Posted by: Rahuldai December 27, 2016
कथामाण्डौ (भाग २ )
Login in to Rate this Post:     1       ?         Liked by

कथामाण्डौ (भाग १)
http://sajha.com/sajha/html/index.cfm?threadid=120715&noofposts=6

कथामाण्डौ (भाग २ )

भग्नावशेषमा अवशेष खोज्दै
राती ९ बजिसकेकोले होला शायद सडक व्यस्त थिएन| ट्राफिक ब्यबस्था अस्तव्यस्त र ध्वस्त थिएन | सजिलै घर पुगियो | तिहारको झिलिमिली बत्ती अझै रंगिन थियो | शहर उहिले जस्तो अँध्यारोमा लुकेको देखिएन|
घर पुग्ना साथ् तातोतातो भात, मासको दाल, पाछै (रायोको साग) तरकारी, सुक्या माछा र गोलभेडाको अचार अप्सनमा आमली(लब्सी)को अचार अनि ठुलो खसीको कवाफ ग्वामग्वाम स्वादका साथ् खाइयो | त्यो स्वादमा नेपाली माटोको सुगन्ध थियो | बिषादी मिसाइएको तरकारी हुन्छ भन्ने सुनिन्थ्यो, शायद स्वदेशी बिषादी पनि यति स्वादिष्ट हुँदो रहेछ|
यात्राको संक्षिप्त वृतान्त पछी थकानले मतान मै झ्याप्प भैहाल्यो| गोलार्धीय भिनताले होला मध्य रात फेरी जागा भए | शिरानीकी रानी मोबाइलमा फेसबुक हेर्दै चियो गर्दै फेरी झ्याप्प |
बिहान ६ नबज्दै चिया पकाउन आफै अघि सरें | नजिकै ग्वारामरी पसल थिएन | सेलरोटी मै चित्त बुझाउनु प्-यो | घरका सबै एकै ठाउँमा पलेटी कसेर चिया सेल रोटी खाँदाको स्वाद टेबलमा लेबल मिलाएर खानुमा कहाँ पाउनु|
चिया सेशन लामो नै रह्यो, बडेमानको स्टिलको दुइ गिलास रित्याइयो | ९ बज्दो हो, निद्रा देवीले साउती गर्न थाले|
“हैट, यो नेपाल हो, अम्रिका हैन” भनेर हकारे पछी डरायो बेइमान |
१० नबज्दै भात खाने ट्याम भैसक्यो| लन्च ट्याम पो १२ बजे, भात ट्याम त १० बजे नै हो नि, मखुला ? भन्दै फेरी तातो तातो भात, रहर चनाको हाइब्रिड दाल, काउलीको तरकारी संग एक थाल भात बजाइयो | आहा कति मीठो काउली, एक टन काउली प्याक गरी अम्रिका नै लगुं जस्तो |
मन थियो एक निद्रा सुतुं तर छिट्टै नै नेपाली ट्यामसंग आफुलाई समायोजन गर्नु जाति हुन्छ भनेर, आराम सारांमलाई मुल्तबीमा राखेर म निस्कें मेरो भत्किएको वस्ती भित्र अवशेष खोज्न | नरायण दाइको गीत गुनगुनाउदै-
“ कहिले काहिं बिर्सिएर आकाश खोज्दै हिड्छु,
भत्किएको मेरो पुरानो त्यो बास खोज्दै हिड्छु,
धेरै भयो अल्झेको, यहाँ भीड भित्र,
तिनै भीडमा जिन्दगीको आभास खोज्दै हिड्छु “
फोटोहरुमा धेरै पल्ट देख्दा दुखेको मनलाई सम्झाउदै काष्ठ्मंड़प, हनुमान ढोका तिर सित्तैमा पाएको धुलो रस्वासदन गर्दै लागें | जिन्दगीको सारा हिस्सा र किस्सा समेटिएको मरु सत: ( काष्ठामंड़प ) तार जाली भित्र इट्टाको थुप्रोमा परिणत भैसकेको नि बर्षौं भैसकेछ| त्यो मन्दिर रुपी सत: (पाटी )भित्र बाल्यकालका हजारौ स्मृति कोरिएका छन्, लाखौँ डोबहरू टाँसीएका छन् | खोज्दै थिएँ, आसपास ( लुकामारी ) खेल्दा लुक्ने चार बुर्जा मुनिका अँध्यारो कोठाहरु| उत्तर पश्चिम कुनाको बुर्जाको एक कोठा अझै शेष रहेछ | (संलग्न फोटो त्यही बुर्जाको हो) | बेलायतको डुरहम युनिभर्सिटिका अनुसन्धानकर्ताहरु केही खोज्दै थिए, मलाई लाग्यो म पनि मेरो बाल्यकालका स्वर्णिम युग खोजुं | तार भित्र जानु हुदैनथ्यो मलाई थाह थियो, तै पनि सुरक्षाकर्मीलाई सोधें | जान मिल्दैन भने |
यत्रो अजंगको मन्दिर (पाटी)को नामो निशान मेटिने गरी आएको भूकम्प, नेपाली जनले मनले कसरी सह्यो होला ? आङ्ग सिरिङ्ग भएर आयो | काका प्रेम बा, त्यसै काष्ठ्मंड़प संगै आफै ढलेका हैनन् रैछ | काष्ठ्मंड़प फेरी पुनर्निमाण होला, तर मेरो काका .....| आँखा सजल भयो|
माजु देग: (सेतो दर्बार अगाडीको सबै भन्दा अग्लो मन्दिर)को , पिरामिडको जग बाहेक केही छैन, गत सालको हिउँदमा जस्तै आउदो हिउँदमा कठैबरा दैबहरु पनि कठांग्रिने भयो नै | कुमारी घर संगैको दसअवतार देग:को पनि हाल उस्तै थियो | मरु सत: संगैको सानो हजाम देग: ( सस्तोमा कपाल दारी बनाउने परम्परागत नाइहरुको ब्यबसाय गर्ने मन्दिर) समेत धुलो भएको रहेछ|
सेतो दर्बार, गद्दी बैठक त्यति धेरै पुरानो थिएन | दरबारको जग पनि कच्चा नै हुँदो रहेछ, जनताको घर भन्दा पनि कमजोर | सेतो दरबार संगै जोडिएको नौतले दरबारको ५ तल्ला गायब छ| किम्बदन्ती अनुसार राजा महिन्द्र मल्लले त्यै दरबारको चौथो ( पाँचौ) तल्लाबाट हरेक साँझ जनता को घरमा चुलो बलेको नबलेको यकिन गरी मात्र आफु खाना खान्थे रे | त्यतिबेला ४ तले हो कि ५ तल्ले मात्र थियो, पछी पृथ्वी नारायण शाहले ( बहादुर शाह )ले थप तल्ला निर्माण गरेको इतिहासमा पढेको याद आयो | पुरै नभत्की पछी थपेको मात्र भत्किनु मात्र संयोग हो कि अरु नै केही, सोचमग्न भएँ|
हनुमान ढोकाको पुरानोखण्डमा जताततै टेको र खट बाँधिएकोले पुरै कुरूप देखिन्थे नै | हनुमान ढोका थाना अघिल्तिर बर्षमा एक दिन मात्र खुला हुने कागेश्वर महादेव मन्दिरमा न काग नै बाँकी रह्यो न महादेव नै | ठुलो दमाह संगैको कृष्ण मन्दिरको पनि जग बाहेक केही बाँकी रहेन |
टेकोको भरमा अझै जिउँदो ग्वाछी मुग्: गल्लीमा महेन्द्र बौ दाइको म:म: एक प्लेट नखाई निद्रा लाग्दैनथ्यो कुनै बखत | पछिल्लो पटक घर आउँदा नि मौका मिले सम्म म:म: छोडिन | अहिले त्यो पसल छैन, घर टेकोमा “पख” भने पनि बाङ्गिएको छ , चर्किएको छ , महेन्द्र बौ दाइ खोजी गर्दा कतै भेटिएन |
म:म:को आस मारिन, मखन तारिणी बहाल बाहिरको बोसो रहित ५ स्टार म:म: सेकेन्ड च्वाइस थियो | एक प्लेट बिना अचार खाइयो, ढ्याउ गरियो| अचार किन नखाएको भनेर चाहि नसोध्नु होला | सोधी हाल्नु भए अर्को भागमा भन्नेछु |
क्रमश:
Read Full Discussion Thread for this article