Posted by: metta November 20, 2015
नाकाबन्दी NOC निर्देशक गोपालबहादुर खड्काको लागि दशैं
Login in to Rate this Post:     0       ?        

विराटको ठेक्का ब्युँताउने खेल

काठमाडौं- पेट्रोलियम पदार्थको चरम संकट देखाउँदै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का विराटनगरस्थित विराट पेट्रोलियम प्रालिलाई नै पुनः तेल आपूर्ति ठेक्का दिलाउन ज्यान फालेर लागेका छन्। 

निगमले विराटसँगको सम्झौता खारेज गरेको २४ घन्टा नबित्दै खड्का आफैं तेल आपूर्ति ठेक्का पुनः विराटलाई नै दिलाउन लागिपरेका हुन्। 'विराट तेल आपूर्तिका लागि एकदमै सक्षम कम्पनी हो,' खड्काले निगममा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, 'उसले तेल आपूर्ति नगरेसम्म अहिलेको संकट टार्न सम्भव छैन।'

सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषदले जसरी भए पनि तेल ल्याएर संकट टार्न दिएको अधिकार प्रयोग गरेरै भए पनि विराटलाई आपूर्ति जिम्मा दिनुको विकल्प नरहेको उनले जिकिर गरे।

'अहिले कमिसनको कुरा छाड्दिनुस्,' उनले भने, 'अहिले जनतालाई पेट्रोलियम पदार्थ चाहिएको हो, कमिसनसँग मतलब छैन।' खड्काले असोज ३० गते २० करोड रुपैयाँ अग्रिम भुक्तानीसहित विराटलाई अनधिकृत रूपमा पेट्रोलियम आपूर्ति ठेक्का दिएका थिए। यो विषय सार्वजनिक भएपछि व्यवस्थापिका संसदका सार्वजनिक लेखा, उपभोक्ता हितसम्बद्ध र अन्तर्राष्ट्रिय श्रम समितिले बेग्लाबेग्लै छानबिन थालेका थिए। विवाद चर्किएपछि निगमले आइतबार मात्र उक्त ठेक्का खारेज गरेको थियो।

खड्का भने पुनः सोही कम्पनीलाई ठेक्का दिलाउन आन्तरिक गृहकार्यमा लागेको स्रोत बताउँछ। पेट्रोलियम पदार्थको चरम अभाव देखाएर तेल आपूर्तिको ठेक्का विराटलाई नै दिलाउने खेलमा खड्का लागेको निगम स्रोतको दाबी छ। विराटलाई दिएको ठेक्का खारेज गर्ने र अग्रिम भुक्तानीसमेत फिर्ता लिने बताएको भोलिपल्टै सोमबार सोही कम्पनीलाई तेल आयातको ठेक्का नदिए चरम संकट देखा पर्ने खड्काको अभिव्यक्ति सार्वजनिक भएको छ।

हालको आपूर्ति अवस्थाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विराटले तेल ल्याउन सक्ने बताए। 'पेट्रोलियम पदार्थ ल्याउँदा निजी क्षेत्र एक्लैले ठूलो रकम लगानी गर्न सक्दैन,' उनले भने, 'त्यसैले अग्रिम भुक्तानी दिनुको विकल्प छैन।' यसअघि निगमले मागेको आशयपत्रमा २२ कम्पनी सहभागी भएकामा ११ वटालाई तेल ल्याउन 'नो अब्जेक्सन लेटर' दिइएको थियो।

'विराटजस्तो राम्रो कम्पनीले तेल ल्याउन खोज्दा सबै लागेर रोक्ने प्रयास भयो,' पत्रकार सम्मेलनमा खड्काले भने, 'यो राम्रो कुरा होइन, सक्षम कम्पनीले अहिलेको संकट टार्न खोज्छ भने दिनुपर्छ।'

अधिकांश समय विराटको सकारात्मक चर्चा गर्न भ्याएका खड्काले कमिसन खाए पनि तेल ल्याउनुपर्ने बताए। 'संकटका बेला अलि–अलि कमिसनको खेल हुन्छ,' उनले भने, 'त्यस्ता कुरालाई बढी प्राथमिकता दिनु आवश्यक छैन।'

धनगढी नाका त्रिनगरका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार साँझ तीनवटा डिजेलका ट्यांकर नाकाबाट नेपाल भित्रिएको बताए। एक ट्यांकर नाकापारि गौरीफन्टामै रोकेर राखिएको उनले जनाए।

कार्यकारी निर्देशक खड्काले इन्धन आपूर्ति ठप्प भएको बताएपछि धनगढीबाट तीन ट्यांकर डिजेल पेट्रोलका गाडी नेपाल भित्रिएका छन्। त्यसैगरी, भैरहवा नाकाबाट पनि १० वटा पेट्रोलियम पदार्थ बोकेका गाडी नेपाल भित्रिएको भैरहवा डिपोका प्रमुख दिनेश यादवले जानकारी दिए।

कार्यकारी निर्देशक भने सात दिनदेखि एकथोपै पेट्रोलियम पदार्थको आयात नभएको भन्दै विराटलाई तेल आयात ठेक्का दिलाउन कम्मर कसेर लागेका छन्। जनतालाई तेल नदिने, बजारमा चरम अभाव देखाउने र यही मौकामा विराटलाई ठेक्का सुम्पने खेलमा खड्का लागेको निगम स्रोत बताउँछ।

धनगढीबाट १ सय ६५ किलोमिटर दुरीमा रहेको इन्डियन आयल कर्पोरेसनको बनथरा तेल डिपोमा शुक्रबार भरिएका चारवटा डिजेलका ट्यांकर शनिबार बिहान ४ बजे गौरीफन्टा नाका पुगेका थिए। रक्सौल नाकाबाहेक अन्यबाट पेट्रोलियम पदार्थ आइरहेको छ। तर, कार्यकारी निर्देशक खड्काले सात दिनदेखि एक थोपै नआएको दाबी गर्दै विराटलाई दिन खोजेका हुन्।

निगमका अनुसार विराट आयलले प्रतिलिटर १ सय ९९ रुपैयाँमा पेट्रोल र डिजेल १ सय ८७ रुपैयाँमा आपूर्ति गर्ने गरी ठेक्का दिन खोजिँदैछ। सम्बद्धस्रोतका अनुसार प्रस्ताव पेस गरेका अन्य कम्पनीले विराटको भन्दा लिटरमा ३० रुपैयाँसम्म कम मूल्यमा आपूर्ति गर्ने उल्लेख गरेका थिए। उनीहरूले आफ्नै खर्चमा तेल ल्याउने र त्यसलाई निगमले खरिद गरिदिनुपर्ने प्रस्तावसमेत गरेका थिए।

'तर, कार्यकारी निर्देशक खड्काले प्रतिस्पर्धी २१ कम्पनीको प्रस्ताव पन्छाउँदै निगमकै पैसाले तेल किनेर आफैं मूल्य तोक्दै निगमलाई नै बेच्ने गरी विराटलाई ठेक्का दिलाएका थिए। विराटले बिनालगानी ४ करोड ४ लाख रुपैयाँ चोखै कुम्ल्याउने पक्का भएपछि संसदका धेरैजसो समितिको ध्यान त्यतातर्फ गएको हो। 

http://www.nagariknews.com/economy/story/48405.html
Read Full Discussion Thread for this article