Posted by: crazy_love March 23, 2017
उसलाई हतार छैन।
Login in to Rate this Post:     3       ?         Liked by
भाग- ३
"मा--फ ग--र!" खुइया सुस्केरा हाल्यो उसले। किन माफ गर्ने? फेरी पढ्यो त्यही नोट " म तिमीलाइ माया गर्न सक्दिन!" किन? मनले गर्ने हो माया, जब चाह्यो मनले माया गर्यो, जब चाहेन माया गर्न सक्दिन भनेर हुन्छ? त्यस्तो माया गर्न सक्ने र नसक्ने बटन मान्छेको शरीरमा भए उ के गर्थ्यो? मायाको बटन नै "अफ" गर्थ्यो, एकोहोरो मात्रै माया पनि त काम छैन नि।? शुरु शुरुमा त खुब गर्यौ होला माया, अब के भयो? के मायाको पनि जन्म र मृत्यु हुन्छ मान्छेको जस्तै? कि माया एक्स्पायर हुन्छ कुनै समय पछी। किन माया गर्न नसक्ने? माया गर्न नसक्नु को कारण के? ल माया त गर्न सकेन रे तर आत्महत्या गर्नु किन? माया गर्न सक्दिन भनेर लेख्ने हिम्मत गर्नेले बाँच्नु पनि सक्नु पर्छ हो? बेकारमा खैलाबैला के लाई गर्नु? मान्छे निदाउन सकिरहेको छैन यहाँ, उसलाई मर्न हतार!

कारण चाहियो कारण ! किन माया गर्न नसक्नुको कारण। के माया खर्च भयो? रित्तियो? सिद्धियो? कसरी? त्यो पनि त भन्नु पर्यो। माया त बैन्कमा राख्न सकिदैन, न सापटी लिन मिल्छ? हैन कसरी सक्दैन माया गर्न? उसले सम्झ्यो कसैले, हैन हैन, आफ्नै मान्छेले, मतलब जसलाई उ आफ्नो अझै आफ्नै सम्झिन्छ। पराया त भएकी छैन शायद। उसको आफ्नै मान्छे तर पर पर भएकीले भनेको थ्यो उसलाई "म तिमीसङ जिन्दगी बिताउन सक्दिन।" एउटा वाक्यले उसको जिन्दगीलाई तितरबितर पार्न खोजेको थ्यो। तर त्यहा माया थियो, छ र रहन्छ कि रहदैन उसलाई थाहा छैन। उसले सोच्यो "म तिमीसङ जिन्दगी बिताउन सक्दिन” र “म तिमीलाइ माया गर्न सक्दिन" को अर्थ उही हो, हैन फरक छ, आकाश जमीनको फरक छ।

म तिमीसङ जिन्दगी बिताउन सक्दिन भन्नु को कारण धेरै हुन सक्छन, तर माया त जस्ताको त्यस्तै छ है भन्ने हुन्छ। "म तिमीसङ जिन्दगी बिताउन सक्दिन" र "माफ गर! म तिमीलाइ माया गर्न सक्दिन" दुई भिन्दा भिन्दै वाक्यहरु हुन, यिनीहरुलाई एउटै अर्थमा राख्नु त ठुलो भुल हुन्छ। तर उसकी स्वास्नीले "म तिमी सित जिन्दगी बिताउन सक्दिन।" भन्नु अघी माफ गर भनिन। कती सजिलै उ के चाहन्छे भनेर गै। तर उ के चाहन्छ, छोरो के चाहन्छ बुझ्न कोशीश गरिन। बिबाहपछि, एउटै घरमा लोग्नेस्वास्नी भैसकेपछि कसरी एकै जनाले मात्र ब्यक्तिगत निर्णय लिन सक्छ? उसले नबुझेको धेरै कुराहरु मध्ये यो पनि एउटा हो। एकजनाको निर्णयले परिवारमा अरु क-कस्लाई कस्तो असर पर्न सक्छ भन्ने कुरा ब्यक्तीको खुशी भन्दा ठुलो नहुदो रहेछ। समय अनुसार प्राथमिकता बदलिदो रहेछ जिबनमा।

हैन यो त प्रमाणित गर्नै पर्छ, कसरी गिलासभरी राखेको पानी सकिन्छ? कि त त्यो गिलास चुहिनु पर्यो, हैनभने पोखिनु पर्यो। त्यसै गिलासको पानी रित्तियो भन्न पाइदैन। त्यस्तै माया पनि त चुहिनु पर्यो वा पोखिनु पर्यो, त्यतिकै सकिने त कारण हुँदैन। कुरा एकदम सजिलो छ, जसरी गिलासको पानी कसैले नखाए रितिदैन त्यस्तै माया पनि कसैलाई नदिए सकिदैन। माया त त्यही हो नि, दिने मान्छे र लिने मान्छे फरक होलान, त्यसको मतलब माया नै सखाप भएको, सिद्धिएको त हैन नि। उसले बिचार गर्यो, पानी गिलासमा राखेर एक्स्पेरिमेन्ट किन नगरने? उ सिसाको गिलासमा पानी भर्न थालयो। भरेको गिलास उसले टिबी नजिक राख्यो, र एकोहोरो हेरी राख्यो।

"गिलास त भरी छ, मुटु पनि मायाले भरिएको छ। अचानक किन कसैले कसैलाई माया गर्न सक्दैन?" उ सोची रह्यो।

"श्यामबाबु! ए श्याम बाबु! ढोका खोल्नुस् न!" घरपेटिको तिखो स्वर सुनियो।

एकछिन नसुनेको जस्तो गर्यो उसले, पक्कै डेरा बहाल माग्न आएकी होली! आज त छैन, समय पनि त भैसकेको छैन, कती चाहिने पैसा यो बुढीलाई? उ चुप लागेरै बस्यो। घरपेटि फर्किन, बोलाको बोलाई गर्न थाली। अती भए पछी उसले ढोका खोल्यो।

"साहुनी! आज त पैसा छैन। भोली मात्रै आउछ।" उसले घरपेटिको अनुहारमा हेर्न सकेन।

"कसले माग्यो र पैसा? तपाईंलाई अघी चोट त लागेन?" अरुबेला स्वार्थी देखिएपनी अहिले उसलाई सम्झेर घरपेटि सोध्न आएको देखेर उ मनमनै खुशी भयो। उसको बारेमा सोच्ने पनि त रैछन्। यो पनि त माया नै हो नि हैन र?

"छैन छैन, घुँडामा सानो घाऊ छ, त्यतिकै निको हुन्छ।" यतिखेर उसको स्वर अली ठुलो भयो, उसले घरपेटिलाइ हेर्यो।

"तपाइले आज ठुलो कर्म गर्नु भयो। त्यो नानीको ज्यान बचाउनु भयो, यसको सट्टामा भगवानले हेर्नु हुन्छ बाइ!"

"के ठुलो काम भन्नु साहुनी! तिनलाई केही नभए त हुन्थ्यो! अहिले नै के थाहा होला र?"



"श्वास त राम्रै फेर्दैथी, बाँच्छे होली। राम राम के देख्नु परेको त्यस्तो? मनमा पीर चिन्ता भए एक आपसमा कुरा गर्नु पर्छ, आँफै मरेर पनि केही हुन्छ?"

"मर्नु भन्दा बहुलाउनु निको भन्छन।"

"त्यही त! यती राम्रो जुनि कहाँ पाउनु?" कोठाको चारै कुना आँखाले निरिक्षन गरेर घरपेटिले कुरा घुमाइन।

"नानी कहिले आउछिन?"

"हजुर!" उ नबुझे झै भुइतिर हेर्न थालयो।

"राजुको आमा अब नेपाल कहिले आउछिन? ३-४ बर्ष भएन र बिदेश गाको?"

"बिदा छैन रे! मिल्यो भने छिट्टै आउछिन होला।" उ सधैं यस्तै जवाफ दिन्छ , जसको उत्तर उ आँफैलाई पनि थाहा छैन।

"छोरा छ, लोग्ने यही छन, धेरै टाढिनु नि हुन्न बा अब। कि उतै सबै परिवार जानु कि यतै आउनु! दिन जमाना ठीक छैन। लोग्ने स्वास्नी छुट्टीएर धेरै बस्न हुन्न श्याम बाबु।“

“भनेको जस्तो मिल्न गार्हो हुन्छ नि! मेरो काम छैन के गर्नु? लोग्नेमान्छे भएर पनि परिवार पाल्न सकिन। " उसलाई जहाँ छोए धेरै दुख्छ, मान्छेहरु त्यही घोचिदिन्छन।

"काम पाउन नि कस्तो गार्हो?"

"खोजेको हो, आफुले भने जस्तो पाइदैन, अरुले खोजे जस्तो आफुसँग सीप र पढाई छैन। काम मात्रै पाए त सानो ठुलो जे भने नि गर्थे," खासै भन्ने हो भने अब उसलाई काम गर्ने इक्ष्या छैन, के र कसको लागि काम? जो आँफैसँग छ भन्थ्यो, उ छैन, बास्तबमा भन्ने हो भने उ एक्लो छ यती धेरै मान्छेहरु बिचमा।

"राजु कहिले आउछ? न आमा आउछ, न छोरा आउछ, के हो यस्तो?"

"उसको जाँच छ, त्यसपछी आउछ। उ पनि ठुलो भयो, आफ्नै साथीभाइ मात्र मन पराउछ। घरमा बिग्रेला भनेर होस्टेलमा राखेको, उतै रमाउछ। राजु घरलाइ होस्टल ठान्छ र होस्टेललाइ घर। "

“ल श्याम बाबु, म माथि जान्छु, हस्पिटलमा के हुँदैछ, एकचोटि सुधाको लोग्नेलाई फोन गर्नु पर्यो।"

ढोकामा पुग्दा नपुग्दै घरपेटीले फेरी फर्केर भनिन।

"तपाइ पनि एक्लै कोठामा धुम्धुम्ती नबस्नु! मन बिरक्तिन्छ।"

उसले टाउको मात्रै हल्लायो। मन त कहिले पो न बिरक्तिएको छ र, ब्यक्त गर्न सक्ने भए, उ दिनदिनै आशुले मनको कुराहरु सेतो कागजको पानाहरुमा लेख्थ्यो।

"माफ गर! म तिमीलाइ माया गर्न सक्दिन!" हैन, हैन यो अरु कसैको सुसाइड नोट हो।

"माफ गर! तिमीले छोडेको यति बर्ष सम्म पनि म तिम्रो दयाको भिख बिना बाँच्न सक्दिन।"
" मर्न पर्ने त म हो, मेरो के अस्तित्व? मेरो इज्जत गल्लीको भुस्याहा कुकुरको जती पनि छैन। अघी बिहान झुन्डिनु पर्ने त म हो, किन अरु कोही झुन्डियो?”
टङ्रङ के आवाज आयो, टिबिको छेउबाटै एउटा सानो मुसा अघी उसले पानी भरेर राखेको गिलासलाइ हल्लाएर गयो। गिलास ढल्ला ढल्ला जस्तो गर्यो, पानी हल्लियो, तर पोखिएन।

"गिलास त अझै भरी छ, पानी पोखिएको छैन, माया पनि टम्मै छ, सकिएको छैन।"

क्रमश:










Read Full Discussion Thread for this article