Posted by: _ May 31, 2016
आखिर के हो मेरो पहिचान ?
Login in to Rate this Post:     0       ?        

Please read this blog by someone posted several years ago:

http://rohinishukra.blogspot.com/2011/12/blog-post_21.html


आज मलाई धेरै समयदेखि खड्किएको जातीयताको सवालबारे लेख्दै छु। जातीयताबारे थुप्रै बहस, भाषण भएका छन्, थुप्रै लेखहरू लेखिएका छन्, कति कार्यक्रमहरू भएका छन्। थुप्रै विद्वान्हरूले आ-आफ्ना विचारहरू राखेका छन्, र थुप्रै नविन र नवोदितहरूलाई यही विषयले स्थापित नायक समेत बनाइदिएको छ। तर मलाई सधै "म कुन जातिको हो?" भन्ने खड्किरह्यो र कुरिराखें कोही विद्वान्ले पक्कै प्रष्ट पार्नेछन्। तर अहँ, कतै आएन।

नयाँ संविधान बनाउने चर्चा छ र यसमा जातीयतालाई प्राथमिकता दिनुपर्छ भन्ने सशक्त आवाज यत्रतत्र छ। तर जनताहरूलाई जातिका कित्तामा कसरी छुट्टाउने भन्नेबारे कत्तिको गम्भीर बनिएको छ? कस्तो आधारले वर्गीकरण गर्ने हो? कतिवटा जाति कायम गर्ने हो? जनतालाई नागरिकता दिंदा त्यसैमा जाति खुलाउने हो कि, पासपोर्टमा खुलाउने हो कि, जन्म दर्ता प्रमाणपत्रमै जाति खुलाएर दिने हो कि? प्रमाणपत्र जे दिए पनि गाँठी कुरो- हराउन लागेको जातीयता फेरि एकपटक मजबुत पारेर हरेक नागरिकलाई "तँ यो जातको, तँ त्यो जातको" भन्ने टीका लगाइने होला।

नयाँ जन्मिनेहरूलाई त ती बिकल्प होलान्, अनि हामीजस्ता पहिल्यै नागरिकता लिएकाहरूलाई के चिनारी दिने हो? के हामीले प्रशासन कार्यालय आदिमा गई यस्तो पहिचान पत्र लिनुपर्ने वा पाइने हो? अनि हामीलाई "यो यो जातको" भनेर कसी लाउने आधार के हुने हो? बोलीचालीकै आधारमा जस्तो हलुका परिभाषा दिने हो भने के त्यो कानुनी हुन्छ? संसार बैज्ञानिक युगमा प्रवेश गरेको छ, हामी पनि त्यसैलाई पछ्याउँदै जीन-डिएनए परीक्षणलाई आधार बनाउने हो कि? कि हाम्रै पुरानो प्रचलनको पञ्च भेलाजस्तै कुनै सभा गठन गर्ने र उसैको तजबिजीमा निर्णय गर्ने हो? यदाकदा संभावना देखाइने गरेको "भाषा" लाई आधार मान्न त पक्कै मिल्ने छैन। त्यसो हो भने त सायद हिन्दी बोल्ने सबै भारतीय हुने होलान्, अंग्रेजी बोल्ने सबै बेलायती हुने होलान्। फेरि भाषा त जुन जातको बन्न मन लाग्यो त्यो मन लागेर सिक्यो भने केही महिनामै सिक्न पनि संभव छ। धेरै भाषा जान्नेको हकमा पनि कुरो गहन हुने होला। फेरि उदाहरणको लागि- कतिपय अहिले नेवार मानिनेलाई नेवारी आउँदैन, तिनीहरूले पनि संकट पैदा गर्ने होलान्। मानौँ, मलाई वरपरकाले क्षत्री भन्छन् तर मैले मगर हूँ भन्ने दाबी गरेँ भने त्यो कुराको फैसला कसले कसरी गर्ला? अहिले मालपोत कार्यालय बाहिर लेखनदास बसेर जग्गाको लेखापढी गरेजस्तै संभवत: जाति, थर, गोत्र, भाषा आदिको व्यापार चम्कने हो?

त्यस्तो व्यवस्थामा सायद दुई फरक जातिबीचको बिवाहलाई प्रतिबन्ध लगाइन्छ कि, के हुन्छ? मानौँ, नेवार भनिएको नागरिकले तामाङ भनिने नागरिकसित बिहे गर्यो भने उनीहरूको बच्चा के जातको हुने हो? नारी पुरूष समानताको कुरा गर्ने हो भने कुनै एक जात दिन पक्कै मिल्ने छैन। फेरि त्यो ‌संतानले नेवारसित बिहे गरेर जन्मेको तेस्रो वंशको बच्चा के जातको हुने हो? नेवार नभई बाहुनसितै बिहे गरेर जन्मेको अवस्थामा बच्चाको जात के हुने हो? यसरी पहिलो पुस्तामा के-के हुने, दोस्रो पुस्तामा के-के हुने, तेस्रो पुस्तामा के-के हुने भनी कानुन बनाउनु पक्कै पनि साह्रै गाह्रो विषय हुने होला। डि एन ए परीक्षण गर्ने हो कि, पञ्च भेला डाक्ने कि के गर्ने? संभवत यो सरकारको कार्यक्रम विपरित हुने हुँदा यस्तो कार्यलाई अवैधानिक घोषणा गरी दुवैलाई कारबाही गर्ने व्यवस्था हुने हो कि? तत् पश्चात् बिहेमा जात जातिको विषय सबैभन्दा महत्वपूर्ण हुने भयो। जाति जातिबीच लक्ष्मणरेखा नै कोरिने भयो। नागरिक नागरिक समान हुन् भन्ने कुराको त अवशेष पनि बाँकि नरहने भयो। जातिहरूबीचको परस्पर संबन्धमा न्युनीकरण आई शुन्यप्राय: हुने भयो।

आइन्दा हुने बिहेवारी त कानुले बर्जित गर्न सक्ने भयो, तर भइसकेकाको हकमा के नियम लागू हुने हो? अन्तरजातीय भनिने बिहे भई जन्मेका बच्चा के जातका हुने हुन्? दोस्रो पुस्तामा पनि अन्तरजातीय बिहे भएको भए नाति पुस्ता के जातका हुने हुन्? पनाति पुस्ता?---

कुरो त्यतिमै सीमित छैन। थुप्रै नेपालीले विदेशीसित बिहे गरेका छन्, कति विदेशीहरू नेपाली नागरिक भएका पनि छन्। तिनीहरूलाई कुन जाति दिइने हो? जातिअनुसार अधिकार बाँडिने भएपछि ठूलो र सानो पनि पक्कै बन्ने छन्। त्यस्तो दर्जामा ती विदेशी कुन दर्जामा रहने हुन्? माथि दुई जातिको बिहेमा भनिएजस्तै नयाँ संविधानमा विदेशीसित बिहे गर्न पनि प्रतिबन्ध लगाउनु पर्ने हो कि?

मानवअधिकारका कुरा भइरहेको परिवेशमा, विश्व रंगभेद नीतिविरुद्ध लम्केको घडीमा, समावेशिताको आवाज उठिरहेको बखतमा के जातीयताको यो विषय सरासर उल्टो प्रतीत हुँदैन? अझ आश्चर्य त के भने "समावेशी" शब्दकै खिल्ली उड्ने गरी नितान्त उल्टो लाग्ने निर्णयहरू पो भइरहेछन्। हालै आएको एउटा नमुनाले भन्दै थियो, सेनालाई समावेशी बनाउन सेनामा एउटा छुट्टै मदेशी गण बनाउने रे। ए बाबा, समावेशी भनेको त मिसावट गर्ने भनेको होला नि, छुट्टै बनाउने भनेको त "समावेशी"को विपरितार्थक शब्द हो। के हामीले समावेशी भनेर "शुद्ध वा विभाजित" भन्न खोजेको हो? यदि त्यसो हो भने शब्द फेर्नु उपयुक्त हुन्छ। 

मेरो आग्रह छ, मैले माथि उठाएको विषय धेरैलाई शुरुमा मन पर्ने छैन, तर कृपया: विषय गम्भीर छ, गम्भीरतापूर्वक विचार गर्नुहोला। मेरो विचारमा जातीयताको विषय पूर्णत: निरर्थक र वाहियात हो। बरू हामी सबैले थर फेरेर सबैले "नेपाल" थर लेख्ने संवैधानिक व्यवस्था गर्नु समानता र समावेशिताको हिसाबले श्रेयष्कर हुन सक्छ। होइन मेरो बुझाइमा कमजोरी देख्नु हुन्छ र संवैधानिक हिसाबले नै यकिन गरी "यो जातको" भन्ने आधार छ भने मलाई पनि जानकारी दिनुहोला। बखेडा विवाद भने खोजेको होइन।

पछि पछुतो नहोस्, धन्यवाद।
Read Full Discussion Thread for this article