Posted by: cybernepali April 5, 2016
२१ वर्षअघि हत्या गरेर अमेरिका भागेर ग्रीन कार्ड लीसकेका टासी अन्तत: नेपालमा समातिए
Login in to Rate this Post:     0       ?        

काठमाडौं  : २१ वर्षअघि इटालियन नागरिकको हत्या गरी फरार भएका टासी गुरुङलाई प्रहरीले पक्रेको छ।

२०५२ असोज २७ गते काठमाडौं ठमेलको रेगी पबमा इटालियन नागरिक क्यारारो डेभिडको हत्या कुटपिट तथा छुरी प्रहारबाट हत्या गर्ने  मनाङ जिल्ला मनाङ गाविस नावल गाउँ घर भएका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले केही दिनअघि काठमाडौंको होटल कन्ट्रीयार्डबाट पक्राउ गरेको हो।

यस्तो थियो घटना विवरण

इटालियन नागरिक डेभिड क्यारारो र उनका दुई जना महिला साथीहरु एन्टेनोला केसराइनी र लारा स्किबिना ठमेलको रेगी पवमा बसिरहेका थिए। त्यतिबेला टासी र उनका साथीहरुले इटालियन महिलाहरुमाथि आपत्तिजनक ब्यबहार गरेका थिए।

त्यसै विवादमा टासी र उनका साथीहरुले कुटपीट र छुरी प्रहार गरेर सख्त घाइते बनाएका थिए। उनलाई रेगी पवका सञ्चालक रामकृष्ण डंगोलले वीर अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए।

घटनाको डेढ वर्षसम्म टासी नेपाल र भारतका बिभिन्न स्‍थानमा लुकेर बसेको र त्यसपछि नक्कली पासपोर्ट लिएर अमेरिका पुगेको सिआइबीका प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए।

नक्कली पासपोर्ट लिएर अमेरिका

घटनाको करिव डेढ बर्षपछि निजको बाबु कालु मनाङ्गे भन्ने तेन्जिङ गुरुङले अमेरिका जानलाई गोरखाका सण्डुप घलेको नामको भिसा लागेको २९६१५५० नम्बरको पासपोर्ट चार लाख पचास हजारमा खरिद गरी फोटो परिवर्तन गरी टासी गुरुङको फोटो राखी अमेरिका पठाएका थिए। टासीले अमेरिकामा पासपोर्ट हराएको भनेर नयाँ पासपोर्ट लिएका थिए।  


उनले त्यसै पासपोर्टको आधारमा अमेरिकामा ग्रिनकार्ड पनि लिएका सिआइबीले जनाएको छ। 'अहिलेसम्म टासी गुरुङले नागरिकता पनि लिएका छैनन्। तर उनले सण्डुप घलेको नामकै डकुमेन्टहरु प्रयोग गरेको देखिएको छ' सिआइबी प्रमुख सिलवालले भने। 


टासीले गोरखा छोप्राककी विमलादेवी पोखरेलको नामको नागरिकतामा आफ्नो फोटो टाँसेका थिए। त्यसै नागरिकताको आधारमा उनले सवारी चालक अनुमतिपत्र पनि बनाएका थिए। 

उनी साढे ३ वर्षअघि काठमाडौं फर्किएका थिए। उनकी पत्नीले लाजिम्पाटको साग्रिला होटल नजिकै पश्मिना पसल सञ्चालन गर्ने गरेकी छन्।

'यो घटनाले अपराध गरेर बिसौं वर्ष लुकेपनि विदेश गएपनि भाग्न सकिदैन भन्ने प्रष्ट भएको छ' आइतबार अभियुक्त सार्वजनिक  गर्न आयोजित पत्रकार सम्मेलनमा डिआइजी सिलवालले भने 'अपराध गरेर बच्न सक्छु, भाग्न सक्छु भन्नेहरुका लागि म्यासेज हो।' 

२१ वर्षअघि इटलीका नागरिकको हत्या भएपछि त्यसले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको थियो। 'त्यस घटनाको पछिल्लो वर्ष १ जना पनि इटलीका नागरिक नेपाल भ्रमणमा नआएको देखिएको थियो' सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले भने। 




इटलीका नागरिक क्यारोरा डेभिडको हत्या घटनाको मुख्य योजनाकार टासी नै भएको प्रहरीको दावी छ। यस घटनामा संलग्न ८ जना अझै फरार रहेका सिआइबीले जनाएको छ। 'उनीहरु धेरैजसो विदेशमा नै रहेका डिआइजी सिलवालले जनाए। उनीहरुलाई पक्राउ गर्न इन्टरपोल लगायतका निकायको सहयोग लिनेछौं' उनले भने। 

यस घटनामा नक्कली राहदानी र सवारी चालक अनुमतिपत्र लिएको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 'नक्कली राहदानी, लाइसेन्स र सरकारी छाप कीर्ते गरेको विषयमा पनि अनुसन्धान भइरहेको छ' डिआइजी सिलवालले भने। - See more at: http://www.pahilopost.com/content/-14780.html#sthash.9kTPkEF2.dpuf
Read Full Discussion Thread for this article