Posted by: crazy_love April 6, 2017
Login in to Rate this Post:
0
?
अली टिल्ल भएपछी सुधाको लोग्नेले सोध्यो।
"दाइ, एउटा कुरा सोधु?"
"के कुरा?"
"तपाइलाई नि यस्तै भएको थ्यो?"
"कस्तो भाई? मैले कुरा बुझिन।"
"समाजले, परिवारले साथीभाइले "तेरै गल्ती छ, सब तेरो दोष हो " भनेर औंला ठड्याएको थ्यो?"
"कहिले भाई? किन र?"
"भाउजुले तपाईंलाई छोडेर जादा !!"
उ बोल्दै बोलेन।
क्रमश:
भाग- ५
"सरी" दाई, यदी मैले गर्न नहुने कुरा गरेछु भने। मन ठेगानमा छैन, मुखमा पनि के के कुरा आउछ आउछ?"
"कसले भन्यो तपाईंलाई?"
"के दाइ ?"
"अहिले जे सोध्नु भएको थियो नि!"
"सबैले त्यसै भन्छन दाई, त्यो चोकको पसले, घरपेटि आमा, छरछिमेकी। भैगो छोड्नुस् दाई त्यस्ता कुरा!"
"सबैलाई थाहा छ, मलाई किन थाहा छैन त?" गम्न थाल्यो उ, छोडेरै त जान्छु भनेकी थिइन। खाली तिमीसित जिन्दगी बिताउन सक्दिन भनेकी चाँही हो।
"दाइ!" भन्दाभन्दै सुधाको लोग्ने छेउको सोफामा घुर्न थालयो। उसको काम शुरु भयो, उसकी स्वास्नी उसलाई छोडेर गैसकी भनेर दुनियाँलाई थाहा छ, उसलाई मात्र किन थाहा भएन। उसलाई त सधैं उसकी स्वास्नी आउछे र सबै परिवार गाउ फर्किनु पर्छ भन्ने बिचार अाइरह्यो। उ गाउ छोडेदेखी एक्लो थ्यो र काम गर्दागर्दै उसले प्रेमिका भेट्यो। प्रेमिका उसकी स्वास्नी भइ बच्चा भयो, अब पहिले जस्तो जिबन भएन। छोरा भन्दा ठुलो अरु कुरा रहेन, त्यसै बेला उसको काम गर्ने फ्याक्टरी बन्द भयो, उ बेरोजगार भयो र बेकामको भयो। स्वास्नी बिदेश गै, छोरा होस्टल गयो र उ एक्लो भयो नितान्त एक्लो।
अब के हुन्छ उसलाई थाहा छैन। उसकी स्वास्नी स्वदेश फर्केकी थिइ। तर उ सँग भेटिन, भेट्नै चाहिन, छोरासँग भेटी कुरा गरी। उसलाई सन्चो बिसन्चोको कुरा सम्म सोधिन। छोराले सोध्यो "ममीलाई फोन किन नगरेको?" उसलाई त आएको पनि थाहा भएन, गएको पनि थाहा भएन।
---------------------------------------------
दुई हप्ता पछी एक साँझ सुधाको लोग्ने खुशी हुँदै आयो। अर्को दिन सुधा आउँदैछे। सुधा हस्पिटलबाट डिस्चार्ज भएर माइत गइ, एक हप्ता भैसक्यो, उ सधैं माइत बस्न चाहन्न, आफ्नै लोग्ने सँग बस्न चाहन्छे। तर बेला बेलामा काउन्सेलिङ र थेरापीको लागि जान्छे। सुधालाई नयाँ औषधीले राम्रो गरेको छ। उसमा निराशपन कम भएको छ।
एक्दिन यस्तै मध्यानहतिर उसको ढोकामा कसैले ढक्ढक गर्यो।
उसलाई कोही आउछ भन्ने आशा सधैं हुन्छ तर यसरी हैन। यो समय पनि हैन, भुतको खाजा खाने बेला जस्तो मध्यानहमा कोही पनि नआओस। दिउसो पनि कहिले कही आवाजहरु आउछन जान्छन। फेरी "ढकढक" गर्यो।
"को हँ?"
"म" बाहिर नारी स्वर सुनियो।
"को म?"
" हजुर, म सुधा!"
सुधा आउछे भनेको सुनेकोथ्यो उसले, तर अाइसकिछ भनेर बल्ल थाहा पायो। ढोका खोल्नु अगही एकछिन उ रोकियो, सुधाको के काम हुन सक्छ उ सँग?
"नमस्ते!" ढोकाअघी एकदमै साधारण केटी थिइ, काली काली, अनुहार फुस्रो उराठ लाग्दो, कपाल पनि नकोरेको जस्तो।
"नमस्ते, नमस्ते!" उसले भुइतिर हेर्दै सोध्यो "के काम थियो कि?"
"के म तपाईंसँग कुरा गर्न सक्छु?" आकर्शनबिहिन केटीले सोधी।
"म एक्लै छु।" उसको मनसाय एक्लो लोग्नेमान्छे भएको बेलामा एक्लै केटीमान्छे कुरा गर्ने राम्रो समय होइन।
"तपाइलाई डर लाग्छ?" सुधालाई हेर्दा डर त लागेकै थ्यो उसलाई किन किन?
"होइन, होइन! मेरो कोठा अली सफा छैन, तपाइलाई अप्ठ्यारो लाग्ला कि भनेर।" हिच्किचाउदै उसले सुधालाई भित्रै बोलायो।
"तपाइलाई मलाई दोस्रो जिबन दिनु भयो। म तपाईंको धेरै आभारी छु।"
"बैनी, तपाईंलाई यसरी देख्न पाउदा मलाई खुशी लाग्यो। यती राम्रो जिबन, त्यती राम्रो लोग्ने!"
"म मा क्रोनिक डिप्रेसन छ! खुशी, सुख, सफलता र पैसा कुनै कुराले मेरो डिप्रेसनमा परिवर्तन ल्याउन सक्दैन।"
"तर त्यस्तो राम्रो जिबनसाथी पाउनु भएको छ, कती धेरै माया गर्ने मान्छे।" उसले सुधाको जिबनसँग आफ्नो जिबन दाँज्यो, केही पाएन आफुमा।
"राम्रो लोग्ने हुँदैमा सबै राम्रो हुँदैन।" सुधाले भन्न नसकिने कुरा गरी।
"बाहिरी सौन्दर्य मात्रै सुन्दर भएर हुँदैन।" सुधाले कुरा मिलाउन प्रयास गरी।
"मैले बुझिन। तपाईं हस्पिटलमा हुँदा पनि तपाईंको लोग्ने तपाईंको पीर गर्नु हुन्थ्यो। तपाईंलाई धेरै माया गर्नु हुन्छ।"
"उ राम्रो छ, मलाई माया पनि गर्छ। उ म जस्तै अरु कसैलाई पनि माया गर्छ।"
"मलाई त्यस्तो केही थाहा भएन। उहा जस्तो माया गर्ने लोग्ने भाग्यले मात्रै पाईन्छ।"
"त्यो मामिलामा मैले आफुलाई भाग्यमानी मान्नुपर्छ। उहा मेरो डिप्रेसनलाइ बुझ्ने कोशीश गर्नु हुन्छ, मलाई साथ दिनु हुन्छ।"
"त्यस्तो माया गर्ने लोग्नेलाई कसरी तपाईं माया गर्न सक्दिन भन्नु हुन्छ?"
"हजुर-- के भन्नु भयो?" सुधा अलमलीइ, "म आँफैलाई पनि माया गर्न सक्दिन।"
"आँफैलाई माया गर्नु भन्दा अरुलाई माया गर्नु ठुलो हैन र?"
"सबै भन्दा पहिले त आँफैलाई माया गर्न सक्नु पर्यो नि।" सुधालाई उसको कुरा मन परेन।
"त्यो त स्वार्थ भएन र? आफुलाई मात्रै माया गर्नु?"
"अह, स्वार्थको कुरा कसरी हुन्छ? जब तपाईं आँफैले आँफैलाई माया गर्नु हुन्न, आफ्नो जिबनलाई माया गर्नु हुन्न, तपाईं कसरी अरुलाई माया गर्न सक्नु हुन्छ?"
"यो माया पनि कसरी अचानक परिवर्तन हुन्छ?"
"कस्तो रे? के भन्नु भयो?" सुधाले बुझिन।
"सरी, म के के सोचिरहन्छु, कुराहरु कहिले कहिले बेप्रसँग निस्किन्छन।"
"तपाइले मेरो सुसाइड नोट राख्नु भएको छ?"
"हँ???" उ झस्कियो।
"म त्यही नोट लिन आएकी!"
"जसमा "माफ गर! म तिमीलाइ माया गर्न सक्दिन" लेखिएको थियो।"
"त्यो मैले आबेशमा लेखेकी थिए। म अरु कसैले त्यो नोट नपढोस् भन्ने चाहन्छु।"
"त्यही नोटले मैले अली अली कुराहरु बुझ्ने प्रयास गर्दैछु।"
"जस्तै?? कस्तो कुराहरु?" सुधा आत्तिइ।
"माया त भरी हुन्छ मुटुमा, कसरी सकिन्छ त्यो माया? कसरी पोखिन्छ त्यो माया?"
सुधाले केही बुझ्न नसकेपछी उसले फेरी गिलासमा पानी भर्यो र देखायो।
"हेर्नुस्! यो गिलास मुटु रे, पानी माया। जब यो गिलासको भरी पानी रितिदैन वा सकिदैन, माया त जतिको त्यती हुनु पर्ने हो, माया जतिको त्यती हुँदाहुँदै कसैले कसैलाई माया गर्न किन सक्दैन?"
"तपाइले आफ्नै कुरा गर्नु भएको हो दाई?"
"आफ्नो, अरुको, सबैको। संसारको कुरा नि!"
"त्यो गिलासको माया कतै पोखिसकेको छ। तपाईंलाई थाहा छैन?"
"कसको माया रे?"
"तपाइको कुरा गर्दैछु म, तपाईंको श्रीमतीको!"
"मेरो श्रीमतिलाई चिन्नु भएको छ र?"
"छैन, तर उहाले तपाईंलाई त्यतिकै छोड्नु भएको त हैन होला।"
"कसले भन्यो उसले मलाई छोडी भनेर?"
"दाइ, एउटा कुरा थाहा छ?"
"के?"
"तपाइलाई पनि मलाई जस्तै बिरामी छ।"
"कस्तो?"
"डिप्रेशन!"
"कसरी?"
"तपाइ अझै श्रीमतीले छोडेर गएको कुरालाई स्वीकार्नु हुन्न। हेर्नुस् तपाईंको कोठा, कतै केही ठेगानमा छैन, छरप्रस्ट। तपाईं दिनभरी एक्लै कोठामा बस्नु हुन्छ, केही काम गर्नु हुन्न। “
"काम गर्न त पाउनु पर्यो नि।"
"काम खोज्नुभन्दा पहिले तपाईं उपचार गर्नुस् दाई। मैले चिनेको राम्रो मनोचिकित्सक छ। पहिले तपाईं ठीक हुनुहोस्। यो निराशाको बादलबाट निस्किनुहोस्। डिप्रेशन रोगले हाम्रो सम्बन्धहरु बिगारछ दाई। जिन्दगी बर्बाद हुन सक्छ। "
उ चुपचाप बस्यो, भित्तातिर हेर्न थालयो। कहिलेकही त्यतिकै उसको आँखा रसाउछ।
"तपाइ जानु हुन्छ त मैले भनेको डक्टरकहा? म कुरा गरु!"
"मलाई केही दिन सोच्न दिनुस्।"
"हुन्छ!" सुधा निस्किनै लागेकी थिइ। उसले पाइटको खल्तीबाट सुधाको सुसाइड नोट निकालेर दियो।
सुधाले हेर्दै नहेरी च्यातेर भुइमा फालिदिइ।
"सुधा, तिमीलाइ थाहा छ बैनी?”
“के दाई?"
“तिम्रो भाउजुले दोस्रो बिहे गरी सकी। उ अब कहिले फर्केर आउदिन।" उ भक्कानियो। आज कता कताबाट उसभित्रका बरफहरु पग्लिए।
सुधा बसी त्यही सोफामा, जहाँ उसको लोग्ने दुई हप्ताअघी सुतेको थ्यो। उ घुँक्क घुँक्क गर्दै रोइरह्यो भुइमा। सुधाले नरुनु भनिन, केही नबोली सुनिरही उसले कहिले नभनेका कथाहरु, जुन उसको आसुसङै बगिरहेको थ्यो।
उ रोहिरह्यो, सुधा बसीरही, आज सुधालाई कही जानु छैन, कतै पुग्नु छैन, कसैलाई भेट्नु छैन।
कहिलेकही केही नभनी केही नगरी पनि धेरै कुरा गर्न सकिन्छ। कसैको पीडामा साथ मात्रै दिदा पनि एक अर्काको एक्लोपन कम हुन्छ।
आज सुधालाई हतार छैन।
समाप्त!