Posted by: metta November 23, 2015
नाकाबन्दी NOC निर्देशक गोपालबहादुर खड्काको लागि दशैं
Login in to Rate this Post:     0       ?        

‘मलाई मन्त्रीका कुरा थाहा छैन’

malai

चीनसँग हुने सम्झौता भाँड्न निगमका कार्यकारी निर्देशक सक्रिय
अर्जुन तामाङ, काठमाडौं
नेपाली टोली पेट्रो चाइना कर्पोरेसनसँग पेट्रोलियम पदार्थ खरिद सम्झौता गर्न जाने तयारी भए पनि नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का नै सो सम्झौता भाँड्न कम्मर कसेर लागेको पाइएको छ। सम्झौतका लागि नेपाली टोली आज चीन जाने यसअघि तय भएको थियो। वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले समेत केही दिनअघि पत्रकार सम्मेलन गरेर सो कुरा बताउनुभएको थियो। तर, शनिबार नेपाल समाचारपत्रसँगको कुराकानीमा कार्यकारी निर्देशक खड्काले आफूलाई मन्त्रीको कुरा थाहा नभएको बताउनुभयो।
स्रोतका अनुसार नेपाल आयल निगम र वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वय हुन नसकेपछि टोली आइतबार चीन नजाने भएको हो। आपूर्ति मन्त्रालयमा गत बिहीबार पत्रकार सम्मेलन गरी मन्त्री पुनले शुक्रबार नै सात सदस्सीय टोली चीन जाने बताउनुभएको थियो। तर मन्त्रालय र निगमका कार्यकारी निर्देशक खड्काबीच समन्वय हुन नसकेपछि टोली चीन जान नसक्ने स्थिति बनेको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार निगमका कार्यकारी निर्देशक खड्काले आपूर्तिमन्त्रीको चीनबाट तेल ल्याउने योजना असफल बनाउनका लागि नयाँ रणनीति बनाएको बुझिएको छ। खड्का भारतबाटै तेल ल्याउने योजनामा रहेका कारण चीन जाने विषयमा अझै प्रस्ट नभएको निगमकै एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए। गत साता चीनबाट पेट्रोल तथा ग्यासको आपूर्ति सहज गराउन अनौपचारिक भ्रमण गरेर स्वेदश फर्केका मन्त्री पुनले मन्त्रालयकै सहसचिव शम्भु घिमिरेको नेतृत्वमा अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका सहसचिव, नेपाल आयल निगमबाट दुई जना प्राविधिक र गुणस्तर विभागबाट गरी सात जनाको टोली चीन जाने बताउनुभएको थियो।

यसैबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्काको तोक आदेशमा भलबारी डिपोले काठमाडौंको निजी पम्पलाई तेल दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयागले छानविन थालेको छ। भलबारी डिपोले काठमाडौंको हामा आयल स्टोरलाई १२ हजार लिटर डिजेल दिएको पाइएपछि रूपन्देही प्रहरीले अनियमितताको आशंकामा बिहीबार राति नै ट्यांकर नियन्त्रणमा लिएको थियो। कार्यकारी निर्देशककै निर्देशनमा तेल दिइएको पाइएपछि खड्का अनुसन्धानमा तानिनुभएको हो। स्रोतका अनुसार अख्तियारले शुक्रबार नै खड्कालाई बोलाएर भलबारी काण्डबारे सोधपुछ गरेको थियो।
यसैबीच एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालोबजारी र अनियमितता नियन्त्रण गर्न नसके मन्त्रीलाई फिर्ता बोलाउने बताउनुभएको छ। नेपाल संवत्को अवसरमा कीर्तिपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यस्तो धारणा राख्नुभएको हो।
अहिले देशमा इन्धनलगायतको दैनिक उपभोग्य सामानको चरम अभाव भएको अवस्थामा कालोबजारी रोक्न पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले प्रभावकारी काम गर्न नसके सरकारबाट फिर्ता गर्ने बताउनुभएको हो।
एमाओवादी अध्यक्ष प्रचण्डले भ्रष्टाचार र कालोबजारी स≈य नभएको भन्दै कालोबजारी र अनियमितता नियन्त्रण गर्न नसके तुरुन्त मन्त्रीबाट फिर्ता बोलाउने बताउनुभएको हो।
उच्चस्तरीय समितिका संयोजकसमेत रहेका प्रचण्डले उपलब्ध भएका इन्धनको न्यायोचित, समानुपातिक र विश्वसनीय वितरण प्रणाली अपनाउन सरकारलाई आग्रह गर्नुभएको थियो।

Published Date: November 22, 2015

http://www.newsofnepal.com/?p=97991
Read Full Discussion Thread for this article