Posted by: metta May 9, 2015
ज्यामारा अपार्टमेन्ट कि ‘होराइजन’ ?
Login in to Rate this Post:     0       ?        
ग्राहकको प्रश्न ज्यामारा अपार्टमेन्ट कि ‘होराइजन’ ? सुनील महर्जन काठमाडौं रमेशनन्दन वज्राचार्यले भुइँचालोले धापासीस्थित पार्क भ्यु होराइज अपार्टमेन्ट चर्किएर आफ्नी श्रीमती शारदा वज्राचार्यको मृत्यु होला भनेर सोचेका पनि थिएनन्। ललितपुर ठैब निवासी वज्राचार्यले सोचून् पनि कसरी? आखिर ९ रिक्टरको भूकम्पीय जोखिम थेग्न सक्ने र भवन निर्माण विभागबाट स्वीकृत लिएर बनाइएको भनेर बहुप्रचारित अपार्टमेन्ट हो त्यो। अत्याधुनिक सुविधा र महँगोमा देशका पाँच उत्कृष्ट अपार्टमेन्टमध्ये एकमा गनिने सो अर्पाटमेन्ट भुइँचालोले क्षति पुर्याउने कुरो उनको कल्पनाभन्दा बाहिरको विषय थियो। सिभिल इन्जिनियरसमेत रहेका वज्राचार्य गत वैशाख १२ गते भूकम्प आउँदा ठैबस्थित आफ्नो निवास कमफोर्ट अर्पाटमेन्टमा जाँदै थिए। बीच बाटोमा पर्ने हरिसिद्धिको पुरानो बस्तीका सयौं पुरानो घर ध्वस्त भएको दृश्य देख्दासम्म पनि उनलाई अपार्टमेन्टमा रहेका श्रीमतीसहित आफन्तहरू सुरक्षित नै छन् भन्ने लागिरहेको थियो। ‘घर पुगेपछि मोबाइलमा छोरो स्वर्णिमको म्यासेज आयो। त्यो हरेर कान्तिपुर हस्पिटलमा पुगें। त्यहाँ श्रीमतीको निधन भएको थाहा पाएपछि एकछिन त सपना हो कि विपनाझंै लाग्यो।’ –वज्राचार्यले भने। श्रीमतीको निधनले गहिरो चोट पुर्याएको भाव उनको अनुहार र स्वरमा स्पष्टै झल्किन्थ्यो। निकै दुःखी हुँदै वज्राचार्यले भने– ‘भूकम्पमा घर भत्किएर धेरै मानिसको ज्यान गएर सिंगो राष्ट्र नै शोकमा डुबिरहेका बेला श्रीमतीको पनि निधन भयो भनेर मन बुझाउन सकिएला।’ तर अर्को मनले फेरि उनलाई एउटा फ्लाटको झन्डै दुई करोड पर्ने त्यो अपार्टमेन्टमा गाह्रोको ढिक्का टाउकोमा लागेर श्रीमतीको मृत्यु हुनुलाई कसरी स्वाभाविकरूपमा लिने भन्ने प्रश्नले निकै घोचिरहेको छ। पारिवारिक जमघटमा नपठाएको भए सायद श्रीमतीको ज्यान जोगिने थियो भन्ने लागेको बताउँदै उनले त्यहाँ जान दिएकामा धेरै पश्चात्ताप महसुस भएको बताए। ‘मामा भगत गुभाजु डेढ वर्षदेखि अपार्टमेन्टको पहिलो तल्लाको १०१ नम्बरको फ्लाटमा बस्नुहुन्थ्यो। त्यो दिन मामाले आफ्ना दिदीबहिनीलाई खानपिनका लागि बोलाउनुभएको थियो। म र आमा भुइँचालो आउन ठ्याक्क पौने घण्टा अगाडि करिब सवा एघार बजेको आसपासमा अपार्टमेन्टमा पुगेको थियौं।’ –घटनाको सविस्तार सुनाउँदै स्वर्णिमले भने। हामी त्यहाँ बसेर खाना खाँदै थियौं। भुइँचालो आएपछि कोठाको दायाँबायाँको सबै भित्ताहरू चर्र्किएर सिमेन्ट र इँटाका टुक्राटुक्रा उप्किएर तल झर्न थाले। कोठाभरि धुलो उडेपछि त्यहाँ नै मर्ने हो कि भनेर हतनपत्त बाहिर निकिस्ने क्रममा ठूली आमाले आमा शारदालाई हात तानेर बाहिर ल्याउनुभयो। त्यस क्रममा ढोकामा पुग्नेबित्तिकै माथिबाट खसेको इँटाका ढिक्का टाउकोमा ठोक्किएर आमा ढल्नुभयो। टाउकोबाट रगत बग्न थाल्यो। घटनास्थलमै आमाको निधन भयो।’ –स्वर्णिमले भने। बाहिर निस्किने क्रममा माथिबाट खसेको इँटाको ढिक्का टाउकोमा लागेर वज्राचार्य परिवारकै एक सदस्य टंकमान घाइते भएका थिए। उनको टाउकोमा २५ वटा टाँका लगाउनुपरेको थियो। अपार्टमेन्टको भित्री सजावट, कोठाको डिजाइन हेर्दा भुइँचालो हलचल हुनेबित्तिकै यसरी इँटा र सिमेन्टका ढिक्काहरू उप्किएलान् जस्तो नलागेको बताउँदै स्वर्णिमले भने– ‘१५ तल्लाको भवन चर्किएर जुनस्तरबाट क्षतिग्रस्त भयो। त्यस्तो अनुपात कुनै अपार्टमेन्ट त्यो क्षति भएको देखेको छैन।’ ‘अरू अपार्टमेन्टहरू हेर्दा कुनै भित्ता ढल्किएको, कुनै चर्किएको पाइएको छ। तर यो होराइजन अपार्टमेन्टको झ्याल र भित्ता त चर्किएर इँटा र सिमेन्ट डल्लो निस्किएको थियो। तल्लापिच्छे भित्ता क्षतविक्षत हुनु भनेको निकै कमजोर र गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाइएको छ भनेर सजिलै निष्कर्ष निकाल्न सकिन्छ।’ –भगत गुभाजुले भने। अहिले त्यो अपार्टमेन्टलाई अति जोखिमको सूचीमा प्राविधिकहरूले राखेका छन्। त्यहाँ बस्न नमिलेपछि अर्को फ्लाटमा बसिरहेकी शिलु कर्माचार्य आफन्तकहाँ सरेकी छिन्। अपार्टमेन्टका मालिकहरूले अहिले सामान लिनसमेत प्रतिबन्ध लगाइरहेका छन्। १ करोड ७५ लाख रुपियाँ तिरेर तेस्रो तल्लामा फ्लाट लिएकी प्रसुतीगृह अस्पतालकी डा. उषा श्रेष्ठ (खाँड) त्यहाँ छोडेर टोखास्थित बहिनीको घरमा बसिरहेकी छिन्। भूकम्प जाँदा तेस्रो तल्लामा रहेको अपाटमेन्टमा सासुसँग बसेकी उनी त्यहाँबाट भाग्न सफल भएकी थिइन्। डा. श्रेष्ठले सबै सुविधा भएको अपाटमेन्ट भनेर बस्न आएको तर भूकम्पले यही भवनलाई बढी क्षति पुर्याएको बताइन्। भारतीय बहुराष्ट्रिय कम्पनी वरुण डेप्लपर्सले निर्माण गरेको उक्त अपाटमेन्ट सबैभन्दा बढी क्षतिग्रस्त भएको छ। सो कम्पनीले उक्त अपाटमेन्ट निकै सुरक्षित भएको दाबी गर्दै प्रचार गरेको भए पनि सस्तो, स्तरहीन सामग्री प्रयोग गरेर निर्माण गरिएका कारण उक्त अपाटमेन्ट ध्वस्त भएको छ। भवन लडेर नजिककैको घरहरू पनि जुनसुकै बेला भत्किने सम्भावना रहेकाले स्थानीय बासिन्दाहरूले सो अपार्टमेन्ट भत्काउनुपर्ने माग गरिरहेका छन्। स्थानीयबासी सन्नी महतले भने– ‘अपार्टमेन्ट क्षत–विक्षत भएकाले यसलाई तत्काल नभत्काएसम्म हामी सुरक्षित हुन सक्दैनौं।’ स्थानीय बासिन्दाका अनुसार शुरूमा ९ तल्लाका लागि भनेर स्वीकृति लिएर पछि १५ तल्लासम्म बनाइएको हो। यस कार्यले नियम कानुन लागू गर्नुपर्ने सरकारको लाचारीपनलाई उजागर गरेको उनीहरूको भनाइ रहेको छ। केही दिनभित्रै स्थानीय बासिन्दा र अपार्टमेन्टमा बस्नेहरू मिलेर अपार्टमेन्टबाट जनधनको क्षति र आवश्यक कारबाही अघि बढाउन बैठक बस्ने बताइएको छ। Published Date: May 8, 2015 http://www.newsofnepal.com/new/nepal/2015/05/88346

Read Full Discussion Thread for this article