Posted by: metta November 20, 2015
नाकाबन्दी NOC निर्देशक गोपालबहादुर खड्काको लागि दशैं
Login in to Rate this Post:     0       ?        

तेल ल्याउन निजीलाई मनलागी ठेक्का


काठमाडौं- भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयात गर्न ठेक्का पाएको निजी कम्पनी विराट आयललाई प्रतीतपत्र (एलसी) खोल्न नेपाल आयल निगमले नियमविपरीत २० करोड रुपैयाँ दिएको छ। यति मात्र होइन, त्यही पैसाले ल्याउने तेल निगमले दोब्बर मूल्यमा खरिद गर्दैछ।

निगमले १५ दिनका लागि पेट्रोलियम आपूर्ति गर्न सार्वजनिक सूचना आह्वान गरेपछि स्वदेश तथा विदेशका २२ कम्पनीले आवेदन दिएका थिए। तीमध्ये विराटनगरको विराट आयललाई निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको 'ठाडो आदेश' मा पेट्रोलियम आपूर्ति गर्ने ठेक्का दिइएको स्रोतले जनाएको छ।

निगमका अनुसार विराट आयलले प्रतिलिटर १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजल आपूर्ति गर्नेछ। सम्बद्ध स्रोतका अनुसार प्रस्ताव पेस गरेका अन्य कम्पनीले विराटको भन्दा लिटरमा ३० रुपैयाँसम्म कम मूल्यमा आपूर्ति गर्ने प्रस्ताव गरेका थिए। उनीहरूले आफ्नै खर्चमा तेल ल्याउने र त्यसलाई निगमले खरिद गरिदिनुपर्ने प्रस्तावसमेत गरेका थिए।

'तर, कार्यकारी निर्देशक खड्काले प्रतिस्पर्धी २१ कम्पनीको प्रस्तावलाई बेवास्ता गर्दै निगमकै पैसाले तेल किनेर आफैं मूल्य तोक्दै निगमलाई नै बेच्ने विराटलाई ठेक्का दिलाए,' स्रोतले बुधबार नागरिकसँग भन्यो, 'विराटले बिनालगानी ४ करोड ४ लाख रुपैयाँ चोखै कुम्ल्याउने पक्का भएको छ।'

सिलिगुडीमा प्रतिलिटर पेट्रोल ६६.११ भारु (१०५.७७ रुपैयाँ) पर्छ। त्यसैगरी, डिजलको मूल्य ४९.५५ भारु (७९.२८ रुपैयाँ) पर्छ। तर, विराट आयलले १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजल निगमलाई बिक्री गर्ने सम्झौता गरेको छ।

स्रोतका अनुसार सिलिगुडीमा लोड गरेको २५ ट्यांकर तेल (१ ट्यांकर बराबर १६ हजार लिटर) ३५ किलोमिटर वर भारतीय नाका पानीट्यांकीमा आइसकेको छ। यो भनेको सम्झौताअनुसार ल्याउनुपर्ने २ लाख लिटर डिजेल र २ लाख लिटर पेट्रोल हो। उक्त परिमाण बराबरको तेल केही दिनभित्र काठमाडौं आइपुग्नेछ। स्रोतका अनुसार यसरी ल्याइने तेलको भन्सार पनि निगम आफैंले तिनुपर्ने विराटको सर्त कार्यकारी निर्देशक खड्काले मानेका छन्।

कार्यकारी निर्देशक खड्का विराट आयललाई तेल किन्न २० करोड रुपैयाँ बराबरको एलसी खोलिदिएको स्वीकार गर्छन्। 'अहिलेको संकट टार्न तेल आवश्यक छ, जसरी पनि तेल ल्याउनुपर्छ,' उनले भने। विराट आयलसँग भएको मूल्य सम्झौताबारे पनि खड्काले भने, 'नेपालीलाई अहिले तेल आवश्यक छ, जति मूल्य परे पनि तिर्छन्।'

आयल निगमले विराटले ल्याएको तेल नकिन्न पनि सक्ने जानकारी खड्काले दिए। 'यसबारे सरकारले निर्णय गर्छ,' खड्काले भने, 'पहिला तेल आउन दिनुस्।' निगम र विराटबीच व्यापारिक डिल पेट्रोलियमको कालोबजारी गर्ने उद्देश्यबाट भएको देखिन्छ।

निगमका पदाधिकारीहरू विराट आयलसँग भएको व्यापारिक डिलबारे विरोधाभासपूर्ण जवाफ दिन्छन्। निगम निर्देशक मुकुन्द घिमिरेले विराट आयललाई तेल ल्याउनका लागि निगमले एलसी खोलिदिएको बताए। 'हामीले तेल आयातका लागि बिराटलाई एलसी खोलिदिएका छौं, उसले ल्याएको तेल हामी किन्छौं,' उनले भने।

निगमकै अर्का एक उच्च अधिकारी भने बंैक ग्यारेन्टी मात्र बसेको र विराट आयलले ल्याएको तेल निगम किन्न बाध्य नहुने दाबी गर्छन्। 'एलसी खोलेका छैनौं, बैंक ग्यारेन्टी मात्र दिएको हो,' ती अधिकारीले भने, 'उसले ल्याएको तेल उसैले बिक्री गर्छ। निगम किन्न बाध्य छैन।'

त्यसैगरी, निगमले सार्वजानिक गरेको तीनदिने सूचनामा १५ दिनका लागि (दसंैलाई अभाव हुन नदिन) पेट्रोलियम पदार्थ आपूर्ति गर्नुपर्ने उल्लेख थियो। तर, सूचना निकालेको झन्डै एक महिना बितिसक्दा पनि विराटले तेल ल्याएको छैन। स्रोतका अनुसार अझै विराटले समय थपेको छ। यो समयमा ग्लोबल टेन्डर गरेरै तेल ल्याउन सकिन्थ्यो।

विराटले यसरी पायो ठेक्का

निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले गत असोज ३० गतेे अर्थात दिल्ली जानु अघिल्लो दिन राति २ बजे विराटको फाइल स्वीकृत गरेका थिए। ३० गते दिउँसो खड्काले निगमका निर्देशक तथा वितरण विभाग प्रमुख दीपक बराललाई विराट आयलका सञ्चालक अर्जुन क्षत्रीले ल्याएको फाइल स्वीकृत गर्न निर्देशन दिए।

उक्त फाइलमा बैंक ग्यारेन्टी पनि निगमले व्यवस्था गर्नुपर्ने र एलसी खोल्न निगमले नै २० करोड रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेपछि बरालले फाइलमाथि टिप्पणी उठाउन मानेनन्। फाइलमाथि टिप्पणी नउठाएको भन्दै कार्यकारी निर्देशक खड्काले वितरण विभाग प्रमुख बराललाई सो ठाउँबाट हटाएर कार्यकारी निर्देशक कक्षमा एउटा कुनामा राखेका छन्।

३० गते राति २ बजे क्षत्रीको फाइल सदर गरेर खड्का भोलिपल्ट अर्थात कात्तिक १ गते दिल्ली गएका थिए। स्रोतका अनुसार पेट्रोलियम पदार्थ आपूर्ति गर्दा वितरण विभागको टिप्पणी अत्यन्तै जरुरी हुन्छ। तर, त्यो काम कार्यकारी निर्देशक आफैंले गरे।

तेल आपूर्ति गर्ने विराट आयलले माथिको 'ठाडो आदेश' छ भन्दै टिप्पणी उठाउन दबाब दिएपछि बराल बाहिरिएका थिए। त्यसको भोलिपल्ट फाइल सदर भइसकेको थियो। निगमका अन्य निर्देशकलाई यस बारे जानकारी नभएको बताएको स्रोतले जानकारी दियो।

कार्यकारी निर्देशकले विराट आयलले बैंक ग्यारेन्टी ल्याउँछ, त्यसको टिप्पणी उठाउनुपर्योो भनेपछि बरालले फाइल अध्ययन गर्दा बैंक ग्यारेन्टी थिएन। त्यसपछि उनी टिप्पणी उठाउन हच्किएका थिए।

केही घन्टापछि विराट आयलले बैंक ग्यारेन्टी ल्याएपछि पेस्की चाहियो भन्दै निगममा क्षत्रीले दबाब दिएका थिए। त्यसको फाइल सदर भने कार्यकारी निर्देशकले गरेपछि विराटले २० करोड रुपैयाँ पाएको हो। निगमका उच्च पदाधिकारीबीच यस विषयमा कुनै छलफल नभएको स्रोतले जनाएको छ। 
http://www.nagariknews.com/economy/hydropower/story/48114.html
Read Full Discussion Thread for this article