Posted by: metta August 27, 2015
हिन्दु राष्ट्र किन? दलित, महिला र अन्य धर्म लाई दबाउन
Login in to Rate this Post:     0       ?        

धर्म र धर्म निरपेक्षताबारे – कृष्णराज पौडेल ‘सञ्जाल’

August 24th, 2015
धर्म र धर्म निरपेक्षताबारे – कृष्णराज पौडेल ‘सञ्जाल’
विचार विश्लेषण
0

आदिम समाजमा धर्मको उत्पत्ति भएसँगै राज्यको उत्पत्ति भएको इतिहास भेटिन्छ। त्यतिखेरका राज्य एउटै भाषा, एउटै संस्कृति, एउटै भेषभुषा र एउटै धर्ममा आधारित हुन्थे। नेपालको परम्परागत मान्यता बलियो रहेका कारण धर्मको स्थान पनि बलियो नै छ। धर्म भन्नु अलौकिक शक्तिमा विश्वास गर्नु पनि हो। धर्मले राजा/महाराजा, गुरू–पुरोहित, देवता आदिमाथि पूर्ण विश्वास गर्नु पर्ने बताउँछ। तर बुद्ध धर्म वाहेक अन्य धर्महरू ईश्वरको आधारमा खडा भएका छन्। पूजाआजा, होम, ब्रत, कीर्तन, भजन, जात्रा, मेला पर्व आदि जस्ता पुण्य गरेको भरमा स्वर्गमा जाने र जसले यी कर्म गर्दैन, त्यो नर्कमा जाने भ्रम फैलाउँदै शोषकलाई शोषण गर्ने धर्मले छुट दिइएको छ।
संसारभरि हालसम्म प्रचलनमा रहेका धर्ममध्ये हिन्दू धर्म सबैभन्दा पुरानो धर्म रहेको अनुसन्धानले देखाउँछ। हिन्दू धर्मावलम्बीहरू सिन्धु घाँटी सभ्यताबाट आएका हुन्। सिन्धु घाँटीमा सनातन धर्म मान्नेहरू बसोबास गर्थे। प्राचीन सिन्धु शब्द पछि हिन्दू शब्दमा रूपान्तरण भयो। मुस्लिमहरू अन्य ठाउँबाट सिन्धुघाँटीमा बसाइ सरेपछि आफ्नो आफ्नो समूह छुट्याउनका लागि मुस्लिमले त्यहाँका मूल बासिन्दालाई हिन्दू र उनीहरू बस्ने ठाउँलाई हिन्दुस्तान भन्न थाले। सिन्धु सभ्यताका प्राचीन बासिन्दाहरू भारत, नेपाल, बङ्गलादेश, पाकिस्तान, बर्मा आदि ठाउँमा छरिँदै गए र आफ्नो हिन्दू सभ्यता अपनाउँदै गए।

हिन्दू धर्मको उत्पत्ति इसापूर्व ३००० वर्ष अघि भएको मान्यता छ। सबैभन्दा धेरै हिन्दू धर्माम्वलम्बीहरू दक्षिण एसियामा बसोबास गर्छन्। विश्वमा सबैभन्दा धेरै प्रभावमा रहेको धर्म बौद्ध धर्म हो। त्यसका प्रवर्तक गौतम बुद्ध नेपालमा जन्मिएका थिए। बौद्ध धर्मको उत्पत्ति ई.पू. २५०० वर्ष पहिले भएको पाइन्छ। विश्वमा धर्ममध्ये इसाई धर्मको जन्म रोमन साम्राज्यको पूर्वी क्षेत्रको मध्य पूर्वमा भएको थियो। विश्वमा इसाई धर्म मान्नेहरू एक–तिहाई जनसङ्ख्या ओगटेका छन्। त्यस्तै, इस्लाम धर्मको जन्म सातौँ शताब्दीमा मध्य पश्चिम एसियामा भएको थियो। यी बेग्ला बेग्लै धर्मका ईश्वरहरू फरक फरक छन्। सबै धर्मले ईश्वर एक मात्र छन् भनेर दावा गर्दछन्।
प्राचीन समयमा नेपालको स्वरूप बहुधार्मिक थियो। त्यस कालखण्डमा हिन्दू र किराँत दुवैले शासन गरेको इतिहास छ। बुद्ध नेपालकै थिए। यिनै विविध कारणले पनि नेपालमा धार्मिक सहिष्णुता कायम छ। हिन्दूहरू स्वयम्भूमा गएर पूजाआजा गर्दछन्। बौद्धहरू पशुपति जाने गर्दछन्। मुक्तिनाथ देवतालाई हिन्दू र बौद्ध दुवैले पूजा गर्दछन्। समयसँगै नेपालीहरूले धार्मिक अतिवादी सोचलाई त्यागेर नेपाली माटो अनुसारको मौलिकता अपनाउन खोजेको देखिन्छ। जबरजस्ती धर्म परिवर्तन गराउनु अपराध हो। धर्म मान्ने र नमान्ने दुवै स्वतन्त्रता व्यक्तिमा हुन्छ। पछिल्लो समयमा नेपाल इसाई समेतको थलो बन्न गएको छ। जसरी बगैँचामा फुल्ने रङ्गीविरङ्गी फूलको सुन्दरता एउटै रङको बगैँचाको भन्दा फरक हुन्छ, त्यसरी नै नेपालको सांस्कृतिक चरित्र पनि प्राचीन कालदेखि नै बहुभाषी, बहुधार्मिक, बहुराष्ट्रिय र बहुसांस्कृतिक रहेका कारणले हाम्रो देश विविध संस्कृति र मौलिकताको धनि छ।

आखिर धर्म के हो? के धर्म प्रगतिशील छ? के कर्मकाण्ड गरेर धर्म प्राप्त हुन्छ? धर्मले दिने शिक्षा के हो? धर्मले परिवर्तनमा विश्वास गर्दैन। पुरानो परम्परा, संस्कारको संरक्षण गरिरहन्छ। कसैले दुःख पाउनु र कसैलाई सुख प्राप्त हुनुलाई पूर्वजन्मको फल बताउँछ। जतिसुकै अन्यायमा परे पनि मानिस मुक्त हुने विधि त्यही ईश्वरको पूजाआजा र प्रार्थना गर्ने कुरामा जोड दिन्छ र मानिसलाई झनै कङ्गाल बनाउँछ। त्यसकारण धार्मिक गुरूहरू सधै यो बताउँछन् कि जतिसुकै दुःख–कष्टमा परे पनि एक दिन ईश्वरले मुक्त गर्दछन्। पहिलो जन्ममा दुुःख पाउनेले अर्को जन्ममा सुखैसुख पाउने बताउँछन्। यो विधि गरिबलाई झनै गरिब बनाउँदै लैजाने र धनि धनिकै रूपमा राख्ने सोचाइ हो। शोषकहरूले धार्मिक अन्धविश्वासको आधारमा आफ्नो स्थितिलाई टिकाइराख्न बल पुग्ने गरी व्याख्या गरिरहन्छन्। धनि र गरिबलाई धार्मिक आस्थाका आधारमा एउटै वर्ग बताइरहन्छन्। गरिबलाई पूजाआजा र दानका लागि मन्दिरमा पठाइन्छ। धर्मले गुरूलाई मालिक र धर्मात्मा व्यक्तिलाई नोकर बनाइराख्छ।
हिन्दू धर्मशास्त्र अनुसार भगवान विष्णुले पृथ्वीको रक्षाका लागि १० अवतार लिएको बुझिन्छ। नेपालमा राजतन्त्रको इतिहास हेर्दा नेपालमा राजालाई विष्णु भगवानको अवतारको रूपमा हेरिन्छ। धर्ममा मन्त्रको प्रयोग गरी उनै ईश्वरको पुकार गरिन्छ। जब मानिस अप्ठ्यारो परिस्थितिमा पुग्छ, त्यतिखेर भगवानको नाम जपिन्छ। हुनै नसक्ने अर्को जन्मलाई सुखमय बनाउने बाचा–बन्धनमा पारेर बाँकी जीवनमा अत्यार सहेर भए पनि ईश्वरप्रीत श्रद्धा गर्नु पर्ने चेतनाको विकास गरिन्छ। अन्यायी जनताले सचेत र सङ्गठित तरिकाले आफूमाथि भएको अत्याचारबाट मुक्त हुन धार्मिक आस्था त्याग्नु पर्ने कुरालाई यसले विरोध गर्दछ। धर्मले धर्म विरोधीलाई नास्तिकको बिल्ला भिराइदिन्छ।

भर्खरै नवलपरासीको कुडियामा आफ्नो छोरा बचाउन छिमेकीको छोरा बली दिइएको छ। दास प्रथा, सति प्रथा र छुवाछूत प्रथा सबै धर्मकै कारण गरिएका विभेद हुन्। तर धर्मले पारेको भ्रम बुझ्दै गएपछि अहिलेको अवस्थामा विभेद केही मत्थर भएको छ। विश्वभर ईश्वरको अवतारको रूपमा मानिने राजतन्त्र धेरै देशबाट पतन हुँदै गइरहेको छ। हिन्दू धर्मको जन्मदाता नै बाह्मणहरू हुन्। ब्रह्म ज्ञान जानेको मान्छेलाई ब्राह्मण भन्न थालियो। शिक्षा आर्जन गर्ने पद्धति कर्मकाण्डी हुन थाल्यो। गैरब्राह्मणले शिक्षा लिने रूचि राख्दा जातीय विभेद गर्दै कामका आधारमा जातको विभाजन गरी अन्य जातलाई ब्राहम्णमा आउन रोक लगाइयो। सुरूमा हिन्दू धर्मशास्त्रमा जातीय विभेद थिएन। हिन्दू धर्मका अनुयायीहरूकै बीचमा स्वार्थको जन्म भई सानो जात र ठूलो जातको रूपमा धर्मको प्रयोग गरिएको उनीहरूको भनाइ हुन्छ। मन्दिरलाई ठूला, सम्पन्न जातको मात्र प्रयोगशाला बनाइयो र साना जातलाई मन्दिर प्रवेशमा रोक लगाइयो। एकात्मक हिन्दू राज्य निर्मातादेखि नै निरन्तरता पाएको ब्राह्मणवादी सोच र पितृसत्तात्मक सोचले लैङ्गिक विभेद व्यापक रूपमा बढ्दै गयो। त्यही विभेदको कारण पनि हुन सक्छ, नेपालमा हिन्दू धर्माबलम्बीको सङ्ख्या घट्नु।

के धर्ममा जातीय विभेद गर्न पाइन्छ? के धर्म र जाति एउटै कुरा हो? राजा महेन्द्रले पञ्चायत सुरू गर्दा मुलुकी ऐन मार्फत् जातीय विभेद गैरकानुनी बनाए पनि राष्ट्र र धर्म जोडेर राज गर्न थाले। त्यो भन्दा पहिले नै नेपाली राज्य र समाजलाई हिन्दूकरण गर्ने अभ्यास जयस्थिति मल्ल, राम शाह र सेन राजाहरूले गरेका थिए। बुद्ध जन्मेको देशमा बुद्ध धर्मकै अनुयायीहरूलाई देश निकाला गर्न र हिन्दू अधिराज्यलाई बलियो बनाउने काम राजा महेन्द्रले गरे। जसले वेदमाथि विश्वास गर्दछ भने उसले जातीय वर्गीकरण मान्नु पर्दैन। उसले पछि निर्माण भएको मनुस्मृति मान्नु पर्ने बाध्यता पनि छैन। त्यसकारण धर्मको नाममा जातीय विभेद गर्नु शोषकहरूको काम हो। महिलालाई पुरूष सरहको अधिकार दिनु हुँदैन भन्ने मान्यता पितृसतात्मक सोचाइ हो। सेवा नै धर्म हो भन्ने भनाइ राजनीतिमा पनि प्रयोग हुँदै आइरहेको छ। यसको अर्थ जनताले ईश्वरको सेवा गर्नु पर्छ भन्ने नै हो। ईश्वरको सेवा गर्नलाई मन्दिरमा पूजाआजा गर्नु पर्छ। सम्बन्धित धर्मका कर्मकाण्ड विधिविधान गर्नु पर्छ। सामन्ती युगमा सबै धर्मले राजा–महाराजा, साहु, जमिन्दार र गुरूपुरोहित सहित सिङ्ग्ाो सामन्तवादको सेवा गर्‍यो। यो नै सांस्कृतिक रूपमा उत्पीडनका बलिया साधन बने। धर्मलाई उत्पीडनका निम्ति प्रयोग गर्न खोजिएको कुरालाई हामी नकार्न सक्दैनौँ। तसर्थ धर्म सेवाका निम्ति मात्र अस्तित्वमा आएको मान्न सकिँदैन।

धर्म विज्ञानविरोधी छ। परिवर्तनविरोधी छ। तर नराम्रा कुराको सिको सजिलै गर्न सकिने, त्यसमाथि गरिबी, अशिक्षा र चेतनाको न्यून स्तरलाई प्रयोग गर्दै धर्म प्रचार गर्न र धर्मबाट नै मुक्ति मिल्ने कुराको आधार सामन्ती सोचले बलियो बनाउँदै लग्यो। आजको नयाँ पुस्ताले पुस्तौँदेखि मान्दै आएको धार्मिक आस्था छोड्दै गएका छन्। कसैको प्रलोभनले मात्र मानिसले धर्म परिवर्तन गरेको छैन। आफूले पुस्तौँदेखि मान्दै आएको विभेदबाट मुक्त पाउन पनि मानिस अर्को धर्म अनुसरण गरेको हुन सक्छ। यतिखेर देशमा धर्मबारे बहस चलेको छ। कमल थापा लगायतका प्रतिगामी व्यक्तिले ‘राज्यको धर्म हुन्छ’, ‘देश हिन्दू राष्ट्र हुनु पर्छ’ भन्ने बहस र आन्दोलन चलाइरहेका छन्। सच्चा गणतन्त्रवादीहरू ‘राज्यको धर्म हुँदैन’, ‘देश धर्मनिरपेक्ष राष्ट्र नै हुनु पर्छ’ भन्नेमा अडिग छन्। तर आफूलाई गणतन्त्रवादी ठान्ने कतिपय व्यक्ति र सङ्गठनहरू अझै पनि धर्म निरपेक्षताको पक्षमा अडान लिन सकिरहेका छैनन्। बुद्ध जन्मेको देशमा बौद्ध धर्मको देश हुनु पर्छ भन्ने बहस चलेको छैन। हिन्दू धर्मको तुलनामा बौद्ध धर्म केही प्रगतिशील छ। तसर्थ हिन्दू राष्ट्रको मात्र माग अपनाउनु परिवर्तनविरोधी नारा हो। नेपाल बहुधार्मिक मुलुक हो।

धर्म निरपेक्षता समयको माग हो। नेपाली जनताको चाहना हो। आज हिन्दू राष्ट्रको नारा उचाल्ने व्यक्तिहरूलाई नेपाली जनताले लामो आन्दोलन र सङ्घर्षबाट पाखा लगाएका हुन्। अबको गणतान्त्रिक मुलुकमा कसैले धर्मको आधारमा राजनीति गर्न मिल्दैन। त्यसकारण समय अनुसार धर्मशास्त्रको व्याख्या गर्न राज्यले पाउनु पर्छ। धर्मभन्दा ठूलो राज्य हो। धर्म मानिआएको पुरानो संस्कार पनि हो। देशका सबै विविधताको सम्बोधन अब धर्म निरपेक्ष राज्यले नै गर्छ। धर्म निरपेक्षतालाई सुदृढ गर्ने काम गणतन्त्रको हो। हिन्दू धर्मलाई राज्यको धर्म मान्नु पर्छ भन्ने तर्क प्रतिक्रियावादीको गणतन्त्रबाट पछि हट्नु पर्छ भन्ने सोचको उपज हो। त्यसकारण हिन्दू अधिराज्य स्थापना गर्ने नाममा समाजलाई धार्मिक द्वन्द्वमा फसाउने कार्यलाई रोक्न सकिएन भने गणतन्त्र पनि बचाउन सकिने छैन। संसारमा सबैभन्दा धेरै हिन्दू भएको देश भारत हो। तर भारत धर्म निरपेक्ष राष्ट्र हो। आजका जनता गुण र दोषका आधारमा राम्रा कुराको अनुसरण गर्छन् भने नराम्रा कुराबाट पछि हट्छन्। पछिल्लो समय नेपाललाई हिन्दू राष्ट्रको रूपमा घोषणा गर्ने माग बढ्नु भारतमा उठेको मोदी लहर जस्तै हो। यहाँ हिन्दू अतिवादी सोंचलाई प्रयोग गर्दै राजतन्त्रको पुनरुदय गराउन खोजिएको छ। सामान्यतः राजतन्त्रलाई धर्मको नाराबाट अथवा धर्मको राजा बनाउन खोज्नु कुनै नयाँ विषय होइन। यस विषयमा जनता अलि बढी सचेत रहनु पर्छ। राप्रपा नेपालका अध्यक्ष कमल थापा, काङ्ग्रेसका खुमबहादुर खड्का लगायतको एजेण्डामा देशलाई हिन्दू राष्ट्र बनाउने पक्षमा छन्। सयौँ वर्षसम्म चलेको निरङ्कुश राणा शासनदेखि लामो समयसम्म चलेको निरङ्कुश राजतन्त्रको आडमा बसेर धर्मलाई प्रयोग गर्दै शोषकहरूले लुट नै मच्चाए। कुनै मानिस मर्दा पर्दा वा कुनै बेला पुरोहितलाई दिइने दान पूजालाई पूरोहित वर्ग पाल्ने उपायमा केही मानिसलाई अन्धो बनाएर झुक्याइएको छ। यदि धर्ममा समानता, स्वतन्त्रता र न्याय छ भने कि धार्मिक स्थलमा साना र ठूलो जातको नाममा साना जातिलाई प्रवेशमा रोक लगाइन्छ। एउटै धर्म मान्नेबीच विभेद गरिन्छ। धर्मकै नाममा दलाली र ठगी गरिन्छ। यहाँ देशलाई हिन्दू राष्ट्र बनाएर ती सबै पुरातन मान्यतालाई स्थापित गराउन खोजिएको छ।

जनताको चेतना समय र परिस्थिति अनुसार परिवर्तन हुँदै जान्छ। इतिहासमा परम्परागत शैलीमा जनतालाई झुक्याएर राज्य चलाएको आडमा फेरि अन्याय अत्याचार गर्न शोषकहरू व्ब्युँतिदै छन्। गणतन्त्रभित्र रहेको धर्म निरपेक्षतालाई मुट्ठीभर शोषकले मन पराएका छैनन्। केही महिना अगाडि नेपाल भारत सहयोग मञ्चको कार्यक्रम पशुपति क्षेत्रमा भएको थियो। भाजपाका शीर्ष नेता रेणुदेवी लगायतले नेपाल हिन्दू राष्ट्र नै हुनु पर्ने, नेपाल हिन्दू राष्ट्र भए मात्र देशको विकास हुन्छ भन्ने धारणा राखेकी थिइन्। सोही कार्यक्रममा पूर्व मन्त्री प्रकाश चित्रकारले हिन्दू राष्ट्र स्थापनासँगै राजालाई स्थापित गर्ने माग गरेका थिए भने पूर्व मन्त्री गणेश शेरचनले राजा स्थापित गर्न भारतको आशिर्वाद चाहिने भन्दै भाजपाका वरिष्ठ नेता विजय जोली र रेणुलाई राजा फर्काउन सहयोग मागेका थिए। तर हिन्दूको परम्परा र संस्कारमा हुर्किएका जनतालाई प्रयोगमा ल्याउने राजावादीको स्वार्थ अनुकूल अहिले खुल्ला रूपमा हिन्दू राष्ट्र पुनः स्थापना गर्न अभियान सञ्चालन गरिरहेका छन्। ८० प्रतिशतभन्दा धेरै हिन्दू भएको देशमा हिन्दू धर्मको कुरा उठाउन सजिलो छ। यदि हिन्दू राष्ट्र पुनः ब्युँताउन सकेमा हिन्दू सम्राटलाई पुनः स्थापित गर्न सजिलो हुने मान्यताका आधारमा पनि हिन्दू राष्ट्र हुनपर्नेमा राजावादीको चलखेल बढिरहेको छ।

आज विश्वमा भौतिकवादी विचार हावी भैइरहेको सन्दर्भमा कुनै घटना, सत्व, दुःख, संयोग, वियोग कुनै ईश्वरवादी कारण नभै वैज्ञानिक कारणले घटेको मानिन्छ। धर्म भौतिकवादी विश्व दृष्टिकोण र विज्ञानको हमेशा विरोधी रही आएको छ। धर्मबारे मार्क्सले भनेका छन्– “धार्मिक व्याथा एकै साथ वास्तविक व्यथाको अभिव्यक्ति र वास्तविक व्यथाको प्रतिवाद दुवै नै हो। धर्म उत्पीडित प्राणीको सुस्केरा हो। एक हृदयहीन दुनियाँको हृदय हो। त्यो जनताका लागि अफिम हो।” मार्क्स अनुसार धर्मको प्रयोग उत्पीडक वर्गले पीडित वर्गलाई आफ्नो गरिबी र शोषणको कारणले झेल्नु परेका समस्याहरू सहनका लागि उर्जा दिने काममा प्रयोग गरेको हुन्छ।
त्यस्तै लेनिनले भनेका छन्– “जहाँसम्म राज्यको सम्बन्ध हो, धर्मलाई व्यक्तिगत मामिला मानिनु पर्छ तर जहाँसम्म पार्टीको सवाल हो, हामीले धर्मलाई कुनै पनि हालतमा व्यक्तिगत मामिला मान्न सक्दैनौँ। धर्मसँग राज्यको कुनै सरोकार हुँदैन र धार्मिक संस्थाहरूको पनि सरकारी सङ्गठनसित कुनै प्रकारको सम्बन्ध हुनु हुँदैन। त्यसकारण मार्क्सवाद सधै धर्म निरपेक्षताको पक्षमा हुन्छ।” धर्म निरपेक्षताको अर्थ सबै धर्मलाई समान हैसियत प्रदान गर्नु हो। धर्मको बीचमा भेदभाव नगर्नु हो। धार्मिक उत्पीडन, अन्धविश्वास र हस्तक्षेपबाट जनता मुक्त हुनु हो।

Read Full Discussion Thread for this article