Posted by: Fuel Tank January 29, 2015
चकचके बाँदरको चाकमा डाम
Login in to Rate this Post:     7       ?         Liked by
सन्दर्भ : फ्ल्याश ब्याक फ्राईडे
*********************************
चकचक गर्नुको कुनै सिमा नै थिएन | जे नगर है भन्यो मलाई त्यहि गर्नु पर्थ्यो | नखा भनेको कुरा खान पर्नी, नजा भनेको ठाउँ मा जान पर्नी अनि जब आमाले परालमा नखेल भन्नुहुन्थ्यो त्यो त मलाई नगरी हुन्थेन| बोरु बेलुका घर आएपछि पिटाई खान पनि तयार तर सरोजको घरमा जब दाईं लागाउनुहुन्थ्यो जाबो गोरुले के पराल मडार्थ्यो होला र ? गोरु भन्दा धेरै मैले पराल मडारीदिन्थें | सबै भन्दा मज्जा त तब आउंथ्यो जब सरोज, प्रवेश, अरुण र मैले भएर परालको ठुलो चांग लगाउँथेम अनि सरोजको घरको दोस्रो तल्ला बाट जानेको जति सबै "जम्प" हान्थेम| उल्टी जम्प , सुल्टी जम्प, दुई पटक घुम्नी जम्प सप्पै|
"ओई तँलाई आमाले आज क्या पिट्नी रे , बोलार ल्या भनेर मलाई पठाउनाको", पालै पालो एउटा खुट्टाले टेक्दै उफ्रिंदै, अनि दुई हात हावामा हल्लाउँदै र नाच्दै दाई मलाई बोलाउन आईपुग्नुभयो |
खै किन हो, मैले पिटाई खाँदा दाईलाई खुप मज्जा आउंथ्यो अनि दाईले पिटाई खाँदा मलाई पनि सार्है सन्तोष लाग्थ्यो | तर दाईले धेरै पिटाई खानुहुन्थेन, नगर भनेको कुरा गर्नुहुन्थेन, त्यै भएर होला | खुशी कै कुरा गर्ने हो भने म भन्दा दाई धेरै नै खुशी हुन पाउनुहुन्थ्यो | दाईले महिनामा एक चोटी जस्तो पिटाई खानुहुन्थ्यो, मैले दिन दिनै | त्यो दिन बिहान बाले नारायणघाटबाट एक सिसि हर्लिक्स किनेर ल्याउनुभाथ्यो | मैले दिउसो सम्म सबै हर्लिक्स सक्दिभ्याथें अनि था पाउनुहुन्छ भनेर मकैको पिठोले भरेर जस्ताको तस्तै , जुन ठाउँको त्यै ठाउँमा अलक्क राखेर परालमा खेल्न आको थिएँ | अब मलाई डर लाग्यो, पक्कै थाहा पाउनुभयो होला भनेर |
म अझै पनि "र" लाई "ल" भन्थें, तोते बोल्थें | अनि साधु पल्टेर के के नै चोखो बन्न खोजें, "किन पिट्नी ले नि अल्कालाई तेसै ?"
"तैंले अस्ति पिच्केरी बनाको आमाले थापाउनुभयो" , त्यति भनेर दाई खुशी हुँदै पालै पालो एउटा खुट्टाले उफ्रिंदै घर फर्कनुभयो |
आमाले सिलाई-कटाईको तालिम लिंदै हुनुहुन्थ्यो, घरमा एउटा लुगा सिलाउने मिसिन थियो | अनि त्यो मिसिनमा तेल हाल्ने सानो बट्टा थियो | अस्ति होलीको दिनमा त्यो बट्टाको तेल जम्मै बारीमा फालेर, पिचकारी बनाएको थिएँ |
"ओइ सलोज, फेली भोली खेलाम्ला है ", मैले जति चकचक गरेपनि मसंगै मेरो बिराममा हातेमालो गर्ने साथी थियो सरोज, उससंग बिदा मागेर पिटाई खान घर तिर लागें |
बाटोमा सोच्दै थिएँ, "यसै पिटाई खानि , उसै पिटाई खानि, बोलु त्यो हल्लिक्सको ठाममा मकैको पिठो लाख्देको पनि अहिल्यै थाहा पाईदे हुन्थ्यो नि "
***************************************************
फ्ल्याश ब्याक फ्राईडे भनेर प्रत्येक शुक्रबारमैले सानोमा गरेका चकचकका सम्झनाहरु सानो कथा बनाएर राख्ने सोच बनाएको छु | बाँकी अर्को शुक्रबार |
Read Full Discussion Thread for this article