Posted by: metta November 2, 2015
Evil India
Login in to Rate this Post:     0       ?        
वीरगञ्ज नाकामा यसरी फस्यो नेपाल
२०७२ कार्तिक १६ गते

Birganj-Vansar

१६ कात्तिक, काठमाडौं । भारतले अघोषित नाकाबन्दी लगाएको दुई महिनापछि सोमबार एकाविहानै प्रहरीले हस्तक्षेप गरेर वीरगञ्ज नाका खुलायो ।

सबैभन्दा संवेदनशील र नेपाल आयातको मुख्य नाका खुलेको खबरले भारततर्फ रोकिएका इन्धनसहितका नेपाली मालवाहक गाडीहरु भित्रिने आशा जागृत भयो । तर, यो आशा तत्कालै तुहियो, किनकी यसमा अर्कै खेल थियो ।

नाकमा खुल्नासाथ भारतीय भूमिमा रहेका नेपाली गाडी भित्र्याउने होइन, वीरगञ्जमा अलपत्र परेका भारतीय गाडीहरु पास गराउने क्रम सुरु भयो ।

झण्डै ५ घण्टा वीरगञ्ज रक्सौल नाका खुल्यो । वीरगञ्जमा रहेका २१९ भारतीय गाडीहरुलाई प्रहरीले सुरक्षा दिएर सीमा कटायो । तर, एउटा पनि गाडी पनि नेपाल भित्रिएन । भारतीय गाडी पार हुनासाथ आन्दोलनकारीले फेरि मितेरी पुल कब्जामा लिए ।

सोमबारको घटनामा भारतले एक साथ दुई शिकार गरेको छ । पहिलो उसले वीरगञ्जमा महिना दिनदेखि फसेका आफ्ना गाडीहरुलाई फुत्काएर लगेको छ ।

नेपालमा फसेका गाडीका चालकहरुले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा स्वदेश फर्काउन माग गर्दै धर्ना दिइरहेका थिए । तर, यो भन्दा ठूलो उसको उपलब्धी हो थकित बन्दै गएको आन्दोलनलाई पुनः चर्काउन सफल हुनु ।

आइतबार मात्र सरकार र मधेसी मोर्चाबीच भएको वार्ता निकै सकारात्मक भएको थियो । तरर, वीरगञ्ज घटनाले वार्ताभन्दा आन्दोलन चाहनेलाई मसला दिएको छ ।

वीरगञ्ज नाकामा प्रहरीले हस्तक्षेप गर्दा त्यहाँ आन्दोलनकारीका नाममा १२-१३ जना सुतिरहेका थिए । प्रहरी आएको देखेपछि उनीहरुमध्ये ७ जना कुद्दै भारततर्फ लागे भने ५ जनालाई प्रहरीले पक्राउ गर्‍यो । तर, बल प्रयोग गरेर नाका खाली गराएको प्रचार गर्दै आन्दोलनकारीलाई उत्तेजित तुल्याउने काम गरियो ।

सोमबार वीरगञ्जमा एक जनाको मृत्यु भइसकेको छ । मृतक भारतीय नागरिक हुन् । यसले नेपाल भारत सीमामा भइरहेको आन्दोलनमा सीमा क्षेत्रमा बस्दै आएका भारतीय नागरिकहरुको संलग्नतालाई भने प्रष्ट पारेको छ ।

हिंसा भड्काएर प्रहरीलाई बल प्रयोग गर्न वाध्य पार्नु र प्रहरीले बल प्रयोग गर्‍यो भनेर देशभरका आन्दोलनकारीलाई उत्तेजित बनाउने अभिष्ट देखिन्छ ।

भारतीय जालमा नेपाल कसरी फस्यो ? 

बिहारमा जारी चुनावका कारण पछिल्लो दुई दिन नेपाल र भारत दुवै तर्फको सीमा नाका सिल गरिएको थियो । सधैं दुई देशबीचको दशगजामा थुपि्रने गरेका आन्दोलनकारीहरु सीमा सिल गरिएका कारण त्यहाँ थिएनन् ।

नेपालतर्फ पनि आन्दोलनकारीको कुनै चहलपहल थिएन । यहि मौकामा भारतले आफ्ना गाडीहरुलाई छिराउने जाल विछ्याएको हो । भारतको स्थानीय प्रशासनले पर्साका अधिकारीहरुलाई आन्दोलनकारी हटाएर भारतीय गाडीहरु छिराएमा नेपालका गाडीहरु पनि पठाइदिने आश्वासन दिएको स्रोतको दावी छ ।

भारतीय आश्वासनपछि पर्साका जिल्ला प्रशासन प्रमुख केशवराज घिमिरेले प्रहरीलाई आन्दोलनकारी हटाउन निर्देशन दिए । उनले यस विषयमा केन्द्रमा सल्लाह गरे कि गरेनन् भन्ने प्रष्ट छैन ।

तर, गृहसचिव सुर्य सिलवाल भने सरकारकै निर्देशनमा आन्दोलनकारीलाई हटाएर भारतीय गाडी पठाइएको दावी गर्छन् । ‘हामीले आफ्नै स्वविवेकका आधारमा सीमा खाली गरेर भारतीय गाडीहरु पठाइदिएका हौं’ अनलाइनखबरसित सिलवालले भने-‘भारतीय पक्षको आग्रहमा होइन, हामी आफैंले सोचविचार गरेर चालेको कदम हो ।’ यो निर्णय सरकारको कुन तहबाट भएको हो भन्ने उनले खुलाउन चाहेनन् ।

भारतले नेपालका सयौं गाडीहरु थुनिरहँदा नेपालले उनीहरुका गाडी पठाउन किन हतारो गरेको भन्ने प्रश्नमा सिलवालको आफ्नै तर्क छ । ‘भारतले नेपालतर्फ अवरोध भएकाले गाडी पठाउन नसकेको दावी गर्दै आएको छ’ गृह सचिव सिलवालले भने-उसका गाडीहरु पठाइदिएर के प्रमाणित गर्न खोजेका हौं भने नेपालतर्फ कुनै अवरोध छैन । यसबाट नेपालका गाडीहरु पठाउन उसलाई दवाव पर्छ भन्ने हाम्रो विश्वास हो ।’
तर ‘नकच्चरो कुटनीति’ को सफल अभ्यास गर्दै आएको भारतप्रति गृहसचिवले राखेको विश्वास सार्थक हुने कुनै सम्भावना थिएन ।

आन्दोलनमा भारतीय नागरिक

वीरगञ्जमा भएको झडपका क्रममा मारिने व्यक्ति भारतीय रहेको खबरसँगै सीमाकेन्दि्रत अवरोध भारतीय नागरिकको संलग्नता प्रमाणित भएको छ । विहान प्रहरीले पक्राउ गरेका पाँच मध्ये दुई भारतीय नागरिक नै थिए ।

भारतीय अगूवाईमा भएको आन्दोलनलाई नेपालले कठोरताका साथ डिल गर्नुपर्ने सुरक्षाविदहरु बताउछन् । नाम उल्लेख नगर्ने सर्तमा एक सुरक्षाविद्ले भने-‘यो आन्दोलन नेपालीहरुले गरेको होइन भन्ने यहाँभन्दा अर्को प्रमाण के चाहिन्छ ?’

उनले जसरी भए पनि आन्दोलनकारीलाई हटाएर सीमा नाका खाली गर्न सरकारलाई सुझाव दिएका छन् । उनले भने-‘प्रहरीले चाहे सीमा नाका खुला गर्न सक्दो रहेछ भन्ने प्रमाणित भएको छ, अब उनीहरुलाई नेपालको सिमामा ढिम्किन दिनु हुँदैन ।’

http://www.onlinekhabar.com/2015/11/345352/
Read Full Discussion Thread for this article