Posted by: cybernepali July 5, 2016
६३ जनाबाट ४८ करोड ठगेको आरोपमा दम्पत्ति पक्राउ
Login in to Rate this Post:     0       ?        

१९ असार, काठमाडौं । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रविन्द्र रेग्मीको कार्यकक्ष भरिभराउ थियो । सबैको नजर थियो, घोसेमुन्टो लगाएर उभिएका एक जोडी महिला र पुरुषमा ।

‘हाम्रो पैसा कहिले तिर्ने ?’ कार्यकक्षमा रहेका ४० जनाभन्दा बढीले एकै स्वरमा सोधिरहेका थिए । जवाफ दिने कोही थिएन । सबैको तारो भएर उभिएका दुई अभियुक्त थिए सनिस मिश्र र उनकै श्रीमती सृजना भण्डारी । उनीहरुले महंगो ब्याज दिने भन्दै प्रलोभनमा पारेर ६३ जनाबाट ४८ करोड रुपैयाँ असुल गरेको आरोप लागेको छ ।

ब्याजको आशमा १ करोड स्वाहा

Sanish-And-Shreejana

सनिस मिश्र र सृजना भण्डारी

वौद्धका हेमकुमार श्रेष्ठले गत फागुनमा कान्तिपुर दैनिकमा एउटा विज्ञापन देखे । ओमबार गुप्रको नाममा छापिएको विज्ञापनमा ‘लगानी गर्नुहोस नाफा कमाउनुहोस’ भनेर लेखिएको थियो । भोलिपल्टै विज्ञापनमा भनिएको ठेगाना पछ्याउँदै श्रेष्ठ मैतिदेवी पुगे । त्यहाँ कार्यालय नदेखेपछि फोन गरे । कम्पनीबाट गाडी नै लिन आयो ।

कार्यालयमै भेटिएका सनिस मिश्रले लगानी गर्ने तरिका बताए । एक लाखको महिनामा ८ हजारका दरले व्याज दिने प्रलोभन उनले देखाए । हेमकुमारले आफूसँग भएको तीन लाख निकालेर मिश्रलाई बुझाए, अनि महिनामा २४ हजार रुपैयाँ ब्याज आउने कुरामा ढुक्क भए ।

के आधारमा विश्वास गरेर त्यत्रो पैसा दिनुभयो त ? भन्ने जिज्ञासामा उनी भन्छन्, ‘म मात्रै हो र, अरु मान्छेहरु पनि भटाभट पैसा बुझाउँदै थिए । कोही ब्याज बुझेर गइरहेका थिए । सबै मान्छे टाठाबाठा नै देखिन्थे । अनि किन विश्वास नगर्ने ?’

दुई महिनासम्म ३ लाखको २४ हजारको दरले ब्याज पनि बुझे श्रेष्ठले । दुई महिनापछि झन् लोभिएर थप ६ लाख मिश्रलाई बुझाए । त्यसको पनि महिनाको ७२ हजारको दरले ब्याज बुझन थाले । त्यसपछि त हेमकुमार यति हौसिए कि आफ्नो घरै १ करोडमा धितो राखेर सबै पैसा बुझाए ।

तर जेठ महिनामा पैसाको ब्याज आएन । त्यसपछि उनले ताकेता गर्न थालेपछि मिश्रले पनि केही चेकहरु थमाइदिए । त्यसबाट पनि पैसा निस्किएन । पैसा आउने आश गर्दा गर्दै मिश्र ठगिको आरोपमा पक्राउ परे ।

श्रेष्ठ अहिले घर न घाटा भएका छन् । उनी भन्छन्, ‘उता घर लिलामी हुन लागिसक्यो, यता पैसा आउने आउने ठेगान छैन । बर्बादै भइयो ।’

सेनाका भुपू कर्णेलदेखि गृहणीसम्मको पैसा

काठमाडौं परिसरका एक अधिकृतका अनुसार नेपाली सेनाका अवकाश प्राप्त कर्णेलहरुले समेत महंगो ब्याज आउने आशमा मिश्रलाई लाखौं रकम बुझाएका छन् ।

सेनाका भुपु कर्णेलहरु सुरज गिरी, दिपक न्यौपाने, सानुराम कट्वाल, श्याम विष्टको पैसा समेत मिश्रले कुम्ल्याएको प्रहरी स्रोतले बतायो । कर्णेल सानुराम कट्वालले एक करोड रुपैंया मिश्रले खाइदिएको भन्दै परिसरमा उजुरी गरेका छन् ।

मिश्रले पैसा उठाउन सेनाका अवकाश प्राप्त अधिकृतहरुलाई प्राथमिकतामा राख्ने गरेको परिसरका एक अधिकृत बताउँछन् । उनले भने, ‘उजुरी आउने क्रम बढीरहेको छ । को-को छन् अहिले भन्न सकिंदैन ।’

घर बन्धकी राखेर ऋण

करिब ३ वर्ष अघि राम दर्जी (नाम परिर्वतन) को साथीहरुमार्फत सनिस मिश्रसँग चिनजान भयो । नजिक हुँदै गएपछि एक दिन दर्जीले मिश्रसँग ११ लाख ऋण मागे ।

ऋण दिनुअघि दर्जीको बानियाटार स्थित साँढे दुइतल्लाको घर कागज गरेर मिश्रले बन्धकी राखे । मिश्रले त्यही घर एक फाइनान्समा बन्धकी राखेर २७ लाख लिएर ११ लाख दर्जीलाई ऋण दिए । आफुले लिएको ऋणको ब्याज सहित तिर्छु भन्दा पनि उल्टै गाली खान परेको भन्दै उनी पनि काठमाडौं परिसर पुगेका छन् ।

पत्रिकाको विज्ञापन हेरेरै मिश्रको मैतिदेवीस्थित ओमकार गु्रप अफ कम्पनीमा पुगिन् अनामनगरकी एक महिला । उनले मिश्रको धन्दालाई यतिसम्म विश्वास गरिन् कि आफ्नो ७२ तोला सुन धैरौटी राखेर पैसा बुझाइन् । उनी झोकिएर .मिश्रलाई भन्दै थिइन्, ‘अर्काको सुन समेत बन्धकी राखेर पैसा बुझाएको, अब कसरी तिर्नु ?’

एउटै घर चार जनालाई विक्री

काठमाडौंको सुकेधारास्थित एउटै घर मिश्रले ४ जनालाई विक्री गरेको समेत भेटिएको छ । तीन तल्ले घर ३ करोडका दरले बिक्री गर्न मिश्रले चार जनासँग एक करोड २० लाखसम्म बैना लिएको भेटिएको हो । त्यही घर बन्धकी राखेर बैंकबाट समेत पैसा निकालेको भेटिएको छ ।

जुन घर उनले चार जनालाई विक्र गरे मिश्र त्यही घरमा बस्ने गरेका थिए । उनले ठगी गरेको पैसाले काठमाडौंमा मात्रै ५ वटा घर खरिद गरेको भेटिएको छ । काठमाडौं परिसरका एसएसपी बिक्रम सिंह थापाका अनुसार अहिलेसम्म मिश्रले ४८ करोड ठगि गरेको उजुरी आएको छ ।

‘मिश्र काठमाडौंमा बसेर ठगी गर्ने नामुद नटवरलाल हुन्, यिनले कति पैसा असुल गरे र बैंकमा कति छ, त्यो विस्तृत अनुसन्धान हुँदैछ,’ एसएसपी थापाले भने ।

ओमकार गु्रप अफ कम्पनीको नाममा ११ वटा कार्यालय खोलेका मिश्रले कतिपय सम्पत्ति श्रीमतीको नाममा राखेका छन् । त्यसैले श्रीमती सृजनालाई पक्राउ गरिएको एसएसपी थापाले बताए ।

२०७३ असार १९ गते १९:३७ मा प्रकाशित (२०७३ असार २० गते ७:५७मा आवधिक गरिएको)
http://www.onlinekhabar.com/2016/07/448522/
Read Full Discussion Thread for this article