Posted by: Fuel Tank March 2, 2015
चकचके बाँदरको चाकमा डाम
Login in to Rate this Post:     2       ?         Liked by
पढिदिने, मनपराईदिने र टिप्पणी गर्ने सबैजनालाई धेरै धेरै धन्यबाद |
**************************
सन्दर्भ : फ्ल्याश ब्याक फ्राईडे (चकचक र उपध्रो शृंखला अंक ६ )
[ यो घटनाको एकदम धमिलो चित्र आउँछ सम्झनामा अनि बा-आमालाई र स्कुलमा पढाउने मिसको व्याख्यामा आधारीत भएर लेखेको कथा, आशा छ पहिले जस्तै यसमा पनि माया पाउने छु ]
***************************
नर्सरीमा पढ्थें | p र  q  ले संधै झुक्क्याउँथ्यो | b र d पनि उस्तै लाग्थ्यो | भन्न चै फेरी खरर भन्न सक्थें,  A देखि Z सम्म, १ देखि १० सम्म , क देखि ज्ञ सम्म, सबै फरर | 
नारायणघाट बीचैमा एउटा चश्मा पसलको अगाडी ठूलो  साईन बोर्ड थियो, लेखेको थियो  “कावा चश्मा पसल” | मलाई क पछि ख आउँछ भन्ने थाहा थियो | चश्मा पसलको मालिक जस्तो  मान्छेलाई पनि क-ख नआउने, क पछि किन ब लेख्या होला? अनि बालाई सोध्थें | 
“बा, त्यो मान्छेले किन क पछी ख नलेखेको ?” 
बा हाँसेर भन्नुहुन्थ्यो “त्यो मान्छेले पढेकै छैन होला, त्यै भएर | मेरो कान्छो बरु नर्सरीमा पढ्छ | ”
बाले मेरो कपाल मुसार्दै त्यसो भन्दा म आफुलाई संसारकै बुद्धिमान झैँ लाग्थ्यो, अनि घिरौँला झैँ नाक पार्दै थप साईनबोर्डमा आँखा डुलाउँथे | देखे जती साईनबोर्ड सबै त्यस्तै थियो, नपढेको मान्छेले लेखे जस्तो | सगुन रे, भेटघाट रे., कोडाक रे ......| त्यसपछि म मिठो कल्पना गर्थें | म धेरै पढेर साईनबोर्ड लेख्ने मान्छे बनेको | अनि म नारायणघाट भरीको सबै बिग्रेको बोर्डहरु सच्च्याईदिन्थेँ | सच्याई सकेपछी बोर्डको तल अरुले जस्तै आफ्नो पेन्ट्स लेख्थें | नाम के हुन्थ्यो होला ? मलाई “कान्छी” भनेको मन पर्थ्यो , मेरो पेन्ट्सको नाम “कान्छी पेन्ट्स” हुन्थ्यो होला | मलाई स्कुलमा क ख सिकाउनी हेडमिस कति खुशी हुनुहुन्थ्यो होला, आफ्नो बिद्यार्थी धेरै पढेर साईनबोर्ड लेख्ने मान्छे बन्यो भनेर | म झन् झन् गहिरो कल्पनामा मिठोसंग हराउँथें | अनि बा पर पुगेर बोलाउनुहुन्थ्यो, “कति ढिलो हिंडेको?” | म दुगुर्दै गएर बाको औंला समात्थेँ |
नारायणघाटकै अर्को एउटा घरमा ठूलो-ठूलो अक्षरले लेखेको कुरा कहिल्यै पढ्न सकिन |
“बा त्यो घल्मा के लेखेको ?”
“गणेश चलचित्र मन्दिर” बाले भन्नुभयो | त्यो सुन्दै खेरी भयानक थियो | त्यो पढ्न सक्ने हुन मलाई नर्सरी सम्मको पढाईले पुग्दैनथ्यो र के.जी.मा जान पर्थ्यो | मैले क देखि ज्ञ सम्म दुवै पढ्न र लेख्न सक्ने भएँ| ए देखि जेड सम्म, एक देखि सय सम्म, वान देखि हन्ड्रेड सम्म | सबै | त्यसपछी म नर्सरी बाट केजीमा गएँ | 
नर्सरी भन्दा केजी धेरै गाह्रो थियो | नर्सरीमा “ए फर याप्पल” भनेर “ए” मात्रै लेख्न पर्थ्यो तर केजीमा त्यो “याप्पल” लेख्न जान्नुपर्थ्यो | क देखि ज्ञ सम्म मात्र लेखे हुन्थ्यो पहिले तर अब केजीमा क का कि की.. देखि ज्ञ ज्ञा ज्ञि ज्ञी सम्म लेख्न जान्नु पर्थ्यो | अनि 1,2,3,4 .. को साटो अब O-n-e वान, T-w-o टु, T-h-r-e-e थ्री...... लेख्नु पर्थ्यो | मलाई त्यति धेरै लेख्न अल्छि लाग्थ्यो | मिसले होमोक नदिए पनि हुने जस्तो लाग्थ्यो तर त्यस्तो हुँदैनथ्यो र संधै होमोक गर्नुपर्थ्यो | 
बेलुका घरमा आमाले मलाई होमोक गराउनुहुन्थ्यो | मेरो बक्सा बक्सा परेको कापीमा १,२,३,४ ..१०० सम्म लेख्थें, चार धर्के कापीमा “याप्पल, बल, क्याट” लेख्थें, अनि दुई धर्के कापीमा “क का कि की..” |
आमा मेरो स्कुल नगए पनि आमालाई संधै थाह हुन्थ्यो मेरो होमोक के हो भनेर | म सार्है अचम्म मान्थें र सोध्थें “आमा, हजुल्लाई कसली था भयो मेलो होमोक के हो भनेल ?” आमाले कापीको माथि मिसले लेख्नुभएको देखाउनुहुन्थ्यो | “Write from Apple to Zebra”, “क देखि ज्ञ सम्म लेख”, “क का कि की देखि ज्ञं ज्ञः सम्म लेख”, “१ देखि १०० सम्म लेख” आदि आदि | मिसले एक लाईन लेखेर हुने, मैले चै पाना भरी लेख्न पर्नी रे | मलाई त्यो सबैभन्दा ठूलो अन्याय जस्तो लाग्न थाल्यो | मैले बिरोध गर्थें तर आमाले “लेख कान्छी” भनेर फ़काउनुहुन्थ्यो, अनि मैले लेख्थें | कहिले बिस्कुट दिएर फकाउनुहुन्थ्यो त कहिले सिम्किना लिएर तर्साउनुहुन्थ्यो | 

एकदिन आमा भान्साको काम मै व्यस्त हुनुभयो अनि मलाई होमोक गराउन भ्याउनुभएन | मलाई आफै होमोक गर है भन्नुभयो | मैले हस भनेँ | लेख्न त कत्ति पनि मन थिएन तर कापी निकालेर लेखें | भोलीपल्ट स्कुल जानु अघि आमाले सोध्नुभयो, “होमोक लेख्यौ कान्छी ?” 
टाउको हल्लाउँदै मैले उत्तर दिएँ “हजुल, लेखें”| 
स्कुल पुगेपछि मिसले होमोक चेक गर्नुभयो | कापीको माथि मिसले लेख्नुभएको थियो “Write from Apple to Zebra” त्यसको तल मैले पनि लेखेको थिएँ “write from apple to zebra” | अर्को कापीको माथी थियो “१ देखि १०० सम्म लेख” | त्यसको तल मैले पनि लेखेको थिएँ “१ देखि १०० सम्म लेख” | जस्ताको तस्तै र बराबर | त्यो दिन म खुशी थिएँ, हामी दुबैले बराबर लेखेका थियौं | 
तर आमाको सिम्किना भन्दा धेरै मोटो थियो सानु मिसको लट्ठी | किन पिट्नु भएको पनि थाहा भएन मलाई, मैले त होमोक गरेकै थिएँ | मिसको पिटाई खाई सकेपछी मैले १ देखि १०० सम्मै लेख्न पर्यो | त्यो कस्तो अन्याय, कसैले एक लाईन लेखेर हुनी, कसैले पुरै पाना भरी लेख्न पर्नी |
के. जी. को पनि अन्तिम परिक्षा आयो | मलाई क देखि ज्ञ सम्म, क का देखि ज्ञं ज्ञः सम्म, ए फर याप्प्ल देखि जेड फर जेब्रा सम्म , वान देखि हन्ड्रेड सम्म, १ देखि १०० सम्म सबै आउंथ्यो | जाँचको अघिल्लो दिन बिदा थियो | दाईलाई र मलाई जाँचको बेला पढाउन भनेर आमाले आफ्नो स्कुलबाट छुट्टी लिनुभएको थियो | आमाले मलाई लेख्न लगाउनुभयो | मैले हस भनेर लेख्न थालें | 
दाई मेरो पछाडी कुम भन्दा माथीबाट मैले लेखेको हेरेर बस्नुभयो अनि मलाई सोध्नुभयो | “ल भन् त, टु प्लस टु कति हो ?” मलाई वान, टु, थ्री फोर मात्रै आउथ्यो | दाईको उत्तर दिन सक्दैनथिएँ | दाईले बडो धाक लगाएर सुनाउनुभयो “टु प्लस टु भनेको फोर” | अनि फेरी सोध्नुभयो, “ल भन् त डग वाईल्ड यानिमल हो कि डोमेस्टिक यानिमल” | मलाई त “डी फर डग” मात्र आउंथ्यो | दाई संग किन हार्ने ? मैले त्यै भन्दिएं “डी फर डग”| दाईले आँफुलाई के के नै जान्ने छु झैँ गरेर फुर्ति लगाउनुभयो, “डग इज अ डोमेस्टिक यानिमल”| दाईको धाक सुन्दै लेख्दै गर्दा आमाले लेख भन्नुभएको लेखेर भ्याएँ | दिउँसो खाजा खाए पछि आमाले फेरी लेख भन्नुभयो, मैले लेखें | सुत्नु अघि आमाले सोध्नुभयो, मैले फरर भनें “ककाकिकीकुकूकेकै..........ज्ञंज्ञः, १२३४....१०० ”
भोली बिहान जाँचको दिन, स्कुल जानुअघि पढेको कुरा ताजा बनाउन आमाले फेरी लेख्न भन्नुभयो | मैले लेखें | अनि आमाले भन्नुभयो, “आज लेख भनेको कुरा लेख है, बिगार्न हुन्न|”  म छक्क परें, आमाले कहिल्यै त्यसो भन्नु हुन्थेन| सोधें, “आज के हो ल आमा?” आमाले मलाई बुझाउनुभयो “यो बर्ष भरी पढेको कुरा कतिको जानेको छ भनेर जांच लिन्छन्, सबै मिलाउन पर्छ” | मैले फेरी टाउको हल्लाएर हस भनें | 
जाँचको कापीको माथि मिसले लेख्नु भएको थियो “१ देखि १०० सम्म लेख” | आज सानुमिसले “सानुमिसको लट्ठी” नलिई आउनुभएको थियो | हाम्रो कक्षामा गजेन्द्र भन्ने थियो | त्यसलाई केहि पनि आउंदैनथ्यो अनि उसले नलेखी बसेथ्यो | अचम्मको कुरो, उसले मिसको पिटाई पनि खाएको थिएन | मैले पनि नलेखी बसें | त्यो दिन मिसले लेख् कि लेख् भनेर कसैलाई पिट्नुभएन | एकैछिन पछी गजेन्द्रले कापी बुझायो अनि बाहिर गयो | मलाई पनि बाहिर जान मन लागेर आयो अनि त्यसै गरेँ | बाहिर निस्केपछी खेल्ने कोहि साथी थिएनन् | गजेन्द्रले नङ् नकाटी आउँथ्यो र एकदिन मलाई कोपार्यो | त्यसपछी मैले गजेन्द्रलाई कट्टी लाईदेको थिएँ | उ संग गएर खेल्ने कुरो पनि भएन | खेल्ने साथीहरु नभएपछी बाटो काटेर बाको अफिस गएँ | बा आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो | बाको टेबल म भन्दा अग्लो थियो | 
“बा” , बाको टेबलको पछाडी आँफु पुरै छोप्पिएर बोलाएँ |
“जाँचमा के के लेखिस् छोरो” बाले सोध्नुभयो | 
“केइ नि लेखीन मैले त” 
“किन नलेखेको त ?” बा अलि कड्किनुभयो |
“दिन दिनै होमोकमा नि त्यै लेख ले | संधै कछामा नि त्यै लेख ले | हिजो आमाले नि त्यै लेख ले, खाजा खाए पछि पनि त्यै लेख ले, आज बिहान पनि त्यै लेख ले, कति लेख्नी हो त्यै मत्लै | अझै भएन भनेल आज जाँचमा नि त्यै लेख ले | किन लेख्नी नि ? मलाई लेख्न आउँछ भनेल संधै त्यै लेखेल देखाको हैन ? मैले त लेखीन |” 
बाले मलाई जुरुक्कै बोकेर एकै छिनमा स्कुल पुर्याउनुभयो | मिसहरुको अगाडी बाले मलाई पिट्नु भएन अनि बा अगाडी हुनुभएर मिसले पनि पिट्नुभएन | त्यो मैले बुझेको थिईन | मात्र पिटाई खान नपरेको देखेर म दंग थिएँ र जाँच दिनै मानिन | त्यो जाँच अन्याय पूर्ण थियो | कसैले एक लाईन लेख्ने रे, कसैले पाना भरी लेख्ने रे | त्यो जाँच अर्थहिन थियो, बर्ष भरी त्यै लेखेर देखाए पछि फेरी आउँछ कि आउंदैन भनेर किन जाँच लिनु पर्ने? जाँच दिनै मानिन |
बाले मलाई फकाउनुभयो | मिसले भनेको कुरा मैले खुरु खुरु लेखें भने बाले मलाई पिलपिल बल्नि जुत्ता किनीदिने रे | बल्ने जुत्ता भनेको सुन्ने बित्तिकै मेरो मन त्यसै खुशी भयो, आँखाहरु बल्ने जुत्ता जस्तै चम्किला भए | म जाँच दिन बसें |
जुत्ता किनिदिन बाले मलाई नारायणघाट लिएर जानुभयो | यसो टाउको घुमाएर बजार भरी हेरें | अक्षर नमिलेका साईनबोर्डहरु जता ततै थिए, जस्ताको तस्तै थिए  | 

Read Full Discussion Thread for this article