Posted by: Fuel Tank February 18, 2015
चकचके बाँदरको चाकमा डाम
Login in to Rate this Post:     2       ?         Liked by
थाने ब्रो, मिठा शब्दका लागी धेरै धन्यबाद | 
गोर्खे ब्रो, कति मिठो सम्झना ! केटाकेटीको सम्झना किन मिठो हुँदैन र ? अरु पनि सुन्न पाउँ न है | चप्पलको त के महात्म्य हुनु र? एउटा सानो घटना हो | बरु मेरो काकाको छोरोले नयाँ चप्पल पाईन्छ भनेर आफ्नो चप्पल चुलेसीले काटेर हिलोमा अड्केर च्यातिएको भनेथ्यो | 
कथा पढीदिने सबैलाई आभार |
*************************************
आज मेरो लागी बिशेष दिन हो | मेरो जन्म दिन | त्यसैले शुक्रबारको साटो आज नै यो बिशेष अंक पोस्ट गरेको छु | आजको अंक म कसरी जन्में भन्ने बारेमा |
चकचक र उपध्रो शृंखलाको अंक चार : जन्मदिन बिशेष 
**************************************

आमालाई कुरा लगाउन रुँदै घर फर्किएँ | आमा माथी भान्सामा हुनुहुन्थ्यो |

“आमा मेलो कट्टु नै च्यात्दियो तेल्ले”

आमालाई कामको चटारो थियो, मेरो कुरामा ध्यान दिनुभएन | आमाले देख्नु भएन कि जस्तो लाग्यो | कट्टु खोलेर हातमा लिएं अनि चुल्होको छेउमा गएर फेरी भनें “आमा हेल्नु न, हो याँ निल च्यात्दियो तेल्ले” | आमाले अब पनि नदेखेर सुखै थिएन | आमाले फकाउने मायालु स्वरमा भन्नु भयो, “नांगै बस्न हुन्न, जाउ गएर अर्को कट्टु लगाउ, भोली सिलाईदिम्ला” | त्यो मेरो मन परेको कट्टु थियो |

“नाई अहिल्यै बनाईदिनु न |” म आमाको घुंडा भन्दा अलिकती मात्र अग्लो थिएँ, आमाको सारी समातेर तानें |

आमाले निहुरिएर फकाउनुभयो “जाउ कान्छी, अहिले अर्को कट्टु लाऊ, खाना खाए पछी सिलाइदिन्छु |”

“नाई के नाई के , अहिल्यै, अहिल्यै |” मैले एकोहोरो पिरोलीरहें |

“जा भनेको, अहिले पछी सिलाईदिम्ला“

आमा रिसाउनुभएको चिन्न गार्हो हुँदैनथ्यो | म डरले लुत्रुक्क परेर तल आएँ अर्को कट्टु लगाएँ |

दाई अझै खेलेर फर्किनुभएको थिएन | बा खै काम परेर हो, बाहिर निस्किनुभएको थियो | आमा माथी भान्सामा, तल म एक्लै |

“आमाले नसिलाईदेल के भयो ल ? म आफै सिलाउँछु “ म दृढ भएँ |

आमा लुगा सिलाउने मिसिन अगाडीको अग्लो कुर्सीमा बस्नुह्न्थ्यो | बाँसको चोयाको सानो मुढा थियो | पहिले त्यसमा चढें | अनि कुर्सीमा चढें र बसें | अब कहाँबाट शुरु गर्ने मलाई थाह थिएन | मिसिनको माथि धागोको गोली थियो त्यसको छेउ समातेर तानें | धागोको गोली फिर्र –फिर्र गरेर घुम्यो | मलाई मन पर्यो | फेरी तानें | उ फेरी पनि अघि जस्तै घुम्दै नाच्यो | मलाई झन् रमाईलो लाग्यो | मैले टाउको हल्लाउंदै धागो तान्न लागें | जमिन भन्दा दुई हात जती माथी साना साना दुईटा गोडाहरू हावामा हल्ली रहेका थिए | धागो फिर्र फिर्र गर्दै नाची रहेको थियो अनि मेरो मन पनि त्यहि धागोको गोली संगै फिर्र फिर्र गरेर नाच्दै थियो | मेरा हत्केला र औंलाहरू सबै धागोमा जेल्लियेका थिए तर म निस्पर्वाह थिएँ | जेलिएको औंलाहरू छुटाएँ | अर्को धागोको गोली राखें अनि नचाउन लागें र मेरो मन पनि त्यसै संग फेरी फिर्र फिर्र नाच्न थाल्यो | त्यो पनि सकियो अनि अर्को | अनि अर्को | आमाको लुगा सिलाउने सबै धागाहरू सकिए | अनि आमाको स्वीटर बुन्ने धागो पनि नाच्छ कि जस्तो लाग्यो र तानें | त्यो डल्लो थियो, नाचेन | मलाई मन परेन अनि त्यसै भूईमा मिल्काईदिएँ | अनि बल्ल मलाई डर लाग्न थाल्यो | म ज्ञानी बनेर आफुलाई केहि थाह नभएको जस्तो गरेर किताब लिएर बसें | ज्या, कट्टु त मिसिनमै बिर्सेछु | 

बा बाहिर गएर आई सक्नुभएको थियो | दाई पनि खेलेर फर्किनुभएको थियो | केहि बेर पछी आमा तल आउनुभयो र कोठामा महाप्रलय देख्नुभयो | कोठै भरी धागै धागो | म चै केहि थाह नपाए झैँ गरेर पढीराखेको जस्तो गरेको थिएँ|

“सिलाईदिन्छु त भनेकै थिएँ नि, कस्तो बाँदर रैछ आमाले मलाई हेर्दै गाली गर्नुभयो अनि बा तिर फर्केर भन्नुभयो, “अहँ मैले सक्दै सकिन, यो बाँदरलाई जहाँबाट ल्याको त्यहिँ लगेर छोड्दिनु”

हिजो पनि के हो कुन्नि बिराम गरेको थिएँ | सार्है भएछ कि के हो, बाले मलाई जंगल लगेर छोड्न भनेर साईकल निकाल्नुभयो |

गाली त संधै गर्नुहुन्थ्यो तर बाले साईकल कहिल्यै निकाल्नु हुँदैनथ्यो | मलाई डर लागेर आयो|

“म बाँदल हैन, म हजुल्कै छोलो त हो नि |” तोते बोलीमा आमाको माया खोजें |

अनि आमाले भन्नु भयो, “तँलाई त थाह नै रैन्च , तँलाई त मैले सांचैको जंगलमा छोपेर ल्याको हो |”

घर नजिकैको गणेशथान मन्दिर छेउ ठुलो जंगल थियो | कुरो त मिल्न मिल्न खोज्यो तर मलाई बिस्वास भने लागेन | न्वारानको बेला म आमाको काखमा बसेको फोटो मैले देखेको थिएँ | आफ्नो बिस्वाशलाई अझ दृढ बनाउंदै भनें “अँ होला खुबै, म जन्मेपछि हजुल्को काखमा बसेको फोटो त छ|”

आमालाई रमाईलो लाग्दै आएछ अनि आमाले कथा भन्नुभयो :

“तेरो बा र म भएर गणेशथानको मन्दीर जाँदा, त्यहाँ निर खस्र्याक खुस्रुक गर्यो | के रैछ भनेर हेर्न गको त सानो बाँदरको बच्चा पो रैछ | यसलाई घर लगेर मान्छे बनाउँछु, अनि दाईलाई पनि साथी हुन्छ भनेर तलाईं छोपेर ल्याको | तँलाई  छोप्दा तैले कोपारेको हेर त” | स्याउला टिप्न जाँदा दाउराले कोतरेको डाम देखाउनुभयो आमाले |

आमाले मलाई जंगलमा लगेर छोड्नुभयो भने के गर्ने| मलाई बिस्तारै डर लाग्दै आयो | “ अनि त्यो फोटो नि ?” फोटोको बारेमा फेरी सोधें |

“तँलाई घर ल्याईसकेपछी हजुरआमा र म भएर तातोपानीले सबै रौँ भुत्ल्याको | अनि पुच्छार काटेर मान्छे बनाको | त्यो फोटो त तँलाई मान्छे बनाएपछी बल्ल खिचेको हो | नपत्त्याए आफैंले हेर न त , तेरो पछाडी अझै पुच्छार काटेको डाम नै छ |” आमाले मेरो पछाडी चोरी औंलाले देखाउंदै भन्नुभयो |

म बाँदर नै रैछु भनेर मलाई लगभग बिस्वास लागीसकेको थियो | मैले आफ्नै पछाडी हेर्न सक्दैनथें | दाईको अगाडी गएर कट्टु खोलें अनि पछाडी फर्कें |

“दाई मेलो पुच्छाल्को डाम छ ?”

दाईले पनि पुरै आश्चार्यका साथ उत्तर दिनुभयो “आँईं , यसको त पहिले पुच्छर पो रैछ, कस्तो गोलो डाम|”

म बाँदर रैछु भन्ने कुरामा म बिश्वस्त भएँ | त्यसपछी दाईले के के भन्नु भयो पनि सुनिन | म छाँगाबाट खसें | मेरो सानो दिमागले सोच्न सक्ने जत्रो सानो संसार मेरै आँखा अगाडी टुक्रा टुक्रा भयो | मेरो अगाडी आकाश खस्यो | केहि पनि भनिन, केहि पनि बोलिन | कट्टु माथि तानें र टाँक लगाएँ |

बाले मलाई जुरुक्क बोकेर साईकलको पछाडीको क्यारीयरमा राख्नुभयो र जंगल लगेर छोड्ने तैयारी गर्नुभयो | म मेरो घर छोडेर संधै को लागी जंगल जाँदै थिएँ | बाले मलाई जंगल लगेर छोडे पछी मेरो घर त्यहि जंगल नै थियो | मेरो घर, मेरो बा, मेरी आमा, दाई, सरोज, प्रवेश, अरुण सबैलाई सम्झेर म भक्कान्नीएर रुन थालें अनि साईकलबाट हाम्फालेर भर्यांगमा आएर बसें | म संधै रुने बेलामा आमाले सुन्ने गरेर चिच्याएर रुन्थें तर आज म जति चिच्याएर रोए पनि मेरो रुवाई सुनिदिने मेरी आमा हुनुहुन्थेन | मेरी आमा त जंगलमा एउटा रुख बाट अर्को रुखमा हाम्फाल्दै हुनुहुन्थ्यो होला |

म रोएको देखेपछी आमाले मन थाम्न सक्नुभएन अनि मेरो छेवैमा आएर बस्नुभयो | अनि माया गरेर “कान्छी” भन्नुभयो |

आमाको मायालु स्वर सुनेपछी म झन् चिच्याउँदै रुन लागें |

आमाले फेरी भन्नुभयो ,”किन रोको कान्छी?”

हिक्क हिक्क गर्दै बल्ल बल्ल बोली फूटाएँ |

“अनि जंगलमै छोड्नी भए मलाई किन जंगलबाट ल्याउन पलेको त ? अब त म मेलो बाँदल आमालाई पनि चिन्दिन | बाँदल आमाले पनि मलाई चिन्नुहुन्न | म गल को संग बस्नी ? मलाई त लुख चड्न नि आउंदैन | मेलो बाँदल साथीहलु पनि छैनन् | मेलो लुम पनि छैन, पुछ्छाल पनि छैन, मेलो सबै साथीहलु मान्छे आयो भनेल भाग्चन अनि म को संग खेल्नी नि ई ई ई ई |”

आमा मौन हुनुभयो अनि आमाका आँखाबाट आँशुका धारा छुटे | आमाले मलाई दुई हातले जुरुक्क बोकेर, आकाश तिर फर्काएर आफ्नो काखमा राख्नुभयो | दुई हातले बेरेर कुक्रुक्क पारेर च्याप्नुभयो अनि निधारमा मुईं खानुभयो | आमाका आँखाबाट झरेका आँशु सोझै मेरो गालामा खसे | ति आँशु चिसा थिए तर पनि त्यसबेला मलाई निकै न्यानो भएको थियो | म आमाको काखमा थिएँ |

फेरी मैले आफ्नै तोतेबोली बोलें “आमा म जंगल जान्न है, म चकचक नगली संधै हजुल संगै बस्छु है|”

आमा झन् धेरै रुनुभयो | आमा यति धेरै रुनुभएको कहिल्यै पनि देखिन | अनि आमाले मलाई कहिल्यै पनि जंगल लगेर छोड्नुभएन | 


Last edited: 18-Feb-15 01:53 AM
Read Full Discussion Thread for this article