Posted by: metta December 3, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        

भ्रष्टाचारबाट उब्जिएको सत्ता

नवीन अर्याल

मंसिर ११, २०७२- 
सन् १९९३ मा बंगलादेशमा दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको आयोजना हुँदै थियो । त्यसका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाडी छनोट भैरहेको थियो । त्यसमा धनबहादुर बस्नेत नेपाली टिमका मुख्य प्रशिक्षक थिए । उनले १८ सदस्यीय टिमको नाम घोषणा गर्ने क्रममा गणेश थापालाई टिमबाट बाहिरै राखे । 

त्यसपछि नेपाली खेलकुदमा ठूलो विवाद उत्पन्न भयो । त्यसबाट उत्पन्न विवाद आज भ्रष्टाचारमा पुगेर टुँगिएको छ । आफू राष्ट्रिय टिममा पर्न असफल भएपछि थापाले दबाब दिने उद्देश्यले राजदरबारबाट तत्कालीन शिक्षा तथा खेलकुदमन्त्रीलाई फोन गर्न लगाएका थिए । त्यसैले उनको छनौटको विषयलाई लिएर त्यतिबेला शिक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा छानविन समिति नै गठन भयो । 

छानविन समितिलाई बयान दिन अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद श्रेष्ठ आफै उपस्थित भए । उक्त घटना सम्भँmदै श्रेष्ठ भन्छन्– ‘मलाई लाग्छ, नेपाली खेलकुदको अहिलेसम्मको इतिहासमा एउटा खेलाडीको छनौटलाई लिएर मन्त्रालयले नै छानबिन समिति गठन गरेको यो पहिलो र दुर्लभ घटना होला ।

श्रेष्ठले छानविन समितिलाई थापाको अनुपस्थितिमा ‘मेडल’ जितेर देखाइदिने नभए अध्यक्ष पद नै छोड्ने बयान दिएपछि विवाद केही मत्थर भएको थियो । फेरि नेपालमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलन सफल भैसकेको थियो । त्यसैले थापालाई घरमै छोडेर नेपाली टिम बंगलादेश उड्यो । रोचक कुरा, नेपालले बंगलादेशमा सम्पन्न साफ गेम्समा १ मात्र स्वर्ण जित्यो, त्यो पनि फुटबलमा । 
नेपाल फर्किएपछि स्वर्ण जिताएका प्रशिक्षक धनबहादुरले राष्ट्रबाट सम्मानको आशा राखेका थिए, तर उनलाई गणेश थापाकै नेतृत्वमा आएको समूहले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला बाहिर मर्ने गरी कुट्यो । हेलमेटले प्रहार गर्दा उनका अगाडिका २ वटा दाँत नै भाँच्चिए । 


थापाविरुद्ध कारबाहीको माग राख्दै बस्नेतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी हाले तर रमाइलो कुरा राजनीतिक खिचातानीबीच सरकार परिवर्तनसँगै राखेपको नेतृत्व पनि परिवर्तन भयो । नेपाली कांग्रेसको कोटाबाट राखेप सदस्य–सचिव भएका रुक्मशमशेर राणालाई हटाएर नेकपा एमालेका केशव स्थापित परिषद्मा आए । त्यतिबेला पुरुषोत्तमप्रसादलाई एन्फाबाट हटाएर रुक्मशमशेर अध्यक्ष भैसकेका थिए । त्यसैले एमाले पनि एन्फामा रुक्मको विकल्प चाहन्थ्यो । एमालेले त्यो विकल्प गणेश थापाका रूपमा देख्यो । 

उक्त घटनापछि प्रशिक्षक धनबहादुर चकित भए । जसले अनुशासनहीन काम गरेकोमा थापाविरुद्ध कारबाही गर्नुपर्ने हो, त्यही संस्थाले थापालाई नै एन्फाको नेतृत्व सुम्पियो । ‘त्यसपछि ममा नेतृत्वप्रतिको विश्वास नै उठ्यो’, गणेश थापाको २० वर्षे कार्यकालमा दशरथ रंगशाला नपसेका धनबहादुर भन्छन् । 

वास्तवमा एन्फामा गणेश थापाको आगमन नै भ्रष्टाचारबाट भएको थियो । रुक्मशमशेर एन्फाको अध्यक्ष हुँदा पेप्सीकोलासँग लिग गराउने विषयमा ८० लाख रुपैयाँको हस्ताक्षर हुँदै थियो । सबै कानुनी प्रक्रिया पूरा भएर त्यतिबेला मन्त्रीको मात्र हस्ताक्षर हुन बाँकी थियो, तर थापा अध्यक्ष भएपछि पेप्सीसँगको सम्झौता भंग गर्दै उनले ३० लाख कम रकममा कोकाकोलासँग ५० लाख रुपैयाँको सम्झौता गरे । त्यसपछि बिच्किएको पेप्सीले नेपाली फुटबलमा लगानी गर्ने इच्छा नै परित्याग गर्‍यो । 
सन् १९९३ मा नेपालले ढाकामा साफ गेम्स जित्दा राष्ट्रिय टिमको बजेट १ लाख २५ हजार मात्र थियो । त्यतिबेला लिग सञ्चालन गर्न पनि धौ–धौ हुन्थ्यो, किनभने एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको महत्व हेरेर अनुदानका रूपमा केही रकम मात्र सहयोग गथ्र्यो । 

सन् १९९५ मा गणेश थापा एन्फाको अध्यक्ष भएपछि विश्व फुटबल महासंघ (फिफा) र एएफसीले अफिस सञ्चालनलगायत विकास बजेटका रूपमा नेपाललाई मोटो रकम पठाउन थालेको हो । त्यसैले थापालाई नेपाली फुटबलको भाग्यमानी अध्यक्ष मानिन्छ । उनकै कार्यकालमा फिफाले महत्वकांक्षी गोल प्रोजेक्ट, एएफसीले भिजन एसियाजस्ता प्रोजेक्टहरू सञ्चालनमा ल्यायो । नेपाललाई फिफाले वार्षिक २ लाख ५० हजार डलर तथा एएफसीले १ लाख ८० हजार डलर अनुदान दिँदै आएका छन् । त्यसबाहेक प्रशिक्षकका लागि मासिक १५ हजार डलर, खेल सामग्री, एउटा गोल–प्रोजेक्टका लागि ४ लाख डलर, विभिन्न प्रतियोगिता आयोजनाका लागि खेलको महत्व हेरेर तथा लिग सञ्चालनका लागि २ लाख डलर प्रदान गरिँदै आएको छ । 

यद्यपि थापाले यी सबै रकमको पारदर्शी उपभोग गरेनन् । उनले आफूले पठाएको रकमको चित्तबुझ्दो हिसाब देखाउन नसकेको भन्दै फिफाले सन् १९९७ मा १० हजार डलर जरिवाना लगाएको थियो । उनले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स निमार्ण गर्दा नक्कली ठेकेदार कम्पनी माइला कन्स्ट्रक्सनबाट बिल–भौचर बनाउँदै २ करोड ४ लाख रुपैयाँमा भवन निर्माण गराएको विवरण दिएका थिए । थापाले त्यही भवन बनाएको विषयमा फिफालाई ३ करोड १७ लाखको हिसाब बुझाए । 

यो २० वर्षको कार्यकालमा फिफा र एएफसीमा अध्यक्षको नाताले भोट हाल्दा देशलाई दिने सुविधाभन्दा आफ्नो सुविधाका लागि कति पैसा लिए होलान् ? त्यसको अध्ययन–अनुसन्धान हुने हो भने सबै नेपालीले जिब्रो टोक्ने अवस्था आउन सक्छ’, एन्फाका पूर्व अध्यक्ष श्रेष्ठ भन्छन् । 
गणेश थापाले आफूले गरेको भ्रष्टाचार लुकाउन फिफा र एएफसीका पदाधिकारीलाई सधैं आधा कुरा मात्र बताउँथे र सबैलाई गुमराहमा राख्न खोज्थे । त्यसैले फिफाले अहिले उनीविरुद्ध गरेको १० वर्षे प्रतिबन्धको निर्णय अझ थप हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । किनभने फिफाले अहिले सन् २००९ मा एएफसीको निर्वाचन तथा सन् २०११ मा फिफा निर्वाचनमा घुस लिएको प्रमाणका आधारमा मात्र कारबाही गरेको हो । थापाविरुद्ध फिफा, एएफसी, गोल–प्रोजेक्ट आदिको पैसामा हुन सक्ने भ्रष्टाचारको विषयमा थप अनुसन्धान भैरहेको छ । अन्तर्राष्ट्रिय हिसाब गर्ने संस्था केपीएमजीले सन् २०१२ मा एउटा रिपोर्ट फिफालाई सुम्पिसकेको छ । क्त रिपोर्टमा फिफाले नेपाली फुटबलको विकासका लागि प्रदान गरिएको रकम गणेश थापाले मनपरी ढंगले उपयोग गरेको बताइएको छ । 

 प्रकाशित: मंसिर ११, २०७२

http://saptahik.ekantipur.com/news/2015-11-27/20151127181529.html
Read Full Discussion Thread for this article