Posted by: ktmpost July 22, 2016
लगानी बोर्डका सिइओको तलब २ लाख ७५ हजार !
Login in to Rate this Post:     0       ?        

५ साउन, काठमाडौं । देशको सबैभन्दा विशिष्ट पदाधिकारी अर्थात् राष्ट्रपतिको मासिक तलब १ लाख ५० हजार ४ सय ५० रुपैयाँ रहेको छ । प्रधानमन्त्रीको ७७ हजार र मुख्य सचिवको तलब ५५ हजार छ । उसो भए, सचिव सरहको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को मासिक तलब कति होला ?

MahaPrasad-Adhikari

महाप्रसाद अधिकारी

तपाईंलाई अचम्म लाग्नसक्छ, लगानी बोर्डका सिइओको तलब राष्ट्रपतिको भन्दा झण्डै दोब्बर छ ।

हाल लगानी बोर्डको सिइओ महाप्रसाद अधिकारी छन् र उनको हालको तलब मासिक दुई लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीको मासिक तलब २ लाख ७५ हजार तोकेको हो ।

यसको अतिरिक्त अधिकारीले सरकारी सुविधा वापत गाडी, इन्धन, गाडी मर्मत खर्च, चालक र पत्रपत्रिका शीर्षकमा थप तीन हजार रुपैयाँसमेत पाउनेछन् ।

सरकारले प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने एउटा कार्यालय प्रमुखका लागि यति धेरै तलब सुविधा दिने निर्णय गरेको यो पहिलोपटक हो ।

नियुक्त गर्नेको तलब ५५ हजार, नियुुक्त हुनेको २ लाख ७५ हजार !

लगानी बोर्डका कार्यकारी अधिकृत प्रधानमन्त्री कार्यालयप्रति जवाफदेहि हुन्छ । प्रधानमन्त्री कार्यालयका प्रमुख प्रधानमन्त्री हुन् । प्रधानमन्त्री कार्यालयले नै लगानी बोर्डको प्रमुख तोक्छ । तर, प्रधानमन्त्रीको तलब ७७ हजार छ ।

यस्तै मुख्य सचिवले आवश्यक पर्दा लगानी बोर्डका सिइओलाई काम लगाउने र आवश्यक निर्देशन दिन्छन् । तर, मुख्य सचिवको तलब भने ५५ हजार २ सय रुपैयाँमात्र छ ।

प्रधानमन्त्री कार्यालयले नै सिइओको तलब तोक्न फाइल उठाएको हो । प्रधानमन्त्री कार्यालयको आर्थिक पूर्वाधार महाशाखाबाट फाइल उठेर प्रशासन महाशाखा हुँदै मन्त्रिपरिषदको बैठकमा कार्यकारी अधिकृतको तलव प्रस्तावको फाइल पेश भएको थियो । र, असार ३१ गतेको मन्त्रिपरिषद बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको थियो ।

के हो लगानी बोर्डको जिम्मेवारी

देशमा उद्योग धन्दाको विकासमा विदेशी लगानी भित्र्याउनु लगानी बोर्डको मुख्य काम हो । त्यसका लागि अन्तराष्ट्रिय संघ संस्थाहरुसँग प्रगाढ सम्बन्ध बनाएर अघि बढ्नुपर्छ । नेपालमा लगानी गर्न देखिएका समस्या हटाएर विदेशी लगानीकर्ताको मन जित्नु बोर्डको मुख्य काम हो ।

यही काममा सक्रिय भएको भन्दै सरकारले लगानी बोर्डका कर्मचारीहरुलाई पचास प्रतिशत अतिरिक्त भत्ता दिन्छ ।

सरकारले लगानी बोर्ड जस्तै अर्को निकाय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि गठन गरेको छ । जसको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली छन् । उनको मासिक सेवा सुविधा भने मन्त्री सरह छ ।

सरकारले जारी गरेको नयाँ तलबमान अनुसार मन्त्रीको मासिक तलब ६४ हजार रुपैयाँ छ । यसको अतिरिक्त गाडी, इन्धन, चालक लगायतका सुविधा पनि हुन्छ ।

२०७३ साउन ५ गते २०:२३ मा प्रकाशित

http://www.onlinekhabar.com/2016/07/455499/

Last edited: 22-Jul-16 05:40 AM
Read Full Discussion Thread for this article