Posted by: metta November 20, 2015
नाकाबन्दी NOC निर्देशक गोपालबहादुर खड्काको लागि दशैं
Login in to Rate this Post:     0       ?        

तथ्य लुकाउँदै कालोबजारी

काठमाडौं-नेपाल आयल निगमले कालोबजारीको पोल खुल्ने डरले भारतबाट ल्याइएको पेट्रोलियम पदार्थको बिक्रीवितरणसम्बन्धी विवरण वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत उपलब्ध गराएको छैन ।
तीनपटक माग्दा पनि विवरण र तथ्यांक उपलब्ध गराउन अटेर गरेपछि मन्त्रालय निगमलाई निर्देशन दिने तयारीमा छ ।

इन्धन बिक्रीवितरणमा निगमकै मिलेमतोमा कालोबजारी भइरहेको सार्वजनिक भएपछि भारतले लगाएको अघोषित नाकाबन्दीपछि के÷कति पेट्रोलियम पदार्थ काठमाडौं भित्रिएको र कुन/कुन पम्पबाट बिक्रीवितरण भएको नखुलेको भन्दै मन्त्रालयले तत्काल सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिए पनि निगमले बेवास्ता गर्दै आएको छ ।

'इन्धन वितरणको सम्पूर्ण विवरण उपलब्ध गराउन पटक–पटक निर्देशन दिएका छौं, तर निगमले आजसम्म दिएको छैन,' मन्त्रालय उच्चस्रोतले मंगलबार नागरिकसँग भन्यो, 'यसको अर्थ आफूले गरेको कालोबजारीको पोल खुल्छ भन्ने नै हो । हामी कुनै पनि हालतमा विवरण लिएरै छाड्छौं ।'

मन्त्रालयका अनुसार मंगलबार सार्वजनिक बिदा परेकाले निगमलाई बुधबार लिखित निर्देशन दिएर विवरण माग्नेछ ।

मन्त्रालयका उपसचिव शिव त्रिपाठीले अहिलेसम्म तीनपटक विवरणका लागि ताकेता गरेको जानकारी दिए । तर निगमले आफ्नो कर्तुत खुल्ने भएकाले सम्पूर्ण विवरण उपलब्ध गराउन आनाकानी गरेको मन्त्रालयको बुझाइ छ ।

नाकाबन्दीपछि पनि ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात भइरहेको तर त्यसको वितरण उचित नभएको गुनासो आएपछि मन्त्रालयले सम्पूर्ण जानकारी माग गरेको हो । निगमका पदाधिकारी विभिन्न बहाना बनाएर वितरण गरिएको पेट्रोलियम पदार्थको जानकारी नदिएको हुन सक्ने बताइएको छ ।

भारतबाट आएको तेल निगमका उच्च अधिकारीले आफ्ना आसेपासे, नातागोताका पेट्रोलपम्प र मोटो रकम बुझाउने व्यवसायीलाई परलभन्दा धेरै महँगोमा बिक्री गरिरहेको भन्ने आएपछि सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

मन्त्रालयले दिएको मौखिक निर्देशन नमानेपछि बुधबार निगमलाई लिखित पत्र पठाउने मन्त्रालयको तयारी छ ।

व्यवसायीका अनुसार अहिले प्रतिट्यांकर पेट्रोल ३५ लाख रुपैयाँ र डिजेल २६ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको छ । उपभोक्ता बाध्य भएर कालोबजारमा पेट्रोल प्रतिलिटर औसतमा ४ सय ५० र डिजेल ४ सय रुपैयाँसम्म तिरेर किनिरहेका छन् ।

स्रोतका अनुसार सम्बन्धित कालोबजारीसँग कुरा मिलेपछि पेट्रोल पम्पमा बिहानै वा रातिराति मात्र महँगो मूल्यमा तेल बेच्ने गरिएको उपभोक्ताको गुनासो आए पनि आयल निगम भने कानमा तेल हालेर बसेको छ ।

एक ट्यांकर डिजेल २६ लाख तिरेर आफ्नो उद्योगमा ल्याउनुपरेको बाध्यता सुनाउँदै एक व्यापारीले भने, 'सरकार र निगम नै सहज आपूर्ति नहोस् र आएको तेल महँगो मूल्यमा बेचेर मोटो रकम कुम्ल्याउन पाइयोस् भन्ने ध्याउन्नमा छन् ।'

व्यवसायीका कुरालाई केही दिनअघि निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आयोजना गरेको पत्रकार सम्मेलनले पनि थप पुष्टि गर्छ । भारतले अघोषित नाकाबन्दी गरे पनि विभिन्न नाकाबाट छिटफुट रूपमा तेल आइरहेको छ । खड्काले भने एक थोपा पनि तेल नआएको भन्दै कालोबजारीलाई प्रश्रय दिने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

काठमाडौंलगायत आसपासका जिल्ला सुरक्षा निकाय, अत्यावश्यक सेवा र सार्वजनिक यातायातलाई वितरण गर्ने उद्देश्यसहित यो परिमाणको डिजेल ल्याइएको हो । तर, त्यसो हुन नसकी सो इन्धन निगम उच्च पदाधिकारीका निकट मानिएका पम्पलाई दिएर कालोबजारीमा बेच्न भन्दै पठाइएको गुनासो बढेपछि वितरणको सम्पूर्ण विवरण पठाउन निगमलाई निर्देशन दिएको हो ।

पम्पलाई कालोबजारी गर्न पठाइएको तेल अहिले उद्योगीले परल मूल्यभन्दा दोब्बरमा किनेर उद्योग चलाउँदै आएका छन् । निगमले सर्वसाधारणलाई बिक्री गर्दा प्रतिलिटर १ सय ४ रुपैयाँमा पेट्रोल र ८१ रुपैयाँमा डिजेल बिक्री गर्नैपर्ने बाध्यता छ । तर, पम्पलाई कालो धन्दा गर्न लगायो भने आफ्नो गोजी पनि भरिने र पम्पवाला पनि मालामाल हुने भएपछि निगम कालोधन्दामा जुटेको हो ।

पेट्रोलियम पदार्थ अभावको मौका छोपी विभिन्न संगठित संस्थाकै मिलेमतोमा तेलको कालोबजारी भइरहेको छ । निगम र विभिन्न पेट्रोलियम व्यवसायीको मिलेमतोमा पेट्रोलियम कालोबजारी तीव्र भएको छ ।

निगमले पेट्रोलपम्पहरुमा निश्चित परिमाणमा पेट्रोलियम पदार्थ दिएको भए पनि पम्पसञ्चालकले पूरै परिमाणमा पेट्रोलियम पदार्थ नबेची कालोबजारी गर्ने गरेको स्रोतको दाबी छ ।

'पेट्रोल पम्पवालालाई निगमले ८ हजार लिटर तेल दिन्छ, उनीहरु ३÷४ हजार लिटर बेचेर बाँकी कालोबजारी गर्छन्,' स्रोतले भन्यो, 'अभावका बेला प्रहरीले पनि केही गर्न सकेको छैन ।'

निगमले ठूला सवारीसाधनलाई डिजेल उपलब्ध गराउने गरेको भए पनि थोरै मात्र सवारीसाधनले लाइन बसेर तेल भर्ने र बाँकीले महँगो मूल्यमा कालोबजारीमार्फत तेल किन्नुपर्ने बाध्यता रहेको उनले बताए ।
http://www.nagariknews.com/economy/story/48785.html
Read Full Discussion Thread for this article