Posted by: metta September 13, 2015
Storm in the making
Login in to Rate this Post:     0       ?        

नातिको कात्रो किन्न हिँडेका हजुरबा पनि रहेनन् !

कर्फ्यू हटेन, अब हजुरबाको कात्रो कसले किन्ने ?

२०७२ भदौ २७ गते १२:०० मा प्रकाशित

निशा साह, सभासद

जलेश्वर नगरपालिका -७ बज्राहीका गणेश चौधरी आन्दोलनकारी हैनन् । उनी नेपाल रेडक्रस सोसाइटीका कर्मचारी हुन् । तर, गणेश आफ्ना नातिको काजकिरियाका लागि सामान किन्न निस्कँदा लोकतान्त्रिक भनिएको सरकारका सुरक्षाकर्मीबाट चलाएको गोलीको शिकार भए ।

nisha-shahaयतिबेला हजुरबा गणेशको शव नाति रोहन चौधरीको शवसँगै जलेश्वर अस्पतालमा अलपत्र अवस्थामा छ ।

सरकारले कर्फ्यू नहटाएका कारण हजुरबा र नाति दुबैका लागि कात्रो किन्न दोस्रोचोटि निस्कने आँट परिवारका अरु सदस्यले गर्न सकेका छैनन् ।

हजुरबा गणेश र नाति रोहन चौधरीको जस्तै अन्य चार जनाको शव पनि यसैगरी जलेश्वर अस्पतालमै थन्किइरहेका छन् ।

हात्तीलेट निवासी रामसिला देवी शुक्रबार कामविशेषले जलेश्वर पुगेकी थिइन् । उनी पनि आन्दोलनकारी हैनन् । तर, प्रहरीको गोलीले रामशिलालाई पनि चिनेन । उनी घटनास्थलमै मारिइन् ।

कृपया कर्फ्यु हटाइदेऊ, हामी आफ्ना मान्छेको दाहसंस्कार गर्छौं भन्ने स्थानीयको क्रन्दन राज्यले अहिलेसम्म सुनुवाइ नगर्दा शव उठाउन जाने आँट कसैले गरेका छैनन् । उनीहरुलाई पनि डर छ, कतै आफूहरुले पनि रोहनका हजुरबाजस्तै बन्नुपर्ने त होइन ?

सुरक्षाकर्मीले भदौ २३ र २५ गते दुई दिनको प्रदर्शनमा महोत्तरीको जलेश्वरमा ६ जनालाई गोली हानी हत्या गरेका छन् ।
जलेश्वरमा भदौ २३ गते भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तीनजनाको घटनास्थलमै मृत्यु भयो ।

घटनामा परी महोत्तरी गाविस -५ का रामविवेक यादव, जलेश्वर-४ बखरीका अमित कापर जलेश्वर ७ का रोहन चौधरीको मृत्यु भयो ।
बिगौना गाविसका वीरेन्द्र बिछालाई काठमाडौंको नर्भिक अस्पताल ल्याइएको थियो, उनको पनि मृत्यु भएपछि अहिले उनको शव जलेश्वर अस्पतालमै पुर्‍याइएको छ ।

सरकारले कर्फ्यु नहटाएका कारण परिवारजनले शव उठाउन नपाएको गुनासो गरिरहेका छन् ।

यसबारे हामीले आइतबार बिहान गृहमन्त्री र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं । कमसेकम कर्फ्यु हटाइदिए आफन्तले आफ्ना मान्छेको सदगति गर्न पाउने थिए । तर, यसमा गृहमन्त्रालयले चासो दिएको छैन ।

जलेश्वर घटनामा गोली लागेर घाइते भएका सुरेन्द्र पासवानलाई आइसीयुमा राखिएको छ । घाइते शिवेन्द्र महतोको वीर अस्पतालमा अप्रेसन गरेर गोली निकालिएको छ ।

जलेश्वर घटनामा गोली लागी घाइते भएका दर्जनौंको उपचार कसैको काठमाडौंमा त कसैको जलेश्वर एवं जनकपुरमा भइरहेको छ । उनीहरुको उपचार खर्चमा समस्या परिरहेको छ ।

रबरको गोलीले पर्स कसरी छेड्यो ?

प्रहरीले आन्दोलनकारीलाई तितर-वितर पार्न रबरको गोली चलाएको दाबी गरे पनि घटनाक्रम हेर्दा सिसाकै गोली हानिएको देखिन्छ । जनप्रतिनिधिका हिसाबले मैले अनुसन्धान गर्दा सरकारी पक्षबाट जनतामा ज्यादती भएको देखिएको छ ।

मैले आफैं वीर अस्पतालमा पुगेर शिवेन्द्रको अवस्था हरें । उनको पुठ्ठामा गोली लागेको रहेछ । गोलीले त्यहाँ रहेको पर्स (मनि ब्याग) छेडेर भित्र पसेछ । पर्सभित्र रहेको सिक्कालाई समेत गोलीले कच्याक-कुचुक पारेको पाइयो ।

सरकारले आन्दोलनकारीलाई तितर-वितर पार्न रबरको गोली प्रयोग गरेको बताउँदै आएको छ । तर, रबरको गोलीले कसरी पर्सभित्र रहेको क्वाइनलाई समेत पगालेर शरीर छेड्छ ? यो घटनालाई हेर्दा सरकारले आन्दोलनकारीमाथि रबरको हैन, सिसाको गोली चलाइरहेको स्पष्ट हुन्छ ।

जति पनि आन्दोलनकारी घाइते भएका छन्, उनीहरु कुटपिट वा लाठीचार्जमा नभएर गोलीकै शिकार भएका छन् । त्यसमा पनि टाउको, छाति पेटलगायत कम्मरमाथिको भागमा गोली लागेको छ ।

आन्दोलनकारीहरु तितर-वितर भइसकेको अवस्थामा पनि अनावश्यकरुपमा गोली हानिएको छ । राज्यले अनावश्यकरुपमा बल प्रयोग गरेको छ, जुन निन्दनीय छ । हामी सभासदहरुले सामुहिकरुपमा विज्ञप्तिमार्फत् यसको विरोध गर्दै आएका छौं ।

आन्दोलनकारीका तर्फबाट असई थमन बिकको समेत हत्या भएको छ । हामीले दुबैतर्फबाट भएका यस्ता घटनाको विरोध गर्दै आन्दोलनमा दुबै पक्षलाई संयमित रहन आग्रह गरेका छौं ।

गृहमन्त्री वामदेव गौतमसँग हाम्रो आग्रह छ, कमसेकम कर्फ्यु त हटाइदिनोस्, ता कि आफन्तजनले आफ्ना मान्छेको सदगति गर्न पाउन् ।
र, घाइतेहरुको उपचारमा सरकारले तत्कालै ध्यान देओस् । निहत्था मान्छेलाई मुठभेडका नाममा टाउको र छातीमा ताकेर गोली हान्ने काम बन्द गरियोस् । सेना परिचालन नगरियोस् ।

http://www.onlinekhabar.com/2015/09/324998/
Read Full Discussion Thread for this article