Posted by: Geology Tiger July 23, 2016
अमेरिकामा रहेका नेपाली संस्थाहरुमा डा. के.सी.को आन्दोलन प्रति उदासिनता किन ?
Login in to Rate this Post:     3       ?         Liked by
नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको पैसाको फोहरी चलखेल रोक्न र सर्वसाधारण जनताको स्वास्थ्यमा खेलबाड हुन नदिन डा. गोबिन्द के.सी.ले आफ्नो प्राणको बाजी लगाएर आमरण अनसन बसेको आज १४ दिन कटिसक्यो । तर के.सी.को आन्दोलनले यत्तिका दिनहरु पार गरिसक्दा पनि र उनको स्वास्थ्य अत्यन्त नाजुक स्थितिमा पुगिसक्दा पनि नेपाल सरकारले गम्भिर चासो दिएर उनको मागहरुको सुनुवाइ गर्न पहलकदमी गरेको छैन । अहिले संसदमा रहेका हरेक राजनैतीक दलहरुको सबैभन्दा ठूलो चासो र चिन्ता भनेको कि त सरकारको आयु कसरी लम्ब्याउने कि त सरकारलाई कसरी ढाल्ने भन्नेमा नै सिमित छ ।

आफ्नो पदीय मर्यादा र सिमालाई कुल्चेर र नाघेर स्वास्थ्य क्षेत्रमा नांगो हस्तक्षेप गरिरहेका अख्तियार प्रमुख लोकमान सिंह कार्कीको डर त्रासकै कारणले पनि कतिपयले बोल्न सकिरहेका छैनन् । त्यसो त अहिलेको सरकार फेर्ने खेल जस्तै डा. गोबिन्द के.सी.को प्रत्येक आमरण अनसनको समयमा केही न केही विकर्षणका अन्य घटनाहरु घटिनै रहेका हुन्छन् । पूरै संसद सरकारलाई ढाल्ने र नयाँ सरकार बनाउने खेलमा व्यस्त भएको अहिलेको समयमा डा. के.सी.को मागहरु मध्येको प्रमुख माग अख्तियार प्रमुखलाई महाअभियोग लगाउने प्रस्ताव संसदमा आइहाल्ने संभावना अत्यन्त क्षीण छ ।

यी सबैका बाबजूद पनि ड.के.सी.को आन्दोलनप्रति आम नेपालीको समर्थन बढ्दो छ; सडकमा, सामाजिक संजालहरुमा र आम नेपालीको मनमस्तिष्कमा डा. के.सी. छाएका छन् । स्वास्थ्य क्षेत्रलाई पैसाको फोहरी खेलबाट मुक्त राख्न र आम नेपालीले गुणस्तरीय स्वास्थ्य सेवा पाउन् भन्ने पवित्र उद्देश्य लिएर डा. के.सी.ले शुरु गरेको यो अनसनको माग पुरा गराउन देश र विदेशमा रहेका सबै नेपालीले डा. के.सी.को आन्दोलनप्रति एेक्यबद्दता जनाउन आवश्यक छ ।

अहिलेको सूचना प्रविधिको युगमा नेपालमा हुने हरेक साना-ठूला साना घटनाहरुले विदेशमा रहेका नेपालीहरु समक्ष नपुग्ने र त्यसले उनीहरुलाई नछुने भन्ने कुरै भएन । अमेरिकामा रहेका नेपालीहरुले पनि सामाजिक संजालको माध्यमहरुबाट डा. के.सी.को अनसनप्रति येथेस्ट चासो, चिन्ता र एेक्यबद्दता देखाएका छन् । तर अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्ने भनिएका संस्थाहरुले यहाँ रहेका नेपालीहरुको भावनाको प्रतिनिधित्व गर्दै डा. के.सी.को आन्दोलनको समर्थनमा एक शब्द पनि नखर्चनु अत्यन्तै आश्चर्यजनक मात्र होइन अत्यन्तै दु:खलाग्दो पनि छ ।

अमेरिकामै पनि कतिपय स्थानीय नेपाली संस्थाहरुको कार्यक्षेत्र त्यहाँ रहेका नेपाली अमेरिकनहरु माझ संपर्क र सम्बन्धको माध्यम बन्नुमा मात्र सिमित छ । त्यस्ता संस्थाहरुलाई तिमीहरुले यो बिषयमा किन बोलेनौ भन्नुको कुनै तुक पनि छैन । तर अमेरिकाको हरेक राज्यमा च्याप्टर स्थापना गरेर हामी अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो संस्था हौ भन्दै प्रतिस्पर्धामा रहेका र त्यस्ता संस्थाहरुमा पद ओगटेकै कारणले नेपालमा पनि राजनैतीक र सामाजिक हैसियत खोज्नेहरुले नेपाली समाजको यत्रो ठूलो चिन्ताको बिषयमा केही बोल्नुपर्ने हो कि होइन ? के कुनै राजनैतीक विचारधारा र कुनै राजनैतीक दलसँग आवद्द भएकै कारणले नेपालमा रहेका राजनैतीक दलहरुले जसो जसो गरे र जसो जसो भने त्यस्तै त्यस्तै गर्नुपर्छ ? यस्ता संस्थाहरुले अमेरिकामा रहेका नेपालीहरुको भावनालाई बोक्ने कि नेपालमा रहेका पार्टीहरुको निर्देशनलाई बोक्ने ? के परेड र कन्भेसनहरु गरेर ढाका टोपी ढल्काउनुमा मात्रै सिमित छ यी संस्थाहरुको मातृभूमि प्रतिको माया ?

आफ्नो संस्थाको एक जना सदस्यको कोही नातेदार मर्दा पनि समवेदनाका अनेकौ फेरिस्त बनाउनेहरुले करोडौ नेपाली मनहरुले आफ्नो ठानेका एक सच्चा समाजसेवक मृत्‍युको मुखैमा पुगिसक्दा पनि चुइक्कँसम्म किन नगरेका ? कि त हामी नेपालीहरुको संस्था हौ भनेर ढोङ गर्न छोड्नुपर्यो, कि त केही बोल्नुपर्यो ।
http://brtnepal.com/literatures.php?pid=12823#sthash.MrY3T4eb.eGX6d2fX.dpbs
Read Full Discussion Thread for this article