Posted by: Rahuldai February 29, 2016
हरियो पर्दा भित्रको वास: र अमेरिकामा सपना बेच्नेहरुको पस:
Login in to Rate this Post:     9       ?         Liked by

हरियो पर्दा भित्रको वास:  र  अमेरिकामा  सपना बेच्नेहरुको पस:

वसन्तपुर् वरिपरिका पुरानो हाल बिरानो भएको वस्तीका गल्लीहरुमा हरियो पर्दा लगाएका छिंडीहरु असंख्य छन्, देख्नु भएकै होला| सानो छंदा बुबा  बिरामी हुँदा बखत  बीर अस्पतालका कक्षहरुमा हरियो पर्दा देखेको थिएँ र तिनै गल्ली भएर बाटो नाप्दा लाग्थ्यो  सानो तिनो अस्पताल नै  होलान् हरियो  पर्दाहरु | 

गल्ली गल्लीमा खुलेका यी भट्टीहरुको पहिचान हरियो पर्दा कहिले देखि र किन हुन गयो त्यसको प्रामाणिक इतिहास भेटिन्न | भट्टी अर्थात खाजाघर अर्थात चमेनागृह | खाजा बेचेर मुनाफा कमाउछु  भनेर पसल थाप्नु र कामाउनु ब्यबसायिक  धर्म नै हो यसमा बिमति न रहला | तर अधिकांश भट्टीमा दिन दहाडै वास: बेचिन्छ, सस्तो मुल्यमा | एक गिलास वास:को २० देखि ५० रुपैयामा बेचिने यी वास:हरुले असंख्य  ज्यान सुस्त सुस्त लाश हुँदै छ |वास: अर्थात शाब्दिक अर्थमा औषधि भट्टी भाषामा लोकल  रक्सी | युरिया लगायत घातक रासायनिक एवं बिष मिसाएर बनाइएका सस्तो रक्सी पिउनेहरुलाई म बिष पिउंदै छु, लिभर खियाउन्दै  छु भन्ने पक्कै थाहा हुँदो हो तर नशा र बजेटको सयुक्त प्रतिफल  वास: पिउँछन् | यहाँ  पिउने को दोष छैन भन्दिन |

तर मेरो यो लेखको मुख्य आशय बिष बेच्नहरुको मन हुन्छ कि हुँदैन  भन्ने बारे हो | कानून सानून दैब  जानुन, तर एक सचेत मान्छे भएर  आफ्नै टोल , वास्तिवारिपरिकालाई  पिउन अयोग्य  मदिरा बेच्न आत्माले दिन्छ कि दिदैन ? बेच्नै परे स्वास्थलाई  सिधै हानी नोक्सानी नहुने, घरेलु प्रयोजनको लागि  बनाइने  शुद्ध आयला बेचे पाप लाग्दैन  होला नै |

हरियो पर्दाको  अमेरिकामा सपना बेच्नेहरुको  संजालको अनुनियाश्रीत सम्बन्ध म देखि रहे छु | अमेरिकाको विभिन्न सहरहरु जहाँ नेपाली र नेपाली मूलका भुटानीहरुको बाक्लो  उपस्थिति  छन् त्यहाँ  बिगत केही बर्ष देखि सपना बेच्ने गन्यमान्यहरुको  चर्तिकला  बिस्तारै छताछुल हुँदै छ | जीवन बिमाको एउटा प्रडक्ट मीठो सपनाको लेपन  लगाएर  बेचिदै छन् | नेटवर्किंग जीवन बिमा मात्र  हैन  अरु कुनै बिमाको  चक्रब्युह  मै हुँ भन्ने शिक्षित  व्यक्तिलाई त बुझ्न गाह्रो हुन्छ भने  भर्खर  अमेरिकी सपना बोकेर  अमेरिकी धर्तीमा  पदार्पण गरेका  नेपाली र नेपाल भाषी भुटानीहरुले  शायदै बुझ्लान बिमाका जटिल अवयवहरु |  जीवन बिमाको मूल उद्देश्य भनेको कथंकदाचित भबितब्यबमा जीवन  गुमाए भने परिवारजन वा आश्रितजनले पाउने आकर्षक  धनराशी नै हो |

तर अमेरिकामा सोझा सिधा र केही छट्टुहरुलाई यसका अनेकन अतिसयुक्तिका  गुलियो चटाएर  बेचिदैछन् र घण्टा हानेर  कमाएका हरियो डलरको महत्वपूर्ण अंश बुझाउदै छन् | पिरामिड शैलीका  नेटवर्किंग  ब्यबसाय जो संसारका  धेरै देशमा  गैरकानूनी  मानिन्छन्, जीवन बिमा भित्र त्यो नेटवर्किंगबाट  हुन सक्ने  अप्रत्याशित लाभको ठुलो अंक देखाएर  बेचिदैछन्, किनिदैछन् | एकजना सदस्य भएर अर्को ५-७ जना सदस्य  बनाउन सकियो भने नयाँ सदस्यले तिरेको प्रिमियमको झन्डै आधा अंश पाउने प्रलोभनले जो सुकै आकर्षित नहुने कुरै छैन | आफुले तिरेको पैसा भन्दा बढी पैसा फिर्ता हुने आशाले उ अरुलाई मुर्गा बनाउन खोज्छन् र  आफु ठुलो मुर्गा भैसकेको  हेक्का राख्दैनन्| जति सदस्य बढ्यो त्यति नै बनाउने एजेन्ट मोटाउने कुरामा  पहिलो चरणमा ठगिएका ग्राहकलाई वास्ता  हुँदैन र अरुलाई नाता, सम्बन्ध, जातीको अचुक अस्त्र प्रयोग गरी रातारात धनी बन्ने सपना देख्छन् |


जब यस ठगी काण्डमा ठगिएको महशुश गर्ने अमेरिका मै सामाजिक र आर्थिक हैसियत  बनाइसकेका , तुलानात्कम रुपमा पढे लेखेकाहरुले  आफ्नो हर हिसाब गरे तिनीहरु सपनाको गल्छीमा खसे| जुन सुकै समयमा आफुले तिरेको प्रिमियम फिर्ता माग्न पाउने र ब्याज सहित रकम फिर्ता गर्ने भनी लेखिएको बिमा सम्झौताको अर्को पाटोमा  ससाना अक्षरले लेखिएका शर्तहरु धेरैले पढ्दैनन् | आफुले तिरेको जम्मा रकम फिर्ता लिंदा  अनेक धारा उपधारा बमोजिमको खर्च  र शुल्क काटेर दिने रहेछ | बर्षौं पछी ब्याज  सहित पाउने रकम आफ्नो पसिनाको डलर  भन्दा उल्लेख्य कम पाउने रहेछ | उदाहरणको लागि, (यु ट्युबमा भिडियो उपलब्ध छ), महिनाको ४ सय ( पुरै परिवारको बिमा प्रिमियम) तिरेर  १२ बर्ष पछी  फिर्ता माग्दा झन्डै ६० हजार बुझाएको रकम ५० हजारमा ब्याज सहित अबमुल्यन  हुने रहेछ | सामान्य हिसाबमा  पनि न्यूनतम ब्याज दरमा बैंकमा जम्मा गरे पनि त्यो ६० हजार  घटीमा ७५-८० हजार हुन जान्छ |

हो बिक्रीको राखिएको माल हो, नाफाको मार्जिन नराखी कसैले ब्यापार  गर्दैनन्, सत्य हो | कुन माल किन्ने हो वा अर्को माल किन्ने हो  ग्राहकको व्यक्तिगत निर्णय र इच्छा हो – यो पनि सत्य हो | सामान किन्दा बुझेर  जानेर किन्नु पर्छ – यो पनि सत्य हो | ब्यापारी वा बिक्रेताले  खस्रो माललाई पनि खाग्सी र वाक्स्  दलेर  चिल्लाएर  बेच्छन् – यो पनि सत्य हो | तर ठुलो “तर “ छ | पांच रुपैयाको सुन्तला २५ मा बेच्नुस् तपाइँ को खुसी  तर सुन्तलाको नाम मा बिष  बेच्न  पाइन्छ  कि पाइदैन ? यो सुन्तला  भित्र बिष  छ भन्दा भन्दै  किन्छ  भने ग्राहक मुर्ख  हो तर यस भित्र अमृत छ भन्दै बिष  बेच्न पाइन्छ  कि पाइदैन |


यी त भए सामान्य ठगीका कुरा | ठग्नेहरुको जमात बाक्लै भएको देशका जनता हौँ , ठग्नेहरु जतासुकै हुनु अनौठो हैन | नैतिकपतनको सीमा सम्म देखेको र भोगेको देशको नागरिक हुँ, धेरैबाट  नैतिकता प्रदर्शन  गर्ला  भन्ने आश पनि छैन | भ्याट छल्ने ब्यापारी देखि नक्कल्ली एड्स जाच्ने किट्स बेच्ने गिरोह देखेका नै हौ | छोरीलाई मुम्बई लगायतका  कोठीमा बेचेर घरमा जस्तापाताको छाना लाउने बस्तीका बस्ती नै देखेको छु | फकाएर फुलाएर मृगौला बेच्न लगाउने फताह देखि लिएर कौडीको दाममा घर खेत बेच्न लगाउने आफन्त धेरै देखेको छु | तर ठुलै  तर छ यहाँ निर | 

मलाई के लाग्थ्यो भने नैतिकता अलिकति भए पनि बचाएका समुदाय कुनै छ  भने त्यो साहित्यकार र कलाकार समुदाय हुन् | साहित्यकार, कबिको मन संबेदनशील हुन्छन्, अरुको पीडामा रुने आँखा हुन्छन्, अरुको ब्यथा धुने हात हुन्छन् – मलाई जस्तै धेरै लाग्थ्यो होला | अझै पनि साहित्यकार र कलाकारहरुको मुटु आम नागरिकको भन्दा  बढी धड्किन्छ भन्ने कुरामा बिश्वास गर्छु र गरिरहन्छु |

यो सपना बेच्ने एजेन्टहरु प्राय जसो नेपाली समुदायमा  चर्चित साहित्यकार र कलाकारहरु छन् | प्रतिष्ठित साहित्यकार महोदयले बाबु यो यस्तो राम्रो कुरा हो किन्दा फरक पर्दैन भने पछी न पत्याउने को हुन्छ ? कुनै पनि समारोह  वाह वाह लुट्ने गजलकार र संगीत सुनाउने संगीतकारज्यूले  तपाइँ सदस्य  बन्नुस् मा जस्तै मालामाल हुनुहोस् भनेर भन्यो भने नफस्ने को होला र ? “अहिले म यस ब्यबसायमा लागेर धेरै फाइदा भएको छ , हफ्ता मा ७-८ घण्टा  ब्यस्त भएर पुग्ने आम्दानी  गरेको छु , बाँकी समय  समाजसेवा मा अर्पण गरेको छु “ भन्दा कुन चाहि मान्छे नापग्लिएला ? समाज कै चर्चित- प्रतिष्ठितहरु लप लहलहैमा सपना किन्नेहरु हजारौंमा पुगिसके | मुश्किलले  बाच्ने जोहो गर्नेहरुको पसिनामा पौडी खेलेर बैभवी जिन्दगी बिताइरहने  यी साहित्यकार-कलाकारहरु र त्यो हरियो पर्दा भित्रका युरियाको झोललाई रक्सी भनेर  बेच्नेमा के फरक भो ?? रक्सी बेच्नेले जस्तै यिनले पनि  जिउंदै मार्दै छन् | 

समाजमा भट्टीवाल मात्र बदनाम  हुने तर उस्तै ब्यबसाय  गर्नेहरु फूलमाला र खादा ओढेर  गरिबको पसिना चुसेर  ढ्याउउ  गर्दैछन् | र पनि नेपालीहरु  अनेकन भय र संस्कारको डरले बोल्ने हिम्मत गर्दैनन् |  

अस्तु !

 

 

Read Full Discussion Thread for this article