Posted by: metta May 11, 2015
National Government ? Yes or No?
Login in to Rate this Post:     0       ?        
राष्ट्रिय सरकार बनाउन केपी ओलीको पहल

वैशाख, काठमाडौं ।प्रधानमन्त्री सुशील कोइरालालाई विस्थापित गरेर आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले पहल तीव्र पारेका छन्। ओलीले सोमबार आफ्ना सहयोगी नेता विष्णु पौडेललाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न उनको निवास लाजिम्पाट पठाएका थिए।

स्रोतका अनुसार कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नै पार्टीका सभापति कोइराला नेतृत्वको सरकारलाई विस्थापित गरी आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहल बढाएको थाहा पाएपछि ओलीले पनि पहल तीव्र पारेका हुन्। एमाओवादीप्रति कडा रूपमा प्रस्तुत हुँदै आएका ओली सरकारको नेतृत्व लिन पछिल्ला दिनमा नरम बन्दै गएको अन्नपूर्ण पोस्टमा खबर छ ।

एमाले उपमहासचिव विष्णु पौडेलले भने बाटो पर्दा एमाओवादी अध्यक्ष दाहालको निवासमा प्रवेश गरेको बताए। उनले अन्नपूर्णसँग भने, ‘महाभूकम्पछि उत्पन्न राष्ट्रिय विपत्ति सामना गर्न र संविधान निर्माण अगाडि बढाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक छ भन्ने अनुभूति सबै नेताहरूमा रहेको पाएको छु। राष्ट्रिय सहमतिको सरकार बनाउने वातावरण पनि बन्दै गएको पाएको छु।’

प्रमुख दलका शीर्ष नेताहरूले राष्ट्रिय विपत्ति र संविधान निर्माण सँगै अगाडि बढाउन राष्ट्रिय सरकार आवश्यक रहेको अभिव्यक्ति व्यवस्थापिका संसद्बाट दिएपछि राष्ट्रिय सरकार गठनका लागि अनौपचारिक छलफलले तीव्रता पाउन थालेको हो।

पार्टीहरूले राष्ट्रिय सरकार गठन गर्ने विषयमा औपचारिक निर्णय भने गरिसकेका छैनन्। ‘सैद्धान्तिक रूपमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने संस्थागत निर्णय भएपछि औपचारिक रूपमा छलफल होला’, पौडेलले भने।

राष्ट्रिय सरकारको नेतृत्व गर्न ओली र देउवाले आफूलाई अगाडि सारेका छन्। तर पौडेलले अहिले नै नेतृत्वको ‘छिनाझपटी’ नरहेको बताए। उनले भने, ‘नेतृत्वको विषय गौण हो। त्यसबारे कुनै छिनाझपटी भएको छैन।

पहिले त संस्थागत रूपमा राष्ट्रिय सरकार गठन गर्ने सैद्धान्तिक निर्णय गर्नुपर्छ।’ महाभूकम्पपछि उत्पन्न राष्ट्रिय विपत्ति सामना गर्न व्यवस्थापिका संसद्बाट मंगलबार संकल्प प्रस्ताव पारित गराएपछि शीर्ष नेताहरू राष्ट्रिय सरकार गठनबारे औपचारिक छलफलमा जुट्ने तयारीमा छन् भने सभासद्हरूलाई जिल्लामा परिचालन गर्ने योजना प्रमुख दलहरूले बनाएका छन्।

प्रमुख राजनीतिक दलको सहभागितामा राष्ट्रिय सरकार गठनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूले आआफ्ना पात्रहरूका बारेमा लबिङ गरिरहेका छन्। भारत र अमेरिकी प्रतिनिधिहरूको लबिङ देखिने गरी हुन थालेको स्रोतले जनाएको छ।

आफ्नो पार्टीले अहिले सबैका तर्क सुनिरहेको एमाओवादीका एक नेताले बताए। उनका अनुसार ओली र देउवा दुवैले राष्ट्रिय सरकारको नेतृत्व गर्न आआफ्नो तर्फबाट प्रयास थालिसकेका छन्।

http://www.onlinekhabar.com/2015/05/276230/

राष्ट्रिय सरकार तर नेता को?
काठमाडौं : संसद्मा राष्ट्रिय सरकार गठनबारे विभिन्न कोणबाट सुझाव आएलगत्तै यसबारे अनौपचारिक गृहकार्य सुरु भएको छ। यसले कहिले औपचारिकता लेला स्पष्ट नभए पनि उच्चस्तरीय राजनीतिक नेतृत्व र केही महत्त्वपूर्ण विदेशी कूटनीतिक नियोगले पनि यसबारे चासो लिन थालेका छन्।
 
सिद्धान्तत: राष्ट्रिय सरकार गठनबारे मुख्‍य दलहरूमा संसद्को बैठक रोकेरै छलफल गर्ने सहमति भए पनि कसको नेतृत्वमा भन्नेमा उनीहरूबीच मत र मन विभाजित छ। प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सरकार गठन प्रस्तावको विरोध नगर्नुका पछाडि उनी आफैंले त्यस्तो सरकार प्रमुखको दाबेदारी प्रस्तुत गर्नु हो।
 
राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदाय प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारले वैशाख १२ गते आएको महाभूकम्पपछि उत्पन्न राष्ट्रिय विपत्ति सामना गर्न नसक्ने निष्क र्षमा पुगेपछि राष्ट्रिय सरकार गठनको प्रस्ताव अगाडि आएको हो।
 
प्रधानमन्त्री कोइरालाले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गरेर अगाडि बढ्ने चाहना एमाओवादी नेतृत्वसँग व्यक्त गरेका छन्। तर कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि आन्तरिक र बाह्य वातावरण बनाउँदै लगेका छन्। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि राष्ट्रिय सरकारको प्रधानमन्त्रीमा दाबेदारी प्रस्तुत गरेका छन्।
 
पौडेलले पूर्वप्रधानमन्त्रीहरूले अब बन्ने राष्ट्रिय सरकारको दाबी गर्न नहुने तर्क गरे। 'राष्ट्रिय सहमतिको सरकारबारे सात दिनअघि नै छलफल भएको थियो। तर परिस्थिति भिन्न हुँदै आएको हुँदा पहिला प्रधानमन्त्री भइसकेकाले दाबी छोड्नुपर्‍यो।
 
नभएकाहरूलाई अवसर दिनुपर्‍यो', पौडेलले अन्नपूर्णसँग भने, 'सबै दल र सबै नेतालाई सम्मान दिने गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्न आवश्यक छ।'
 
 राष्ट्रिय सरकार बन्ने अवस्था आए त्यसको नेतृत्व तपाईंले गर्नुहुन्छ भन्ने प्रश्नको जबाफमा पौडेलले भने, 'म पछि त हट्दिनँ होला।' राष्ट्रिय सरकार गठन गृहकार्य कहिलेसम्म पूरा होला भन्ने अर्को जिज्ञासामा पौडेलले भने, 'सात १० दिनपछि होला।'
 
राष्ट्रिय सरकारको नेतृत्व गर्ने क्षमता आफूसँग रहेको दाबी गर्दै देउवा र ओलीले आआफ्नो पक्षमा वातावरण बनाउन प्रतिपक्षी दल र अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग छलफल अघि बढाएका छन्।
एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पनि शनिबार संसद्मा सम्बोधन गर्दै युवा पुस्ताको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका थिए। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र भट्टराईलाई पनि राष्ट्रिय सरकारको प्रधानमन्त्रीका रूपमा छलफलका क्रममा अगाडि सारिएको छ।
 
एमाओवादी महासचिव कृष्णबहादुर महराका अनुसार मंगलबारसम्म संसद्बाट भूकम्पपीडितको उद्धार, राहत, पुनर्थापना र पुनर्निर्माणसम्बन्धी साझा संकल्प प्रस्ताव पारित गरेपछि राष्ट्रिय सरकार गठनबारे छलफल हुनेछ। 'त्यसपछि राष्ट्रिय सरकार गठनको एजेन्डामा छलफल होला', महराले अन्नपूर्णसँग भने।
 
एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपालझलनाथ खनालले पनि आफूसँग राष्ट्रिय सरकारको नेतृत्व गर्नसक्ने क्षमता रहेको दाबी गरेका छन्।
 
स्रोतका अनुसार देउवा र ओली राष्ट्रिय सरकारको नेतृत्व गर्ने बलिया दाबेदार देखिएका छन्। राष्ट्रिय सरकारको नेतृत्व गर्ने क्षमता आफूसँग रहेको दाबी गर्दै देउवा र ओलीले आ-आफ्नो पक्षमा वातावरण बनाउन प्रतिपक्षी दल र अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूसँग छलफल अघि बढाएका छन्। 
 
एमाओवादीका एक नेताका अनुसार देउवा र ओली दुवैले पहिलेभन्दा अहिले एमाओवादीसँग निकटता देखाउन थालेका छन्। ती नेताले भने, 'राष्ट्रिय सरकार बनाउनुपर्छ तर कसको नेतृत्वमा भन्नेमा निष्कर्षमा पुगेका छैनौं।'
 
अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूले पनि कोइरालाको विक ल्पमा राष्ट्रिय सरकारको नेतृत्व गर्ने पात्रका बारेमा गृहकार्य र लबिङ गर्न थालेका छन्। 
 
स्रोतका अनुसार अमेरिकी राजदूत पिटर डब्लू बोडेले आइतबार एमाओवादी अध्यक्ष दाहालसँगको भेटमा पनि देउवालाई अनुभवी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्तुलन मिलाउन सक्ने व्यक्तिका रूपमा प्रस्तुत गरेका थिए। 
 
एक महिनाअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव सुब्रमण्यम जयशंकरले देउवा र उनकै पार्टीका महामन्त्री सिटौलालाई देउवानिवास बूढानीलकण्ठमा भेटेका थिए। 
 
स्रोतका अनुसार देउवाले भारत र अमेरिका दुवैलाई सन्तुलनमा राखेर आफूलाई राष्ट्रिय सरकारको नेतृत्व गर्ने पात्रका रूपमा अगाडि सारेका छन्।
एमाले अध्यक्ष ओलीसँग पनि पछिल्ला दिनमा एक अमेरिकी कूटनीतिज्ञले बाक्लो भेटवार्ता गरिरहेका छन्। कांग्रेस नेत्री सुजाता कोइराला पनि कूटनीतिक छलफलमा छिन्।
 
'संसद्को अधिवेशन सकेर सभासद्लाई गाउँ पठाएपछि नेताहरू राष्ट्रिय सरकार गठनमा घनीभूत गृहकार्यमा जुट्नेछन्', स्रोतले भन्यो, 'पात्रको विषयमा सहमति हुनेबित्तिकै राष्ट्रिय सरकार बन्नेछ।'
http://annapurnapost.com/News.aspx/story/11589
Read Full Discussion Thread for this article