हाम्रो स्कुलमा कहिले काहीं जादु देखाउने मान्छे आउँथ्यो | एक कक्षाका
सबै भन्दा अगाडी, अनि त्यसपछी २ कक्षाका, अनि तिन .... | म दोस्रो लाईनको बिचमा भुईंमा
पलेटी कसेर जादु हेर्न बसें | उसले जादुहरु देखाउँथ्यो अनि रंगी चंगी कागजहरु
काटेर अनेक अनेक चिजहरु पनि बनाउँथ्यो | गुलाबको फुल, चरा, बत्ती छोप्ने रंगिन
कागज, के के हो के के | अनि त्यस्तै १०-१२ वोटा कुराहरु देखाएपछी भन्थ्यो “यो
किताबमा मैले देखाएको सबै जादुहरु कसरी गर्ने भनेर लेखेको छ | यसमा ५० वटा भन्दा
धेरै कागजका चिजहरु कसरी बनाउने पनि सिकाएको छ | मात्र १० रुपैया |”
मामा चाउचाउलाई ५ रुप्याँ पर्थ्यो | वाई वाई चाउ-चाउ लाई ९ रूप्याँ
पर्थ्यो, त्यो भन्दा पनि १ रुप्याँ धेरै मा त्यो किताब किन्ने रे | त्यो धेरै भएको
एक रुप्याँले त २ वटा म्याङ्गो टार्ट चकलेट आउंथ्यो | म संग १० रुप्याँ भएको भए
बरु २० वटा म्याङ्गो टार्ट चकलेट किन्थें होला तेस्तो जाबो किताब कल्ले किन्ने?
बेलुका घरमा त्यही किताब देखें | दाईले किनेर ल्याउनुभएको रहेछ | त्यहाँ
किताब त्यसै थियो, दाई हुनुहुन्थेन | गएर किताब हातमा लिएँ | यसो पल्टाएर हेरें |
५-७ वोटा गुडियाहरुले हात समाएको कस्तो राम्रो बुट्टा | कनि–कनि पढ्न थालें |
१. एउटा कागज लिने .
२. कागजलाई बीचबाट यसरी पट्ट्याउने ( संगै चित्र)
३. अनि दुईटा टुप्पा समातेर यसरी पट्ट्याउने (संगै
चित्र).......
मलाई राम्रो लाग्यो | मैले आँटे म पनि त्यस्तै बनाउँछु | त्यो राम्रो
बुट्टा बनाउन कागज पनि त राम्रै चाहियो | मलाई थाह थियो राम्रो कागज कहाँ हुन्थ्यो
भनेर, दाईको झोलामा | दाईले मयुर कापीमा नोट लेख्नुहुन्थ्यो | अनि त्यो कापीको
कागज पनि सार्है चिल्लो हुन्थ्यो | दाईको झोला खोलेँ, मयुर कापी निकालें | सेतो
चिल्लो पाना देखेर मेरो मन त्यसै फुरुङ्ग भयो
| अनि फेरी दाईको कापीको माया लाग्यो | चिल्लो नयाँ पाना च्यात्न मन लागेन अनि
लेखेको लेखेको पाना च्यातें | चर्रर... | अनि कागजलाई बीचबाट पट्ट्याएँ | त्यो
मैले गर्न सक्ने कुरा थिएन | बिग्रियो | फेरी अर्को पाना पनि च्यातेँ | त्यो पनि बिग्रियो
| मेरो सक्दो प्रयास चल्दै थियो, दाईले मलाई रंगे हात समात्नुभयो |
“आमा, एल्ले मेरो सोसल स्टडिको नोट नै च्यात्दियो |” दाईले आमालाई
कुरा लगाउनुभयो |
मलाई आमासंग भन्दा धेरै आमाको सिम्किनासंग डर लाग्थ्यो | हातमा एकचोटी
मात्रै हाने पनि चिरिरिरी गर्दै त्यसको असर ढाडसम्म पुग्थ्यो |
“तिखे, यता आईज |” मलाई कान्छी भन्नुभएको मन पर्थ्यो, कान्छी भन्दा
मैले कहिल्यै पिटाई खाँदैनथें | त्यसपछी कान्छे भन्नुभएको मन पर्थ्यो | कहिले
पिटाई खान्थे, कहिले खाँदैनथें | तर तिखे भनेपछी पिटाई नखाएको एउटा बेला थिएन | आमाको अगाडी गएँ |
“तैंले दाईको कापी च्यातेको हो ?”
पिटाई खाने पक्का थियो, अब कसरी हुन्छ थोरै पिटाई खाने मात्र मेरो लक्ष्य
थियो | “झन् मलाई दाईको कापीको कस्तो माया ला’ल नयाँ पाना च्यातेकै छैन, लेखेको
पुलानो पुलानो पाना मात्लै छानेल च्यातेको हो |”
जे हुनु थियो भयो, आमाको दुई सिम्किना भेटें अपुंगे हातमा | त्यो सिम्किना खाएको
मैले कापी च्यातेर हैन, दाईले कुरा लगाएर हो, त्यै भएर दोष जति सबै दाईकै थियो | तर दाईसंग
बदला लिन म सक्दैनथें | दाई म भन्दा धेरै बलियो हुनुहुन्थ्यो, अनि अल्को (अग्लो)
पनि |
*******************************
स्कुलको लुगा लगाएर खाना खाँदा कपडा भरी जाउलो पोखेर सबै पहेंलो
बनाउँथें | त्यसैले संधै खाना खाएपछी बल्ल आमाले कपडा लगाईदिनुहुन्थ्यो अनि दाईले
चै आफैँ लगाउनुहुन्थ्यो | त्यो दिन छिटो छिटो गरेर खाना खाएँ अनि आमाले कपडा
लगाईदिनुभयो, दाईले खाना खाँदै हुनुहुन्थ्यो | म दाईलाई नकुरी स्कुलको बस रोक्ने
ठाउँमा बस कुर्न गएँ | एकैछिन पछी बस आयो तर दाई अझै आउनुभएको थिएन |
बसको खलासी मेघराज दाई हुनुहुन्थ्यो | मलाई एक्लै देखेर सोध्नुभयो, “दाई
खै त ?”
“दाईलाई जोलो आछ | दाई त आज आउनुन्न ले” |
म बसमा चढें अनि बसले दाईलाई छोडेर गयो |
*******************************
दोस्रो घन्टीमा मलाई अफिसमा बोलाउनुभयो | अफिस भित्र हेडसर, बा र दाई
हुनुहुन्थ्यो | दाईले स्कुलको लुगा हैन बाहिरी लुगा लगाउनुभएको थियो |
“तैले दाईको लुगा आज नि लुकाईस?” | अघिल्लो चोटी दाईले पिट्दा दाईको स्कुलको
ड्रेस स्टिलको दराज मुनि लुकाईदिएको थिएँ | केहि बेर ढिलो त भएको थियो तर दाईले
फेला पर्नुभयो अनि दाईको बस पनि छुटेन त्यो दिन |
बाले फेरी सोध्नुभयो , “दाईको लुगा कहाँ लुकाईस?”
मैले किन लुकाउँथें र फेरी त्यहि दराज मुनि? डरले बिस्तारै भने ,
“मेलो झोलामा हालेल ल्याछु” !