Posted by: cybernepali August 5, 2015
भूकम्पपीडितका नाममा अमेरिकामा उठाइएको लाखौं डलर अझै पठाइएन नेपाल
Login in to Rate this Post:     0       ?        

नेपालमा साउने झरीमा बिजोग, अमेरिकामा आफ्नै हात जगन्नाथ


नेपालमा वैशाख १२ गते गएको महाभूकम्पले तीन महिनाको नेटो कटाएर यसै साता सय दिन पूरा गर्दैछ । तर, नौ दिनमा नौलो, बीस दिनमा बिस्र्यो हुने नेपाली समाजमा भूकम्प यतिबेला बिर्सेकै अवस्थामा नपुगे पनि छायाँमा भने परेको छ । संविधान निर्माण र त्यसपछिको राजनीतिक विकासक्रमको मुद्दा केन्द्रमा हुँदा भूकम्प छायाँमा परेको हो । यो सँगै भूकम्पपीडितहरु साउने झरीमा भूकम्प पीडाले निथु्रक्क भिजेका छन् भने भूकम्पको नाममा संसारभरि छरिएर रहेको नेपाली डायस्पोराले उठाएको रकमको हरहिसाब हुन छोडेको छ । पहिलो चरणमा जेजति सहयोग रकम नेपाल पठाइयो त्यति नै हो, त्यसपछि भने बाँकी रकम कि त बैंक खातामै फ्रिज भएको छ कि त उठाउनेहरुकै हात जगन्नाथ भएको छ । अमेरिकाको नेपाली डायस्पोराको चाल पनि योभन्दा भिन्न छैन । हिजो रकम उठाउन प्रतिस्पर्धा गर्ने र त्यसको प्रचारप्रसार गर्न पत्रकार गुहार्ने या सामाजिक सञ्जालमा भाइरल सिर्जना गर्नेहरु यतिबेला कुना पसेका छन् । प्रतिक्रियाका लागि सम्पर्क राख्दा कोही पनि सोझो उत्तर दिन तयार छैनन् । या त गोलमटोल उत्तर दिन्छन् या त सम्पर्कमा आउनै चाहँदैनन् । आर्तहरुको चहराइरहेको घाउमा मल्हम लगाउन उठाइएको रकममा पनि यस्तो हर्कत हुने भएपछि अरुको त के कुरा भो र ? सायद पैसा देख्दा महादेवका पनि तीन नेत्र खुल्छन् भनेको यही हो कि ?

वैशाख १२ गतेपछि जेठ १२ गते हुँदै असार १२ गते पनि बितेको छ । त्यसपछि साउन १२ गते पनि बितेर उकालो लागिसक्यो । समयको गतिले कसैलाई पनि नपर्खने शाश्वत नियमको पालना हुँदा यसो भएको हो । यसरी विक्रम सम्वत् २०७२ को पात्रोका पानाहरु छिटोछिटो फेरिदै गए पनि नेपालमा वैशाख १२ गते आएको भूकम्पका पीडाहरु भने खासै फेरिएका छैनन् । अरुका लागि नौ दिनमा नौलो र बीस दिनमा बिस्र्यो हुँदै गए पनि वास्तविक पीडित भने अझै आइरहेका पराकम्पनसँगै भूकम्पपीडाका घाउहरु बल्झाउन बाध्य छन् । उता सरकार, राजनीतिक दल, नागरिक समाज, पत्रकारिता, दातृनिकाय, गैससवाला र समाजसेवीलगायतका सारा तह र तप्काका मानिस भने संविधान निर्माणको अर्कै मुद्दामा फड्को मारेर भूकम्प बिर्सिन खोजिरहेका छन् ।

नेपालमा यसरी भूकम्प छायाँमा पर्दै गएका बेला त्यहीको स्याटलाइट मुद्दामा रमाउने नेपाली डायस्पोरालाई पनि हाइसञ्चो भएको छ । छिट्टै तात्ने र छिट्टै सेलाउने टिन प्रवृत्तिको नेपाली डायस्पोराको आफ्नो खासै एजेण्डा हुँदैन, न आफ्नो क्रिया नै हुन्छ । नेपालकै एजेण्डा बोक्ने या उतैको क्रियामा प्रतिक्रिया मात्र दिने गैरआवासीय नेपाली संघ र त्यसको छायाँमा रहेको नेपाली डायस्पोरा पनि यतिबेला संविधान निर्माणकै एजेण्डामा फड्को मारेको छ । त्यसका अगुवाहरु यतिबेला भूकम्पपीडितको नाममा उठाइएको रकमको हिसाबकिताब गर्नुभन्दा एकपटकको नेपाली सधैंको नेपाली नारालाई जसरी पनि संविधानमा हुबहु ठाउँ दिलाउने पैरवीमा लागेका छन् ।

अमेरिकामा रहेको नेपाली डायस्पोरा पनि विश्वमा छरिएर रहेको नेपाली डायस्पोराकै प्रतिछायाँ हो । ‘जसै जसै बराजै उसै उसै स्वाहा’ भन्ने स्वभावको यो डायस्पोरा पनि लिडर हैन, फलोवरकै तहमा रहेको छ । अन्य मुलुकको नेपाली डायस्पोरासँगै प्रतिस्पर्धा गर्न रुचाउने यो डायस्पोरा पछिल्लो समय अलि जागेको छ । वैशाख १२ गते नेपालमा गएको महाभूकम्पको झड्काले राम्ररी नै तंग्रिरहेको जस्तो देखिएको यो डायस्पोरामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरिकाका अलावा करिब २ हजार ५ सय सामाजिक संघसंस्थाहरु रहेको अनुमान गरिन्छ । पार्टी, जात, धर्म, क्षेत्र, समुदाय, लिंग, जिल्ला हुँदै गाउँसम्मको स्तरमा पनि निर्माण गरिएका यस्ता संस्थाहरु मूलतः स्वपहिचानका लागि खोलिए पनि नेपालीलाई मर्दापर्दा सहयोग जुटाउनसमेत क्रियाशील हुँदैआएका छन् । वैशाख १२ गते आएको महाभूकम्प यी संस्थाहरुका लागि त्यस्तै एउटा चुनौतीपूर्ण अवसरका रुपमा उपस्थित भयो ।

महाभूकम्पमा परेका नेपालीका लागि कसरी धेरैभन्दा धेरै रकम उठाउने भनेर एक किसिमको प्रतिस्पर्धा नै चल्यो । यो प्रतिस्पर्धामा आफूलाई खरो उतार्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरिका, नेपाल जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मञ्च, अधिकार, नेप्लिज अर्थ क्वीक रिलिफ सोसाइटी, साउदर्न क्यालिफोर्निया, नेप्लिज सोसाइटी टेक्सास, नेपाली एसोसियसन अफ नदर्न क्यालिफोर्निया, शेर्पा किदुक, मुस्ताङ किदुक, रिजउड नेपाली समाजलगायतका सयौं नेपाली संस्थाहरुले लाखौं डलर रकम उठाए । यसरी उठाइएको रकममध्ये केहीले प्रधानमन्त्री राहत कोष नामक सरकारी कोषमा रकम हस्तान्तरण गरे भने धेरैले आफ्नै हात जगन्नाथ भनेझैं आफूखुसी नेपालमा रकम दिने र वितरण गर्ने जोहो मिलाए । यसो गर्दा धेरैले चाहिनेलाई भन्दा पनि आफ्ना पर्नेलाई नै मिलाएर दिए भन्दा पनि हुने स्थिति देखा प¥यो । यो दिने सेटिङ र नेटवर्किङका बारेमा सुरुदेखि नै चासो र चिन्ता व्यक्त हुँदै आएको छ । सरकारलाई दिदा हिनामिनाह हुने र आफूले बाँड्दा मात्र पीडितकहाँ पुग्ने भनेर आफ्नै हात जगन्नाथ गर्नेहरुको नियतमाथि पनि सुरुदेखि नै प्रश्न उठ्दै आएको हो ।

नेपालमा साउनेझरीको थप पीडाले भूकम्पपीडितहरुको पीडा अरु गहिरिदो छ । आफ्ना हुनेहरुले त त्यसबाट केही राहत पाएका छन् तर जसका आफ्ना छैनन् र पहुँच पनि छैन, उनीहरुको भने कन्तबिजोक छ । यसरी उता नेपालमा वास्तविक भूकम्पपीडित कन्तविजोगको स्थितिमा रहेको बेला यता अमेरिकामा भने उनीहरुकै नाममा उठेको पैसा या त उठाउनेहरुको मुखको बहीखातामा या त अमेरिकी बैंकमा फ्रिज भएर रहेको छ । केही तथाकथित समाजसेवीले त त्यो पैसा व्यापारमा लगाएर मुनाफा कमाइरहेको नै ज्याक्सन हाइटको डाइभर्सिटी प्लाजामा टेलिपैथी हुन थालेको छ । अझ, डाइभर्सिटी पार्कदेखि टाइम्स स्क्वाएरसम्म सडकमा तन्ना ओछ्याएर या बर्को थापेर जम्मा गरेको रकमको त कुनै हिसाबकिताब नै छैन ।

विश्वसन्देशले संकलित रकमको फलोअप गर्ने क्रममा सम्बन्धित संस्थाका पदाधिकारी या हर्ताकर्तासँग सम्पर्क गर्ने हरसम्भव प्रयास ग¥यो । तर, अधिकांशको फोन उठेन, भ्वाइस मेसेजमा छोडिएको खबरको पनि कुनै जबाफ आएन । केहीले दिएको जबाफ पनि भूकम्पपीडितको घाउमा मल्हम लगाउनेभन्दा पनि उल्टै उनीहरुको पीडा चर्काउने खालको थियो ।

नेप्लिज सोसाइटी टेक्ससले हालसम्म ८५ हजार डलर मात्र खर्च गरेको छ । २ लाख ५० हजार अमेरिकी डलर संकलन गरेको संस्थाका अध्यक्ष भुवन आचार्यका अनुसार बाँकी रकम १ लाख ६० हजार खातामै छ । संस्थाले त्यो रकम पीडितलाई सिधै दिनेभन्दा पनि पब्लिक आइन्ड प्राइभेट फन्ड नामक नयाँ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत कोही व्यक्तिले जति रकम सहयोग गर्छ, त्यति नै रकम संस्थाले म्याचिङ फन्ड थपिदिन्छ र त्यो बराबरको निर्माण कार्य हुन्छ । आचार्य भन्छन्– त्यो रकमले नेपालमा १० वटा विद्यालय निर्माण गर्ने हो ।

साउदर्न क्यालिफोर्नियास्थित नेपाल अर्थ क्वीक रिलिफ कमिटीका सचिव राजेन्द्र सिवाकोटी संस्था पीडितको पीडाप्रति संवेदनशील रहेको बताउँदै भन्छन्– संस्थाले झन्डै १ लाख अमेरिकी डलरको जस्तापाता आफैं वितरण ग¥यो । १ लाख ५६ हजार अमेरिकी डलर प्रधानमन्त्री राहतकोषमा जम्मा गरियो ।

यसैगरी भूकम्पपीडितको नाममा झन्डै ८० हजार अमेरिकी डलर संकलन गरेको नेपाली कांग्रेस प्रवास संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले पनि पूरै रकम पीडितसमक्ष पु¥याउन सकेको छैन । संस्थाका महासचिव मुनेन्द्र नेम्वाङ त्यस सत्यलाई स्वीकार्दै भन्छन्– ‘अहिले हामी संस्थालाई ५०१ सी ३ को मान्यता दिलाउने प्रक्रियामा छौं । प्रक्रिया पूरा हुनासाथ हामी सम्पूर्ण रकम पार्टीले भूकम्पपीडित सहयोगका लागि खोलेको खातामा पठाउनेछौं ।’ यो संस्थासँग अहिले पनि ६० हजार अमेरिकी डलर बाँकी रहेको बताइन्छ ।

यी तीन संस्थाबाहेक अरु संस्थाले पीडितका नाममा उठाइएको रकमका बारेमा बोल्न जाँगर चलाएनन् । आखिर किन यस्तो भएको होला त ? समाजशास्त्र एवं मानवशास्त्रका समेत विद्यार्थी रहेका आमसञ्चारविद् डा. प्रदीप भट्टराईलाई हामीले सोधेका थियौं । उनले सजिलै भने– ‘हाम्रो संस्कार नै धन देख्दा मानवका पनि तीन नेत्र भन्ने खालको छ । त्यही संस्कारमा हुर्केर बढेकाले बनाएको नेपाली डायस्पोरा न हो । एकपटकको नेपाली, सधैंको नेपाली भनेकै यही हो । नानीदेखि लागेको बानी जाने कुरै भएन ।’ उनले यो प्रवृत्तिले नेपाली डायस्पोराको विश्वसनीयता घुम्नेप्रति गम्भीर आशंका व्यक्त गर्दै भने– ‘बाख्री हरायो भन्दा पनि बाघ पल्केको कुराचाहिं गम्भीर हो । यसरी नेपाली डायस्पोराले विश्वास गुमाउँदै जाने हो भने भविष्यमा नेपालीलाई मर्दापर्दा दिन कोही पनि तयार हुँदैन । यसले नेपालीको स्वपरिचय र मौलिकता नै स्खलनमा पर्छ ।’

विश्वसन्देशको खबरदारी

राज्यको चौथो अंगका रुपमा रहेर वाचडगको काम गर्दै आएको विश्वसन्देश सुरुदेखि नै यो अभियानमा उठेको रकमको आफूखुसी खर्च र वितरण गर्ने कुराको विलोममा रहँदै आएको हो । जेजस्तो भए पनि प्रजातन्त्रमा सरकार जनताप्रति उत्तरदायी हुनैपर्छ र उसले मात्र नियमित र निरन्तर रुपमा जनतासँग सम्बन्ध बनाइराख्न सक्छ । हो, नेपालको सरकार पारदर्शी छैन, यसका हर्ताकर्ताहरुको विश्वसनीयता र इमानदारितामाथि प्रश्नचिह्न पनि लागेका छन् । तर, यसो भनेर कुनै मौसमी संस्थाले त्यस्तो स्थायी संस्थाको प्रतिस्थापन गर्न सक्दैन । फेरि एक पटकलाई शंकाको सुविधा दिएर भए पनि निगरानी राख्दै सरकारी संयन्त्र नै प्रयोग गर्नुपर्छ भन्ने मत राख्ने विश्वसन्देशले आफ्नो जुन २, २०१५ को अंकमा कहाँ गयो भूकम्पपीडितका नाममा अमेरिकामा संकलित रकम ः पीडितहरुको हातमा या अमूक बैंक खातामा ? उठ्दैछ सोसल अडिटको प्रश्न शीर्षकमा आवरण सामग्री नै प्रस्तुत गरेको थियो । त्यतिबेला हामीले अमेरिकामा उठाइएको रकमको सदुपयोग हुनेमा आशंका व्यक्त गर्दै सोसल अडिटसम्मको कुरा उठएका थियौं । त्यतिबेला हाम्रो प्रश्नमा कतिपयले आग्रह र पूर्वाग्रह पनि देखेका थिए । तर, अहिले पैसा उठाउनेहरुको व्यवहारले उनीहरुमा चाहिं हामीप्रति आग्रह–पूर्वाग्रह देखिएको छ, हामी सही साबित भएका छौं । फलोअप नगर्ने भनेर आलोचित नेपाली पत्रकारिताभन्दा फरक स्थानमा उभिएर हामी यस मुद्दालाई निचोडमा पु र्याउञ्जेल फलोअप गरिरहनेछौं । टे«जरी बेन्चमा हैन, अपोजिसन बेन्चमा बसेर आवाजविहीनहरुको आवाज हुने पत्रकारिताको धर्मबाट हामी च्यूत हुने छैनौं । नेपालमा भूकम्पका पराकम्पन जान छोड्लान् तर हामी पैसा उठाएर आफ्नै हात जगन्नाथ गर्ने प्रवृत्तिविरुद्ध कलममार्फत पराकम्पन ल्याइरहने छौं । सोसल अडिटको पक्षमा रहेर हामी यो मुद्दा उठाइरहनेछौं । नौ दिनमा नौलो बीस दिनमा बिस्र्यो हुन दिने छैनौं ।


Source

Read Full Discussion Thread for this article