Posted by: metta November 18, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        

के यतिले नै पुग्ला र?

चेतन पाण्डे 

कुनै पनि नेपाली नागरिकलाई विदेशी निकायले भ्रष्टाचारी घोषित गर्नु अनि कारबाही गर्नु, वास्तवमै दुखद हो। जुन कार्य स्वदेशी निकायले गर्नुपथ्र्यो, त्यसका लागि समेत हामीले विदेशी निकायको निर्णयको प्रतिक्षा गर्यौं।
 
हुन त सार्वजनिक लेखा समितिले अनुसन्धानसहित केही निचोड निकालेकै थियो। तर किन हो कुन्नि, अख्तियारले लेखा समितिको तर्क र थप अनुसन्धान गर्ने आग्रहलाई वास्तै गरेन। एन्फा अध्यक्ष गणेश थापा फेरि एकपटक ५० इन्चभन्दा चौडा छाति फुलाएर गमक्क परेर हिँड्न थाले। त्यसमाथि मुलुकले नै सांसदजस्तो गरिमामय पदमा नियुक्ति गराएर उनको इज्जतमा चार चाँद लगाएकै हो।
 
अब भन्नैपर्छ, नेपाली फुटबल नराम्ररी धराशायी भएको छ। तैपनि, नेपाली फुटबलमा हुने गरेका कूरीति र विकृतिका शृंखला अझै थामिनेवाला छैनन्, सम्बन्धित निकायको चेत समयमै नखुलेको खण्डमा। 
थापाले नेपाली फुटबललाई डुबाउन जति गरेका छन्, फिफाको कारबाहीले मात्र त्यसलाई चोख्याउन मिल्दैन। नेपाली निकाय नै गम्भीर भएर थप अनुसन्धानमा नखटिने हो भने फिफाले गरेको कारबाही अहिले केही हदसम्म फुटबल प्रेमीका लागि चित्त बुझाउने बाटो मात्र बन्न सक्छ। भविष्यमा त त्यो थापाका लागि वरदान नै हुनेछ।
 
लेखा समितिले नै ५८ करोड रुपैयाँ अनियमितताको आरोप लगाएका व्यक्ति २१ लाख जरिवाना र मात्र १० वर्षको प्रतिबन्धबाट उम्कन पाउनु भनेको वरदान सिवाय अरू केही हुन सक्दैन। थापाले बितेका दुई दशकभन्दा बढी समय नेपाली फुटबललाई जसरी आफ्नो पुस्तैनी पेवाझैं चलाए र त्यसबाट अकुत सम्पक्ति आर्जन गरे, त्यसको अगाडि यो कारबाहीबाट फुटबलप्रेमी उत्साहित हुनुपर्ने ठूलो कारण छैन।
 
यो कारबाहीको छनक पाइसकेका थापाले आफ्नै छायाँझैं देखिने नरेन्द्र श्रेष्ठलाई एन्फाको बागडोर सम्हाल्ने तारतम्य मिलाई दिइसकेका छन्। जसरी हिजोका दिनमा कारबाहीमा पर्दा त्यो जिम्मेवारी ललितकृष्ण श्रेष्ठले पूरा गरेका थिए। थापा अहिले पनि एन्फामा आफू नरहे आफ्ना प्यादालाई नै स्थापित गराउन चाहन्छन्। उनी दस वर्षपछि भए पनि एन्फामा फर्कन लालायित छन्। त्यो उनको घमण्ड र चाहना पनि हो। उनलाई नजिकबाट चिन्नेहरू यसलाई नकार्न सक्दैनन्।
 
थापाले नेपाली फुटबललाई धराशायी बनाउन कति अवगुणी कार्य गरेका छन् भन्ने फेहरिस्त त बाराम्बार सार्वजनिक हुने गरेका छन् नै। फिफाको कारबाहीले त्यसलाई मलजल मात्र गरेको हो। अब अख्तियारले नातावादभन्दा माथि उठेर बन्द गरेका फाइलबाट थापाका कर्तुतलाई फेरि एकपटक केलाउने जमर्को नगर्ने हो भने डुबेको नेपाली फुटबलको श्राप अख्तियार र त्यसका हर्ताकर्ताले भोग्नु नै पर्नेछ।
 
साथै, अब नेपाली फुटबलमा नयाँ पालुवा नहाल्ने हो भने वर्तमान संरचनाले पनि गणेशभक्ति सिवाय केही गर्ने छैन। अहिले नेपाली फुटबलमा जति पनि स्थापित नाम छन्, त्यसमा धेरै रामभक्त हनुमान नै छन्। गणेशका वाहनले चलाउने नेपाली फुटबल भोलि पनि त्यही गतिमा अगाडि बढ्ने छ, जसरी अहिले बढिरहेको छ। नेपाली खेलकुदलाई हेर्ने निकायले अहिले नै आशालाग्दो र गतिलो निर्णय गरेर नेपाली फुटबल नेतृत्वको वर्तमान संरचनालाई जरैदेखि पुनर्गठन नगरे फेरि अर्को गणेश थापाको उदय नहोला भन्न सकिँदैन। नेपाली फुटबल फेरि अर्को तानाशाहको हातमा नपर्ला भन्न सकिँदैन। अनि, खेलाडीहरू आफ्नै नेताहरूको छत्रछायाँमा खेल मिलोमतोमा संलग्न नहोलान् पनि भन्न सकिँदैन।
 
वास्तवमा भन्ने हो भने हामी सामान्य नेपाली सबैतिरबाट ठगिएका छौं। व्यापारीदेखि नेता तहसम्मबाट। तैपनि हाँसेरै बाँचेका छौं। कहिलेकाहीँ एकाध खेलबाट आउने सुखद नतिजामा सारा मुलुक हर्षित बन्ने गर्छ अनि सारा खेल र खेलाडीलाई टाउकोमै बोकुँझैं गर्छ। तर, नेपाली खेल मिलेमतो काण्डमा पर्दा पछाडिका घटनाले एन्फा नेतृत्वसमेत त्यसमा सहभागी थियो भन्ने अपुष्ट आधार तयार पारेका थिए। अब त्यो विषयमा पनि गहन अनुसन्धान हुनैपर्छ। मुलुकलाई स्तब्ध पार्ने त्यो राज्यद्रोहको जालो अहिले मुद्दा खेपिरहेका केही खेलाडीको सीमित घेरामा मात्र फैलिएको छ भन्न सकिँदैन। एन्फामा हिजो भएका अनेर्कौ आर्थिक अनियमितता र खेल मिलेमतो काण्डमा गहिरिएर अनुसन्धान हुनुपर्ने बेला यही हो।
 
वास्तवमा नेपाली फुटबल कहिल्यै अनुशासनमा चल्न सकेको छैन। एक व्यक्तिको निर्देशनमा चल्ने नेपाली फुटबलमा खेलाडी मात्र होइन पदाधिकारी पनि अनुशासित छन् भन्ने उदाहरण विरलै भेटिन्छन्। त्यसैले, नेपाली फुटबल हाँकिरहेका हरेक व्यक्ति अब अनुसन्धानको घेरामा तानिनु नै पर्छ। जसले नेपाली फुटबललाई माया गर्छ, त्यो व्यक्ति वा निकाय आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। र, यो कार्यमा विलम्ब पनि गर्नु हुँदैन।
 
नेपाल जसरी स्वच्छ छवि र आँटिलो नेताको खोजी छ, नेपाली फुटबल पनि त्यस्तै व्यक्तिको पर्खाइमा छ। थापाले शक्तिकेन्द्र धाएर अथाह शक्ति आर्जन पनि गरेका छन्। विदेशमा त उनका दिन लगभग सकिएको छ, तर स्वदेशमा उनले त्यही शक्तिकेन्द्र धाएर कमाएको शक्तिले फेरि हातखुट्टा फैलाउन थाल्यो भने अब नेपाली फुटबललाई पशुपतिनाथले पनि बचाउन नसक्ने पक्का छ।
 
त्यसैले, निर्णय तहमा बसेका हरेकले यस विषयमा एकपटक गम्भीर भएर सोच्नैपर्छ। करोडौं घोटाला गरेर केही लाख रुपैयाँ जरिवाना र केही वर्षको प्रतिबन्धले मात्र उन्मुक्ति पाउने छाँट देखियो भने यो गरिब मुलुकमा धेरै गणेश थापा जन्मन तयार अवस्था छन्।


http://setopati.com/bichar/36543/
Read Full Discussion Thread for this article