सामान्य जानकारी, हेक्का र अनुभव नभएसम्म ब्यवसाय सुरु गर्नु भनेको गहिराईको हेक्का नराखी पोखरीमा हामफाल्नुजस्तै हो । सबैभन्दा पहिले योजना बनाउने, आफूसँग भएको बजेट, सिडमनीको लेखाजोखा गर्ने, आवश्यक थप रकमको सम्भावना, खोजी र निक्र्यौल गर्ने । ग्यास स्टेशन खरिद गर्नुपूर्व पारिवारिक छलफलसहित स्पष्ट प्रतिवद्धता आवश्यक पर्दछ । यसका लागि अनुभव भएका साथीभाइ र आफन्तसँग सोधपुछ, जानकारी र सरसल्लाह पनि सहयोगी हुन सक्छ । आफू बसको राज्यका वरिपरि वा सस्तो, कम ओभरहेड भएका स्थान तथा क्षेत्रको खोजी र घुमफिरका लागि घरबाहिर निस्कन जरुरी छ । राम्रो लोकेशन पहिचान गर्न सके यो ब्यवसायले सुनको अण्डा फलाउन सक्छ । उपयुक्त स्थानका साथै सिडमनीको ब्यवस्था, उपयुक्त स्थान र कम खर्च हुने तथा काम गरेर खाने स्थानीय गरीव तथा मध्यम परिवार रहेका क्षेत्रको पहिचान गर्न जरुरी छ ।


यसका साथै खरिद गर्न लागिएको ग्यास स्टेशनको विगतको इतिहास, आपराधिक अवस्था, बिक्री इतिहास, ग्यास पम्प र ट्यांकीको वातावरणीय मूल्यांकन, विगतको इतिहास र अहिलेको अवस्था, स्थानीय बासिन्दाको अवस्थालगायतका विषय सबै बुझी एकाध हप्ता उक्त ब्यवसायलाई निगरानीमा राख्नुपर्दछ । भाडामा लिँदा घरधनीको मानसिकता, लिजको सहजता, भाडाको दरभाउ, स्थान र भवनको अवस्था, कर र कानुनी भाषाहरू अध्ययन गर्न कानुनी सहायता लिन आवश्यक छ । यस दौरानमा ब्यवसायको इतिहास, बिक्री इतिहास र अवस्थासँगै स्थानीय तथा बाह्य ग्राहकको अवस्था र सम्भावनालाई अध्ययन गरेपछि मात्रै खरिदका लागि मूल्य अफर गर्ने र खरिद गर्नेतर्फ लाग्दा उपयुक्त हुन्छ । खरिद सम्झौता गर्दा ब्यवसायको खरावी वा अवस्था राम्रो नपाइएमा सम्झौता रद्द गर्ने गरी करिव दुई हप्ता अवलोकनको समयावधि राख्न उपयुक्त हुन्छ । चित्त बुझेमा लेखापाल वा आफैंले पनि राज्यको प्रशासनिक सचिवालयमा कम्पनी दर्ता प्रक्रिया अघि बढाई फेडेरल कर दर्ता सख्या प्राप्त गरी राज्यको कर दर्ता सख्या लिन आवश्यक हुन्छ । कहिलेकाँहि बिक्रेताको वाध्यता र परिस्थितिले राम्रै स्थानको ग्यास स्टेशन सुलभ मूल्यमा पनि प्राप्त गर्न सकिन्छ ।


कति लगानी आवश्यक पर्छ त ?


आफ्नो घाँटी हेरेर हाड निल्दा नै उत्तम हुन्छ । सुरुमा सानैबाट सुरु गर्दा जोखिम पनि कम र लगानी पनि छिट्टै उठ्न सक्ने हुन्छ । सुरुमा ग्यास स्टेशन थालनी गर्दा प्रपर्टी प्राथमिकता हुन सक्तैन । ठाउँअनुसार लगानी फरक पर्ने हुन्छ । स्टोरले मासिक कति ब्यवसाय गर्दछ र स्टोरभित्रको भित्री गुणलाई गुडविल भनिन्छ, त्यहि गुडविल तिर्नुपर्दा नै सुरुमा ढाड सेकिन्छ । तर, आफूले त्यहि स्तरमा सञ्चालन गरी बेच्दा पनि उक्त गुडविल फिर्ता हुन्छ र सामानको मूल्य होलसेल भाउमा लिने हुँदा त्यो अन्ततोगत्वा आफ्नै हो र बेच्न सकिन्छ पनि । एउटै ग्रोसरी वा स्टोरभित्रको बिक्री अवस्था गुडविलचाहिँ ठाउँअनुसार ५० देखि ६० हजार डलरसम्म फरक पर्न सक्छ । ग्रोसरी वा स्टोरभित्रको मुनाफा बढी हुने सामानको बिक्री क्षमताको ग्यास स्टेशनको मूल्य न्यूयोर्क, क्यालिफोर्नियाको दाँजोमा टेक्सास, भर्जिनिया, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, जर्जिया, टेनिसीतिर धेरै सस्तो पर्दछ । लिजमा लिएपछि भाडा वा रेन्ट मासिक रुपमा तिर्नै पर्यो। अमेरिकामा बिभिन्न राज्य वा ठाउ अनुसार रेन्ट पनि सस्तो र महङ्गो हुने हुन्छ। रेन्ट ब्यबसायको ओभरहेड मध्येको महत्वपुर्ण खर्च हो। कम ओभरहेड, कम भाडा, सस्तो ज्याला, सस्तो कर भएका राज्यहरूमा लगभग ५० देखि ६० हजार डलरको भित्री बिक्री हुने स्टोरलाई लाख डलरदेखि दुई लाखसम्म तिरेर आफैं खट्दा खर्च कटाएर मासिक १२ देखि १५ हजार डलर घर लैजान सकिन्छ ।


यसले के देखाउँछ भने एक वर्षभित्र आफ्नो लगानी उठाउन सकिन्छ । तर, ठूला सहर र महंगो भाडादर भएमा त्यो सम्भव छैन । भित्री बिक्री मासिक ४० देखि ५० हजारसम्म भएको अर्थात गुडविल ४० देखि ७० हजार डलर पर्ने स्टोरबाट खर्च कटाएर मासिक आठदेखि १० हजार डलर घर लैजान सकिन्छ । तर, यहि स्तरको ग्यास स्टेशन न्यूयोर्क, क्यालिफोर्नियाजस्ता ठूला सहरमा दुई लाख घटीमा पाउन गाह्रो छ । ग्रामीण राज्यहरूमा आठ सयदेखि एक हजार पाँच सय वा दुई हजार डलर पर्ने घरभाडा ठूला सहरहरूमा आठदेखि १० हजार घटीमा नपाइन सक्छ । त्यसैले ठूला सहरहरू साना तहबाट ग्यास स्टेशन सञ्चालनका लागि उपयुक्त स्थान होइनन् । ग्रामीण राज्यहरूमा ६० देखि ८० हजार डलरसम्मको भित्री ब्यापार गर्ने ग्यास स्टेशनबाट सबै खर्च कटाएर मासिक १५ देखि २० हजार डलर घर लैजान सकिन्छ । तर, यो ठूला र महंगा राज्यहरूमा सम्भव नै छैन ।


ग्यास स्टेशनबाट सफलता हासिल गर्ने मन्त्रहरू
यदि तपाईंहरू ग्यास स्टेशन चलाउँदै हुनुहुन्छ, चलाउन खोज्दै हुनुहुन्छ वा नयाँ हुनुहुन्छ भने ६ वटा ‘एफ’मा ध्यान दिन जरुरी छ । ती ६ वटा एफ यस प्रकार छन्ः– १. फोकस, २. फ्रेन्डली, ३. फास्ट, ४. फेयर, ५. फ्रेस र ६. फ्रिडम । यी ६ वटा एफ ग्यास स्टेशनमात्र होइन, रेष्टुरेन्ट र अन्य साना ब्यवसायका पनि सफलताका मूल मन्त्र हुन् । काममा फोकस हुने, ग्राहक र भेन्डर्ससँग फ्रेन्डली बन्ने, छिटो छरितो अर्थात फास्ट सेवा दिने, मूल्य र इमानदारितामा फेयर कारोवार गर्ने, वस्तु तथा सेवा फ्रेस राख्ने र बनाउने तथा फ्रिडमको सदुपयोग गर्ने र फ्रिडममार्फत शान्तिपूर्णरूपमा काम गर्न जरुरी छ । यसो हुन सकेमा ग्यास स्टेशन ब्यवस्थित र सुचारु चल्न सहयोग पुग्दछ ।


स्टोरमा सामान चुस्त दुरुस्त राख्न जरुरी छ । अमेरिकी जनता तथा ग्राहकको चाहना, स्थानीय समुदायको भावना र आवश्यकतालाई अध्ययन गरी त्यहि स्थानीय स्वरूपको सामान तथा सेवा दिनु पर्दछ । ग्यास स्टेशनलाई ‘योर वन स्टप सप’ अर्थात ‘तिम्रो चाहनाको सबै सेवा र सामग्री उपलब्ध हुने एकै स्थल वा पसल’को सिद्धान्तमा आधारित हुन जरुरी छ । स्न्याक्स, थोरै तातो, पिज्जा, चिकेन हटडगदेखि प्रिय पेय पदार्थहरू, उर्जा दिने पेय पदार्थहरूदेखि लिएर चेक साट्ने, फुड स्टाम्प, विक भौचर लिने, चिठ्ठा, मनी अर्डर, पैसा पठाउने र भुक्तानी दिनेलगायत पाउरोटी, दुध, अण्डा, चिजदेखि तयारी मासुका परिकारहरू धेरथोर मात्रामा ग्यास स्टेशनमा राख्न जरुरी छ । क्यान्डीका प्रकार, गाडीका पार्टपुर्जा, इन्जिन तेललगायत सरसफाईका सामानहरू चिप्स एवं कफी, नोभेलिटी वस्तुहरू, चस्मा, उर्जा पिल्स, टोबाको पाइप, तथा टोबाको जोख्ने, पिँध्ने र पोको पार्नेलगायतका थुप्रै वस्तुहरू तपाईंलाई मुनाफा आकर्षित गर्ने सेवाहरू हुन् । तर, कानुनीढंगले अर्थात कानुनले दिएका वस्तुहरूमात्र बिक्रीका लागि राख्न जरुरी छ । अमेरिकी उपभोक्ताहरू खल्तीमा डाइम, पेनी, क्वाटर भएसम्म यस्तै ग्यास स्टेशनहरूमा गएर खर्च गरिरहन्छन् ।


अमेरिका भनेको डिल र डिस्काउन्टको मुलुक हो । ‘बाइ वन गेट वन फ्रि’ अर्थात एउटा किने अर्को सीत्तैमा, दुईटा किने तेश्रो सीत्तैमा, ५, १०, १५, २०, २५, ५० प्रतिसत छुटको सिद्धान्तले ग्राहक आकर्षित गर्ने भएकाले ठूलो मात्रामा बिक्री भई त्यहि अनुपातमा मुनाफा आर्जन गर्न सकिन्छ । अर्को महत्वपूर्ण कुरा के हो भने इमानदार कर्मचारीबिना ग्यास स्टेशनबाट मुनाफा प्राप्त गर्न सकिन्छ भनेर नसोचे पनि हुन्छ । कि त आफैं र आफ्नै परिवारका सदस्यले काम गर्नुपर्यो, नत्र इमानदार कामदार ग्यास स्टेशन वा रिटेलिङ ब्यवसायको मेरुदण्ड हो । इमानदार कर्मचारी नियुक्त गर्ने, ब्यवस्थापन गर्ने, उनीहरूसँग समन्वय गर्ने र उनीहरूको श्रमको सम्मान गर्दा मुनाफामा बृद्धि हुन जान्छ । महंगो भाडा, खराव कर्मचारी, महंगो बिजुली, लगानी गर्न र सामान थप्न नसक्ने अवस्था, भएका ब्यापारको पनि श्रोत दुरूपयोग गर्ने, ग्राहक तथा भेन्डर्ससँग नराम्रो ब्यवहार गरे ब्यवसाय डुब्न क्षणभर पनि लाग्दैन ।


ठूलो छाती, सकारात्मक विचारधारा र संयमताले ब्यवसायलाई टेवा पुर्याउँछ । एक दिन ब्यापार नहुँदा वा कम हुँदा आत्तिने, मलिन हुने र अर्को दिन ब्यापार राम्रो हुँदा निकै खुसी हुने असंयमताले यो ब्यवसायमा टेवा पुर्याउँदैन । लेखा, कर दाखिला, सरकारी नीति नियमको पालना र समयमै दर्ता, नवीकरण र पालना अर्को महत्वपूर्ण चुनौती र आवश्यकता हो । हरेक विहान उठ्दा, नयाँ चिन्तन, नयाँ आइडिया, नयाँ शैलि र थप सिर्जनशील सोचका साथ उठ्न जरुरी छ । कलात्मक र प्रगतिशील सोचाइले ग्यास स्टेशन तथा स्टोरलाई नयाँ प्रगति र सफलताको मोडतिर उन्मुख गर्नेछ । आफू, लगानीकर्ता, राम्रा कर्मचारी, लोयल ग्राहकबीचको घनिष्ठता, धैर्यता र ब्यवहार नै ग्यास स्टेशनको सुन्दर विहानी हो।


श्रोत/ विशेष धन्यवाद, सानुबाबु सिलवाल Facebook

Read Full Discussion Thread for this article