Posted by: Geology Tiger June 20, 2016
बर्नी स्यान्डर्स: अबको बाटो कता ?
Login in to Rate this Post:     2       ?         Liked by
मे २०१५ मा बर्नी स्यान्डर्सले डेमोक्र्याटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतीय निर्वाचनको उम्मेद्वार हुन प्रतिस्पर्धा गर्ने कुराको घोषणा गर्दा धेरै थोरैले मात्र उनलाई चिन्थे । तर २०१६ को जून १४ मा भएको डेमोक्र्याटिकको अन्तिम प्रारम्भिक निर्वाचनसम्म आइपुग्दा उनले डेमोक्र्याटिक पार्टीको प्रारम्भिक चरणमा खसेको कूल मतको ४२.९ प्रतिशत प्राप्त गरेका छन् भने २३ अमेरिकी राज्यमा आफ्नो प्रतिद्वन्दी हिलारी क्लिन्टनमाथि विजय प्राप्त गरेका छन् । उम्मेद्वारले विभिन्न राज्यहरुमा प्राप्त गरेको मतको आधारमा डेलिगेट्स( प्रतिनिधि )को निश्चित संख्या प्राप्त गर्ने र तिनै डेलिगेट्सहरुको संख्याको आधारमा राष्ट्रपतीय उम्मेद्वार छनौट गरिने यस प्रारम्भिक निर्वाचन पद्दतिमा बर्नी स्यान्डर्सले जम्माजम्मी १८२९ डेलिगेट्सलाई आफ्नो पक्षमा पारे भने उनको प्रतिद्वन्दी हिलारी क्लिन्टनले २२०२ डेलेगेट्सलाई आफ्नो पक्षमा पारिन् । यो दुवै संख्या डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेद्वार बन्न साथमा हुनुपर्ने डेलेगेट्सको संख्या २३८३ भन्दा कम हो । तर डेमोक्र्याटिक पार्टीमा प्रत्यक्ष निर्वाचनबाट प्राप्त गरिने डेलिगेट्स बाहेक पनि पार्टीको बिभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेर बसेका व्यक्तिहरु जसलाई सुपरडेलिगेट्स भनिन्छ, उनीहरुलाई पनि राष्ट्रपतीय उम्मेद्वार चुन्न पाउने अधिकार हुन्छ । तर यस्ता सुपरडेलिगेट्सले पार्टिगत चुनावी प्रकृयाको अन्तमा हुने सम्मेलनमा मात्र आफ्नो मत हाल्छन् । बर्नी स्यान्डर्सको पक्षमा ४७ सुपरडेलिगेट्स छन् भने हिलारी क्लिन्टनको पक्षमा ५९४ सुपरडेलिगेट्स छन् । आउदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा हिलारी क्लिन्टन नै डेमोक्राटिक पार्टीको तर्फबाट हुने निश्चित छ । तर यसको आधिकारिकता प्राप्त गर्न उनले जुलाई अन्तमा हुने डेमोक्र्याटिक पार्टीको सम्मेलन पर्खनै पर्ने हुन्छ । हिलारी क्लिन्टन नै डेमोक्र्याटिक पार्टीको उम्मेद्वार हुने पक्का भएपछि बर्नी स्यान्डर्सले आफ्नो राजनैतीक अभियानको अवतरण कसरी गर्छन् भन्ने चासो बर्नी स्यान्डर्सको समर्थकहरुलाई मात्र नभएर हिलारी क्लिन्टन र डेमोक्र्याटिक पार्टीको संस्थापन पक्षलाई पनि उत्तिकै छ ।

आफ्नो चुनावी अभियानको क्रममा ठूला व्यपारीहरु र कम्पनीहरुसँग चन्दा नलिएर पनि चुनावी खर्च पुर्याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका बर्नी स्यान्डर्सले युवायुवती र स्वतन्त्र मतदाताहरुमाझमा एउटा राजनैतीक तरङ नै ल्याएका थिए । अमेरिकी राजनीतिमा युवापुस्ताले विरलै देखाउने चासो र सहभागिता यो पटकको प्रारम्भिक चरणमा चुनावमा देखाएका थिए । बर्नी स्यान्डर्सका राजनैतीक मुद्दाहरु बिशेष गरेर माथिल्लो १ प्रतिशत धनाड्य र ठूला कम्पनीहरुलाई बढी कर लगाउने, विद्यार्थीहरुको कलेजको ट्युसन हटाउने, सरकारद्वारा सबैको निमित्त स्वास्थ्य बिमा प्रदान गरिने, सोशल सिक्युरिटीको थप बिस्तार गरिने आदीलाई धेरैले मनपराए पनि आशा गरे झै मत प्राप्त गर्न उनी असफल रहे । उनका समर्थकहरुले आरोप लगाए जस्तै केही हदसम्म ठूला मिडियाले बर्नी स्यान्डर्सलाई आफ्नो प्रसारणमा उचित स्थान नदिएको पक्कै हो । तर बर्नी स्यान्डर्सको सबैभन्दा ठूलो असफलता अफ्रिकन अमेरिकी समुदायको समर्थन पाउन नसक्नुरह्यो । अफ्रिकी अमेरिकनहरुको जनघनत्व रहेको थुप्रै दक्षिणी राज्यहरुमा बर्नी स्यान्डर्स हिलारी क्लिन्टन भन्दा धेरै पछि परे । मार्टिन लुथर किङको राजनैतीक अभियानमा सँगै हिंडेका र अफ्रिकन अमेरिकन समुदायको मुद्दाको लागि लडेका बर्नी त्यो समुदायसँग घुलमिल हुन असफल रहे । त्यो बाहेक पनि थुप्रै राज्यहरुमा स्वतन्त्र मतदाताहरुले बर्नीलाई भोट हाल्न नपाउनु र मतदाता दर्ता गर्ने समय धेरै अगाडि नै सकिनुले पनि हिलारीलाई भन्दा बर्नीलाई नै बढी बेफाईदा गर्यो ।

प्राम्भिक चरणको शुरुका केही निर्वाचनहरुमा पछि परे लगत्तै आफ्नो चुनावी अभियानको अन्त्य गर्न र डेमोक्र्याटिक पार्टीको राष्ट्रपतीय उम्मेद्वारको रुपमा हिलारी किलिन्टनको समर्थन गर्न बर्नी स्यान्डर्सलाई लगातर दवाब पर्दै आएको थियो । यसै बिच मार्च र अप्रिल महिनामा भएका केही प्रतिस्पर्धाहरुमा बर्नी स्यान्डर्सले पाएको सफलताहरुबाट यस्तो दवाब दिनेहरु हच्किएनन् मात्र बरु हिलारी क्लिन्टन पक्ष पनि केही दवाबमा परेको थियो । तर क्यालिफोर्निया राज्यमा भएको प्रारम्भिक चरणको अन्तिम ठूलो प्रतिस्पर्थामा पनि बर्नी स्यान्डर्सले हिलारी क्लिन्टनलाई पछि पार्न सकेनन् । त्यसपछि धेरैले अब बर्नी स्यान्डर्सले आफ्नो चुनावी अभियान टुङयाउने छन् र हिलारी क्लिन्टनलाई समर्थन गर्नेछन् भन्ने आशा गरेका थिए । तर त्यसको विपरित आफ्नो पछिल्लो प्रत्यक्ष भिडियो प्रसारण मार्फत उनले रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदमा विजयी हुन नदिन हिलारी क्लिन्टनसँग सहकार्य गर्न इच्छुक रहेको बताए पनि आफ्नो राजनैतीक अभियानको अन्त्य नभैसकेको र जुलाईको अन्त्यमा हुने डेमोक्र्याटिक पार्टीको सम्मेलनमा आफ्ना एजेन्डाहरुलाई स्थापित गराउन संघर्ष गरिरहने बताए । उनले हिलारी क्लिन्टनसँगको आफ्नो सहकार्य हिलारी क्लिन्टन र डेमोक्र्याटिक पार्टीले कसरी सम्बोधन गर्छन् भन्ने कुरामा निर्भर रहनेछ पनि भनेका छन् । डोल्यान्ड ट्रुम्पको उदयसँगै अनुदारवादी रिपब्लिकन पार्टी सैद्दान्तिक रुपमा धराशायी भएको मान्नेहरु हिलारी क्लिन्टनलाई आधुनिक रिपब्लिकन भन्न पछि पर्दैनन् । यस्तोमा बर्नी स्यान्डर्सका प्रगतिशील मुद्दाहरुलाई हिलारी क्लिन्टनले सम्बोधन कसरी गर्छिन् त्यसले ठूलो महत्व राख्छ । हिलारी क्लिन्टन र डेमोक्र्याटिक पार्टीको अहिलेको ठूलो टाउको दु:खाइ कसरी बर्नी स्यान्डर्सलाई हिलारी क्लिन्टनको समर्थन गर्नमा सहमत गराउने र राष्ट्रपतीय चुनावमा उनको करोडौ समर्थकहरुको भोट प्राप्त गर्ने भन्ने नै हो । अर्को तर्फ बर्नी स्यान्डर्सले पनि हिलारी क्लिन्टनलाई सजिलै समर्थन गर्ने अवस्था छैन । प्रारम्भिक चरणमा उनलाई मत दिएका १ करोड २० लाख मतदाताहरु मध्ये थुप्रैले धेरै अघि देखि 'बर्नी अर बस्ट' अर्थात बर्नी उम्मेद्वार भएनन् भने निर्वाचनमा भागै नलिने भन्ने अभियान शुरुदेखि नै चलाऊदै आएका छन् र कतिपयले यदि बर्नीले हिलारीलाई समर्थन गरेमा त्यो आफूहरुमाथि विश्वासघात हुने भन्दै आएका छन् । उनका समर्थकहरुमा युवा युवतीहरु र स्वतन्त्र मतदाताहरुको संख्या अधिक रहेकोले पनि उनीहरुले तत्कालै हिलारीलाई समर्थन गरिहाल्न गार्हो छ ।

प्रारम्भिक चरणको अन्तिम निर्वाचनको परिणाम आइसक्दा पनि बर्नी स्यान्डर्सले हिलारी क्लिन्टनलाई खुलेर समर्थन नगर्नुले उनी स्वतन्त्र उम्मेद्वारको रुपमा उठ्ने संभावना पनि बाँकी नै छ । उनका धेरै समर्थकहरु पनि यही चाहन्छन् । हुन पनि आफ्नो अढाइ दशक लामो राजनैतीक जीवनकालको पछिल्लो र छोटो समय अवधि मात्र बर्नी स्यान्डर्स डेमोक्र्याटिक पार्टीसँग आवद्द भएका हुन् । त्यसैले उनका थुप्रै समर्थकहरु डेमोक्र्याटिक पार्टी संस्थापन पक्षले उनलाई उचित न्याय नगरेकोले उनले पनि पार्टीप्रति इमान्दार हुनुनपर्ने तर्क गर्छन् । यदि साँच्चै बर्नी स्यान्डर्सले स्वतन्त्र उम्मेद्वारको रुपमा राष्ट्रपतीय निर्वाचनमा भाग लिए भने हिलारी क्लिन्टनको प्रथम अमेरिकी महिला राष्ट्रपति हुने सपना पूरा नहुन पनि सक्छ । अधिकांश युवा र स्वतन्त्र मतदाताहरुले हिलारीको तुलनामा बर्नीलाई नै रोज्नेछन् । अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा पार्टीमा आवद्द र पार्टीप्रति इमान्दार रहेका मतदाताहरुबाट भन्दा पनि स्वतन्त्र मतदाताहरुको मतबाट निर्णित हुने परम्परा रहदै आएको छ । जातीय, धार्मिक र लैङिक रुपमा अत्यन्त असहिष्णु देखिए पनि बर्नी स्यान्डर्स जस्तै डोनाल्ड ट्रम्पले पनि स्वतन्त्र मतदाताहरु बिशेष गरेर राजनैतीक पार्टी र नेत्रित्वसँग रुष्ट भएकाहरुमाथि राम्रो प्रभाव जमाएका छन् । डोनाल्ड ट्रुम्पले हिलारी क्लिन्टन विरुद्द उनको ती सबै कमजोर पक्षहरुमा प्रहार गर्नेछन् जुन बर्नी स्यान्डर्सले प्रारम्भिक निर्वाचनको दौरानमा देखाएका थिए । यस्तो अवस्थामा हिलारी क्लिन्टनलाई 'महिला'को कार्डले मात्र चुनाव जिताउन सक्दैन, बर्नी स्यान्डर्सको सद्भाव र सहयोग अनिवार्य छ । डेमोक्र्याटिक पार्टी र हिलारी क्लिन्टनले कसरी बर्नी स्यान्डर्सलाई आफ्नो चुनावी अभियानमा समाहित गर्छन् त्यो हेर्न केही समय कुर्नै पर्ने हुन्छ । तर बर्नी स्यान्डर्सको विकल्प यतिमा मात्र सिमित छैन । बर्नी स्यान्डर्सलाई आफ्नो पार्टीको उम्मेद्वारको रुपमा उठाउन कतिपय साना पार्टीहरुले पनि त्यतिकै प्रयास गरिरहेका छन् । बर्नी स्यान्डर्सले देखाएको बाटोमा र उनले गरेको आव्हानको फलस्वरुप यो चुनावी दौड भन्दा एक कदम पर समग्ररुपमा राजनैतीक व्यवस्थामा सुधार ल्याउन चाहने युवाहरुबाट ग्रासरूट मुभमेन्ट शुरु भइसकेको छ ।

http://brtnepal.com/literatures.php?pid=12480#sthash.ULeF0UHx.dpbs
Read Full Discussion Thread for this article