केहि भेटहरु पलमा सिमित
हुन्छन्। केहि पलहरुले जीवनको अर्थ दिन्छन् । तर केहि पलहरु यस्ता हुन्छन् जस्को
सामु जीवननै छोटो हुन्छ। क्यारोन सँगको भेट त्यस्तै त्यस्तै केहि थियो। भेटहरु
वाक्लिएका थिए ।एम्सटर्ड्यामको क्यानलमा जमेको हिउँ जस्तो।मलाई विश्वास थियो मेरो
जीवनमा वसन्त फर्किन्छ । ति नहरहरुमा फेरि पानी वग्नेछ। पहेँला पत्ता भएका रुखहरुमा
पालुवा पलाउनेछन्। पातहरु खस्नेछन् वगिरहेको पानीमा । अनि क्यारोन सँग मिलेर म
हेर्नेछु। कहिलेकाहिँ तिनै क्यानलमा आफ्ना भावनाका डुंगाहरु खियाउनेछु। मलाई थाहा
छ क्यारोन मेरो भाषा वुझ्ने छैन तर म उसलाई मेरो भावनाले नै सम्झाउनेछु। उ मेरो
भावना भने वुझ्ने छे। मेरो भावनाको भाषा छैन। उसलाई वुझ्न भाषा चाहिन्न।
करिव एक हफ्ताको अन्तरालपछि
अनायसै क्यारोनले मलाई भनी
"मेरो छोरो
एन्थर्पेनमा वस्छ उसको वाउसँग ! म भोलि भेट्न जाँदैछु ।"
मलाई त्यतिन्जेल थाहा थिएन।
उसको विहे भएको छ। नहुन पनि सक्छ। नभइकन आमा हुन सकिन्छ। तर उसको आमा भए जस्तो
शरिर छैन। सुलुत्त परेको सुराही जस्तो छ। मानौँ त्यही सुराहीमा नशा थुप्रिएको छ।
त्यो दिन मैले सुस्तरी
सोधेँ।
"आर यु म्यारिड?"
"डिभोर्स्ड !"
उसले हलुकै उत्तर फर्काई। उ
विवाहित नै रैछ। तर विवाहित रहिरहन सकिनछ। विवाह वन्धन हो।स्वच्छन्द मान्छे वन्धनमा
वस्न गाह्रो हुन्छ।
"विहे भएको दुइ वर्षमा
मेरो छोरो जन्मियो। त्यस्को छ महिना पछि हाम्रो डिभोर्स भयो। मैले छोरो सँगै राख्न
पाइन। धेरै ड्रग्स लिन्छु भनी अदालतमा सावित भयो।"
उसको ओठमा जल्दै गरेको
चुरोटको ठूटो जस्तै लागि मलाई उ । कति सजिलै जीवनका औँलाहरुले उसलाई चेपे। कति
सजिलै समयका ओठहरुले उसलाई चुसे। अनि दिन प्रतिदिन उ जल्दै गई। आजकल शायद उसलाई
खरानी हुने रहर पलाएको छ। त्यहि रहरमा डढी दिन्छे उ। सुम्पिदिन्छे समयको भरमा
आफुलाई। म त फगत उसको जल्ने रहरमा भेट्टिएको एउटा सलाईको काँटी। उसले जल्न चाहीभने
म जस्ता हजारौँ काँटीहरु भेट्टाउनेछे जीवनका मोडहरुमा।
"मलाई पहिला किन भनिनौ
?"
मैले उसका खैरा गहिरा आँखा
हेरेँ। धेरै कथा लुकाएकी छे जस्तो लाग्यो। जसको भख्खर पहिलो हरफ पढ्दैछु। मैले
उसलाई चिनीसकेको छैन।
"मेरो पर्सनल लाइफमा
तिम्रो खासै इन्ट्रेस्ट नहोला जस्तो लाग्यो !"
" म पनि वेल्जियम
घुम्न गाको छैन !" मैले उ सँगै दुई चार दिन अरु रहने रहर देखाएँ।
"तिमीलाई म त्यहाँ
धकेल्न चाहन्न । मेरो जीवनको त्यो पाटो अन्धकार छ।"
"म सँगै शायद केहि
उज्यालो भेट्छौ कि !"
"जिद्दी नगर प्लिज
!"
"त्यसो भए हाम्रो भेट
यत्ति नै हो त?" मेरो मन गह्रुंगो भएर आयो। उसले आफुलाई लुकाएरै राखी। मलाई
लाग्यो अव त्यो क्यानलको वरफ कहिलै पग्लनेछैन। त्यहि क्यानलको तल पहेँला पात हरु
निस्सासिएर मेरो सपनाको मलामी जानेछन्। मेरो सपना विस्तारै कात्रो ओढ्दैछ।
"तिमी कति रहन्छौ
युरोप?"
मैले मनमनै हिसाव गरेँ अरु
करिव एक महिना !
"अरु एक महिना !"
"सेभिया आउ ! म पर्खेर
वस्छु। तिमीलाई स्पेन घुमाउँछु।" उ खिसिक्क हाँसी।
भोली उ छोरो भेट्न जाँदै
छे। मेरो पनि तिन दिन पछि फ्रान्स जानुछ। डक्टर भेट्न।
************
****************** *************** ******************* *************
करिव एक हफ्तापछि म
सेभियामा थिएँ उ सँगै म सँग अरु तिन हफ्ता थियो। क्यारोन र मैले स्पेनमा विताएका
तिन हफ्ता सवै भन्दा रमाइला तिनहफ्ताहरु थिए। म तिन हफ्तापछि नेपाल फर्के । करिव
तिन महिना पछि क्यारोनले मलाई फोनमा सुनाई उ प्रेगनेन्ट थिई।
उसले म वाट केहि आश राखेकी
थिइन। तर मेरो अंश उ सँग थियो।
मैले फोनमा उसलाई सोधेँ।
"लेट्स गेट म्यारिड
!"
"के यो सन्तानको
कारणले हो?" क्यारोनको प्रश्न अचम्मको थियो।
"पार्सियल्ली !"
मैले नढाँटी उत्तर फर्काएँ।
उसले भनी "छोडदेउ।
हाम्रो मायामा कसैको स्विकृती लिन किन नै आवश्यक पर्यो र ! फेरि मेरो ड्रग्स सँग
तिमी कहाँ वाँच्न सक्छौ र?"
करिव तिन महिना पछि उसले
सुनाई । उसको ड्रग्सको ओभरडोजले गर्दा प्रेगनेन्सीमा कम्प्लिकेसन आयो। उसले मेरो
सन्तान जोगाउन सकिन। क्यारोनलाई रिह्याव सेन्टर लगियो।
मैले आफ्नो भिषा मिलाएँ ।
उसलाई भेट्न गएँ।
**************
************* ************** ************ ************* **********
"सरी !"
"के को लागि ?"
मैले आँखामा आँखा जुधाएर प्रश्न गरेँ।
"सन्तान त तिम्रो पनि
त थियो।"
उ दुव्लाएकी थिइ। आँखाको
मुनी वर्षौदेखि ननिदाए जस्तो कालो कालो भएको थियो।
"कतिन्जेल राख्छ
तिमिलाई यहाँ ?"
उसले मलाई हेरीरहि।
"ड्रग्स छुटेपछि
भन्छन्। मेरो जीवनमा त्यहि त छ नछुटेको। त्यो छुटेपछि के रहन्छ र जीवनमा जस्तो
लाग्छ!"
धेरैवेर सोचेपछि मैले उसलाई
फेरि भनेँ।
"लेट्स गेट म्यारिड
!"
उ जोरले हाँसी। मैले वरपर
हेरेँ।
"तिमी कहिले आफ्नो
छोराछोरीले गर्दा म सँग विहे गरौँ भन्छौ । कहिले सान्त्वना देखाउन। तिमीलाई मलाई
सुधार्न सक्छु जस्तो लाग्छ?"
यो प्रश्नको उत्तर म सँग
थिएन। मलाई लाग्थ्यो त्यो माया हो। क्यारोनलाई मैले देखाएको सान्त्वना लाग्यो। म
घाइते भएको न दुनियाँले देख्यो, न क्यारोनले देखी।
***************
*************** ********** *********** ************ **********
म नेपाल फर्केँ। अहिले पनि
क्यारोनलाई कहिले काहिँ भेट्न जान्छु। उ झन दुव्लाएकी छे। वुढी भएकी छे। उसमा
हेर्न लायक केहि छैन। तर मन उसैतिर डोहोरिन्छ कहिलेकाहिँ। अनि आफ्नो एकान्त मेटाउन
घुमीहिँड्छु उ पुगेका ठाउँहरु। उ हिप्पी भएकी छे, दुनियाँ घुमी हिँड्छे। मेरो
कारणले नेपाल चाहिँ नआएकी रे।
जसले भन्यो सहि भन्यो.....हो
माया अन्धो हुन्छ। क्यारोन पनि अन्धि छे। क्यारोन मेरी माया हो। क्यारोन मेरो माया
देख्दिन। दुवै अन्धा..... अनि म विवश।
म उसलाई सुनाउन सक्दिन
,उसलाई खोज्दै साकेत सँधै आइरहनेछैन। किनकी साकेत पनि गल्दै छ। साकेत ढल्ने पक्का
छ। म सँग समय कम छ। तर ढल्नु अघि मेरो अन्तिम कथा क्यारोनकै लेख्छु।
**********************
********************** ******************* ***************