Posted by: metta November 18, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
देश नै कलंकित : खेलकुद मन्त्री
मंसिर २, २०७२- युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) द्वारा गरिएको कारबाहीले देश नै कलंकित बनाएको बताएका छन्।
‘हिजो सामन्तवादी राज्यसत्ता थियो, त्यसबाट निर्देशित भएर मठाधीशजस्तो निजी पेवाको रूपमा बुझ्दै आएका थिए। उसले आफ्नो जुँगाको रूप मान्दै आएको थियो। त्यसैको परिणाम हो यो (थापामाथिको कारबाही),’ मन्त्री मण्डलले राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा भने, ‘थापाले अहिले सिंगो देशलाई नै कलंकित गर्‍यो।’ २०५१ साल चैतदेखि निरन्तर एन्फाको नेतृत्वमा रहेका थापालाई घूस लिएकोलगायत व्यक्तिगत र पारिवारिक लाभका लागि पदीय पर्यादा पालन नगरेको भन्दै फिफाको इथिक्स कमिटीले सोमबार फुटबल गतिविधिबाट १० वर्षको प्रतिबन्ध लगाउने र २० लाख स्विस फ्रयांक (करिब २१ लाख रुपैयाँ) जरिवाना गर्ने निर्णय गरेको थियो।
एन्फाकै उपाध्यक्षलगायत पदाधिकारीको उजुरीपछि गत वर्ष संसद्को सार्वजनिक लेखा समितिले एन्फामा ५८ करोड १७ लाख १२ हजार ७ सय ५० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै थापामाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो। बिनाटेन्डर अमानतमा निर्माणकार्य गरेको, कम्पनी नै नक्कली खडा गरेको, राज्यको स्वीकृति नलिई विदेशी मुद्रा लिएको, लेखापरीक्षण नै शंकास्पद भएको र यसबारे युवा तथा खेलकुद मन्त्रालयको प्रतिवेदनले नै कारबाही गर्न आवश्यक ठहर्‍याए पनि अख्तियारले अनुसन्धानलाई तामेलीमा राख्दै थापालाई चोख्याएको थियो।
यसबारे मन्त्री मण्डलले भने, ‘यो विवाद अख्तियारमा पनि पुगेको हो। लेखा समितिले पनि छानबिनको दायरामा राखेको थियो। मैले बुझेको छैन, किन ओझेलमा पर्‍यो? महत्त्व किन गौण भयो?’ स्वदेशको सम्बन्धित निकायको अनुसन्धानमै शंका जनाउँदै उनले प्रश्न तेस्र्याए, ‘फिफाको कारबाहीले गणेश थापा मात्र बदनाम भयो? नेपाली कर्मचारीतन्त्रले के गर्‍यो? सरकारको आँखामा किन समस्या उत्पन्न भयो? यस्ता विकृति किन त्यो आँखाले देख्न सकेन?’ खेलजगत्मा चारित्रिक सुधार आवश्यक भएको उल्लेख गर्दै उनले भने, ‘व्यक्ति र परिवारमा केन्द्रित खेलजगत्लाई लोकतान्त्रीकरण गर्नुपर्छ। म यसको लोकतान्त्रीकरणका लागि प्रयास गर्नेछु।’
अख्तियारले उन्मुक्ति दिए पनि फिफाको कारबाहीपछि थापामाथि कारबाहीको प्रक्रिया अघि बढाउने उनले बताए। ‘औपचारिकता पूरा गरेर नियम कानुनसम्मत कारबाहीको प्रक्रिया अघि बढाउनेछु,’ उनले भने। राप्रपा नेपालको सिफारिसमा सांसदसमेत रहेका थापाले व्यवस्थापिकाको भूमिका त्याग्ने/नत्याग्ने भन्नेमा उनकै नैतिकताले काम गर्नुपर्ने पनि मण्डलले बताए।
राखेपका सदस्यसचिव केशवकुमार विष्टले पनि थापालाई स्वदेशमै कारबाहीका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन्। ‘कुन प्रवृत्ति, तह र प्रकृतिको कारबाही हो, यसबारे कानुनी रूपमा कदम चाल्न औपचारिक पत्र प्राप्त गरेपछि त्यसमा अघि बढ्न राखेपले कुनै कसर बाँकी राख्ने छैन,’ उनले भने, ‘आवश्यक कारबाही गर्छौं। व्यक्तिलाई हेरेर संस्थालाई भने कारबाही गर्ने छैनौं।’ प्रकाशित: मंसिर २, २०७२
http://kantipur.ekantipur.com/news/2015-11-18/20151118094808.html
Read Full Discussion Thread for this article