Posted by: _____ June 3, 2017
निर्वाचन : शिवगढमाथिको हमला
Login in to Rate this Post:     0       ?        


निर्वाचन : शिवगढमाथिको हमला


  • लगभग ५ हजार वर्षअघि विश्व सभ्यता नै स्थापित गरिसकेको मुलुकबाटै त्यो सभ्यताको मूल नायकलाई मेटाउने उद्देश्यले आफू अनुकूलको संविधान स्थापना गर्नमा, पश्चिमले दक्षिणलाई उछिनेर पाएको अपार सफलता हो, यो निर्वाचन ।

सौरभ, काठमाडौं

जेष्ठ २०, २०७४- प्रजातन्त्रको आधार नै निर्वाचन हो । त्यो हुनैपर्छ । तर अहिले भएको निर्वाचन नेपालको इतिहासमा अस्वाभाविक किसिमको छ । लगभग ५ हजार वर्षअघि विश्व सभ्यता नै स्थापित गरिसकेको मुलुकबाटै त्यो सभ्यताको मूल नायकलाई मेटाउने उद्देश्यले आफू अनुकूलको संविधान स्थापना गर्नमा, पश्चिमले दक्षिणलाई उछिनेर पाएको अपार सफलता हो, यो निर्वाचन । हाम्रोभन्दा उसको संस्कृति परिपक्व र विश्वमान्य हो भनी लाद्नमा उसलाई सफलता दिलाए बापत अनेक आयाममा अनेक पुरस्कार मिल्ला नै नेताहरूलाई । 
तर हो यो कसरी त्यो प्राचीन विश्व सभ्यताको मूल राजधानी ? भन्ने प्रश्नको उत्तर हो, यो लेख । 

बाँठपाल
बाँठपाल हुम्लाको सिमकोटवासीका निम्ति प्रमुख रक्षक देवता हुन् । वाक्य यस्तो छ– सिमकोटवासीलाई खान आएको अजिङ्गरलाई उनले त्रिशूलले तीन टुक्रा पारिदिए । यसरी त्रिशूलधारक भएपछि उनी महादेव भए, शिव भए । 

अर्को वाक्य छ– उनी मानसरोवरमा एउटा भोजमा ढिलो पुगे । यसरी शिवको निवास मानिने कैलाशको परिसरमा पुगेपछि उनी फेरि शिव नै भए । जनै पूर्णिमाको दिन बाँठपालको माण्डुमा ठूलो मेला लाग्छ । जसरी सोही दिन शिवको सयनस्थल मानिने गोसाइँकुण्डमा मेला लाग्छ । यसरी पनि उनी शिव नै भए । 
माघ शुक्ल द्वादसीका दिन पनि विशेष पूजा हुन्छ । यो काठमाडौंमा शिवकै नाममा मनाइने माघे जात्राको दिन हो । यसरी पनि उनी शिव नै भए ।

(पिथौरागढको मुख्य चोकमा स्थानीय दर्शनीय स्थलहरू औंल्याउने होर्डिङ बोर्ड टाँगिएको छ । त्यसमा लेखिएको छ, ‘वाणाशुरको किल्ला’ । आसामको शोणितपुरलाई वाणाशुरको राजधानी मान्ने भारतीय लेखकहरू पनि छन्, काठमाडौंको थानकोटको पुरानो नाम शोणितपुर भएकोले यसलाई वाणाशुरको राजधानी मान्ने हाम्रा अध्येयताहरू जस्तै । अर्थात् वाण र वाणा शब्द हाम्रो अति जिब्रोमैत्री भएकाले उनको नाम धेरै लेखकका निम्ति वाणपाल हो । सिमकोटलाई बिगारेर जिब्रोमैत्री सिमीकोटसम्म हुन्छ भने शिवको अवनति हुनु अनौठोचाहिँ भएन ।

अझ मेचीदेखि महाकालीका लेखकहरूका निम्ति कथित अछूतहरूका देवता हुन्, अरु कतिपयका निम्ति अलि तल्लो दर्जाका त हुन् नै, मष्टहरूका भानिज पर्ने तल्लै तहका अलौकिक तत्त्व हुन् । त्यति मात्र नभएर मानौं बाँडीचुँडी मनपराउने बाँडपाल हुन् ।
 

बाँठा
बाँठा तराईवासी थारूहरूमध्ये एक समुदायको थर हो । यीमध्ये केही पूर्वी तराईका मेचेहरूसँगै नजिकै बसोबास गरेका छन् पनि । आजभोलि यो थर बस्नु बोधक बैठा र बाठो बोधक बाठामा मात्र परिणत भइसकेको छैन, अंग्रेजी हिज्जेमा लेखेर नेपालीमा फर्काउँदा बइन्थसम्म भइसकेको छ । अब १०–१२ वर्षमा वैकुण्ठ हुन पनि बेर छैन । चितवनमा थारु युवाहरूले एक–अर्कोलाई बाठाबाठी भन्ने गरेबाटै पनि यसको अर्थ हराइसकेको स्पष्टै छ । 
तर आफूलाई उच्च मान्ने र अरुसँग हुक्कापानी नचलाउने पाँच थारू समुदायमा बाँठा पनि एक हो भनी भारतीयहरूले लेखिसक्दा पनि सीमावारिका बाँठाहरूले आफ्नो अवमूल्यन गरेको देखिन्छ । थाहै छ– नेपालमा झन्डै १८ लाख र पारिपट्टि लगभग डेढ लाखमात्र थारू बसोबास गर्छन् । अधिमूल्यन त यतै हुनुपर्ने हो । 
बोन मतको उपाशकबाट बाँतर थर भएकोमा, त्यसलाई बाँदरबाट बनेको हो, पोखरेल) र निच वर्गको मानिन्छ (शर्मा) भनेर लेख्नेसम्मको कसरत भइसकेकाले पनि हुनुपर्छ– बाँठामा परेको चन्द्रविन्दु असांस्कृतिक, अपरिष्कृत लाग्यो होला स्वयम् बाँठाहरूलाई । 
तर कानपट्टा, जोगी, भगत र महन्थ थर भएका थारू मूलमा गोरखनाथ सम्प्रदायका प्रख्यात सन्त रत्ननाथका जसरी उपाशक हुन्, त्यसरी नै बाँठाका मूल देवता शिव हुन् । त्यसरी उनीहरूको थर बाँठा भएको हो ।

बाठो
बाठो मेचेहरूको शिव देवता हो । पाटे सिउँडीको हाँगा गाढेर बाठा देवताका नाममा उनीहरू पूजा गर्छन् भनी यसअघि पनि एउटा लेखोटमा लेखिसकिएको हो । यहाँनेर के ख्याल गर्नुपर्छ भने हुमलाबाट तेर्सो बाटो हुँदै झापासम्म आइपुग्दा बाँठ शब्दबाट चन्द्रविन्दु हराइसकेको छ । 
अब अर्थ खोलौं— संस्कृत शब्द त्रिशूलको ठेट नेपाली पर्यायवाची बज्रठिंगा हो । बज्रठिंगा शब्दलाई एकैपटक नेपाली वाङ्मयमा कसैले सटिक ढंगले प्रयोग गरेको छ भने सम्भवत: त्यो बोधविक्रम अधिकारीले हो, उनको कृतिमा । र बज्रठिंगा शब्द आफैं पनि बज्राँठको रूपान्तरण हो । प्रज्ञाको शब्दकोशले भनेजस्तो बज्रजस्तै अचल भई ठिङ्ग उभिने पात्र होइन । 
अग्राठ, नग्राठ, डाँठजस्तै ठोस बोधक हो—बज्राँठ जुन पाटे सिउँडी विशेषलाई भनिन्छ र त्यसको प्रतिकृति हो, त्रिशूल । पालको एउटा अर्थ धारण गर्नु पनि हो । यही बज्राँठपालको रूपान्तरण हो— बाँठपाल । यसकै रूपान्तरण हुन्— बाँठा र बाठो । 
यसरी नै प्रज्ञाको शब्दकोशले भनेजस्तो गोरखनाथी कानफट्टाहरूले फेरी लगाउँदा बजाउने बाजा बराँठ अरेविक शब्द बर्राकबाट बनेको होइन । बरु बज्राँठको रूपान्तरण हो । बराँठ शब्दकोशले भनेजस्तो शम्भर पनि होइन, भारतको आन्ध्र प्रदेशमा सुरुवाका रूपमा पस्किइने पदार्थजस्तो । भारतीयहरूले भन्ने साम्भर मृग भन्न खोजिएको हो भने त्यो विज्ञानको ‘रसा युनिकलर’ पनि होइन । जसलाई हामी सावर मृग भन्छौं, शावकबाट बनेको हो । बरु कृष्णसार अर्थात् विज्ञानको ‘एन्टिलप क्याप्रा’ हो, जसको सिङलाई मात्र भनिन्छ बराँठ । व्युत्पत्तिका मामलामा प्रज्ञाकोश एउटा ठूलो चुट्किला हो । 
अब बाठोले नेपालको सरहद कसरी पार गर्‍यो, हेर्दै जाऊँ । 

बावाङ
बावाङ वियान भन्छन्, चिनियाँहरू बज्राँठलाई । निरंकुश राजा (शिव) को कोर्रा (आयुध/हतियार) भन्ने अर्थ हुन्छ, यसको । स्पष्टै छ, शिव चीन लागे । 
हिमालय पारिको ‘ब’ वारि आएपछि ‘प’ हुन्छ । यसैले उता शिशावाङमा भन्छन्, यता शिशापाङमा हिमाल हुन्छ । उता जुन ठाउँलाई बुराङ भनिन्छ, यता पुराङ भनिन्छ । उताको बोन्वो धर्मबाट यता पुन, पुनेल थर बन्छन् । त्यसैले चिनियाँ बावाङ यता आएर गुरुङ, राई, मगर, लिम्बु, तामाङ परम्परामा सयौं–सयौंपल्ट नाम र अव्यय भएर आउने पाङ शब्द बन्छ । 

बठाला
बठाला फिलिपिन्सवासीका निम्ति शिव देवता हुन् । त्यहाँ पुग्दासम्ममा ला थपिइसकेको कुराको हेक्का राख्नुपर्छ । 
फिलिपिन्सका मिन्डानाओ लगायत अनेक टापुहरू जहाँ अहिले कथित हिन्दु धर्म तमिलहरूले मलय– इन्डोनेसियन जलमार्गबाट लगेका हुन् भन्ने भारतीय दाबी छ । तर यस्तो बुझिन्छ, सीमा नघाएर नेपालीले उहिल्यै त्यहाँ पुर्‍याइसकेका थिए । पृथ्वीमा अज्ञात युगमा मानिसको बसाइँ–सराइ भइरहेको कुरा सर्वज्ञात तथ्य हो । मेगेलान र भाष्को द गामाका प्रथम पहुँचका कुरा नवीन नाटकहरू मात्र हुन्, पश्चिमको । 

बिट्ठल
बिट्ठल दक्षिण–पश्चिम भारतमा अहिले विष्णुका रूपमा पुजिन्छन् । तर विष्णु नभएर शिव पो हुन् कि ? भन्ने बलियोभन्दा बलियो आत्मभ्रम पनि त्यहाँ उत्तिकै व्यापक छ । 
त्यस्तो किनभने प्रशस्त विज्ञहरूले उनलाई एक ‘वीर प्रस्तर’का रूपमा पुजिन्थ्यो, त्यसैले शिव हुन् भनेको कुरा गुगलले जनाएको छ । जैन विद्वान हेमचन्द्रले रुद्र शिव हुन् भनेका कुरा पनि थाहा पाइन्छ । सेतो बोधक पाण्डुरङ्गसमेत भन्ने गरिए पनि उनको मूर्ति कालै हुने गरेको पनि थाहा पाइन्छ । स्थानीय धौरहरूले शिवकै रूपमा पुज्ने गरेको पनि बुझिन्छ ।
तर बिट्ठलको अर्थ इँटामाथि उभिएका पात्र भनेर अर्थ लगाउने कथित पूर्वीय संस्कृति विज्ञ विलियम ‘क्रुक’हरू त्यहाँ पनि छन् । यो जैन देवता हो भन्ने बुज्रुक स्टेभेन्सन पनि छन् । पश्चिमाहरूलाई पूर्वका बारे यति बुज्रुक किन हुनुपर्छ ? उनीहरूको कुरा भयो । पण्डरपुरको बिट्ठल मन्दिर तेह्रौं शताब्दीको हो ।
अब स्पष्टै छ, मलय जलडमरुबाट यात्रा गर्ने, मलय–इन्डोनेसियाई सामुद्रिक मार्गबाट गुज्रने दक्षिण भारतीय व्यापारीहरू विशेषगरी तमिलहरूले बठालालाई भारत पुर्‍याए । 

बेठेल
बेठेल फोनेसियनहरूका संहारक देव हुन् । फोनेसिया भन्नाले सुरुमा अहिलेको लेबनान, इजरायल, गाजा भाग, सिरिया र दक्षिण–पश्चिम टर्की हुन् । त्यसपछि सिरिया, अल्जेरिया, साइप्रस, इजिप्ट, फ्रान्स, ग्रीस, इटली, जोर्डन, लिबिया, माल्टा, मोरक्को, प्यालेस्टाइन, ट्युनिसिया, पोर्चुगल र स्पेन थपिए । अर्थात् पुरै भू–मध्यसागरीय किनारका देशहरू यस सभ्यताभित्र आए । 
बेठेल भन्ने ठाउँ इजरायलको पश्चिम किनारा (वेस्ट व्याङ्क) को अहिलेको ‘वेट इल’ भन्ने ठाउँ हो । तर जेरुसेलम दक्षिणको बेठेलहम क्राइष्टको जन्मस्थान हो । पश्चिमाहरूले बेथेल भन्ने गरे पनि बेठेल बाइबलमा अनेक ठाउँमा आउँछ । जुन २ हजार वर्ष अघिको कुरा भयो । 
फोनेसियाको इतिहास ईसापूर्व १२ सय वर्ष अघिबाट सुरु भएर ईसापूर्व ५३९ मा साइरस प्रथमका हातबाट टुंगिन्छ । अर्थात् करिब साढे ३ हजार वर्ष पुरानो कुरा भइसक्यो बेठेलको अस्तित्वको । बिट्ठलभन्दा पनि झन्डै २ हजार वर्ष पुरानो ।
अहिले बार्ठोलोनियो भन्ने पश्चिमा थर हिब्रु भाषाको वार–टोलमेईबाट आएको भनिए पनि त्यो इजरायलबाटै उठान भएकोले सही लाग्दैन । 

बेठ
बाल उगारिटहरूका देवता हुन् । उगारिट भन्ने ठाउँ अहिलेको उत्तरी सिरियाको राश– साम्रा भन्ने बन्दरगाह हो । बेठेलको अर्थ एल देवताको घर भन्ने व्याख्या छ । एल चाहिंँ बालका बाबु हुन्, कथाले । तर बालले बज्राँठ बोकेको मूर्ति नै उगारिटबाट उत्खनन गरिएको छ । जिज्ञासुले नेटमा तस्वीर हेर्न सक्नेछन् । उगारिटको उर्लंदो चहलपहल १८ सय ईसापूर्वको समय मानिएको छ । अझ त्यहाँको पाषाण युग ६ हजार ईसापूर्वको हो । 
यो फोनेसियन समय–सीमाबाट पनि धेरै परको हो । अहिलेको हिसाबले झन्डै ४ हजार वर्ष अघिको कुरा भयो । ग्रीसमा पुगेपछि बालको नाम बाल मारकोश हुन्छ । ४ हजार वर्ष अघिको कुरा दस्तावेजीकरण हुनलाई पनि अरु थप ३–४ हजार वर्षअघि नै त्यो सुरु भएको हुनुपर्छ । यसैले यो लेखको भूमिकामा लगभग ५ हजार वर्ष भनी लेखिएको हो । 

बिठाली
बिठाली इटलीको पुरानो नाम हो । यहाँ ब बदलिएर व भइसकेको छ र महाप्राण व्यञ्जन ठ, अल्पप्राण व्यञ्जन ट– मा झरेको मात्रै छ । एक पात्र इटालशबाट इटली भएको भनी अर्थ लगाउने डायोनिसस अफ हेलिकार्नासस ईसापूर्व पहिलो र एरिस्टोटल चौथो शताब्दीका हुन् । यसैले तिनको अर्थको यहाँ अर्थ भएन । 
जब बिठालिया थियो नाम, स्थानीय दक्षिणी जाति समूहहरूको पारिवारिक चिन्ह हुने गथ्र्यो, शिवको बहान साँढे । अब बाठो भूमध्यसागरको जिब्राल्टर नाघेर जान्छ । 

बेलाठु
बेलाठु क्याडर्स उत्तरी बेलायतको यतिबेलाका कम्मरल्यान्ड र बेस्टमोर ल्यान्डका सेल्टहरूका देवता हुन् । आज बेलाठुलाई उतिबेला तल्लो दर्जाका मानिसले मान्ने गर्थे भन्ने गरिएको छ, ठ्याम्मै मेचीदेखि महाकालीका लेखकहरूका निम्ति बाँठपाल कथित अछूतहरूका देवता रहेजस्तै, जुन गलत हो नै । 
यसै बेलाठुबाट पर्सियनहरूले आजको ब्रिटेनको नाम बेलायत राखेका हुन् । जुनसुकै गोरालाई पनि बेलायती भन्ने गरेका हुन् । सेल्टहरूको बेलाठु उपासना गर्ने काल उनीहरूको आधुनिक फलाम युग अर्थात् ईसापूर्व २ हजारलाई मानिएको छ । 
म्याकवेथ शेक्सपियरको नाटकका एक अलोकप्रिय पात्र हुन् । यो थर आएको हो— स्कटल्यान्डको इस्ले र म्युलजस्ता टापुहरूबाट । अर्थ हो— बेठका छोरा । बेठोन थर पनि यही बेठबाट आउने हो । ब्रिटेन शब्द नै बेलाठुको ल लोप भएर आएको हो । 

भठेल
भठेलको व्युत्पत्ति अहिले पश्चिमा संसारमा पाइँदैन । यो फ्रेन्च थर हो । खासगरी होटल, भोज–भोजन, सत्कार व्यवसायमा यो नाम प्रचलित छ । किनभने फ्रास्वाँ भठेल फ्रेन्च शासक लुई चौधौंको प्रसिद्ध भान्से हो, जसले कारणवश आत्महत्या गर्‍यो । त भठेल बेठलकै रूपान्तरण बुझिन्छ । बेलायतको म्याक नजोडिएको बेठ मात्र ।

बाठोस
डोनार जर्मन बज्रदेव हुन्, जो उत्तरी युरोपको शिव बोधक थुनोरबाट बनेको हो । यसैका समानान्तर हुन्, दित्रिख र बारबाठोस । बार्ठोलोभियोको बारको कथित हिब्रु व्युत्पत्तिमा विश्वास नगरिएको कारण नै यही बारबाठोसको बार हो । 

अन्त्यमा,
यसरी बाठोदेवको नाममा शिव मलक्का जलडमरु हुँदै, भूमध्यसागर हुँदै आल्पस नाघेर जर्मनीमा पुगेर उतिबेला उत्तर युरोपको युराल हुँदै युरोप पसेका आफ्नै पूर्व अवतार थुहरदेवसँग मिल्छन् । 
पुरानो संसार (युरेसिया, अफ्रिकाको उत्तरी भागसहित) का एकमात्र मान्ने देवता शिव नै हुन्, जसको सुरुवात भएको छ नै नेपालबाट भन्ने पहिला पनि लेखिसकियो । किनभने बज्राँठ (युफोर्बिया रोयालियाना) को मुख्य स्थान र परिकल्पना नै नेपालको महाभारत शृङखलाको हो । 
भाषाको नियति विचित्रको हुन्छ । कास्कीका मानिसका निम्ति बेलौती र अम्बा फरक कुरा हुन् । विज्ञानमा सिडियम ग्युजाभा भनिने यो फलको अर्थ उनीहरू निम्ति बेग्लाबेग्लै छ । बेलौती भनेको गोलो हो, अम्बा भनेको लाम्चो हो । 
भएको के हो भने अजरवैजानीमा जमरुदको अर्थ रातो हो । यसैबाट बहुमूल्य पत्थर इमराल्ड भन्ने बन्ने हो, हिन्दीमा बेलौतीको नाम अमरुद बन्ने हो । अमरुदबाट नेपालीमा अम्बा बन्ने हो । बेलजस्तो गोलो भएर होइन । पर्सियनहरूले गोरा बेलायतीहरू भनेको अर्थमा सेतो गुदीको बेलौती भएको हो, लाम्चो रातो गुदी भएकोलाई अम्बा भनिने हो । विचरा बाठोले बेलाठु हुनपुग्दा मध्य नेपालमै आज उसको परिचय हराएको छ । 

पुछारमा,
पञ्चायत जानैपथ्र्यो । तर २०४६ पछिका नेताहरू देशको अन्तर्राष्ट्रिय सम्मान कायम राख्न पूर्ण अयोग्य थिए भनेर अर्को राजनीतिक युगका विज्ञहरूले लेख्ने नै छन् । भइआएको सम्मन जोगाउन नसक्नेले नयाँ नेपाल निर्माण गर्ने कुरा हुटिट्याउँले आकाश थामिरहेको छु भनेजस्तै हो । 

प्रकाशित: जेष्ठ २०, २०७४



http://kantipur.ekantipur.com/news/2017-06-03/20170603081043.html
Read Full Discussion Thread for this article