Posted by: taraniraula January 1, 2016
नेपाल टुक्र्याउने अभियान
Login in to Rate this Post:     0       ?        

नेपालमा नाकाबन्दी गरिरहेको भारतले नेपालको तराई–मधेसलाई ६ महिनामा अलग देश बनाउने अभियानलाई सघाइरहेको छ । डा. सीके राउतको अगुवाइमा भारतले तराई–मधेसका धेरै जिल्लामा स्वतन्त्र मधेस नामक आन्दोलन चलाइरहेको छ । तराई–मधेसका जानकारहरुका अनुसार अहिले तराईका सबैजसो जिल्लामा स्वतन्त्र मधेस आन्दोलनका नाममा सशस्त्र गतिविधिको तयारी भैरहेको छ । धेरै जिल्लाका हरेक निर्वाचन क्षेत्रमा सीके राउतको अगुवाइमा युवा दस्ता तयार पारिएको छ । राउत नेतृत्वको मधेस आजादी आन्दोलन नामक अभियानले नयाँ आन्दोलनको स्वरुपसमेत सार्वजनिक गरेको छ ।

अहिले चलिरहेको आन्दोलनलाई भारतले छुट्टै देशका रुपमा स्थापित गर्ने आधारका रुपमा लिएको छ । त्यसैले भारतले नेपालमा लगाएको नाकाबन्दीलाई अलि लामो समयसम्म निरन्तरता दिन खोजिरहेको छ । नाकाबन्दीले राउतको उद्देश्य पूरा गर्न फाइदा पुगेको छ । भारतसँगको सल्लाहमै राउतले आइतबार आफ्नो फेसबुक पेजमार्फत नयाँ रणनीति सार्वजनिक गरेका छन् । तर, उनले सार्वजनिक गरेको विषय उनले पहिल्यैदेखि उठाउँदै आएको कुरा हो । उनले हरेक गाउँ–गाउँमा निर्वाचन गराउने र मधेस संसद्को स्थापना गर्ने, त्यसैका आधारमा मधेस सरकार घोषणा गर्ने र अन्तर्राष्ट्रिय मान्यता पाउनका लागि आह्वान गर्ने योजना बनाएका छन् ।

यस्तो छ देश टुक्र्याउने योजना

स्वतन्त्र मधेस अभियान थालेका सीके राउतले पहिलो चरणमा तराई–मधेसमा बसोबास गर्ने नागरिकलाई विभेद गरिएको भ्रम छर्नेछन् । उनले सभा, सम्मेलनमार्फत जनतालाई मधेस छुट्टै राज्य बनाउनुपर्छ भन्ने भारतीय योजनालाई अगाडि बढाउने छन् । अहिलेको आन्दोलनले पृथकतावादी आन्दोलनलाई सघाइरहेको छ । तराई–मधेसमा सीके राउतप्रतिको आकर्षण बढ्दै गएको छ । तराई–मधेसका दलहरु कमजोर भएका छन् भने मुख्य राजनीतिक दलको धरातल कमजोर बनेको छ । यो अवस्था बुझेका राउतले स्वतन्त्र मधेस आन्दोलनलाई स्थापित गर्ने अभियानमा जुटेका छन् । दोस्रो चरणमा उनले स्वतन्त्र मधेस गठबन्धन नामक अभियानमा राजनीतिक समिति बनाउने योजना छ । त्यसपछि उनले संवैधानिक सुझाव समिति गठन गर्ने जसमा पूर्वन्यायाधीशलगायत समाजका विभिन्न वर्गका प्रतिनिधिलाई सहभागी गराउने छन् । उनको योजनाअनुसार त्यसपछि पूर्वनिर्वाचन आयुक्तलगायतको नेतृत्वमा मधेस निर्वाचन आयोग गठन गरिनेछ । निर्वाचन आयोगलाई सघाउनका लागि जनशक्ति र पूर्वाधार निर्माण गर्ने उनको योजना छ ।

राउतले तेस्रो चरणमा मधेस सभा अर्थात् मधेस संसद्को निर्वाचन घोषणा गर्ने र ३ देखि ६ महिनाभित्र चरणबद्ध रुपमा मतदान सम्पन्न गराउने बुनेका छन् । उनको योजनाअनुसार त्यसरी गरिएको मतदानमा ५० प्रतिशतभन्दा धेरै जनताले जनमत संग्रहमा भाग लिनेछन् । नेपालमा रहने वा मधेसमा रहने भन्ने विकल्पमा उनले जनमत संग्रहको तयारी पनि गरेका छन् । त्यसरी निर्वाचनपश्चात् बन्ने सरकारलाई मधेस सरकार घोषणा गरिने र वैधानिक हिसाबले सरकार बनाइएकाले अन्तर्राष्ट्रिय समर्थन मिल्नका लागि सजिलो हुने उनको अनुमान छ । त्यसरी गरिने मतदानमा अहिले आन्दोलनरत दल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेता–कार्यकर्ता पनि सहभागी हुने उनको विश्वास छ ।

अबको एक महिनाभित्र उनले यो अभियानलाई व्यावहारिकतामा लैजाने तयारी गरेका छन् । त्यसरी गरिने निर्वाचनका लागि उनले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँग अहिले परामर्श गरिरहेको स्रोतको दाबी छ । वैधानिक हिसाबले गरिएकाले भारतलगायत विदेशी समर्थन पाएमा मधेस छुट्टै राज्य बन्ने र विखण्डनवादी आन्दोलन सफल हुने भारतको पनि विश्वास रहिआएको छ । यही अभियानमा लागेका राउतले भारतीय दूतावासको योजनामा तराईमा आफ्ना क्रियाकलाप अगाडि बढाइरहेका छन् । उनले अहिले पनि विभिन्न ठाउँमा जनमतको नाममा विखण्डनवादी अभियान चलाइरहेका छन् ।

मधेसी मोर्चाका नेता–कार्यकर्ताले गरेको आन्दोलनले उनलाई धेरै नै सहयोग पुगेको छ । गाउँका जान्ने–बुझ्ने आन्दोलनका लागि सदरमुकाम, राजमार्ग र सीमा नाकामा केन्द्रित भएका छन् । सुरक्षाकर्मी पनि आन्दोलनकारी जहाँ–जहाँ गएका छन, त्यहीं–त्यहीं केन्द्रित भएका छन् । यसले राउतको आन्दोलनलाई सघाइरहेको छ । त्यसमाथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बेचुँ गौडलगायत तराई–मधेसमा काम गर्ने धेरै पत्रकार पनि स्वतन्त्र देशका नाममा विखण्डनवादी आन्दोलनमा लागेका छन् । तर, उनीहरुलाई कारबाही गर्नेतिर सरकारले ध्यान दिन सकेको छैन ।

को हुन् राउत ?

सप्तरीको महादेवा गाउँमा जन्मिएका चन्द्रकान्त राउत अमेरिकामा वैज्ञानिकका रुपमा कार्यरत रहेका थिए । अमेरिकामा रहेकै अवस्थामा उनकै अध्यक्षतामा गैरआवासीय मधेसी संघ स्थापना गरिएको थियो । अमेरिकासम्म कसरी पुगे त ? पढाइमा तेज क्षमताका उनी काठमाडौंमा रहेको त्रिभुवन विश्वविद्यालयमा पढेका हुन् । इन्जिनियरिङ पढेका उनले विभिन्न सम्मान तथा विभूषणसमेत पाएका व्यक्ति हुन् । उनी पछि पढ्नका लागि जापान पुगे । सन् २००४ मा जापानबाट फर्किएपछि उनी भारतका विभिन्न धार्मिक स्थानमा भगवान खोज्न भन्दै गेरु वस्त्रसहित निस्किएका थिए । उनको आत्मकथालाई आधार मान्ने हो भने उनी जापानमा मास्टर्स सकेर बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा विद्यावारिधिका लागि पुगे । उनले त्यहींबाटै विद्यावारिधिको उपाधि प्राप्त गरे ।

भारत भ्रमणपछि उनले मधेसलाई छुट्टै देश बनाउने अभियान थाले । उनले झण्डा, राष्ट्रिय गानलगायत देशका लागि आवश्यक हुने सामग्री तयार गरेर मधेसवादी दलका शीर्ष नेतालाई भेट्न थाले । यही क्रममा उनी अमेरिकातर्फ लागे । सन् २००९ मा अमेरिकाको बीबीएनमा वैज्ञानिकका रुपमा उनी काम गर्न थाले । झण्डै मासिक १४ लाख नेपाली रुपैयाँ तलब पाउने उनले सन् २०११ मा जागिरबाट राजीनामा दिएर नेपाल फर्किए । नेपाल फर्किएपछि उनले मेची–महाकाली यात्रा थाले । त्यसै क्रममा उनको भारतीय नेताहरुसँग भेटघाट भयो र अहिले मधेस स्वतन्त्रताको आन्दोलनमा उनी क्रियाशील रहेका छन् ।

मानवअधिकारवादीको साथ

विखण्डनवादी आन्दोलनको विरोधमा नेपालमा ठूलो जनमत तयार भएको छ । तराई–मधेसमा बस्ने नेपाली नागरिकले राउतको आन्दोलन रोक्न र उनलाई प्रतिबन्ध लगाउन माग गरेका छन् । बेला–बेलामा पक्राउसमेत परेका राउतलाई ह्यूमन राइट्स वाच र एम्नेष्टी इन्टरनेशनलले बचाउ गरेका छन् । एम्नेष्टीको क्रियाकलापको त नेपालमा ठूलै विरोध भएको थियो । एक वर्षअघि राउतको विषयमा धारणा सार्वजनिक गरेपछि नेपाली नागरिकले एम्नेष्टीको आलोचना गर्दै राजीनामा दिएका थिए । अघिल्लो वर्ष मानवअधिकारवादी नेता कृष्ण पहाडीले एम्नेष्टीको राउत मोहका कारण नेपालमा मानवअधिकारवादी संघसंस्थाप्रतिको विश्वसनीयता नै खराब भएको भन्दै चर्को आलोचना गरेका थिए ।

सन् २०१४ मा एम्नेष्टीले नेपालबारे धारणा सार्वजनिक गर्दै मानवताविरोधी अभिव्यक्ति दिने राउतको पक्षमा वकालत गरेको थियो । यसले नेपालमा एम्नेष्टी बहिष्कार जस्तै बनेको छ । एम्नेष्टीका अध्यक्ष सलिल सेठ्ठी भारतीय नागरिक भएकाले उनले नै नेपालको अस्मिताविरोधी राउतको पक्षमा वकालत गरेका थिए । लामो समयदेखि एम्नेष्टीमा क्रियाशील पहाडीलगायत सबैजसोले त्यो संस्थाबाट पनि बिदाइ लिएका थिए । भारतको बैंगलोरका नागरिक सेठ्ठीले नेपालविरोधीलाई सघाएको एम्नेष्टीमा आबद्धहरुले बताएका छन् । त्यसैले पनि राउतलाई अगाडि बढाएर नेपाललाई भौगोलिक रुपले नै विभाजन गर्ने अभियानमा अप्रत्यक्ष रुपमा भारत सक्रिय भएको छ ।

Read Full Discussion Thread for this article