Posted by: metta November 2, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
[नेपाली फुटबल] ‘फिक्सर’ नाइके को ? एन्फा पदाधिकारी पनि अनुसन्धानमा तानिने
- नवीन अर्याल
आश्विन ३०, २०७२- सन् २०११ मा भारतको राजधानी नयाँ दिल्लीमा साफ च्याम्पियनसिप हुँदै थियो । त्यतिबेला नेपाली टिमका प्रशिक्षक थिए, बेलायती ग्राहम रोबर्ट्स र व्यवस्थापकमा कृष्ण मानन्धर । नेपाली खेलाडीको प्रतिभा देखेर पहिलेदेखि नै लोभिएका रोबर्ट्स पर्याप्त अभ्यास चाहन्थे । यसै सिलसिलामा उनले नेपाली टोलीको अभ्यास खेल कम्बोडिया, थाइल्यान्ड, मलेसिया र भियतनामसँग ‘फिक्स’ गरे । उनले त्यतिबेलै मानन्धरलाई भनेका थिए, ‘अभ्यास खेलबापत तिमीले म्याच फिक्स गराउने एजेन्टबाट प्रत्येक खेलको २ हजार ५ सय अमेरिकी डलर प्राप्त गर्नेछौ ।’ अर्थात्, नेपाली एजेन्ट भएबापत चार खेलको १० हजार अमेरिकी डलर (१० लाख रुपियाँ) ।  

त्यतिबेला मानन्धर अक्क न बक्क परे । लामो समय फुटबलमा लागेका उनलाई त्यतिबेलासम्म थाहा थिएन, मुखको भरमा एजेन्ट भएबापत त्यति ठूलो रकम आउने रहेछ । तर, त्यसको केही दिनपछि नै घटनाले नयाँ मोड लियो । अभ्यास खेलका लागि मलेसिया र थाइल्यान्डको भिसा लगाएर बसेका मानन्धरलाई बोलाएर अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाले आफैँ अफिसियलका रूपमा जाने जनाउ दिए । अर्थात् मानन्धरको स्थानमा नेपाली एजेन्टका रूपमा आफैँ जाने भए उनी । त्यतिबेला टिमको महत्त्वपूर्ण सदस्य फिजियो डेजिप थापाको नामसमेत काटियो । टिममा कुन खेलाडीलाई समावेश गर्ने भन्ने विषयमा उनले हस्तक्षेप गर्न थालेपछि प्रशिक्षक रोबर्ट्ससँग होटलमै चर्काचर्की भएको थियो । तर, यी कुरालाई थाती राख्दै रोबर्ट्स नेपाली टिम लिएर अभ्यास खेलमा संलग्न भए । 

“सबैले अपराध स्वीकार गरिसकेका छन् । फिक्सिङबापत उनीहरूका नाममा विदेशबाट आएको रकम पनि प्रमाणित भइसकेको छ । उनीहरूले राष्ट्रविरुद्ध द्रोह गरेका छन्,” महाशाखा प्रमुख खनालले नेपालसँग भने । यो घटनामा बैंकका केही कर्मचारी र एन्फा पदाधिकारीविरुद्ध पनि अनुसन्धान हुने देखिएको छ । प्राय: खेलमा सबै खेलाडीलाई दामासाहीले पाँच/पाँच हजार अमेरिकी डलर (पाँच लाख रुपियाँ) बाँडेको देखिन्छ । त्यसैले ‘फिक्सिङ’मा एन्फाको उच्च पदाधिकारीको संलग्नतालाई लिएर प्रहरीले आशंका व्यक्त गरेको छ । 

दुई–चार जना त ठीकै छ । पूरै टिमका खेलाडी फिक्स गर्न कसरी सम्भव हुन्छ ?” खनालले आशंका जनाए । एसियाली फुटबल महासंघ (फिफा)मा बसेर लामो समय काम गरेका एक पदाधिकारीका अनुसार राष्ट्रिय टोलीले फिफा र एएफसीको आधिकारिक प्रतियोगिता खेल्दा फुटबल संघका उच्च पदाधिकारीको मिलेमतोबिना ‘फिक्सिङ’ गर्न असम्भव छ । एजेन्टहरूले उच्च पदाधिकारीलाई मिलाइसकेपछि मैदानमा आफ्नो रणनीति अनुसार खेल हार्नका लागि खेलाडीहरूलाई टोकनका रूपमा रकम उपलब्ध गराउने गर्छन् । “नेपाली खेलाडीले पाएको पाँच हजार डलर टोकन हो । फिक्स गर्ने उच्च पदाधिकारीले त्यसभन्दा मोटो रकम असुलेको हुनुपर्छ,” ती पदाधिकारीले नेपालसँग भने, “प्रहरी अनुसन्धान ती उच्च पदाधिकारीसम्म पुग्छ कि पुग्दैन, सबै नेपालीको चासोको विषय हो ।” 

नेपाली ‘म्याच फिक्सिङ’मा संलग्न चर्चित बुके ५० वर्षीय पेरुमलले आफ्नो आत्मकथा केलोङ किङमा अन्तर्राष्ट्रिय म्याच फिक्सिङ कसरी हुन्छ, त्यसको विस्तृत विवरण दिएका छन् । त्यो किताबमा पनि संघका उच्च पदाधिकारीबिना अन्तर्राष्ट्रिय ‘म्याच फिक्सिङ’ असम्भव भएको बताइएको छ ।
प्रहरी स्रोतका अनुसार ‘म्याच फिक्सिङ’ काण्डमा एन्फा अध्यक्ष गणेश थापाका जेठा छोरा गौरव, फिक्सिङ भएका खेलमा व्यवस्थापक भएर गएका उच्च पदस्थ अधिकारीको संलग्नतालाई लिएर पनि अनुसन्धान थाल्ने सम्भावना बलियो छ । गौरवले लामो समय एएफसीको मलेसियास्थित कार्यालयमा बसेर काम गरेका थिए । उनी एएफसीका आजीवन प्रतिबन्धित पूर्वअध्यक्ष मोहम्मद बिन हमामबाट गैरकानुनी रूपमा एक लाख अमेरिकी डलर लिएको आरोपमा अनुसन्धानको दायरामा पर्ने डरले जागिर छाडेर बीचैमा नेपाल फर्किएका थिए ।  
प्रहरीले अनुसन्धानका क्रममा अञ्जन र उनीबीचको सम्बन्ध राम्रो भएको देखिएको बताएको छ । तर, त्यो व्यावसायिक हो कि साथीभाइबीच मात्र सीमित, तथ्य चाँडै उजागर हुने बताएको छ । अञ्जन र गौरव दुवै एन्फाको गोल प्रोजेक्ट अन्तर्गत पहिलो ब्याचका खेलाडी पनि हुन् । 

मलेसियाबाट फर्किएपछि गौरव नेपाली फुटबलमा सक्रिय हुन खोजिरहेका छन् । यसका लागि उनी खेलाडीको एजेन्टका रूपमा काम गरिरहेको एन्फा स्रोत बताउँछ । “गौरव नेपालका स्टार खेलाडी विमल घर्तीमगरका एजेन्ट हुन् । राष्ट्रिय टोलीको विषयमा आधिकारिक कुरा बाहिर आएको छैन,” स्रोतले भन्यो । ‘म्याच फिक्सिङ’मा एजेन्टको भूमिका प्रभावशाली रहने हुँदा प्रहरीले पनि उनको भूमिकालाई लिएर शंका गरेको हो । 

यस्तै, इन्चोन एसियाडमा इराक र कुवेतसँग ‘म्याच फिक्सिङ’ भएको खेलमा ‘सी’ लाइसेन्स कोर्स पनि नगरेका रितेश थापालाई गोल रक्षकको प्रशिक्षक बनाएर लगिएको, टिम व्यवस्थापक रमेश रायमाझी प्रतियोगिताका दौरान नेपाल फर्किएर आफ्नी श्रीमती लिएर फेरि दक्षिण कोरिया उडेको जस्ता विषयमा एन्फा पदाधिकारी अनुसन्धानमा तानिने अवस्था पनि छ ।  प्रकाशित: आश्विन ३०, २०७२

http://nepal.ekantipur.com/news/2015-10-17/20151017215224.html
Read Full Discussion Thread for this article