Posted by: metta November 1, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
बदनामी कमाएको नेपाली फुटबल 
कार्तिक १३, २०७२- 

यतिबेला नेपाली फुटबल इतिहासकै कठिन मोडमा छ । ‘म्याच फिक्सिङ’ गरेको आरोपमा प्रहरीले राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित पाँच जना खेलाडीलाई पक्राउ गरेपछि नेपाली फुटबलमा भुइँचालो गएको छ । नेपालको घरेलु लिगमा म्याच फिक्सिङ भएको कुरा धेरै अघिदेखि सुनिँदै आए पनि खेलाडीहरूलाई नै पक्राउ गरिएको घटना भने यो पहिलो हो । यसै साता उमेर विवादमा मुछिएर यू–१६ नेपाली फुटबल टिमले प्रतिबन्ध बेहोर्नुपरेपछि नेपाली फुटबल थप संकटमा पर्‍यो । नेपाली फुटबल बदनाम हुने गरी आएका यी घटनाहरू पहिलो भने होइनन् । यसअघि पनि एसियाली फुटबल महासंघका अध्यक्ष मोहम्मद बिन हमामलाई फिफा अध्यक्षमा निर्वाचित गराउन तत्कालीन अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले आफ्ना छोरा गौरव थापामार्फत घूस खाएको तथ्य सार्वजनिक हुँदा पनि नेपाली फुटबल बदनाम भएको थियो । यसैगरी एन्फाको अध्यक्ष रहँदा गणेश थापाले ‘गोल प्रोजेक्ट’ का नाममा गरेका कैयौं गडबढी सार्वजनिक भएका थिए । नेपाली फुटबललाई पतनको रसातलतर्फ धकेल्ने यस्ता कैयौं घटना छन् जुन बितेका २० वर्षमा घट्दै आएका छन् ।

एसियाली फुटबल महासंघ एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामले दिएको १ लाख अमेरिकी डलर काण्डपछि एन्फा अध्यक्ष गणेश थापाका जेठा छोरा गौरव थापा एएफसीको सुविधा सम्पन्न जागिर छोडेर नेपाल फर्किएका थिए । त्यसलगत्तै गौरव र अञ्जनले ललितपुरको पुल्चोकमा जिफोर ग्यारेज र अन्य रेस्टुराँमा लगानी गरेका थिए । 

कहाँ पुग्ला म्याच फिक्सिङ अनुसन्धान ?  
अहिले म्याच फिक्सिङ प्रकरण अनुसन्धानमा छ । अनुसन्धानको सुइरो खेलाडीमा मात्र सीमित होला कि अन्यत्र पनि मोडिएला ? धेरैका लागि चासोको विषय बनेको छ । यो प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एन्फा अध्यक्ष गणेश थापा पनि जोडिएको हुनुपर्ने धेरैको अनुमान छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत नेपालको खेलमा शंका व्यक्त गर्दै यसअघि नै समाचार सार्वजनिक गरेका हुन् । खेल मिलोमतोजस्तो गम्भीर विषयमा मुलुककै नाम जोडिँदा एन्फाले छानबिनका लागि पहल नगर्नु रहस्यमय छ ।

नेपाली फुटबलमा गणेश थापाको आदेशबिना पात पनि हल्लिँदैन भनिन्छ । यस्तो अवस्थामा यो प्रकरणको पत्र खुल्दै जाँदा गणेश थापा पनि मुछिन सक्ने आँकलन गरिएको छ र नेपाल प्रहरी त्यहाँसम्म पुग्छ कि पुग्दैन भन्ने प्रश्न पनि उठेको छ । गणेश थापा विवादमा तानिएको यो पहिलो पटक होइन । आर्थिक अनियमितता, विधि–विधानको उल्लंघनजस्ता विषयमा उनी पटक–पटक विवादमा पर्दै आएका छन् । नेपाली फुटबलको नेतृत्वमा आएपछि उनले गरेका आर्थिक अनियमितताका सम्बन्धमा छानबिनका लागि तीन–तीनवटा आयोग बनेका थिए, ती सबै आयोगले गणेश थापालाई दोषी देखाए पनि अहिलेसम्म कुनै कारबाही भएको छैन । गणेश थापाविरुद्ध एन्फाकै तीन उपाध्यक्षसहितका पदाधिकारीले आर्थिक अनियमितता गरेको आरोपमा संसद्को सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग आदि निकायमा उजुरी गरेका थिए । उक्त उजुरीका आधारमा सार्वजनिक लेखासमितिले थापाले ५८ करोड रुपैयाँ अनियमितता गरेको भन्दै कारबाहीका लागि अख्तियारमा सिफारिस समेत गरेको थियो तर अख्तियारले उक्त प्रकरणलाई तामेलीमा राख्यो । त्यसपछि अनियमितता भयो भन्दै प्रमाणसहित उजुरी गर्ने उपाध्यक्षहरू नै कारबाहीमा परे । अहिले गणेश थापा अझ शक्तिशाली भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट सभासद् चुनिएका थापा आफ्नो पार्टी सत्ता साझेदार भए पछि थप शक्तिशाली भएका हुन् । यस्तो स्थितिमा प्रहरीको कारबाही स्वतन्त्र रूपमा अघि बढ्ने कुरामा सन्देह गर्नेहरूको कुनै कमि छैन ।  कसरी किनिए खेलाडी ? 

गणेश थापाको भ्रष्टाचार 
अखिल नेपाल फुटबल संघ (एन्फा) मा १९ बर्षसम्म अध्यक्ष रहेका गणेश थापाले आफ्नो कार्यकालमा २० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको तथ्य बेलाबखत सार्वजनिक हुँदै आएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघबाट अखिल नेपाल फुटबल संघले प्राप्त गर्ने रकममा त्यस्तो भ्रष्टाचार हुने गरेको एन्फा स्रोतले उपलब्ध गराएको कागजातबाट खुलेको थियो । फिफा र एसियाली फुटबल संघ (एएफसी) बाट प्राप्त विभिन्न अनुदान सिधै व्यक्तिको नाममा जम्मा गर्ने एन्फा अध्यक्ष थापाले एन्फाको करोडौं रुपैयाँ व्यक्तिगत रूपमा चलाउँदै आएको आरोपमा मुद्दा खेपिरहेका छन् । एन्फामा १९ वर्ष अध्यक्षका रूपमा कार्यरत रहँदा थापामाथि एएफसी तथा फिफाको निर्वाचनका क्रममा ५ करोड रुपैयाँभन्दा बढी घूस लिएको आरोप समेत लागेको थियो ।  

यसबाहेक एसियाली फुटबल महासंघले नेपाललाई उपलब्ध गराउँदै आएको प्रशिक्षक भत्ताबापतको मासिक १५ हजार डलरमा पनि थापाले ठूलो घोटाला गरेको बताइन्छ । लामो समयसम्म गुपचुप रहेको  घोटालामा मासिक ७ देखि १० लाख रुपैयाँसम्म थापाले हात पार्दै आएको स्रोतको दाबी छ । जिल्ला, क्षेत्रीय तथा केन्द्रीय तहका प्रशिक्षकको नाममा युथ डेभलपमेन्ट परियोजनाअन्तर्गत आएको अनुदानमा समेत भ्रष्टाचार गरी थापाले वार्षिक १ करोड रुपैयाँसम्म घोटला गरेको आरोप लाग्दै आएको छ । नेपाली प्रशिक्षकलाई मासिक ३ हजार रुपैयाँ दिएर कागजमा भने २ सयदेखि २ सय ४० डलरसम्म भत्ता दिएको भन्दै एएफसीलाई झुटो विवरण पेस गरेर थापाले उक्त घोटाला गर्ने गरेको बताइन्छ । त्यस्तै, टेक्निकल डाइरेक्टरका नाममा फिफाबाट प्राप्त हुने मासिक १ हजार ५ सय डलर बराबरको अनुदानमा समेत थापाले हात चाटेको आरोप छ ।

गौरव थापा प्रकरण 

सन् २०१२ मा एन्फा अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको व्यक्तिगत बैंक खातामा एसियाली फुटबल महासंघका मोहम्मद बिन हमामले १ लाख अमेरिकी डलर जम्मा गरिदिएको खुलासा अमेरिकी समाचार एजेन्सी एपीले गरेको थियो । उक्त प्रकरणपछि हमामलाई भ्रष्टाचारको अभियोगमा फिफाले आजीवन प्रतिबन्ध लगाएको थियो तर प्रमाणको अभाव देखाउँदै कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टसले उक्त निर्णय उल्ट्याइ दियो । त्यतिबेला फिफाको अध्यक्षमा चुनिन सेप ब्लाटरसँग प्रतिस्पर्धा गर्न एसियाली फुटबलको नेतृत्व गरेका ६३ वर्षीय मोहम्मद बिन हमाममाथि भोट किन्न रकम खर्च गरेको आरोप लागेको थियो । हमामले आफ्नो निजी कामका लागि समेत एएफसीको बैंक खाता प्रयोग गरेको बताइएको थियो । उक्त प्रकरणमा अमेरिकी समाचार एजेन्सी एसोसिएट प्रेसले अन्तर्राष्ट्रिय अकाउन्टिङ फर्म प्राइसवाटर हाउस कुपर्सले एएफसीको लेखा परीक्षण गर्ने क्रममा गणेश थापाका छोराले समेत उक्त प्रकरणमा १ लाख डलर घूस खाएको खुलासा गर्‍यो । त्यतिबेला गणेश थापाले खुला रूपमा हमामको समर्थन गर्दै आएका थिए । उनी हमामका एकदमै निकट सहयोगीमध्ये एक मानिन्थे । त्यतिबेला गौरव थापा एएफसीको कम्पिटिसन डिभिजनमा हेड अफ युथ कम्पिटिसन्सका रूपमा कार्यरत थिए । प्रतिवेदनअनुसार उक्त घूस काण्डमा दक्षिण एसियाका भोटरहरूमध्ये सबैभन्दा बढी रकम पाउने गणेश थापा नै थिए । 
प्रकाशित: कार्तिक १३, २०७२ 

http://saptahik.ekantipur.com/news/2015-10-30/20151030163203.html
Read Full Discussion Thread for this article